काठमाडौं । बालबालिकालाई सानै उमेरदेखि मुख तथा दन्त स्वास्थ्यप्रति सचेत गराउँदै स्वस्थ बानीको विकास गराउने उद्देश्यले नेपाल डेन्टल एसोसिएसन (एनडीए) ले विद्यालय तहको पाठ्यक्रममा मुख स्वास्थ्यसम्बन्धी विषय समावेश गर्न सरकारसँग माग गरेको छ ।
एसोसिएसनका अध्यक्ष डा.अजयकुमार साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको हो । भेटका क्रममा एनडीएले बालबालिकालाई सानैदेखि दाँत तथा मुखको सरसफाइ, सामान्य रोगहरू, तिनको रोकथाम र स्वस्थ जीवनशैलीबारे शिक्षित गराउनुपर्नेमा जोड दिएको छ ।
भेटमा अध्यक्ष डा. साहले मुखलाई सम्पूर्ण शरीरको प्रवेशद्वारका रूपमा उल्लेख गर्दै सानै उमेरमा सही ज्ञान र सीप दिन सके भविष्यमा हुन सक्ने अनेकौँ दन्त तथा मुख स्वास्थ्यसम्बन्धी समस्याहरूबाट जोगिन सकिने बताए ।
विद्यालय स्तरको पाठ्यक्रम निर्माण तथा त्यससँग सम्बन्धित शैक्षिक सामग्री तयार पार्न एसोसिएसनका तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासहितको पत्रसमेत मन्त्री पोखरेललाई बुझाइएको छ ।
भेटघाटमा दन्त चिकित्सा क्षेत्रमा विद्यमान समसामयिक चुनौती, समस्या र तिनका सम्भावित समाधानका उपायहरूबारे मन्त्री पोखरेलसँग सकारात्मक र फलदायी छलफल भएको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनकी सदस्यसमेत रहेकी सांसद डा.अंकिता ठाकुरको सहजीकरणमा भएको उक्त भेटघाट कार्यक्रममा एनडीए अध्यक्ष डा. साहसहित महासचिव प्रदीप भण्डारी, सदस्य डा. भुमेश काफ्ले लगायत अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।