प्रधानमन्त्री राहत कोषमा लक्ष्मी सनराइज क्यापिटलले दियो २१ लाख
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि २१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । कम्पनीले गत भदौ १० गते रसुवालगायत क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २१ लाख ५७ हजार ४१८ सहयोग गरेको हो । भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको आवश्यकता सम्बोधन, राहत तथा उद्धारका प्रयासमा सहयोग र प्रभावित समुदायको पुनःस्थापनामा योगदान पु‍र्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनी र त्यहाँ कार्यरत कर्मचारीको व्यक्तिगत योगदानबाट रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको हो । विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले माग्यो २९ निकायसँग रिक्त दरबन्दीको विवरण
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभिन्न २९ निकायसँग रिक्त तथा आगामी आर्थिक वर्षमा रिक्त हुने पदको विवरण माग गरेको छ । मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले बुधबार (आज) पत्र पठाउँदै रिक्त दरबन्दीको एकीकृत विवरण तीन दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । मन्त्रालयले वन तथा वातावरण मन्त्रालयको २०८३ असोज ७ गतेको पत्रअनुसार नेपाल वन सेवा, जनरल फोरेस्ट्री समूहका राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका रिक्त पद तथा आर्थिक वर्ष २०८३/८४ मा रिक्त हुने दरबन्दीको विवरण माग गरेको जनाएको छ । यसका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, स्वास्थ्य सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलगायत निकायलाई पत्राचार गरिएको छ । त्यस्तै, नारायणी अस्पताल, भरतपुर अस्पताल, मानसिक अस्पताल, भेरी अस्पताल, कोशी अस्पताल, डडेलधुरा अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, केन्द्रीय कारागार अस्पताललगायतलाई पनि विवरण पठाउन भनिएको छ । मन्त्रालयले सम्बन्धित निकायलाई सेवासमूह तथा उपसमूह, श्रेणी, पद, स्वीकृत दरबन्दी, कार्यरत संख्या र रिक्त पदको विवरण उपलब्ध गराउन भनेको छ । त्यसैगरी, रिक्त पदमध्ये बढुवा, खुला, अन्तर्वार्ता वा अन्य प्रक्रियाबाट पूर्ति हुने संख्या तथा जम्मा रिक्त पदको विवरणसमेत माग गरिएको छ । आगामी दिनमा अवकाश, राजीनामा वा कारबाहीका कारण रिक्त हुने पदको हकमा सम्बन्धित कर्मचारीको नाम, थर र रिक्त हुने मितिसहितको विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले माग गरिएको विवरण फ्याक्स वा इमेलमार्फत पठाउनुका साथै सूचना प्रविधि शाखालाई उपलब्ध गराई मन्त्रालयको वेबसाइटमा समेत अपलोड गर्न निर्देशन दिएको छ । मन्त्रालयको निर्णयअनुसार तीन दिनभित्र विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
बैंकले १ सय कमाउँदा सेयरधनीलाई कति जान्छ ?
काठमाडौं । जहिले पनि एउटै विषय उठ्ने गरेको छ- बैंकहरू नाफामुखी भए, अर्बौं रुपैयाँ नाफा गरे । यही आधारमा बैंकिङ क्षेत्रप्रति नकारात्मक भाष्य निर्माण हुने गरेको पाइन्छ । तर, बैंकहरूको प्रतिफल र आम्दानीको संरचना हेर्ने हो भने तस्वीर त्यति सरल छैन । बैंकिङ क्षेत्रको वित्तीय विवरण सार्वजनिक हुने भएकाले यसको आम्दानी, खर्च, नाफा तथा प्रतिफल सहजै तुलना गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन् । यस अर्थमा नेपालमा नियमित रूपमा वित्तीय विवरण सार्वजनिक गर्ने पारदर्शी क्षेत्रमध्ये बैंकिङ क्षेत्र पनि एक हो । औसत ५ देखि ७ प्रतिशतको प्रतिफललाई मात्रै आधार बनाएर बैंकिङ क्षेत्रको आम्दानीबारे निष्कर्ष निकाल्न भने बैंकको आम्दानी तथा खर्चको संरचना पनि हेर्नुपर्ने बैंकरहरु बताउँछन् । अन्य क्षेत्रका संस्थाको वित्तीय विवरण पनि बैंकिङ क्षेत्रकै जस्तो नियमित र विस्तृत रूपमा सार्वजनिक हुने हो भने उनीहरूको प्रतिफलसँग तुलना गर्न थप आधार उपलब्ध हुन सक्ने उनीहरुको भनाइ छ । बैंकले एक सय रुपैयाँ कमाउँदा त्यसको कति हिस्सा खर्च हुन्छ र कति रकम खुद नाफामा रूपान्तरण हुन्छ भन्ने विषय बैंकिङ क्षेत्रको महत्वपूर्ण सूचक हो । बैंकले आर्जन गरेको रकममध्ये कति सेयरधनीका लागि उपलब्ध हुन्छ र कति सञ्चालन खर्च, नियामकीय प्रावधान तथा अन्य खर्चमा जान्छ भन्ने तथ्यले बैंकको वास्तविक आम्दानी र नाफाको अवस्था देखाउँछ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का महानिर्देशक रोशन कोइरालाका अनुसार बैंक तथा वित्तीय संस्थाले एक सय रुपैयाँ कमाउँदा सेयरधनीको हातमा पुग्ने रकम निकै कम छ । उनका अनुसार गत आर्थिक वर्ष बैंकहरूले एक सय रुपैयाँ कमाउँदा करिब २८.२ रुपैयाँ मात्रै सेयरधनीका लागि उपलब्ध हुने अवस्थामा पुगेको छ । तर, उक्त रकम पनि विभिन्न नियामकीय प्रावधानका कारण पूर्ण रूपमा सेयरधनीले प्राप्त गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । कोइरालाको विश्लेषणअनुसार सन् २०१५ मा बैंकले एक सय रुपैयाँ कमाउँदा करिब ४२ रुपैयाँ नाफाका रूपमा सेयरधनीका लागि उपलब्ध हुने अवस्था थियो । सन् २०१६ मा ४६.५ रुपैयाँ, सन् २०१७ मा ४३.८ रुपैयाँ, सन् २०१८ मा ४१.१ रुपैयाँ र सन् २०१९ मा ३८.९ रुपैयाँ थियो । त्यस्तै, सन् २०२० मा यस्तो रकम घटेर ३१.८ रुपैयाँमा आएको थियो । सन् २०२१ मा ३५.७ रुपैयाँ र सन् २०२२ मा ३७.२ रुपैयाँ पुगे पनि त्यसपछि पुनः घटेको देखिन्छ । सन् २०२३ मा ३०.३ रुपैयाँ, सन् २०२४ मा २६.५ रुपैयाँ, सन् २०२५ मा २८.३ रुपैयाँ र सन् २०२६ मा २८.२ रुपैयाँ मात्रै रहेको विश्लेषणले देखाउँछ । सन् २०२१-२०२२ मा भने यस्तो अनुपात केही बढेको देखिन्छ । उक्त अवधिमा नेपाल राष्ट्र बैंकबाट सहज नीतिगत व्यवस्थाका कारण बढेको महानिर्देशक कोइरला बताउँछन् । तर, त्यसपछि भने यस्तो अनुपात पुनः घट्दै गएको उनको विश्लेषण छ । बैंकको नाफामा प्रभाव पार्ने अर्को महत्वपूर्ण पक्ष इम्पेयरमेन्ट चार्ज हो । सन् २०१९ देखि इम्पेयरमेन्टसम्बन्धी लेखा सिद्धान्तमा परिवर्तन भएपछि बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि इम्पेयरमेन्ट चार्ज छुट्याउनुपर्ने अवस्था आएको छ । यस्तो चार्जले बैंकको खुद नाफामा प्रत्यक्ष प्रभाव पार्छ । त्यस्तै, बैंकले आम्दानी गरे पनि कर तथा अन्य अनिवार्य खर्च व्यहोर्नुपर्ने हुन्छ । सञ्चालन खर्च, कर्मचारी खर्च, इम्पेयरमेन्ट चार्ज, कर तथा नियामकीय प्रावधान पूरा गरेपछि मात्रै बाँकी रकम खुद नाफाका रूपमा देखिन्छ । यसरी बैंकले एक सय रुपैयाँ सञ्चालन आम्दानी गर्दा सम्पूर्ण रकम नाफामा रूपान्तरण हुँदैन । आम्दानीको ठूलो हिस्सा सञ्चालन तथा कर्मचारी खर्च, इम्पेयरमेन्ट, कर र अन्य नियामकीय दायित्व पूरा गर्न प्रयोग हुन्छ । त्यसपछि बाँकी रहेको रकम मात्रै खुद नाफाका रूपमा देखिन्छ । बैंकिङ क्षेत्रको प्रतिफललाई रिटर्न अन इन्भेस्टमेन्टबाट हेर्दा पनि पछिल्ला वर्षमा उतारचढाव देखिन्छ । सन् २०२३ मा बैंकहरूको रिटर्न अन इन्भेस्टमेन्ट (आरओई) ११.२७ प्रतिशत रहेकोमा सन् २०२४ मा ९.६७ प्रतिशतमा झरेको थियो । सन् २०२५ मा यो १० प्रतिशत पुगे पनि सन् २०२६ मा पुनः घटेर ९.६० प्रतिशतमा सीमित भएको देखिन्छ । अझ सेयरधनीलाई वितरण गर्न सकिने नाफाको अवस्था हेर्दा दबाब थप स्पष्ट हुन्छ । सन् २०२३ मा वितरणयोग्य नाफा २.३३ प्रतिशत रहेकोमा सन् २०२४ मा १.३५ प्रतिशतमा झरेको थियो । सन् २०२५ मा यस्तो नाफा ०.०५ प्रतिशत र सन् २०२६ मा ०.०९ प्रतिशत मात्रै रहेको महानिर्देशक कोइरालाको विश्लेषण छ । यसले बैंकले आर्जन गर्ने कुल नाफा र सेयरधनीले वास्तविक रूपमा प्राप्त गर्न सक्ने रकमबीच ठूलो अन्तर रहेको देखाउँछ । बैंकको वित्तीय विवरणमा देखिने अर्बौं रुपैयाँको खुद नाफा नै सम्पूर्ण रूपमा लाभांशका रूपमा वितरण गर्न मिल्ने रकम नरहेको बैंकरहरू बताउँछन् । सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्याय पनि बैंकिङ क्षेत्र बाहिरबाट देखिएजस्तो अवस्थामा नरहेको र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको बताउँछन् । उनका अनुसार बैंकहरूको आम्दानी, पुँजी तथा लगानीको प्रतिफललाई समग्र रूपमा हेर्नुपर्ने अवस्था छ ।
उडिरहेको विमानमा पाइलटले नै अर्को पाइलटलाई चक्कु हानेपछि...
काठमाडौं । दुबईबाट इजरायल जाँदै गरेको एक विमानमा पाइलटहरूबीच झगडा भएपछि विमान साउदी अरबमा अवतरण गरिएको छ । विमानमा सवार एक इजरायली यात्रुले पत्रकारहरूलाई चालक दलका सदस्यहरूले यात्रुसँग सहयोग मागेको र त्यसपछि यात्रुहरूले एक पाइलटलाई नियन्त्रणमा लिएर बाँध्न सहयोग गरेको बताएका छन् । फ्लाई दुबईको उक्त उडान बुधबार बिहान दुबईबाट उडेको थियो । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ का अनुसार उडान भरेको करिब दुई घण्टापछि विमानले आपतकालीन संकेत जारी गरेको थियो । केही मिनेटपछि उक्त संकेतलाई अपहरणको संकेतमा परिवर्तन गरिएको थियो । तर पछि फेरि सामान्य आपत्कालीन संकेतमा परिवर्तन गरिएको थियो । नाम नखुलाइएका इजरायली अधिकारीहरूले सञ्चारमाध्यमलाई एक पाइलटले अर्का पाइलटलाई चक्कु प्रहार गरेको बताएका छन् । अधिकारीहरूका अनुसार ती पाइलटले विमान अपहरण गर्न वा विमान दुर्घटनाग्रस्त गराउन खोजेका हुन सक्छन् । यद्यपि, आक्रमण गर्ने पाइलटको उद्देश्यबारे अहिलेसम्म स्पष्ट जानकारी छैन र यसबारे कुनै आधिकारिक बयान पनि आएको छैन । इजरायली सञ्चारमाध्यमका अनुसार उडानका क्रममा पाइलट र सहपाइलटबीच झगडा भएको थियो । त्यसपछि विमानले आपतकालीन संकेत पठाएको थियो र केही समयका लागि विमान अपहरण भएको आशंका उत्पन्न भएको थियो । फ्लाइट एफजेड १०७३ संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । विमानमा करिब १५० देखि १८० जना यात्रु सवार थिए, जसमा अधिकांश इजरायली नागरिक थिए । फ्लाइटराडार २४ का अनुसार उडान भरेको करिब दुई घण्टापछि विमानले सुरुमा स्क्वाक कोड ७७०० पठाएको थियो । यो सामान्य आपतकालीन अवस्थाको संकेत हो । विमानका क्याप्टेन र फस्र्ट अफिसर घाइते फ्लाई दुबईले घटनामा क्याप्टेन र फर्स्ट अफिसर दुवै घाइते भएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय समयअनुसार बिहान ८ः४४ बजे एयर ट्राफिक कन्ट्रोल सेन्टरमा आपत्कालीन अवतरणका लागि संकेत प्राप्त भएको थियो । त्यसको करिब एक घण्टापछि विमान सुरक्षित रूपमा रनवेमा अवतरण गरेको थियो । यात्रुहरूले इजरायली सञ्चारमाध्यमलाई साउदी अरबतर्फ विमान मोडिनुअघि एक पाइलट चक्कु प्रहारबाट घाइते भएको बताएका छन् । यास्मिन नामकी एक महिलाले दुबईबाट तेलअभिभ जाँदै गरेको उक्त उडानमा आफ्नी छोरी पनि सवार रहेको बताइन् । उनकी छोरीले फोन गरेर विमानभित्र चिच्याएको आवाज सुनेको बताएकी थिइन् । एक पाइलटले सहयोगका लागि गुहार मागिरहेको उनले आमालाई बताएकी थिइन् । यास्मिनले समाचार एजेन्सी एपीलाई भनिन्, ‘विमानले नियन्त्रण गुमाउन थालेको थियो। सबै जना चिच्याउन थाले । उनीहरूलाई अब आफ्नो ज्यान बच्दैन भन्ने लागेको थियो ।’ रोयटर्ससँग कुरा गर्दै यास्मिनले दुई अन्य पाइलटले विमानको नियन्त्रण सम्हालेको बताइन् । त्यही क्रममा अन्य यात्रुहरू हातमा चक्कु बोकेको व्यक्तितर्फ दौडिएका थिए । एक इजरायली अधिकारीले च्यानल १२ सँग भने, ‘एउटा अत्यन्त गम्भीर दुर्घटना हुनबाट जोगिएको छ ।’ ‘द जेरुसेलम पोस्ट’ले पनि एक नाम नखुलाइएका इजरायली अधिकारीलाई उद्धृत गर्दै ‘ठूलो दुर्घटना हुनबाट बालबाल जोगिएको’ जनाएको छ । इजरायली सञ्चारमाध्यमसँग कुरा गर्दै नाम नखुलाइएका अधिकारीहरूले एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरेको बताएका छन् । ती पाइलटको उद्देश्य ‘या त विमान अपहरण गर्नु वा विमान दुर्घटनाग्रस्त गराउनु’ हुन सक्ने बताइएको छ । यद्यपि, आक्रमणको उद्देश्य पुष्टि भइसकेको छैन र यसबारे आधिकारिक बयान आउन बाँकी छ । विमानमा सवार एक इजरायली यात्रुले पत्रकारहरूलाई चालक दलका सदस्यहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन र बाँध्न सहयोग गर्न यात्रुसँग आग्रह गरेको बताएका छन् । एक प्रत्यक्षदर्शीले भने, ‘यहाँ केही मानिसका कमिज रगतले भिजेका छन् ।’ विमानको पछाडिको भागमा रहेका दुई पाइलट अगाडि आएर विमान अवतरण गराउन सहयोग गरेका थिए । एक यात्रुले भने, ‘मैले चिच्याएर उनीहरूलाई दौडिएर आउन र विमानको नियन्त्रण सम्हाल्न भनेँ ।’ उडानका क्रममा के भएको थियो ? फ्लाइटराडार २४ को तथ्यांकअनुसार साउदी अरबको आकाशमाथि पुगेपछि विमानले अचानक आफ्नो दिशा परिवर्तन गरेको थियो र तीव्र रूपमा तल झर्न थालेको थियो । विमान दुई मिनेटभन्दा कम समयमा १७ हजार फिट अर्थात् ५ हजार मिटरभन्दा बढी तल झरेको थियो । स्थानीय समयअनुसार बिहान ८ः२१ बजे विमान ३४ हजार फिटको उचाइमा उडिरहेको थियो । अचानक तल झर्न थालेको करिब १० मिनेटपछि विमानले करिब सात मिनेटसम्म आपत्कालीन संकेत पठाएको थियो । ५ः४० बजे विमान केही समयका लागि जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेको थियो । केही मिनेटपछि यो फेरि साउदी अरबतर्फ मोडिएको थियो र त्यसपछि अवतरण गर्न थालेको थियो । विमान तेलअभिभको बेन गुरियन विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर यो उत्तरपूर्वी साउदी अरबस्थित ताबुक विमानस्थलमा अवतरण गरेको थियो । यात्रुहरूले स्थानीय सञ्चारमाध्यमलाई विमान तल झर्न थालेपछि आफूहरूलाई ज्यानको डर लागेको बताएका छन् । रोयटर्ससँग नाम नखुलाउने सर्तमा एक इजरायली अधिकारीले पाइलटहरूबीच हात हालाहाल भएपछि दुवैले आपतकालीन संकेत पठाएको बताएका छन् । यद्यपि, दुवैमध्ये कुनै पाइलटले जानाजानी आपत्कालीन संकेत पठाएको हो वा होइन भन्ने तत्काल स्पष्ट हुन सकेन । इजरायली प्रसारक एन १२ न्युजका प्रमुख राजनीतिक विश्लेषक अमित सेगलले एक्समा पाइलटहरूबीच उडानकै क्रममा हात हालाहाल भएको देखिएको र त्यसपछि पूरै मध्यपूर्वमा उच्च सतर्कता अपनाइएको बताएका थिए । उनको उक्त पोस्ट पुनः पोस्ट गर्दै इजरायलका लागि अमेरिकी राजदूत माइक हकबीले घटनाका कारण मध्यपूर्व, विशेषगरी इजरायलमा सर्वसाधारण र सुरक्षा निकायहरू उच्च सतर्कतामा पुगेको बताएका थिए । उनले घटना यसभन्दा गम्भीर नबनेकोमा राहत व्यक्त गरेका थिए । जेरुसेलम पोस्टको रिपोर्टअनुसार सम्भावित आपतकालीन अवस्थासँग जुध्न तयारी गर्दै इजरायली वायुसेनाले आफ्नो सतर्कताको स्तर बढाएको थियो । इजरायली प्रधानमन्त्री कार्यालयले भने उक्त घटनालाई विमान अपहरणका रूपमा नलिइएको जनाएको छ । यसअघि इजरायलका तीन सुरक्षा अधिकारीले रोयटर्सलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त उडानका विषयमा अधिकारीहरूसँग छलफल गरेको बताएका थिए । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा सेना प्रमुख अयाल जमिरले वायुसेना कमान्डर तथा अन्य सैन्य अधिकारीसँग घटनाको अवस्थाबारे मूल्यांकन गरेको जनाएको छ । फ्लाईदुबईका प्रवक्ताले पनि उडानले ‘मार्गमै एउटा घटनाको सामना गरेको’ पुष्टि गर्दै सम्बन्धित अधिकारीहरूसँग आफ्ना टोलीले सहकार्य गरिरहेको बताएका छन् । फ्लाई दुबईले दुबई र तेलअभिभबीच दैनिक उडान सञ्चालन गर्छ । यो हवाई मार्ग इजरायली नागरिकबीच निकै लोकप्रिय मानिन्छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)
हिमालयन बुलियनका ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा
काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ग्राहकको सुरक्षाका लागि दुर्घटना बीमा गरिदिने सम्झौता भएको छ । गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले आफ्ना ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै तीन तहमा ग्राहक वर्गीकरण गरेको जनाएको छ । सम्झौताअनुसार आगामी बडादशैंको घटस्थापनादेखि हिमालयन बुलियनका ग्राहकले १ लाखदेखि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् । कम्पनीका अनुसार सिल्भर सदस्यता भएका ग्राहकका लागि १ लाख रुपैयाँसम्म, गोल्ड सदस्यता भएका ग्राहकका लागि ५ लाख रुपैयाँसम्म र डाइमन्ड सदस्यता भएका ग्राहकका लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिनेछ । ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता गरिएको हिमालयन बुलियनले जनाएको छ । कम्पनीले यो व्यवस्थाले आफ्ना ग्राहकको सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गरेको छ ।
सुनकुडा माविको भवन निर्माणमा भ्रष्टाचार मुद्दा : विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको तीन तले, १२ कोठे भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक धनबहादुर बिष्टसहितका प्रतिवादीविरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । आयोगले प्रतिवादीहरूबाट २६ लाख ५४ हजार ६८३ रुपैयाँ १२ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको थियो । त्यसैगरी, आरोपित कसुरअनुसार थप कैद तथा जरिवानाको सजायसमेत माग गरिएको अख्तियारले जनाएको छ । तर, विशेष अदालत काठमाडौंले २०८३ वैशाख ८ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो। उक्त फैसलाप्रति आयोगलाई चित्त नबुझेपछि २०८३ असोज १४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गुल्मी कांग्रेसमा इतर पक्षले छुट्टै जिल्ला समिति बनाउँदै
काठमाडौं । नेपाली कांग्रेस गुल्मीमा संस्थापन र इतर पक्षबीचको विवाद संगठनात्मक विभाजनतर्फ उन्मुख भएको छ । विशेष महाधिवेशन पक्षधरको क्षेत्रीय अधिवेशन चलिरहेका बेला इतर पक्षले छुट्टै जिल्ला समिति घोषणा गर्ने तयारी गरेको हो । इतर पक्षले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेद थापा मगरको संयोजकत्वमा २३ सदस्यीय जिल्ला समिति घोषणा गर्न लागेको हो । पहिलो चरणमा संयोजक, सचिव, दुई संघीय निर्वाचन क्षेत्रका संयोजक, चार प्रदेशसभा क्षेत्रका संयोजकसहित केही जिल्ला सदस्य घोषणा गर्ने तयारी रहेको थापाले जानकारी दिए । प्रस्तावित समितिको सचिवमा रविन्द्र घिमिरे रहने थापाले बताए । संयोजक थापाका अनुसार संघीय निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा मार्कण्डेय भण्डारी र क्षेत्र नम्बर २ को संयोजकमा विष्णु अर्याल रहने छन् । जिल्ला सदस्यमा कांग्रेसका पुराना नेता तथा पूर्व सांसद झकबहादुर पुन र लुम्विनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भुसाललगायतलाई समेटिएको छ । सदस्यमा मौसम भण्डारी रहेका छन् । थापाका अनुसार तत्काल घोषणा गरिने समिति प्रारम्भिक संरचना हो । विशेष महाधिवेशन पक्षमा रहेका केही नेता–कार्यकर्ता समेत आफूहरूसँग जोडिने तयारीमा रहेकाले उनीहरूलाई समेटेर समितिलाई पूर्णता दिइनेछ । थापाका अनुसार १७ गते जिल्ला समिति घोषणाको तयारी रहेको छ । पार्टीको जिल्ला अधिवेशन तथा संगठनात्मक संरचनालाई लिएर गुल्मी कांग्रेसमा लामो समयदेखि संस्थापन र इतर पक्षबीच मतभेद रहँदै आएको छ । पछिल्लो समय विशेष महाधिवेशनको प्रक्रियालाई लिएर विवाद चर्किएपछि दुवै पक्षले छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढाएका छन् । क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला इतर पक्षले जिल्ला तहकै छुट्टै संरचना घोषणा गर्न लागेपछि गुल्मी कांग्रेसको विवाद अब नेतृत्वको असहमतिको सीमाबाट संगठन सञ्चालनकै प्रश्नमा पुगेको देखिएको छ । इतर पक्षले घोषणा गर्न लागेको समितिले जिल्लाका दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा समेत समानान्तर संगठनात्मक संरचना निर्माण गरिरहेको छ । गुल्मी कांग्रेसमा सभापतिको दौड सुरु, पन्थीलाई चुनौती दिँदै तीन आकांक्षी
स्वास्थ्य प्रणाली बलियो बनाउन इडिसिडी, एफडीए र एनएचएएको संरचना आवश्यकः स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग नियन्त्रण, औषधी तथा खाद्य नियमन र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि प्रस्तावित रोग नियन्त्रण केन्द्र (इडिसिडी) ,खाद्य तथा औषधि प्रशासन (एफडीए) र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण (एनएचएए) को संरचना निर्माण गर्दा विद्यमान संस्थाको विशेषज्ञता, जनशक्ति र अनुभवलाई संरक्षण गर्नुपर्ने बताएकी छन् । इडिसीडी ,एफडीए तथा एनएचएए स्थापनासम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री मेहताले तीनवटै संरचना समग्र स्वास्थ्य प्रणालीसँग जोडिएको बताइन् । उनले औषधी तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टता हटाउँदै औषधी, खोप, स्वास्थ्य उपकरण,रोग परीक्षण सामग्री लगायतको नियमनलाई व्यवस्थित गर्नुपर्ने बताइन् । स्वास्थ्य संस्थाको गुणस्तरका लागि सरकारी, निजी तथा गैरसरकारी सबै संस्थामा आधारभूत राष्ट्रिय मापदण्ड आवश्यक रहेको उनको भनाइ थियो । एनएचएएले स्वास्थ्य संस्थाको बाह्य मूल्याङ्कन तथा गुणस्तर प्रत्यायनको प्रणाली विकास गर्न सक्ने उनले बताइन् । त्यस्तै, इडिसीडीलाई रोग निगरानी,महामारी तयारी तथा आकस्मिक प्रतिकार्यमा संघीय तहको प्राविधिक नेतृत्व गर्ने संरचनाका रूपमा विकास गर्न सकिने मन्त्री मेहताले बताइन् । हाल कार्यरत सम्बन्धित निकायको जनशक्ति र विशेषज्ञतालाई समेत नयाँ संरचनामा उपयोग गर्नुपर्ने उनको भनाइ छ । ‘सुधार रूपान्तरणका लागि हुनुपर्छ,विकृतिका लागि होइन,’ मन्त्री मेहताले भनिन्, ‘हाम्रो उद्देश्य संस्था बनाउनु मात्रै होइन, स्वास्थ्य प्रणाली बलियो बनाउनु हो ।’ उनले प्रस्तावित तीनवटै संरचनाको अन्तिम स्वरूप तत्काल निर्धारण गर्ने चरणमा मन्त्रालय नरहेको स्पष्ट पारिन् । अहिले मस्यौदा, कार्यढाँचा र मार्गचित्र तयार गर्ने चरणमा रहेको बताउँदै उनले संरचना निर्माणका क्रममा सम्बन्धित सरोकारवाला, प्रदेश तथा स्थानीय तह, निजी क्षेत्र, स्वास्थ्यकर्मी, विज्ञ तथा शैक्षिक क्षेत्रसँग चरणबद्ध रूपमा छलफल गरिने पनि जानकारी दिइन् ।