अतिन आचार्य

भोटेकोशीले उजाडेको बनिया परिवार, बाउ-छोरा अझै खोज्दैछन् आफ्नो संसार

काठमाडौं । ‘हाम्रो परिवार उजाडियो, सपना हरायो । न लास भेट्यौं, न उनीहरू बाँचेको कुनै खबर नै पायौं । आखिर हामीले त्यस्तो के गरेका थियौं ?’ त्रिवि शिक्षण अस्पतालको गेट अगाडि भेटिएका ५१ वर्षीय बुधनचा बनिया एकसुरले बोलिरहेका थिए  । जहाँ हराएका मानिसहरूको फोटो भित्तामा टाँसिएका छन् । आफन्त भेटिने आशामा परिवारहरू खोजीमा फोटोमा आँखा डुलाइरहेका छन्। टिमुरे, त्रिसुली र स्याफ्रुबेँसीबाट हराएका छन् भन्दै आवाज कानमा गुन्जिरहेको थियो ।  बनिया बोल्दै गर्दा उनका शब्दभन्दा आँखा बढी बोलिरहेका थिए । उनी श्रीमती र छोरीहरूको फोटोमा हेर्दै टोलाइरहेका थिए । बनियाको परिवार बेत्रावतीमा बसोबास गर्दै आएका थियाे । उनको परिवारबाट एकैपटक पाँच जना सदस्यलाई भोटेकोशीले बगाएपछि उनी अहिले छोरा राजा कुमार बनियासँगै आफ्ना प्रियजन परिवारको खोजीमा भौंतारिरहेका छन् । हिजोआज उनले अस्पतालको गेट र प्रहरीलाई सोधपुछ गर्दा दिन बितेको पत्तो पाउँदैनन् ।  उनको आँखा- मनले छोरी, श्रीमती र नातिनी खोजिरहेको छ । बाढीले भारत घर भएका बनियाका माल्तीदेवी बनिया, सन्ध्यादेवी बनिया, दिप्शिका कुमारी बनिया, रुपा कुमारी बनिया र आशा कुमारी बनियालाई बगाएको हो । बाढी आएको दिनदेखि नै बुधनचा र उनका २३ वर्षीय छोरा राजा कुमार कहिले नदी किनार, कहिले शव सङ्कलन केन्द्र र कहिले बाढीले क्षति पुर्‍याएका बस्तीमा भौँतारिरहेका छन् । ‘खोज्दै हिँडेका छौं, तर भेटिएको छैन,’ बुधनचाले पीडाले भरिएको स्वरमा भने, ‘अब चितवनतिर पनि जान लागेका छौं । कतै केही चिनो पो भेटिन्छ कि ? ।’ नेपालमा बिस्तारै जीवनले लय समाउँदै गइरहेको उनलाई लागेको थियो । तर भोटेकोशीले नदीले जीवनको धार बदलिदियो । बास र परिवार बगाएपछि सबैथोक अन्धकार भएको जस्तो बनियालाई लागेको छ । जाने ठाउँ र बोलाउने मानिस हराएकाले केही सोच्न पनि नसकेको उनको भनाइ छ । हेलिकप्टरबाट बाँचेर फर्किए, परिवारलाई उतै छाडे बाढीको त्रासदीबाट बनियाका बुबा–छोरा भने ज्यान जोगाउन सफल भए । उद्धारपछि उनीहरू हेलिकप्टरमार्फत त्रिशूलीसम्म आइपुगे। त्रिशुलीलाई छाडेर काठमाडौं आएका उनीहरू फोटो हेर्दै बिलौना सुनाउँदै हिँडिरहेका छन्। राहत सामग्री पुर्‍याउन जाने गाडीमै फर्केका काठमाडौं फर्केका उनीहरू अहिले हराएका आफन्तको खोजीमा छन् । ज्यान बचे पनि उनीहरूलाई जीवन बाँचेको जस्तो अनुभूति छैन । ‘हाम्रो कमाइ राम्रो थियो । जीवन राम्रैसँग चलिरहेको थियो,’ बुधनचाले अनुहार मलिन बनाएर भने, ‘चटपटेको काम गर्थ्यौं, कवाडी सङ्कलन गरेर बेच्थ्यौं । दुःख थियो, तर आफ्नो परिवारसँग भएका हामीसँग सब थियो । अहिले त सबै कुरा सकियो जस्तो लाग्छ ।’ बनिया परिवारको नेपाल आएको १४ वर्ष बितिसकेको थियो । बेत्रावतीको किनार र बजारमा साइकल घुमाए । पसिना बगाए, यहीँ परिवारको भविष्य खोजे । सानो–सानो कमाइबाट जीवनका लागि ऊर्जा बटुलिरहेका थिए । भोलिको सपनालाई सजाएर वर्तमानमा बाँचिरहेका थिए उनीहरू । केही क्षणको बाढीले वर्षौंदेखि जोड्दै आएको संसार र सपना बगाएर लग्यो । बुधनचाका लागि अहिले सबैभन्दा ठूलो पीडा मृत्यु हो । परिवार भेटिएनन्,  आफ्ना मान्छे कहाँ छन् भन्ने खबर उनका लागि अनिश्चितता बनेको छ । उनले न मृत परिवारलाई देख्न सकेका छन्, न कतै जीवितै रहेको आश्वासन पाउन सकेका छन् । उनीहरू शव खोज्ने यात्रमा नभइ एउटा परिवारको सपना खोजिरहेका छन् । ‘हाम्रो दिमागले काम गर्न सकेको छैन,’ बुधनचा भन्छन्, ‘हामीले कसैको केही बिगारेका थिएनौं । हामीले त्यस्तो के गल्ती गरेका थियौं र यस्तो सजाय भोग्नुपर्‍यो ?’ उनको प्रश्नको जवाफ नदीसँग पनि छैन, बाढीले बगाएका ढुंगासँग पनि छैन । उनको मनसँग मात्र आशा छ । छेउमै रहेका २३ वर्षीय छोरा राजा पनि मौन छन् । उनी बाँच्न सफल भए ।  बाँकी पाँचजना हराएकाले उनीहरूको जीवनमा रित्तोपन मात्र छ । खालीपनले दुवै बाउछोरालाई छोएको छ । ‘अब कसलाई सम्झेर बाँच्ने होला ?’ बुबाको कुरा सुनेर छेउमा उभिएका राजाको आँखा आँसु टिल्पिलाउन थाल्यो। बुबा–छोरा अहिले पनि खोजीमा छन् । बुबा छोरा मात्र नभइ अहिले असल साथी बनेका छन् । उनीहरू शवको खोजीमा पाइला अघि बढाइरहेका छन् । चितवनतिर जाने तयारीमा रहेका उनीहरू परिवारको कुनै चिनो भेटिने आशा छन् । भोटेकोशीको उर्लंदो भेलले केवल घर र सम्पत्ति मात्र बगाएन । बुधनचाको एउटा पूरै संसार बगाएको छ। ‘हाम्रो परिवार उजाडियो, सपना हरायो,’ बुधनचा फेरि भन्छन्, ‘अब कसलाई सम्झेर बाँच्ने होला ?’

रसुवाको बाढी प्रभावित चार सय बालबालिकालाई काठमाडौंमा राख्ने तयारी

काठमाडौं । सरकारले रसुवाको बाढीबाट प्रभावित भएका ४ सय बालबालिकालाई काठमाडौंका बाल गृह तथा पुनःस्थापना केन्द्रमा राख्ने भएको छ ।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले रसुवा र नुवाकोटका बाढीले प्रभावित बनाएको बालबालिकालाई काठमाडौंका बाल गृहमा राख्ने तयारी गरेको हो । मन्त्रालयले १७ हजार बालबालिका बाढीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने अनुमान गरेको छ । पूर्ण रुपमा जिल्लबाट प्रभावित बालबालिकाको तथ्यांक आइनसकेको राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव दुर्गा प्रसाद चालिसेले बताए । उनका अनुसार कति बालबालिका प्रभावित भए त्यसको विवरण आएको छैन । धेरै बालबालिका हराएको अनुमान गरिएको छ । ‘हामीले चार सय बालबालिकालाई काठमाडौंका बाल सुधारगृहमा राख्ने गरेर तयारी गरेका छौ,’ उनले विकासन्युजसँग भने,’ ठूलो संख्यामा बालबालिका आएमा चितवनका बालसुधार गृहमा लान पनि सक्छौ। सबैभन्दा बढी बालबालिका रसुवा र नुवाकोटमा प्रभावित भएका छन् ।‘ बालबालिकाहरू शिक्षाबाट वञ्चित हुने र उनीहरुको जीवनमा प्रत्यक्ष असर पर्ने चालिसेले बताए । बालबालिका अभिभावकविहिन हुँदा आफ्नो शारीरिक बनावटदेखि सामाजिक संरचनामासमेत प्रभाव पर्ने सक्ने देखिएको उनले प्रस्ट पारे । बालबालिकाको भविष्यप्रति हामी गम्भीर रहेको उनको भनाइ छ । बालबालिकाको मनोविज्ञानदेखि चौतर्फी विकास हुने गरेर संरक्षण दिने उनले बताए । उनका अनुसार काठमाडौंका ठाउँ खोजी भइरहेका छ । बालबालिका मैत्री वातावरणको खोजी गरिने छ । भौतिक संरचनादेखि आवश्यक वातावरणलाई हेरेर व्यवस्थापन गरिनेछ । एक-दुई दिनमा प्रभावित बालबालिकाको संख्या आइसक्ने चालिसेले बताए । हामीले बाढी प्रभावित जिल्लामा बालबालिकाको तथ्यांक माग गरिरहेको उनले उल्लेख गरे । ठूलो संख्यामा बालबालिका प्रभावित भएको हुन सक्ने अनुमान गरेको भए पनि विवरण नआएसम्म यसै भन्न नसकिने उनले बताए । चालिसेले बाढीबाट प्रभावित बालबालिकालाई अनाथगृहमा पनि राख्न सकिने बताए । अभिभावक गुमाएका बालबालिकालाई राज्यले संरक्षण गर्ने उनको भनाइ छ । ‘परिवारसँग मिलान हुनेलाई अभिभावकलाई जिम्मा लगाउनेछौ,’ उनले विकासन्युजसँग भने  । धेरै बालबालिकाहरू बाढी प्रभावित जिल्लाको विद्यालय तथा छिमेकीको घरमा शरण लिइरहेका छन् । सामाजिक सञ्जालमा घरबारविहिन भएका बालबालिकाहरूको भिडियो सार्वजनिक भइरहेका छन् । सरोकारवाला निकायले पनि सबैभन्दा धेरै बालबालिका प्रभावित हुने बताएका छन् । त्यसैगरी, प्रियंका चोपडा र गायन जेन मलिकले नेपालका १० हजार बालबालिकालाई तत्काल मानवीय सहायता जरुरी रहेको बताएका छन् । केही दिनअघि यी दुई विश्वप्रसिद्ध स्टारले भोटेकोशी बाढीको तस्वीरसहितको सूचना पोस्ट गर्दै उक्त आह्वान गरेका थिए । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा क्षति पुर्याएको छ ।  ‘नेपालमा विनाशकारी बाढीबाट १० हजार बालबालिकालाई तत्काल मानवीयता सहायता जरुरी छ’ प्रियंका र जेनले राष्ट्रसंघीय बालकोष युनिसेफको सूचना सेयर गरेको सन्देशमा भनिएको छ । बुधबार रसुवा र नुवाकोटमा भएको जनधनको क्षति दर्शाउने फोटो पनि उनीहरू हालेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका अनुसार हालसम्म ९ सय ३ जनाको शव फेला परेको छ । ४ हजार २४७ जना सम्पर्कविहिन भएका छन् ।

‘रसुवामा खाद्यान्न संकट नजिकिदैँ, केन्द्र सरकारले हामीलाई सुनेन’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकामा बाढीपछि उद्धार तथा राहत वितरणको अवस्था अझै सहज बन्न सकेको छैन। शुक्रबारदेखि खाद्यान्नको आपूर्ति केही सहज भए पनि सडक सम्पर्क विच्छेद हुँदा दुर्गम तथा प्रभावित क्षेत्रमा पर्याप्त राहत सामग्री पुर्‍याउन समस्या भइरहेको स्थानीय जनप्रतिनिधिले बताउन थालेका छन्। उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले जिल्ला र गाउँपालिकामा खाद्य संकट हुन सक्ने बताएकी छन् । बाढी प्रभावित क्षेत्रमा मात्र नभई समग्र भूगोलमै खाद्यान्न संकट उत्पन्न हुन सक्ने अवस्था रहेको स्थानीय उनले बताएकी हुन् । सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध हुँदा नुन, तेल, दाल, चामललगायत अत्यावश्यक खाद्यान्नको मौज्दात सकिँदै गएको गुरुङको भनाइ छ। राज्यले हाम्रो आवाज सुन्न नसकेको उनले प्रतिक्रिया दिइन् । 'बाटो छैन, बगरमा परेका सडक तत्कालै बन्ने अवस्था पनि छैन,’ उपाध्यक्ष गुरुङले विकासन्युजसँगको टेलिफोन संवादमा भनिन्, ‘त्यसैले खाद्य संकट आउँछ र लामो समयसम्म रहन सक्छ।' उनका अनुसार गाउँपालिकाको वडा नम्बर ४ र ५ का विभिन्न स्थानमा करिब ७ सय जना आश्रयस्थलमा रहेका छन्। तीमध्ये वडा नम्बर ४ को एक विद्यालयमा राखिएका प्रभावितलाई सडक अवरुद्ध भएका कारण पर्याप्त राहत पुग्न सकेको छैन। उत्तरगयाका करिब १५० देखि २०० जना प्रभावित किस्पाङ गाउँपालिका–५ को शान्तिबजारमा आश्रय लिएर बसेका छन्। त्यहाँ पनि खाद्यान्न पुग्न नसकेको र हेलिकोप्टरमार्फत मात्र राहत पुर्‍याउन सकिने अवस्था रहेको उनले बताइन् । उत्तरगया–१ को तिरु क्षेत्रमा समेत प्रभावित नागरिक रहेको जानकारी आए पनि सञ्चार सम्पर्क हुन नसकेका कारण वास्तविक अवस्था यकिन गर्न नसकिएको गुरुङले उल्लेख गरिन् ।  सडकको विकल्प नभएकाले हेलिकोप्टरमार्फत खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री पुर्‍याउनुपर्ने अवस्था रहेको उनले बताइन् । त्यसैगरी, उत्तरगयाका केही नागरिक नुवाकोटको सूर्यगढी क्षेत्रमा समेत आश्रय लिएर बसेका छन्। त्यहाँ करिब १०० देखि १५० जनासम्म रहेको अनुमान भए पनि आधिकारिक संख्या यकिन हुन सकेको छैन। उत्तरगया गाउँपालिकाको जनगणनाअनुसार जनसंख्या ८ हजार ५५५ रहेको भए पनि गाउँपालिकाको स्थानीय प्रोफाइलअनुसार करिब १२ हजार जनसंख्या रहेको गुरुङले जानकारी दिइन् । उत्तरगयाका पाँचवटै वडा प्रभावित भएकाले वास्तविक प्रभावितको संख्या निकै ठूलो रहेको उनको भनाइ छ । एक हजारभन्दा बढी बेपत्ता वा सम्पर्कविहीन बाढीपछि गाउँपालिकामा एक हजारभन्दा बढी मानिस बेपत्ता वा सम्पर्कविहीन रहेको उपाध्यक्ष गुरुङले दाबी गरिन् । सञ्चार सम्पर्क नहुँदा कतिपय स्थानमा मानिसको अवस्था बुझ्नसमेत नसकिएको उनको भनाइ छ। 'विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र मानिसहरू फसेको र सुरुङ बन्द भएका कारण उद्धारमा थप जटिलता देखिएको छ,’ गुरुङ भन्छिन्,’ केही स्थानमा सुरुङ फोरेर मानिस निकाल्ने प्रयास भइरहे पनि अझै सुरुङ पूर्णरूपमा खुल्न सकेको छैन।' केन्द्र सरकार तथा राज्य संयन्त्रको उद्धार प्रयासबारे प्रश्न उठाउँदै उनले बाढी आएको पहिलो र दोस्रो दिन प्रभावकारी सरकारी उद्धार हुन नसकेको बताएका छन्। उनका अनुसार ‘सुरुको दिन र भोलिपल्ट केही पनि भएन’, तर त्यसपछि हिजोदेखि उद्धार गतिविधि केही तीव्र भएको छ। करिब २००–३०० जना मानिस फसेका स्थानबाट समेत उद्धार सुरु भएको उनले जानकारी दिइन् । यद्यपि, उद्धार अझै पर्याप्त नभएको र सुरुङभित्र फसेका मानिसको अवस्थाबारे चिन्ता कायमै रहेको उनको भनाइ छ। जनप्रतिनिधि काठमाडौंमा, प्रभावित क्षेत्रमा फोनसमेत नलाग्ने राहत तथा उद्धारका लागि स्थानीय तहले केन्द्र सरकारसँग समन्वय गरिरहेको भए पनि प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर काम गर्न कठिन भएको गुरुङले बताइन् ।  उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीएमए) को केन्द्रमा बैठक तथा समन्वय गरी औषधि सिधै उत्तरगया पुर्‍याउने व्यवस्था मिलाइएको छ। राहत सामग्री बोकेका गाडीलाई बाटोमा प्रहरीले रोक्ने गरेको गुनासोसमेत उनले गरेकी छन्। गुरुङले मन्त्रालयसँग समन्वय गर्न पत्राचार, आवश्यक कागजात तथा सिफारिस तयार पार्ने कामसमेत काठमाडौंमै बसेर गर्नुपरेको बताइन् । 'उता फोन नै सम्पर्क हुँदैन,' उनले भने, 'त्यसैले यहाँ बसेर मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौं।'

‘रसुवामा सरकार पुगेन, जंगल र डाँडामा बसेकाको चित्कार सुनिन्छ’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकामा सयौं मानिसहरू जंगलभित्र र अग्ला–अग्ला ठाउँमा बसेर उद्धारको पर्खाइमा रहेका छन् । उद्धार गर्नका लागि स्थानीयहरूले फोन गरेर जनप्रतिनिधिहरूलाई गुहारिरहेका छन् । उद्धार भएकाहरू डाँडाका खुला चौर र विद्यालयका कोठामा बस्न बाध्य छन् ।  ‘धेरैले परिवारका सबै सदस्य गुमाएका र कोही भने एक्लै रहेका छन् । परिवारका अभिभावक गुमाउनेदेखि र सन्तान गुमाउनेसम्म छन्,’ उपाध्यक्ष चमेली गुरुङले सुनाइन् । उनले संघ र प्रदेश सरकारले बेवास्ता गरेको गुनासो गरेकी छन् ।  विध्वंशकारी बाढी आउँदा राज्यको उपस्थिति नपुगेकोमा उनले विकासन्युजसँगको संवादमा बताएकी छन् । गाउँपालिकाबाट यति संख्यामा मानिसहरू भन्न नसकिने उनले बताइन् । स्थानीय तहले गणना गरेर भन्न नसकिने उनले जानकारी दिइन् । ‘हाम्रो सबै वडामा क्षति भएको छ । १ र २ वडाका एक सयदेखि डेढ सय घरलाई बाढीले पूर्ण रुपमा क्षति गरेको छ,’ उनले भनिन्, ‘भूकम्पबाट प्रभावित भएर बसेका तीन सय बस्ती सबै बगाएको छ । धेरै मानिस खुला आकाशमुनि बस्न बाध्य छन् ।’ जंगलको डाँडाकाडाबाट उद्धार गर्नुपर्यो भन्दै फोन आइरहेको उपाध्यक्ष गुरुङले बताइन् । ‘राम्रोसँग बोल्ने कोही छैनन् र सबैजना रोएर मात्र फोन गरिरहेका छन्,’ उनले भनिन् । ।  उद्धारको निम्ति राज्यको उपस्थिति एकदमै न्यून रहेको उनको भनाइ छ ।  गाउँपालिकाले सात सय मानिसलाई उद्धार गरेर विभिन्न विद्यालयमा राखिएको उनले बताइन् ।  पसलबाट चाउचाउ, बिस्कुट तथा पसलमा पाइने खानेकुरा खुवाइरहेको उनले जानकारी दिइन् । उद्धार गर्नेको संख्या बढ्ने क्रम जारी रहेको उनले प्रस्ट पारिन् । ‘एउटा–दुई वटा हेलिकोप्टर मात्र उडिरहेको छ । हेलिकोप्टरले पर्याप्त मात्रामा उद्धार गर्न सकेको छैन । हाम्रो लागि सरकार छैन,’ उपाध्यक्ष गुरुङ भन्छिन्, ‘जंगलमा स्थानीयहरुको बास छ । राज्य कहाँ छ केही थाहा छैन । सम्पर्क गर्दा कोहीसँग सम्पर्क हुन सकेको छैन ।’ राज्यका कुनै संयन्त्रसँग सम्पर्क हुन नसकेको उनले उल्लेख गरिन् । सीडीओ, जिल्लाका प्रहरी प्रमुख र सुरक्षा संयन्त्र कसैले वास्ता नगरेको गुरुङको गुनासो छ। अहिलेसम्म एउटा मात्र हेलिकोप्टर आएको उनले जानकारी दिइन् । ‘हाम्रो लागि राज्य छ भने हेलिकोप्टरको संख्या बढाउ सरकार,’ उनले आक्रोशित हुँदै भनिन् ।  हाम्रो काठमाडौं लगायतका छिमेकी जिल्लासँग सम्पर्क टुटेको उनले जानकारी दिइन् ।  ‘हाम्रो जिल्ला वर्षौका लागि पछाडि धकेल्यो । धेरै पुल भत्किएका छन् । केही समयमा भौतिक संरचना नभएमा हामीलाई खाद्य संकट हुनेछ,’ उनले अगाडि थपिन्, ‘हाम्रो क्षेत्रका धेरै मानिसको वस्ती उठेको र घरबारविहिन बनेका छन् ।’ बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र  गोर्खामा क्षति पुर्याएको छ ।  रसुवाको बाढीमा परेर हालसम्म २ सय ७० जना शव फेला परेको प्रहरीले उल्लेख गरेको छ । त्यसैगरी, बाढीमा परेर २८ प्रहरीहरू सम्पर्कविहिन भएको प्रहरीले उल्लेख गरेको  छ ।  उद्धार तथा राहतमा ४ हजार ५० जना प्रहरीहरू परिचालित रहेका छन् ।

आईजीपी कार्की र सांसद सुनारले भुलेको मर्यादा

काठमाडौं । गत साता प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा निर्वाचन प्रहरीको पोसाक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आर्थिक वर्ष २०८२/०८३ मा गरिएको सामग्री खरिद सम्बन्धी उजुरीमा छलफल थियो । पछिल्लो केही दिन यता कानुनी प्रक्रिया मिचेर अनियमितता भएको उजुरीमाथि छलफल हुँदा सांसद खगेन्द्र सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच भएको सवाल जवाफ विवादित बनेको छ । सार्वजनिक रुपमै समितिको बैठकमा निर्वाचन प्रहरीको पोसाक खरिद, व्यापारी छनोट तथा प्रहरीको खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै सांसद  सुनारले विस्तृत छानबिनको माग गरेका थिए । सुनारले प्रहरीको जुत्ता तथा कपडा खरिदसम्मका विषयमा छुट्टै छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायबाट भइरहेको छानबिनप्रति विश्वास गर्न नसकिने भन्दै उनले विशेष छानबिनमार्फत वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका थिए । सुरुमा समितिकी सचिवले प्राप्त उजुरी पढेर सुनाएकी थिइन् । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक कार्कीसमेत उपस्थित थिए । सांसद सुनारले निर्वाचन प्रहरीका लागि पोसाक खरिदमा रकम खातामै पठाइएको भन्ने प्रहरी महानिरीक्षकको जवाफमाथि प्रश्न उठाउँदै जिल्लाहरूमा प्रहरीका पोसाक कहाँ-कहाँबाट खरिद हुने गरेको छ भन्ने जानकारी मागेका थिए । उनले पोसाक आपूर्तिकर्ता कसरी छनोट गरियो ? प्रहरीका अधिकारी र व्यापारीबीच कुनै सम्बन्ध वा मिलेमतो छ कि छैन भन्ने प्रश्नसमेत उठाएका थिए । प्रहरी प्रधान कार्यालयले तोकेका कमान्डर र लेखा हेर्ने कर्मचारीले जिल्लामा व्यापारीसँग मिलेर काम गर्ने गरेको आरोपसमेत सुनारले लगाए । लेखातर्फबाट अवकाश पाएपछि पुनः ठेकेदारका रूपमा प्रहरीसँग काम गर्ने गरेको दाबी गर्दै उनले खरिद प्रक्रियामाथि थप अनुसन्धान आवश्यक रहेको बताएका थिए । सांसद सुनारको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै महानिरीक्षक कार्कीले प्रश्न उठाउँदा न्यूनतम् मर्यादा कायम गर्न आग्रह गरे । उनले समितिले बसाउन खोजेको थिति प्रहरीमाथि लागू गर्ने हो भने त्यसको असर सांसदहरूमाथि पनि पर्न सक्ने भन्दै सचेत गराए । 'गेमिङ, सेमिङ, ब्लेमिङ गर्न हामीलाई पनि आउँछ । यसमा ध्यान दिइयोस्,' कार्कीले भने । प्रहरी कर्मचारी मात्र नभई आफूहरू पनि नागरिक भएको उल्लेख गर्दै उनले नागरिकका रूपमा समेत सम्मान पाउनुपर्ने बताए । प्रहरीलाई घिसार्ने भाषामा प्रस्तुत हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै कार्कीले संसदीय छलफललाई मर्यादित बनाउनुपर्नेमा जोड दिए । उनले भने, 'प्रहरीलाई घिसार्छु भन्नेहरूले पनि मिठो कुरा गरेको सुन्न पाइन्छ । यस्तो विरोधाभाषपूर्ण कुराले हामीलाई कहीँ पुर्‍याउँदैन ।'  सार्वजनिक लेखा समितिमा भएको उक्त सवाल–जवाफपछि सांसद सुनार र महानिरीक्षक कार्कीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहससमेत भएको छ । एकथरीले प्रहरीजस्तो सार्वजनिक निकायका काम कारबाहीमाथि सांसद र नागरिकले प्रश्न गर्न पाउनुपर्ने भन्दै महानिरीक्षकले प्रश्नको जवाफ तथ्य र प्रमाणका आधारमा दिनुपर्ने बताएका छन् । प्रश्न गर्न पाउने अधिकार र मर्यादाको सीमा लोकतान्त्रिक व्यवस्थामा प्रहरी राज्यको कानुन कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय भए पनि प्रहरी सार्वजनिक जवाफदेहिताभन्दा माथि हुँदैन । प्रहरीका निर्णय, कामकारबाही, खरिद प्रक्रिया र अधिकार प्रयोगबारे प्रश्न उठाउनु संसदीय तथा नागरिक निगरानीको स्वाभाविक हिस्सा हो । प्रश्न उठाउने क्रममा विषयवस्तु, प्रमाण र संसदीय मर्यादालाई ध्यान दिनुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण देखिन्छ । जवाफ दिनेले पनि आफ्नो मर्यादा र पदीय दायित्त्वको ख्याल गर्नुपर्छ । उजुरीकै आधारमा कुनै अधिकारी वा संस्थामाथि आरोप लगाउने भन्दा सम्बन्धित कागजात, खरिद विवरण, बिल, आपूर्तिकर्ताको छनोट प्रक्रिया र निर्णयको आधार समितिमा प्रस्तुत गरेर छलफल अघि बढाउँदा विवाद कम हुन्छ । 'प्रस्तुति मर्यादित हुनुपर्छ' नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल प्रहरी प्रशासनमाथि प्रश्न गर्न पाउने भए पनि प्रश्नको विषय र शैली दुवै मर्यादित हुनुपर्ने बताउँछन् । 'जुन विषयका लागि सम्बन्धित ठाउँमा बोलाइएको हो, त्यही विषयमा मात्र प्रश्न गरिनुपर्छ, मल्लले भने, 'कर्मचारीलाई बोलाएर हुर्मत लिन पाइँदैन । गाली र बेइज्जती गर्न पाइँदैन । सबै कर्मचारीको इज्जत हुन्छ ।' खरिदसम्बन्धी छलफलका लागि बोलाइएको अवस्थामा त्यही विषयमा केन्द्रित भएर छलफल हुनुपर्ने उनको भनाइ छ । संसदीय समितिलाई व्यक्तिगत विवादको थलो बनाउँदा राज्यका संस्थामाथिको विश्वास कमजोर हुने उनको तर्क छ । मल्लका अनुसार प्रहरीको काम, निर्णय वा प्रशासनिक प्रक्रियामाथि प्रश्न उठाउनु स्वाभाविक भए पनि त्यसको जवाफ तथ्य र प्रमाणका आधारमा खोजिनुपर्छ । राज्यका निकायलाई प्रश्न गर्नुपर्छ, तर प्रश्न गर्ने प्रक्रियाले नै राज्यका संस्थालाई कमजोर बनाउने अवस्था आउनु हुँदैन, उनको धारणा छ । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्ले पनि प्रहरीका काम कारबाहीमाथि प्रश्न गर्न नागरिकलाई अधिकार रहेको बताउँछन् । प्रहरी समाजकै अंग भएकाले आफूहरू प्रश्नभन्दा माथि नरहेको उनको भनाइ छ । 'नागरिक बर्दीबिनाका प्रहरी हुन् र बर्दी लगाएका प्रहरी नेपाल प्रहरी हुन् काफ्लेले भने । समाजमा उठेका प्रश्नको जवाफ प्रहरीले दिनुपर्ने उल्लेख गर्दै उनले प्रहरीलाई थप प्रविधिमैत्री, नागरिकमैत्री र जवाफदेही बनाउने दिशामा काम भइरहेको बताए । तर प्रश्नकर्ता पनि विषयवस्तु र आफ्नो मर्यादाप्रति सचेत हुनुपर्ने उनको भनाइ छ । दुवै पक्षले भुले मर्यादा समाजशास्त्री डा. दिपेश घिमिरे राज्यका कुनै पनि निकायमाथि प्रश्न गर्न पाउने भए पनि संसदजस्तो संवैधानिक निगरानी र सन्तुलन कायम गर्ने संस्थाबाट प्रश्न गर्दा थप जिम्मेवारी र मर्यादा आवश्यक हुने बताउँछन् । सांसद र प्रहरी प्रमुखले कसरी अभिव्यक्ति दिने भन्ने महत्त्वपूर्ण हुन्छ, घिमिरेले भने । उनका अनुसार दुवै पक्षबाट संसदीय मर्यादा कायम गर्नुपर्थ्यो, व्यक्तिले भन्दा पनि पदले दिने अभिव्यक्ति महत्वपूर्ण हुन्छ । उनका अनुसार संसदीय समितिमा उठ्ने प्रश्न र त्यसको जवाफ दुवै संस्थागत प्रकृतिको हुनुपर्छ । व्यक्तिगत आरोप प्रत्यारोपमा बहस केन्द्रित हुँदा संसदको निगरानी भूमिकासमेत कमजोर बन्न सक्छ । लोकतन्त्रमा राज्यका निकायहरू जवाफदेही र उत्तरदायी हुनुपर्छ । जवाफदेहिताको माग गर्ने निकाय स्वयं पनि आफ्नो मर्यादा र भूमिकाप्रति उत्तिकै जिम्मेवार हुनुपर्ने घिमिरेको भनाइ छ ।  'सार्वजनिक निकायको खरिद प्रक्रियामा अनियमितताको आरोप लागेपछि त्यसको निष्पक्ष छानबिन कसरी गर्ने र त्यस्तो छानबिनका क्रममा संसदीय समितिले सम्बन्धित अधिकारीसँग कसरी प्रश्न गर्ने भन्ने अहिलेका यक्ष प्रश्न हुन्,' डा घिमिरेले भने । घिमिरेका अनुसार प्रहरीको खरिद प्रक्रियामाथि प्रश्न उठेपछि खरिदसम्बन्धी कागजात, आपूर्तिकर्ताको छनोट, बोलपत्र प्रक्रिया, मूल्य तुलना, भुक्तानी विवरण तथा सम्बन्धित बिल भर्पाइ समितिमा पेश गरेर तथ्यका आधारमा निष्कर्षमा पुग्नुपर्ने देखिन्छ । आरोप र प्रत्यारोपभन्दा तथ्यमा आधारित संसदीय निगरानी बलियो बन्न सक्छ । सांसद र प्रहरी प्रमुख दुवैको जिम्मेवारी​​​​​​ रहेको छ । आलोचनामा उन्मुक्ति मिल्दैन संसदिय मामलाका जानकार राजेन्द्र फुँयाल भन्छन् 'प्रहरीजस्तो कानुन कार्यान्वयन गर्ने संस्थालाई आलोचनाबाट उन्मुक्ति दिन सकिँदैन ।'  संसदीय समितिलाई पनि कुनै उजुरी परेकै आधारमा सम्बन्धित अधिकारीमाथि प्रमाणबिनाको आरोप लगाउने छुट नहुने उनको भनाइ छ । फुँयालका अनुसार संसदीय समितिमा प्रमाणसहितको प्रश्न र तथ्यसहितको जवाफ प्रस्तुत गर्ने संस्कार विकास गर्नु अहिलेको मुख्य आवश्यकता देखिएको छ । यसले प्रहरीको संस्थागत मर्यादा जोगाउनुका साथै संसदको निगरानी भूमिका र सार्वजनिक जवाफदेहितालाई समेत बलियो बनाउनेछ ।

गोठबाट सुरु भएको ‘अन्नपूर्ण इको भिलेज’मा प्रधानमन्त्री शाहको बास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह पोखराको 'अन्नपूर्ण इको भिलेज' रिसोर्टमा बास बस्न पुगेपछि एकाएक चर्चामा छ । यसअघि सामान्य गेष्ट आउने-जाने रिसोर्टमा हिजोदेखि सञ्जालकको फोनमा घण्टी बजेको बज्यै छ । सञ्चालक विश्व अधिकारीलाई 'प्रधानमन्त्री बसेको रिसोर्ट हाे' भन्दै फोन आउन थालेको छ । उनलाई फोन रिसिभ गर्दागर्दै हैरान भइसक्यो । प्रधानमन्त्री बसेको रिसोर्ट कता पर्छ भनेर सोध्नेको एक्कासि संख्या बढेको उनले बताए । हिमाली पद मार्गको प्रसिद्ध रुट भएकाले अन्तर्राष्ट्रिय रुपमा पनि यो रिसोर्ट परिचित छ । अन्नपूर्ण रिसोर्ट मर्दी हिमालको चर्चित ट्रेक रुट पनि हो । यहीँ रुट हुँदै ट्रेकिङमा जाने पर्यटकहरू अन्नपूर्ण इको रिसोर्टमा बास बस्न पुग्छन् । शुक्रबार मुस्ताङ भ्रमणका लगि निस्केका प्रधानमन्त्री शाह कास्कीकाे माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित इको रिसोर्टमा बास बसेका थिए । शनिबार बिहान १० बजेसम्म बसेर खाना खाएर मुस्ताङतर्फ लागे । शाह १४ घण्टा रिसोर्टको प्राकृतिक वातावरणमा भुलिए । रिसोर्टबाट अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल मज्जाले देख्न सकिन्छ । कुनै ठूलो शहरको चकाचौंध होइन, हरियालीमा उभिएको पारिवारिक रिसोर्टमा प्रधानमन्त्री शाहले साँझ बिताए । सूर्य अस्ताएको सहजै देखिने भएकाले ठाउँको नाम अस्ताम राखिएको रिसोर्ट सञ्चालक अधिकारी बताउँछन् । ट्रेकिङ गाइड र पोर्टरका रूपमा काम गर्ने परिवारका सदस्य, बुवा–आमा र भाइहरू मिलेर गाउँकै जमिन, श्रम र आम्दानीलाई विस्तारै पर्यटन व्यवसायमा रूपान्तरण गर्दै रिसोर्ट निर्माण गरिएको अधिकारी सुनाउँछन् । अधिकारीका अनुसार यसको सुरुवात सन् २००३-२००४ देखि सुरु भएको थियो । सुरुमा एउटा कोठाबाट सुरु भएको व्यवसाय अहिले २५ कोठासम्म विस्तार भएको छ। अधिकारीले भने, 'यसको सुरुवात ‘गाईगोठ’बाट भएको थियो । आज स्वदेशी, विदेशी देखि प्रधानमन्त्रीलाई बास बस्ने बनायौँ ।' परिवारको आफ्नै बारीमा पर्यटकलाई खाना खुवाउने, त्यसपछि टेन्ट टाँगेर बसाउने र विस्तारै गाई गोठलाई समेत पर्यटक बस्ने संरचनामा रूपान्तरण गर्ने क्रममा रिसोर्टको अवधारणा अघि बढेको थियो । ट्रेकिङ गाइड तथा पोर्टरका रूपमा परिवारका सदस्यले कमाएको पैसा, बुवाको पेन्सन र गाउँको आम्दानीसमेत जोडिँदै जाँदा सानो पारिवारिक प्रयासले ठूलो आकार लिएको छ । ६० हजारबाट ३० करोडसम्म स्थानीय पर्यटन र पारिवारिक उद्यमको उदाहरण बनेको ‘अन्नपूर्ण इको भिलेज’ कुनै व्यावसायिक योजना बनाएर ठूलो लगानीबाट सुरु भएको थिएन । अधिकारीले ६० हजारको लगानीबाट सुरु गरेको रिसाेर्ट ३० करोड रुपैयाँ बढी लगानी पुगिसकेको बताए । परिवारका सबै सदस्यले  पारिवारिक उद्यमका रूपमा अघि बढाएका छन्। गाउँको एउटा परिवारले ६० हजार रुपैयाँबाट सुरु गरेको सानो प्रयास आज ३० करोड रुपैयाँभन्दा बढी भएको उनको ठहर छ । 'हामी सात जना परिवारका सदस्यले अहिलेसम्म तलब खाएका छैनौँ,' अधिकारी भन्छन्, 'बुवाको पेन्सनदेखि हामीले ट्रेकिङ र पोर्टर–गाइड गरेर कमाएको पैसा पनि यहीँ लगानी भएको छ।' उनका अनुसार अन्नपूर्ण इको भिलेज एउटा रिसोर्ट मात्र नभएर गाउँको श्रम, परिवारको बचत र पुस्तादेखि रहेको जमिनलाई पर्यटनसँग जोडेर सिर्जना गरिएको हो । ३० रोपनीको क्षेत्रफलमा इको भिलेज रिसोर्ट छ। यहाँ भित्र नेपाली कलाकौशलमा आधारित १५ वटा घर निर्माण छन् ।  यस भिलेजलाई ‘इको इनोभेसन’ सेन्टरसमेत बनाइएको छ । जसले गर्दा कृषि र पर्यटनलाई समेत जोडिएको छ । यहाँ गाउँलाई इको इनोभेसन सेन्टर बनाइएको अधिकारीले बताए । ‘यहाँको वातावरण तथा जीवनशैली हेर्न विभिन्न मुलुकबाट विदेशीहरू आउँछन्,’ उनले भने ।   पर्यटक खोज्न विज्ञापन चाहिँदैन रिसोर्टको अर्को विशेषता ग्राहक हो । उनले स्थापना भएदेखि नै रिसोर्टमा पर्यटकको अभाव महसुस गर्नु नपरेको र कोभिडको समयमा समेत पाहुना बसेको बताए। रिसोर्टमा विदेशी पर्यटकको बसाइ लामो हुने गरेको छ। कतिपय पर्यटक करिब दुई सातासम्म बस्ने गरेको र अग्रिम बुकिङ बिना सहजै कोठा पाउन मुस्किल हुने अधिकारीको भनाइ छ। 'यहाँ आएर बस्न एक साता अगाडि कोठा बुक गर्नुपर्छ । यसै घुम्न आएको भरमा कोठा पाइदैन,' उनले भने । हामीलाई गेस्ट कहाँबाट खोज्नुपर्छ भन्ने भएन, गेस्टहरूले नै हाम्रो प्रचार गरिदिनु भएको छ ।' कोभिड-१९ को समयमा बुक गरेका विदेशी पाहुनाहरू भर्खर आउन थालेको अधिकारीले जानकारी दिए । रिसोर्टमा २५ वटा कोठा छन् । डबल बेड रुमको मूल्य करिब ५ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्म पर्छ। खाना र बसाइ जोड्दा दुई जनाका लागि दैनिक करिब १० देखि १२ हजार रुपैयाँ खर्च हुने उनको भनाइ छ । प्रधानमन्त्री बस्न तीन ब्लक प्रयोग प्रधानमन्त्री शाहको टोलीमा करिब ५–६ जना थिए । सुरक्षा व्यवस्थापनका लागि थप सुरक्षाकर्मीसमेत परिचालित थिए। सुरक्षाकर्मी ३० जना थिए । प्रधानमन्त्रीसहितको टोलीले रिसोर्टका तीनवटा ब्लक प्रयोग गरेको थियो। शाहले रिसोर्टमै खाना खाए भने स्थानीय उत्पादनबाट तयार गरिएको अर्गानिक कफी र ‘इको टी’ समेत सेवन गरेको अधिकारी बताउँछन् । प्रधानमन्त्री शाह आउँदा रिसोर्टमा अन्य पाहुना पनि थिए। प्रधानमन्त्री आए भन्दैमा अन्य पर्यटकलाई हटाउनुपर्ने अवस्था नआएको उनको भनाइ छ । प्रधानमन्त्रीसँगै करिब १५ जना अन्य पाहुना पनि रिसोर्टमा बसिरहेको उनले बताए। 'प्रधानमन्त्री आउँदा गौरव लाग्यो' अधिकारीले प्रधानमन्त्री शाह यसअघि पनि पोखरा आउँदा उक्त रिसोर्टमा आउने गरेको बताए । तर यसपटक भने प्रधानमन्त्रीको हैसियतमा यहाँ बसेको उनले बताए । ‘हिजोका दिनमा पनि यहाँ आउनुहुन्थ्यो, तर प्रधानमन्त्रीको हैसियतमा आउनु भएको थिएन । प्रधानमन्त्रीको हैसियतमा आएर बस्नु भएकोमा हामीलाई गौरव लागेको छ,' उनले अगाडि भने। रिसोर्टमा प्रधानमन्त्रीसँग पारिवारिक वातावरणमै कुराकानी भएको पनि अधिकारीले सुनाए । प्रधानमन्त्री शाहले आत्मीय रूपमा ‘अंकल’ भनेर सम्बोधन गरेको उनको भनाइ छ । कसैले पनि फोटो भिडियो खिचिएन । प्राकृतिक वातावरणमा पारिवारिक गफ भएको उनले जानकारी दिए । कुराकानीका क्रममा स्थानीय पर्यटन, कृषि र वातावरणमैत्री विकासका विषयमा छलफल भएको थियो। अधिकारीले माछापुच्छ्रे गाउँपालिकालाई ‘अर्गानिक जोन’ तथा ‘इको–टुरिजम जोन’का रूपमा विकास गर्न आवश्यक नीति निर्माण गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको बताए । पानीमा पनि वातावरणीय चेतना अन्नपूर्ण इको भिलेजको अर्को पहिचान वातावरणमैत्री अवधारणा हो। रिसोर्टले वर्षाको पानी संकलन गरेर प्रयोग गर्दै आएको छ। सञ्चालकका अनुसार करिब ३ देखि ४ लाख लिटर वर्षाको पानी भूमिगत ट्यांकीमा संकलन गर्ने क्षमता विकास गरिएको छ। रिसोर्टमा मिनरल वाटर र प्लास्टिक बोतल बिक्री हुँदैन । पानी शुद्धीकरणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)बाट प्राप्त प्राविधिक ज्ञान प्रयोग भइरहेको सञ्चालक अधिकारी बताउँछन्। अधिकारीका अनुसार लेकसाइडमा व्यवसाय सञ्चालन गर्दा मात्रै करिब २० लाख प्लास्टिक बोतलको प्रयोग घटाउन सफल भएका थिए। अहिले गाउँमै पुनः भर्न मिल्ने पानीको अवधारणालाई निरन्तरता दिइएको छ। खानपानमा समेत स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ। गाउँकै तरकारी, स्थानीय परिकार र आफ्नै क्षेत्रको कफीलाई रिसोर्टको पहिचान बनाउने प्रयास गरिएको छ। ‘गाउँले प्रधानमन्त्री बस्ने ठाउँ बनाउन सक्छ’ अस्तामको यस रिसोर्टले एउटा सामान्य परिवारले प्रधानमन्त्रीलाई स्वागत र बास बस्न सक्ने बनाउँदो रहेछ भन्ने विश्वास पैदा भएको अधिकारी बताउँछन्। 'आर्थिक यात्रालाई मात्र प्रतिनिधित्व गर्दैन, गाउँमै बसेर पर्यटन व्यवसायमार्फत सम्भावना सिर्जना गर्न सकिन्छ,' उनी दृढ सुनिए । ‘सबैभन्दा ठूलो उपलब्धि गाउँको सामान्य परिवारले आफ्नो श्रम, जमिन र सीपलाई जोडेर प्रधानमन्त्रीसमेत बस्न सक्ने स्तरको पर्यटन गन्तव्य निर्माण गर्न सक्छ,’ उनी उत्साहित हुँदै भन्छन्,' मानिसमा चाहना र इच्छाशक्ति हुनुपरो । निरन्तरताको मेहनत र प्रकृति जोगाउने अभियानले आज हामी यो ठाउँमा छौ ।' पोखराको लेकसाइडबाट करिब आधा घण्टाको दूरीमा रहेको अस्ताम मर्दी हिमाल पदमार्गसँग समेत जोडिएको छ। यहाँबाट सूर्योदय र सूर्यास्तका साथै अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। अधिकारीका अनुसार पर्यटकहरू स्थानीय जीवनशैली, जैविक खाना र प्रकृतिसँग नजिक हुने अनुभव खोजिरहेका छन्। पर्यटकीय रुचिलाई अस्तामको अन्नपूर्ण इको भिलेजले गाउँकै शैलीमा समेट्ने प्रयास गरेको छ।

प्रसाईंमाथि राजद्रोहसहित तीन मुद्दामा अनुसन्धान

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन वटा मुद्दामा अनुसन्धान गरिरहेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्रसाईंलाई राज्य द्रोह, विद्युतीय अपराध ऐन २०६३ र सार्वजनिक शान्ति कसुर अन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेको हाे । बिहीबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोली उनको घरमा पुगेर खानतलासी गरेको थियो । घरबाट प्रहरीले ५ वटा मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर रहने डिभाइस नियन्त्रणमा लिएको थियो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले अनुसन्धानका लागि प्रसाईका विद्युतीय उपकरहणहरू नियन्त्रणमा लिएको बताए । 'उनको घरबाट नियन्त्रणमा लिएको सम्पूर्ण उपकरण फरेन्सिक ल्याबमा पठाइएको छ,' उनले भने, 'उनको के कस्ता कुराकानी हुन्थ्यो, कोसँग सम्पर्क हुन्थ्यो, त्यस विषयमा अनुसन्धान गर्नु पर्ने भएकाले फरेन्सिक ल्याबमा पठाइएको छ ।' प्रसाईले समय-समयमा सरकारका मन्त्रीलाई विभिन्न आरोप लगाउँदै आएका छन् । केही साताअघि प्रसाईले गृहमन्त्री सुधन गुरुङ ब्रागको सदस्य भएको आरोप लगाए थिए । प्रसाईंका अनुसार ब्राग भनेको रोहिंग्याहरूलाई पालनपोषण गर्ने संस्था हो । प्रसाईंले सामाजिक सञ्जालमा भनेका छन्, ‘रोहिंग्या भित्र्याउने ब्राग भन्ने संस्था छ । रोहिंग्याहरूलाई पालनपोषण गर्छ, मुसलमानहरूलाई । नेपाली मुसलमानहरूले गरेको होइन यो रोहिंग्या मुसलमानहरूलाई पालनपोषण गरेर भारत र नेपाल भित्र्याउने जुन संस्था छ ब्राग,त्यसको मेम्बर आजको हाम्रो गृहमन्त्री हुनुहुन्छ । हामीले यो आरोप लगायौँ, प्रमाण देखायौँ। तपाईंले होइन भनेर पुष्टि गर्नुस् न गृहमन्त्री ज्यू, हामीलाई थुन्नुभन्दा ।’ ‘सुनसरीमा सुनियोजित रूपमा नेपाली मुसलमानलाई बदनाम गर्न र मिलेर बसेको नेपाली समाज भाँड्न आयातित रोहिंग्या शरणार्थीहरू प्रयोग गरियो । शरणार्थी नेपाल ल्याउने गिरोह को हो, हामीले त्यो बुझ्नुपर्छ,’ उनले भनेका छन् । उनको यो आरोपपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको हो । यसअघि  २०८१ चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको विध्वंसमा प्रसाईंसहित ५० जनाविरुद्ध आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो । दुई महिनाअघि काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित ५० जनाविरुद्ध दायर भएको आपराधिक उपद्रव र कर्तव्य ज्यानसहितको मुद्दामा थाम्ने म्याद सकिएपछि मुद्दा पेस गर्न आदेश जारी गरिसकेको छ । २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका क्यामरापर्सन (फोटो पत्रकार) सुरेश रजक र कीर्तिपुरका प्रदर्शनकारी सबिन महर्जन गरी दुई जनाको ज्यान गएको थियो। उक्त झडप र आगजनीको घटनामा दुवै तर्फका ११० भन्दा बढी घाइते भएका थिए। नेपालमा राज्य द्रोह (राजद्रोह) सम्बन्धी कानुनी व्यवस्था मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ अन्तर्गत दफा ५० मा व्यवस्थित गरिएको छ । यस अन्तर्गत नेपाल सरकार वा संवैधानिक संरचनालाई बल प्रयोग वा षडयन्त्रमार्फत पल्टाउने कसुरमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।  कसुरका आधारहरू  मुलुकी अपराध संहिता, २०७४ को दफा ५० को उपदफा (१) र (३) बमोजिम राजद्रोह मानिने प्रमुख उल्लेख गरिएको छ । संवैधानिक संरचना पल्टाउने नियत नेपाल सरकार वा देशको संवैधानिक संरचनालाई बलपूर्वक पल्टाउने वा अवैध पार्ने उद्देश्य राख्ने बल प्रदर्शन वा प्रयोग, सैनिक, अर्ध सैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी राज्यमा गम्भीर अव्यवस्था (दंगा र विद्रोह) उत्पन्न गर्ने उद्देश्य राखेमा मानिनेछ उल्लेख गरिएको छ। अवैध संगठन निर्माण हातहतियारसहित सैनिक वा अर्ध सैनिक प्रकृतिको संगठन निर्माण गर्ने वा त्यस्तो कामको षड्यन्त्र, उद्योग वा मद्दत गर्ने देखेमा मुद्दा चल्ने बताइएको छ । सजाय के व्यवस्था छ ?  राज द्रोहको कसुर ठहर भएमा वा त्यस्तो कसुर गर्ने उद्योग वा षड्यन्त्र गरेको प्रमाणित भएमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ।  यस किसिमका गम्भीर राज्य विरुद्धका अपराधका मुद्दामा आवश्यकता अनुसार संगठित अपराध वा अन्य फौजदारी कसुरसम्बन्धी दफाहरू समेत जोडेर अनुसन्धान तथा अभियोजन गर्न सकिने प्रावधान रहेको छ ।

ठूला आर्थिक अपराधको अनुसन्धान गर्न सीआईबीमा छुट्टै युनिट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई एक महिनाअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बुढानीलकण्ठबाट पक्राउ गर्यो । सीआईबीले शेर्पालाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागी पक्राउ गरेको थियो ।  ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ परेका शेर्पा काठमाडौं जिल्ला अदालतको आदेशले हाजिर जमानीमा रिहा भइसकेका छन् । मोरङका अभिषेक गिरीलाई पनि सीआईबीले पक्राउ गर्‍यो । ठगी तथा आपराधिक विश्वासघातको कसुर रहेको आराेपमा उनी पक्राउ परेका हुन् । ठेक्का आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै ठगी गरेको आरोपसमेत गिरीमाथि लागेको थियो । निर्माणमा प्रयोग हुने सवारी साधनहरू समेत गिरीले लिएको आरोपमा उनलाई पक्राउ गरेको थियो । तीन महिनाअघि व्यवसायी शेखर गोल्छा प्रहरीले काठमाडौंको नारायणचौरबाट पक्राउ परे । गोल्छालाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरीको सीआईबीले पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनको आधारमा गोल्छामाथि अनुसन्धान गर्न सीआइबीले पक्राउ गरेको थियो । उनी विशेष अदालतबाट १ करोड धरौटी बुझाएर रिहा भइसकेका छन् । गत वैशाख ३० गते नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परे । स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको थियो । गैरकानुनीरूपमा सरकारको स्वामित्वमा रहेको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबीले उल्लेख गरेको थियो । उनीविरुद्ध यतिखेर काठमाडौं जिल्ला सरकारी वकिलमा सीआइबीले मुद्दा दर्ता गराएको छ । पछिल्लो समय मुलुकमा आर्थिक तथा वित्तीय अपराध बढ्दै गइरहेको छ । सरकारले पनि आर्थिक अपचलन तथा वित्तीय अपराध न्यूनीकरण गर्न गम्भीर चासो लिएर छुट्टै इकाइको स्थापना गरेर उजुरी लिएर काम कारबाही अगाडि बढाएको छ । सीआईबीमा आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाई गठन भई काम भइरहेको छ । सीआईबीमा आर्थिक ब्यूरो गठन भए पनि कस्ता-कस्ता अपराधलाई अनुसन्धानको दायरामा ल्याउँछ ? यहीँ विषयलाई विकासन्युजले बुझ्ने प्रयास गरेको छ  । सीआईबीको आर्थिक इकाइमा अहिले एसएसपीसहित १९ जना कार्यरत छन् । गृहमन्त्रालयबाट स्वीकृत भइसकेकाले छुट्टै इकाइ गठन गरेर सीआइबीले आर्थिक इकाइमा काम गरिरहेको छ । सीआईबीअन्तर्गत रहेको वित्तीय अपराध इकाइले बैंकिङ कसुर तथा ठगी र कर्जा रकमहरू अपचलन गरेको विषयमा अनुसन्धान गर्छ। सीआईबीका अनुसार संवेदनशील वित्तीय कसुर एवं सम्पत्ति शुद्धीकरण कसुरमा पनि हेर्ने गरेको छ। आतंककारी कार्य आम विनाशको हातहतियार निर्माण विस्तारमा गरिएको वित्तीय लगानीमा सूक्ष्म रूपले अनुसन्धान हुन्छ । आर्थिक अपराध तथा ठगी कसुरमा महिनामा सीआईबीमा १ सय ५० वटा उजुरी पर्ने गरेको छ । ठगी तथा विश्वासघात र अन्य विविध खालका उजुरी पर्ने गरेका छन् । कतिपय उजुरी मुद्दा चल्ने खालका हुन्छन् भने कतिपय उजुरीलाई गम्भीरताका साथ नहेर्नु पर्नेसमेत हुन्छ । पीडितहरू बढी रकम हिनामिना भयो भनेर उजुरी आउने गरेको सीआईबीले जनाएको छ । सहकारी ठगी अर्थात बचतकर्चाको रकम हिनामिना, धितोपत्र कसुरमा, बीमासम्बन्धी यसमा नक्कली कागजात बनाएर बीमा दाबी पेश गर्ने, अवैध रकमलाई वैध बनाउन खोज्ने अर्थात सम्पत्ति शुद्धीकरण, क्रिप्टो कारोबार एवं पिरामिड शैलीमा कारोबार गर्ने, किर्ते कागजात नक्कली नागरिकता तथा सरकारी कागज प्रयोग गरेर वित्तीय लाभ लिनेहरूलाई समेत आर्थिक तथा वित्तीय अपराधमा समेटेर सीआइबीले अनुसन्धान गर्ने गरेको छ । आर्थिक तथा वित्तीय अपराधमा फोकस गरेर सीआइबीले अनुसन्धान गर्ने गरेको प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए । ‘मुख्य गरेर सीआइबीले आर्थिक अपराधलाई लक्ष्य बनाएर काम गरिरहेको छ,’ उनले विकासन्युजसँग भने । बैंकिङ कसुरको मुद्दाहरूमा नियमनकारी निकायबाट उजुरी आउने गरेको शमशेरको भनाइ छ । कतिपय अवस्थामा बैंकिङ कसुरका मुद्दालाई लिएर उजुरी परेको बेलामा अध्ययन गरेर सम्बन्धित निकायमा सोधपुछ गरिने उनले बताए । विज्ञताको हिसाबमा सीआइबीले सरोकार वाला निकायसँग परामर्श लिने गरेको उनले उल्लेख गरे । उनका अनुसार सरकारी सम्पत्तिमा क्षति पुर्याएको अवस्थामा सीआईबीले अनुसन्धान गर्ने गरेको छ । राष्ट्रिय सम्पत्ति मानिएका ठाउँमा असर पर्ने देखिएका कारबाहीमा पर्ने गरेका छन् । ‘बीमासम्बन्धी कसुरमा कागजात झुटो बनाएर बीमा दाबी गर्नेहरूमाथि मुद्दा चलाउने गरेको छ,’  उनले भने, ‘ बैंक ग्यारेण्टीमा फर्जी कागजपत्र पेश गरेर बीमा रकम दाबी गरेर भुक्तानी माग्ने गरेका छन् ।’