सुनकुडा माविको भवन निर्माणमा भ्रष्टाचार मुद्दा : विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको तीन तले, १२ कोठे भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक धनबहादुर बिष्टसहितका प्रतिवादीविरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

आयोगले प्रतिवादीहरूबाट २६ लाख ५४ हजार ६८३ रुपैयाँ १२ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको थियो ।

त्यसैगरी, आरोपित कसुरअनुसार थप कैद तथा जरिवानाको सजायसमेत माग गरिएको अख्तियारले जनाएको छ ।

तर, विशेष अदालत काठमाडौंले २०८३ वैशाख ८ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो। उक्त फैसलाप्रति आयोगलाई चित्त नबुझेपछि २०८३ असोज १४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share News