काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभिन्न २९ निकायसँग रिक्त तथा आगामी आर्थिक वर्षमा रिक्त हुने पदको विवरण माग गरेको छ ।
मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले बुधबार (आज) पत्र पठाउँदै रिक्त दरबन्दीको एकीकृत विवरण तीन दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
मन्त्रालयले वन तथा वातावरण मन्त्रालयको २०८३ असोज ७ गतेको पत्रअनुसार नेपाल वन सेवा, जनरल फोरेस्ट्री समूहका राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका रिक्त पद तथा आर्थिक वर्ष २०८३/८४ मा रिक्त हुने दरबन्दीको विवरण माग गरेको जनाएको छ ।
यसका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, स्वास्थ्य सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलगायत निकायलाई पत्राचार गरिएको छ ।
त्यस्तै, नारायणी अस्पताल, भरतपुर अस्पताल, मानसिक अस्पताल, भेरी अस्पताल, कोशी अस्पताल, डडेलधुरा अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, केन्द्रीय कारागार अस्पताललगायतलाई पनि विवरण पठाउन भनिएको छ ।
मन्त्रालयले सम्बन्धित निकायलाई सेवासमूह तथा उपसमूह, श्रेणी, पद, स्वीकृत दरबन्दी, कार्यरत संख्या र रिक्त पदको विवरण उपलब्ध गराउन भनेको छ ।
त्यसैगरी, रिक्त पदमध्ये बढुवा, खुला, अन्तर्वार्ता वा अन्य प्रक्रियाबाट पूर्ति हुने संख्या तथा जम्मा रिक्त पदको विवरणसमेत माग गरिएको छ ।
आगामी दिनमा अवकाश, राजीनामा वा कारबाहीका कारण रिक्त हुने पदको हकमा सम्बन्धित कर्मचारीको नाम, थर र रिक्त हुने मितिसहितको विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले माग गरिएको विवरण फ्याक्स वा इमेलमार्फत पठाउनुका साथै सूचना प्रविधि शाखालाई उपलब्ध गराई मन्त्रालयको वेबसाइटमा समेत अपलोड गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको निर्णयअनुसार तीन दिनभित्र विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।