जलवायु मुद्दामा नेपालले विश्वमै नेतृत्वदायी भूमिका खेल्नुपर्छ: मन्त्री चौधरी

 

काठमाडौं । बुधबार सिंहदरबारस्थित कृषि, वन तथा पर्यावरण मन्त्रालयमा विभिन्न नागरिक समाज, अक्सफाम, गैरसरकारी संस्था महासंघ लगायत ४० भन्दा बढी संघ/संस्थाहरूबाट जलवायु नीति २०८३ का सम्बन्धमा प्राप्त सुझाव तथा सल्लाह मन्त्री गीता चौधरीसमक्ष प्रस्तुत गरिएको छ ।

प्राप्त सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै मन्त्री चौधरीले सरोकारवालाबाट प्राप्त सुझावहरूको गहन अध्ययन तथा आवश्यक छलफलपछि मात्र नीतिलाई अगाडि बढाइने बताइन् ।

जलवायु नीति निर्माणमा युवा सहभागिता, समावेशिता र विविध क्षेत्रको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिँदै युवाको महत्वपूर्ण भूमिका सुनिश्चित गरिने उनले उल्लेख गरिन् । 

साथै, जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रका रूपमा नेपालले आफ्ना अनुभव, ज्ञान र प्राथमिकताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्दै जलवायु परिवर्तनका मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्रीले जोड दिइन् ।

Share News