काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुमा बत्ती निर्माणको काममा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा हुम्लाको अदानचुली गाउँपालिका–कुकुरफाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका–३ भिईसम्म बत्ती निर्माणका लागि विनियोजित रकममा अनियमितता भएको थियो ।
अनुसन्धानका क्रममा फिल्डमा वास्तविक रूपमा भएको कामभन्दा बढी मूल्याङ्कन गरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन, झुट्टा उपभोक्ता भुक्तानी बिल तथा योजना अनुगमन र भुक्तानीका लागि सिफारिसलगायतका कागजात तयार गरी रकम भुक्तानी गरिएको पाइएको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा वास्तविक कामभन्दा बढी ९ लाख २६ हजार २३२ रुपैयाँ ७५ पैसा भुक्तानी गरी गैरकानुनी लाभ लिएको तथा नेपाल सरकार र सार्वजनिक संस्थालाई हानि पुर्याएको आरोप छ ।
आरोपपत्र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल, तत्कालीन सब–इन्जिनियर विश्वराज भण्डारी, तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल र सोरू गाउँपालिका–३ का तत्कालीन वडाध्यक्ष लालु धामीविरुद्ध दायर गरिएको छ ।
त्यस्तै, गल्फागाढ छहराखेत भिई जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामीविरुद्ध पनि आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले मुख्य प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ । उपभोक्ता समितिका पदाधिकारीलाई भने मुख्य कसुरदारलाई हुने सजायलाई आधार मानी मतियारका रूपमा मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।