काठमाडौं । रसुवाको बाढीका कारण धेरै मानिस घरबार र सहाराविहीन भएका छन् । एक परिवार- सन्तानले अभिभावक, साथीहरूले संगी, श्रीमानले श्रीमती, श्रीमतीले श्रीमान गुमाएका छन् ।
सबैले एक अर्काको साथ तथा सहारा मात्र गुमाएका छैनन्, उनीहरू घरबारविहिन अर्थात आश्रयस्थल विहिनसमेत भएका छन्।
बाढीका कारण रसुवा र नुवाकोटका ज्येष्ठ नागरिक सन्तान विहिनसमेत भएका छन् । होल्डिङ सेन्टरलगायत आफन्तकोमा ज्येष्ठ नागरिक बसोबास गरिरहेको पाइएको छ ।
सरकारले सन्तान गुमाएर एक्लो भएका ज्येष्ठ नागरिकलाई व्यवस्थापन गर्ने भएको छ । सहाराविहिन ज्येष्ठ नागरिकलाई पशुपतिस्थित पशुपति वृद्धाश्रममा राखिने तयारी गरेको छ ।
रसुवा र नुवाकोटमा ज्येष्ठ नागरिकहरू धेरै संख्यामा प्रभावित भएका छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढीबाट प्रभावित भएका ज्येष्ठ नागरकिलाई व्यवस्थापन गर्ने तयारी गरिसकेको छ ।
मन्त्रालयले बाढी प्रभावित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर प्रभावित मानिसको संख्या राख्ने काम गरिरहेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले होल्डिङ् सेन्टरमा रहेका मानिसहरूको संख्या र उमेर समूह छुट्टयाउने काम भइरहेको बताए ।
रसुवा र नुवाकोटका बाढी प्रभावित स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ। मन्त्रालयबाट पनि प्रभावित क्षेत्रका मानिसको तथ्यांक बुझ्न र अवस्था अनुगमनका लागि कर्मचारी खटिएको उनले जानकारी दिए ।
'बाढी प्रभावित क्षेत्रका स्थानीय ज्येष्ठ नागरिकलाई पशुपति मन्दिरको वृद्धाश्रममा राख्ने तयारी गरिएको छ,’ उनले भने,’ ४० जना ज्येष्ठ नागरिकलाई राख्न सकिन्छ ।'
पशुपति वृद्धाश्रमको क्षमता सय जनाको छ । वृद्धाश्रममा हाल ६३ जना ज्येष्ठ नागरिक रहेका छन् । बाँकी ४० जनालाई वृद्धाश्रममा व्यवस्थापन गर्न सकिने मन्त्रालयले जनाएको छ ।
२०७२ को भूकम्पपछि वृद्धाश्रमको क्षमता घटेको छ । भूकम्पले वृद्धाश्रमको भौतिक संरचनामा क्षति गरेपछि नागरिक राख्न सक्ने क्षमताको भार घटेको छ ।
मन्त्रालयले प्रत्यक्ष रुपमा स्थानीय प्रशासनसँग सम्पर्क रहेर काम गरिरहेको छ । ज्येष्ठ नागरिकको पूर्ण रुपमा स्क्रिनिङ गरेर मात्र वृद्धाश्रममा व्यवस्थापन गरिन्छ । स्थानीय तहबाट पूर्ण रुपमा सहाराविहिन भनेर प्रमाणित भएपछि त्यस्ता नागरिकलाई सहजै वृद्धाश्रममा राखिने उनले जानकारी दिए ।
पशुपति वृद्धश्रममा हालसम्म बाढीपीडित भनेर कोही पनि नआएको कार्यालय प्रमुख शशी पौडेलले जानकारी दिइन् । एक सय क्षमताको वृद्धाश्रम भएकाले अतिआवश्यक मानिसलाई मात्र आश्रममा राखिने उनको भनाइ छ ।
'बाढीपीडित भनेर आएका र पक्रिया पुरा गरेर आएकालाई सहजै राख्न सकिन्छ,’ उनले भनिन्,’ वास्तविक प्रमाण खुल्ने कागजपत्र भएकालाई सरकारले सहजै व्यवस्थापन तथा आश्रय दिने घोषणा गरिसकेको छ।'
बाढीले विस्थापित गराएका महिलालाई समाज कल्याण परिषद्को भवनस्थित बुढानिलकण्ठमा लगेर राखिने उनले बताए । सहाराविहिन महिलालाई राखेर बिस्तारै आर्थिकोपार्जनको काममासमेत लगाइने उनको भनाइ छ ।
अपांगता भएका व्यक्तिहरूलाई सम्बन्धित संस्थासँग समन्वय गरेर मन्त्रालयले व्यवस्थापन गरेर राख्ने छ । सरकारसँग अपांगता भएका व्यक्तिलाई राख्ने ठाउँ नभएकाले अपांगतासँग सम्बन्धित काम गरेको संस्थालाई जिम्मा लगाइने प्रवक्ता बुढाको भनाइ छ ।
अभिभावक नभएका र सहाराविहिन बालबालिकालाई ललितपुरस्थित गोदावरीको ठेचोमा लगेर राखिने उनले बताए । स्क्रिनिङ गरेर वास्तविक अभिभावक गुमाएका बालबालिकालाई ठेचोमा लगेर राखिने उनको भनाइ छ।
बाल अधिकार परिषद्ले पहिलो चरणमा करिब ५० बालबालिका राख्न सकिने क्षमता रहेको र २० जनाका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । प्रभावित बालबालिकाको संख्या थपिँदै गएमा उपलब्ध संरचना पर्याप्त नहुन सक्ने उनको भनाइ छ।
त्यसैगरी, ज्येष्ठ नागरिक महासंघका अनुसार नुवाकोट र रसुवाका ज्येष्ठ नागरिकहरु प्रभावित भएका छन् । बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकहरू प्रभावित भएर अहिले होल्डिङ सेन्टर र आफन्तकोमा बसोबास गरिरहेका छन् ।
महासंघका अध्यक्ष सुर्यप्रसाद श्रेष्ठले बेलकोट, उत्तरगया र कालिका गाउँपालिका स्थानीय तहका ज्येष्ठ नागरिकहरू प्रभावित बनेको बताए । जिल्लास्थित महासंघका प्रतिनिधिहरू ज्येष्ठ नागरिकहरू प्रभावित भएका ठाउँमा गणना गरिरहेको उनको भनाइ छ ।
धेरै ज्येष्ठ नागरिकहरूको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उतरगया गाउँपालिकाकै १५ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
'महासंघको तर्फबाट ज्येष्ठ नागरिकको स्क्रिनिङ गर्ने काम भइरहेको छ,' उनले भने, ' स्थानीय प्रतिनिधि र जिल्ला प्रशासनले नागरिकको बसोबासको व्यवस्थापन गरिरहेका छन् ।'
अधिकांश ज्येष्ठ नागरिक आफन्तकोमा गएर बसेको उनले जानकारी दिए । उनले केही ज्येष्ठ नागरिक काठमाडौं उपत्यकामा प्रवेश गरेको सूचना पाएको जानकारी दिए ।