सन नेपाल लाइफको आईएसओ प्रमाणीकरण नवीकरण, ग्राहकको डाटा अब झन् सुरक्षित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक आईएसआ/आइसीई २७००१ः२०२२ को प्रमाणीकरण सफलतापूर्वक नवीकरण गरेको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै यस नवीकरणबाट बीमित, ग्राहक तथा सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रतिको आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ । कम्पनीका अनुसार आईएसआ/आइसीई २७००१ः२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी विश्वव्यापी रूपमा मान्यताप्राप्त मानक हो । जसले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान, मूल्याङ्कन र सुरक्षा उपाय लागू गर्न व्यवस्थित आधार प्रदान गर्दछ । यस मानकको मुख्य आधार सूचनाको गोपनीयता, अखण्डता र उपलब्धता सुनिश्चित गर्नु रहेको छ । जसअन्तर्गत ग्राहकका व्यक्तिगत, वित्तीय तथा स्वास्थ्यसम्बन्धी संवेदनशील विवरण अधिकारप्राप्त व्यक्तिले मात्र पहुँच पाउने, अनधिकृत परिवर्तनबाट सुरक्षित रहने र आवश्यक परेको समयमा प्रणाली सहजै उपलब्ध हुने व्यवस्था गरिन्छ । डिजिटल सेवाको विस्तारसँगै जीवन बीमा क्षेत्रमा ग्राहकको विवरण, बीमालेख, भुक्तानी तथा दाबीसम्बन्धी अभिलेखको सुरक्षित व्यवस्थापन प्रत्यक्ष रूपमा सेवाको विश्वसनीयता र ग्राहकको विश्वाससँग जोडिएको हुन्छ । कम्पनीले सूचना सुरक्षालाई आफ्नो संस्थागत जिम्मेवारीका रूपमा लिँदै आगामी दिनमा पनि जोखिम व्यवस्थापन, कर्मचारी सचेतना र प्रणाली सुधारमार्फत सुरक्षित, विश्वसनीय एवं ग्राहककेन्द्रित बीमा सेवा प्रदान गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।
जलवायु मुद्दामा नेपालले विश्वमै नेतृत्वदायी भूमिका खेल्नुपर्छ: मन्त्री चौधरी
काठमाडौं । बुधबार सिंहदरबारस्थित कृषि, वन तथा पर्यावरण मन्त्रालयमा विभिन्न नागरिक समाज, अक्सफाम, गैरसरकारी संस्था महासंघ लगायत ४० भन्दा बढी संघ/संस्थाहरूबाट जलवायु नीति २०८३ का सम्बन्धमा प्राप्त सुझाव तथा सल्लाह मन्त्री गीता चौधरीसमक्ष प्रस्तुत गरिएको छ । प्राप्त सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै मन्त्री चौधरीले सरोकारवालाबाट प्राप्त सुझावहरूको गहन अध्ययन तथा आवश्यक छलफलपछि मात्र नीतिलाई अगाडि बढाइने बताइन् । जलवायु नीति निर्माणमा युवा सहभागिता, समावेशिता र विविध क्षेत्रको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिँदै युवाको महत्वपूर्ण भूमिका सुनिश्चित गरिने उनले उल्लेख गरिन् । साथै, जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रका रूपमा नेपालले आफ्ना अनुभव, ज्ञान र प्राथमिकताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनका मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्रीले जोड दिइन् ।
मोदी र ट्रम्पबीच वार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफूहरूको राम्रो कुराकानी भएको बताएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारत र अमेरिकाबीच व्यापार, रक्षा, ऊर्जा, महत्वपूर्ण प्रविधि तथा अन्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यबारे समीक्षा गरिएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘हामीले भारत र अमेरिकाबीच व्यापार, रक्षा, ऊर्जा, क्रिटिकल टेक्नोलोजी र अन्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहयोगको समीक्षा ग‍र्यौं ।’ मोदीका अनुसार दुवै देशले आफ्नो व्यापक विश्वव्यापी रणनीतिक साझेदारीलाई थप अघि बढाउन नजिकको सम्पर्क कायम राख्ने सहमति गरेका छन् । कुराकानीका क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको मोदीले बताएका छन् । दुवै नेताले विश्वमा शान्ति र सुरक्षा प्रवर्द्धन गर्न भइरहेका प्रयासबारे समेत छलफल गरेको उनले उल्लेख गरेका छन् ।
महिला उद्यमीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजार पुर्याउन ललितपुरमा प्रदर्शनी मेला हुने
काठमाडौं । ललितपुर महानगरपालिकाले स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्यले तीन दिने प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । लोकल रुट्स टु ग्लोबल रिच नाराका साथ आगामी असोज १६ गते शुक्रबारदेखि १८ गते आइतबारसम्म पुल्चोकस्थित महानगरपालिकाको कार्यालय प्राङ्गणमा मेला सञ्चालन हुनेछ । बिहान १०ः०० बजेदेखि साँझ ६ः३० बजेसम्म चल्ने उक्त प्रदर्शनीमा कुल ७५ वटा स्टलहरू रहनेछन्, जहाँ अन्तर्राष्ट्रिय बजारमा माग भएका तथा गुणस्तरीय उत्पादनहरू मात्र प्रदर्शनमा राखिनेछ । प्रदर्शनीमा विभिन्न देशका राजदूत, विकास साझेदार, वैदेशिक नियोगका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय अतिथिहरूलाई आमन्त्रण गरिएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर सधैं पृथक कार्य गर्न इच्छुक रहेको बताउँदै यस प्रदर्शनीले महिला उद्यमीहरूलाई कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय बजारसँग जोड्न महत्त्वपूर्ण माध्यमको काम गर्ने उल्लेख गरे । वैदेशिक बजारमा गुणस्तरको ठूलो महत्त्व हुने भएकाले उद्यमीहरूलाई उत्पादनको गुणस्तरीयता कायम गर्न कुनै सम्झौता नगर्न आग्रह गर्दै उनले महानगरका अन्य सफल कार्यझैं यस मेलालाई पनि अन्य पालिकाले अनुकरण गर्ने गरी भव्य बनाउन निर्देशन दिएका छन् । कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यमशीलतामा महिलाको भूमिका पहिलेको सहायक अवस्थाबाट बदलिएर अहिले नेतृत्वदायी बनेको बताइन् । महानगरभित्र २५ सयभन्दा बढी महिला उद्यमीहरू रहेको जानकारी दिँदै उनले अनेकौं चुनौतीका बाबजुद महिलाहरू आत्मनिर्भर बन्न अघि सर्नु गौरवको विषय भएको धारणा राखिन् । कार्यक्रममा रोजिता महर्जनले मेलाको विशिष्टताबारे प्रस्तुतीकरण गरेकी थिइन् भने महानगरका सूचना अधिकारी तथा निर्देशक देवप्रसाद गुरागाइँको पनि उपस्थिति रहेको थियो ।
विकास निर्माणको गति बढाउन कानुन संशोधन गर्दै सरकार, उद्योगको लागत घटाउने
काठमाडौं । सरकारले विकास निर्माणमा देखिएका कानूनी तथा प्रक्रियागत समस्या समाधान गर्दै पूर्वाधार विकासलाई गति दिन आवश्यक कानून संशोधनको तयारी गरेको छ । सरकारले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणसँगै उद्योगको उत्पादन लागत घटाउने गरी नीतिगत तथा कानूनी सुधार अघि बढाएको हो । बुधबार (आज) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विकास निर्माण र उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको काम भइरहेको जानकारी दिए । मन्त्री लम्सालले प्रधानमन्त्रीको प्राथमिकता नै निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माण गर्नु रहेको बताए । उनका अनुसार सरकारले फोहोर व्यवस्थापनलाई समेत व्यवसाय र उद्योगका रूपमा विकास गर्ने अवधारणासहित काम अघि बढाएको छ । ‘प्रधानमन्त्रीज्यूको सोच नै निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माण गर्ने हो,’ मन्त्री लम्सालले भने ‘हामीले हालै फोहोर व्यवस्थापनको क्षेत्रमा पनि यसको अभ्यास गरेका छौं । फोहोर व्यवस्थापनलाई व्यवसायका रूपमा विकास गर्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाएका छौं ।’ उनले फोहोर व्यवस्थापनलाई उद्योगका रूपमा विकास गर्न सकिने भएकाले यस क्षेत्रमा पनि व्यवसायमुखी दृष्टिकोण आवश्यक रहेको बताए । मन्त्री लम्सालले उद्योगले भोगिरहेका उच्च लागतका समस्या समाधान गर्न सरकारले विशेष ध्यान दिएको पनि बताए । उनका अनुसार कच्चा पदार्थ उत्पादन हुने स्थान र उद्योगबीचको दूरीका कारण ढुवानी खर्च अत्यधिक बढ्दा नेपाली उद्योगको उत्पादन लागत महँगो भइरहेको छ । ‘उदाहरणका लागि एक ठाउँमा चुनढुंगा खानी र अर्को ठाउँमा सिमेन्ट उद्योग हुनसक्छ, यसले सिमेन्ट उद्योगको लागत बढाउँछ । अहिले ६० रुपैयाँको कोइला ल्याउँदा त्यसको ढुवानीमा ११०० रुपैयाँसम्म खर्च हुने अवस्था छ । त्यसैले सिमेन्टको लागत घटाउन ढुवानी लागत घटाउनु आवश्यक छ,’ उनले भने । सरकारले उद्योगका लागि आवश्यक कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनको भन्सार दर शून्य बनाउने तथा कच्चा पदार्थ उपलब्ध हुने स्थानको सम्भव भएसम्म नजिक उद्योग स्थापना गर्न सकिने गरी योजना अघि बढाएको उनले जानकारी दिए । कच्चा पदार्थ उत्पादन हुने स्थानमै उद्योग स्थापना गर्न सके उत्पादन तथा ढुवानी लागत घटाउन सकिने सरकारको अपेक्षा छ । छलफलमा सांसदहरूले भने विकास निर्माणलाई तीव्रता दिन चौबीसै घण्टा काम गर्ने व्यवस्था, निजी लगानी विस्तार, स्मार्ट यातायात प्रणाली र दक्ष जनशक्ति व्यवस्थापनलगायतका विषय उठाएका थिए । सांसद सागर ढकालले पूर्वाधार निर्माणमा तीन सिफ्टमा चौबीसै घण्टा काम गर्ने व्यवस्था गर्नुपर्ने बताए । नेपालमा कफी खेतीको सम्भावना रहेकाले उत्पादन तथा निर्यात बढाउन आवश्यक कानून संशोधन गर्नुपर्नेमा पनि उहाँले जोड दिए । सांसद आशीष गजुरेलले सार्वजनिक यातायातलाई पिपिए मोडलमा लैजानुपर्ने तथा ‘स्मार्ट ट्रान्सपोर्टेसन’को अवधारणाअनुसार अघि बढ्नुपर्ने सुझाव दिए । निजी लगानीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । सांसद श्रीराम न्यौपानेले विकास निर्माणका काम चौबीसै घण्टा सञ्चालन गर्न सके पुँजीगत खर्च बढाउन सकिने बताउनुभयो। सांसद धर्मराज केसीले जलवायु परिवर्तनसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा जोड दिए । सांसद डा. राम लामाले इन्जिनियरको तलब तथा सेवा सुविधा बढाएर दक्ष जनशक्ति विदेशिने क्रम रोक्नुपर्ने बताए । सांसद तपेश्वर यादवले तराईमा इन्जिनियरिङ कलेज स्थापना गर्ने सरकारको तयारीको प्रशंसा गर्दै यसबाट इन्जिनियरिङ अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । छलफलमा सांसदहरू जगदीश खरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी र सुशील खड्कालगायतले पनि समसामयिक विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए ।
रुसले गर्यो युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो हमला, पाँच जनाको मृत्यु
काठमाडौं । रुसले युक्रेनमा फेरि ठूलो हमला गरेको छ । युक्रेनका प्रधानमन्त्री सेरही कोरेत्स्कीका अनुसार वसन्त ऋतुयता पहिलोपटक रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा यति ठूलो हमला गरेको हो । यसपटकको हमलाको मुख्य निशाना युक्रेनको राजधानी किएभ र त्यस आसपासको क्षेत्र बनेको छ । कोरेत्स्कीका अनुसार रातभर भएका हमलामा देशभर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मृतकमध्ये किएभ क्षेत्रका एक बालक पनि छन् । हमलाका कारण विद्युत् आपूर्तिमा समेत असर परेको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले राजधानीमा ‘कठिन रात’पछि ८ हजार घरमा विद्युत् आपूर्ति पुनःस्थापित गरिएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले हमलाका निशानामध्ये त्रिपिल्स्का पावर स्टेसन पनि रहेको जनाएको छ । यो किएभमा विद्युत् आपूर्ति गर्ने सबैभन्दा ठूलो केन्द्र हो । टेलिग्राममार्फत जारी बयानमा कोरेत्स्कीले भनेका छन्, ‘गर्मीको मौसम सकिएपछि सायद कुनै दिन पनि यस्तो बितेको छैन, जब शत्रुले हाम्रो ऊर्जा पूर्वाधारमा हमला नगरेको होस् ।’ ‘तर, पछिल्लो हिटिङ सिजन सकिएपछि यस स्तरको ठूलो र संयुक्त हमला पहिलोपटक भएको हो,’ उनले थपे । युक्रेनले यसअघि नै रुसले आफ्नो विद्युत् सञ्जालमाथि फेरि लामो समयसम्म हमला गर्न सक्ने आशंका गरेको थियो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता हरेक जाडोयाममा यस्ता हमला हुँदै आएका छन् । प्रधानमन्त्री कोरेत्स्कीका अनुसार रातभर युक्रेनका ११ क्षेत्रलाई निशाना बनाइएको थियो । हमलाका क्रममा आवासीय भवन, सामाजिक पूर्वाधार, नागरिक उद्योग तथा रेलवे सञ्जालमा समेत क्षति पुगेको छ ।
स्वीकृतिबिना सडकपेटी खन्ने २ जनालाई डेढ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र महानगरपालिकाको स्वीकृति नलिई सडकपेटी खन्ने दुई जनालाई महानगर प्रहरी बलले जरिवाना गरेको छ । महानगर प्रहरी बलका अनुसार वडा नम्बर ७ का कृष्णबहादुर चापागाईंलाई स्वीकृति नलिई सडकपेटी खनेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, वडा नम्बर ३ का ध्वजबहादुर थापामगरलाई १ लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । महानगरपालिकाका अनुसार सार्वजनिक सडक तथा सडकपेटीमा स्वीकृति नलिई जथाभावी खन्ने र संरचना बिगार्ने कार्य नियन्त्रण गर्न महानगर प्रहरी बलले अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको छ । महानगरले सार्वजनिक पूर्वाधारको संरक्षण तथा सडकपेटीमा हुने अनधिकृत निर्माण तथा क्षति न्यूनीकरणका लागि स्वीकृतिबिना सडक खन्ने कार्यमाथि निगरानी बढाएको जनाएको छ ।
काठमाडौंमा असोज १५ देखि २६ गतेसम्म विभिन्न क्षेत्रमा बत्ती काटिने
काठमाडौं । काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा असोज १५ गतेदेखि २६ गतेसम्म विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती हुन लागेको हो । सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइन सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक कार्य गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । असोज १५ गते सतुंगल बौथली क्षेत्र, असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र, असोज १७ गते मुलपानी क्षेत्र, असोज १८ गते गर्जुधारा क्षेत्र, असोज २० गते, मुलपानी क्षेत्रमा लाइन कटौती हुनेछ । त्यस्तै, असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ सतुंगल धौलागिरी आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत लाइनको काम गरिनेछ । मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् आपूर्ति कटौती गरिने छैन । प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो । दोस्रो चरणमा काठमाडौं जिल्लाका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिका अन्तर्गतका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने काम भइरहेको छ । यस कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टेजका विद्युत् लाइनहरू भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ । भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा अभिवृद्धि हुनुका साथै वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।