अतिन आचार्य

स्वाद, संस्कृति र सफलताको संगममा शंकर

काठमाडौं । तामाको भाँडामा मासु पाकिरहेको छ । पन्युले मासु चलाउँदा निस्कने ‘टवाङ्-टवाङ्’ आवाजले भान्साको मौनता तोड्छ । भाँडाबाट उठेको बास्ना नाकसम्म आइपुग्दा पाहुनाको मनमा एउटै प्रश्न उब्जिन्छ- आखिर यो मासुको स्वाद कस्तो होला ? सेतो टोपी लगाएका सेफ आगोको ताप मिलाउँदै मासु चलाइरहेका छन् । कोही पाकिरहेको मासुलाई नियाल्छन्, कोही सेफसँग त्यसको स्वाद र पाक्ने समयबारे जिज्ञासा राख्छन् । जवाफ आउँछ, ‘हामीले बनाएको भाँडामा ३०–४० मिनेटमा तयार हुन्छ ।’ यो कुनै सामान्य परिकारको तयारी होइन । पुस्तौंदेखि नेपाली खानासँग जोडिएको स्वाद र परम्परालाई नयाँ पुस्ता तथा विदेशी पाहुनासम्म पुर्‍याउने प्रयास हो । परिकारको नाम हो- पक्कु । महाराजगन्जस्थित प्रेसिडेन्टल सेकुवामा शनिबारदेखि सुरु भएको पाँचदिने पक्कु महोत्सवमा अहिले यही परिकारको चर्चा छ । तर, यहाँको चासो मासु पकाउने र खुवाउनेमा मात्र सीमित छैन । एउटा परिकारलाई नेपाली पहिचान, पर्यटन र व्यवसायसँग जोड्न सकिन्छ भन्ने सन्देशसमेत महोत्सवले दिन खोजेको छ । नेपाली रैथाने परिकारको स्वाद, परम्परा र आतिथ्यलाई एउटै थलोमा जोड्ने प्रयास पनि यो महोत्सवको हो । पाँच दिनसम्म चल्ने महोत्सवमा पक्कुलाई केन्द्रमा राखेर नेपाली खानाको विविधता पस्किइँदै छ । घटस्थापनाको अघिल्लो दिन पक्कु महोत्सव आयोजना गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको हो । यहाँको उद्देश्य पाहुनालाई पेटभरि खुवाउनुमा मात्र सीमित छैन । नेपाली खानालाई पर्यटनसँग जोड्ने, नयाँ पुस्तालाई मौलिक परिकारसँग परिचित गराउने र खानामार्फत नेपाली संस्कृति चिनाउने ध्येय पनि यससँग जोडिएको छ । नेपालको पर्यटनको चर्चा गर्दा हिमाल, पहाड, तालतलैया, जंगल र सांस्कृतिक सम्पदाको नाम अगाडि आउँछ । तर, कुनै देश वा ठाउँको पहिचान त्यहाँका प्राकृतिक दृश्य र सम्पदाले मात्र बनाउँदैन, खानाको स्वादले पनि बनाउँछ । विदेशी पर्यटक नेपाल आउँदा हिमाल हेर्न सक्छन्, जंगल घुम्न सक्छन् र ऐतिहासिक सम्पदाको अवलोकन गर्न सक्छन् । तर, नेपाली खानाको मौलिक स्वाद चाख्ने अवसर पाए उनीहरूको यात्रा थप स्मरणीय बन्न सक्छ । खानामार्फत स्थानीय संस्कृति बुझ्ने अवसरसमेत मिल्छ । यही बुझाइलाई व्यवहारमा उतार्न खोजिरहेका छन् प्रेसिडेन्टल सेकुवाका सञ्चालक शंकर भण्डारी । शंकर भण्डारी ।  ‘पर्यटकलाई यहाँका हिमाल र जंगल मात्र देखाएर हुँदैन, खाना पनि चखाउनुपर्छ,’ उनी भन्छन्, ‘नेपाली खानाको विविधता प्रशस्त छ । यहाँको संस्कृति देखाउन र बुझाउन पनि यस्ता परिकारको प्रवर्द्धन गर्नुपर्छ ।’ भण्डारीका लागि पक्कु केवल मासुबाट तयार हुने परिकार होइन । यो स्वाद, संस्कृति र आतिथ्यको सम्मिश्रण हो । नेपाली खानालाई व्यवस्थित रूपमा ब्रान्डिङ गर्न सके पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उनको विश्वास छ । ‘नेपाली खानालाई चिनाउन सकियो भने त्यसको लाभ रेस्टुरेन्टमा मात्र सीमित हुँदैन,’ उनी भन्छन्, ‘स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता र रोजगारीमा समेत सकारात्मक प्रभाव पर्न सक्छ ।’ नेपाली खानाको प्रवद्र्धनसँगै नयाँ पुस्तालाई पुराना परिकार र तिनको सांस्कृतिक महत्त्व बुझाउने लक्ष्य पनि महोत्सवको रहेको उनी बताउँछन् । दिनमै २५० किलो खसीको मासु खपत  प्रेसिडेन्टल सेकुवाले पक्कु महोत्सव आयोजना गर्न थालेको तीन वर्ष भएको छ । महोत्सवमा पक्कुको माग र खपत उल्लेख्य हुने गरेको भण्डारी बताउँछन् । उनका अनुसार महाराजगन्जस्थित रेस्टुरेन्टमा दैनिक करिब २५० किलो खसीको मासु खपत हुन्छ । नियमित आपूर्ति सुनिश्चित गर्न डिके कोल्ड स्टोरसँग मासु ल्याउने सम्झौता गरिएको उनले जानकारी दिए । ‘हामीले मासुको बोसो हटाएर मात्र पक्कु बनाउँछौं,’ भण्डारी भन्छन् । उनका अनुसार रेस्टुरेन्टले खसीको मासु प्रतिकिलो एक हजार ४५० रुपैयाँमा खरिद गर्छ । तयार पक्कु भने प्रतिकिलो तीन हजार पाँच रुपैयाँमा बिक्री गरिन्छ । कच्चा मासु खरिद गर्ने मूल्य र तयार परिकारको बिक्री मूल्यबीचको अन्तरमा पकाउने प्रक्रिया, तयारीमा लाग्ने श्रम, इन्धन, सञ्चालन खर्च र अन्य लागतसमेत जोडिन्छन् । त्यसैले पक्कुको मूल्य मासुको खरिद मूल्यसँग मात्र तुलना गरेर बुझ्न सकिँदैन । पक्कु महोत्सवमा आउने पाहुनाले परिकारको स्वादसँगै फरक अनुभव पनि लिएर जाऊन् भन्ने भण्डारीको चाहना छ । चाडपर्वको मौसम सुरु भइसकेकाले मानिसमा उत्सवको माहोल रहेको उनी बताउँछन् । त्यही माहोललाई थप रमाइलो बनाउन रेस्टुरेन्ट परिसरमा पिङसमेत राखिएको छ । बालबालिकाले खेल्दै रमाउन पाउने व्यवस्था गरिएको छ । खानपानलाई मनोरञ्जन र पारिवारिक भेटघाटसँग जोड्ने प्रयासले महोत्सवलाई परिकारको स्वाद चाख्ने अवसरमा मात्र सीमित राखेको छैन । पक्कुसँगै नेपाली खानाको विविधता महोत्सवको मुख्य आकर्षण पक्कु भए पनि पाहुनाका लागि अन्य परिकारसमेत तयार पारिएका छन् । शाकाहारी परिकारदेखि बारा, सिस्नो मटन, योमरी र फरक स्वादका आइसक्रिमसम्मका विकल्प उपलब्ध हुने भण्डारी बताउँछन् । नेपाली खानाको विविधता एउटै परिकारमा सीमित छैन । भौगोलिक अवस्था, स्थानीय उत्पादन, समुदायको जीवनशैली र परम्पराअनुसार खानपानका आफ्नै विशेषता छन् । कुनै ठाउँको खाना त्यहाँको कृषि, पशुपालन र सामाजिक जीवनसँग जोडिएको हुन्छ । तर, आधुनिक खानपानको विस्तारसँगै कतिपय रैथाने परिकार ओझेलमा पर्ने जोखिम पनि छ । नयाँ पुस्तामा पुराना खानाको स्वाद र तिनको पृष्ठभूमिबारे जानकारी कम हुँदै जान सक्ने भण्डारीको चिन्ता छ । ‘नेपालीले आफ्नो संस्कृति र परम्परा बिर्संदै गएका छन् । यस्ता महोत्सवले त्यसलाई जोगाउन सहयोग गर्छन्,’ उनी भन्छन् । उनका अनुसार रेस्टुरेन्टमा आउने ग्राहकले परिकार मात्र होइन, त्यससँग जोडिएको नेपालीपन पनि महसुस गरून् भन्ने उद्देश्य छ । त्यसैले पक्कु महोत्सवलाई हरेक वर्ष दोहो¥याउने गरिएको हो । महोत्सव पाँच दिनमा सकिए पनि पक्कु र अन्य परिकार रेस्टुरेन्टमा निरन्तर उपलब्ध हुनेछन् । सुन्धाराबाट १३ आउटलेटसम्मको यात्रा पक्कु र नेपाली खानाको प्रवद्र्धनमा लागेका भण्डारीको व्यावसायिक यात्रा पनि लामो छ । उनी करिब दुई दशकदेखि आतिथ्य तथा रेस्टुरेन्ट क्षेत्रमा सक्रिय छन् । सुन्धाराबाट सुरु भएको उनको व्यवसाय अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फैलिएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गत उपत्यकामा १३ वटा आउटलेट सञ्चालनमा रहेको उनले बताए । कलंकी, रविभवन, सुन्धारा र महाराजगन्जलगायतका क्षेत्रमा व्यवसाय विस्तार भइसकेको छ । ४२ वर्षीय भण्डारीले रेस्टुरेन्ट क्षेत्रमा काम गर्दा सिकेको अनुभवलाई व्यवसाय विस्तारमा उपयोग गरेको बताउँछन् । मेहनत, निरन्तरता र टिमवर्कलाई उनी आफ्नो यात्राका मुख्य आधार मान्छन् । ‘एक्लैको प्रयासले मात्र व्यवसाय अगाडि बढाउन सकिँदैन । टिमको मिहिनेत र सहकार्यले नै विस्तार सम्भव भएको हो,’ उनको भनाइ छ । उनका अनुसार समूहका विभिन्न व्यवसायमा करिब ३५० जनाले रोजगारी पाएका छन् । बुढानीलकण्ठ र बुटवलमा थप सेकुवा कर्नर सञ्चालन गर्ने योजना पनि उनले सुनाए । सुनधाराबाट सुरु भएको व्यवसायलाई काठमाडौं उपत्यकाबाहिरका अन्य क्षेत्रमा समेत विस्तार गर्ने उनको लक्ष्य छ । प्रेसिडेन्टलाई स्थापित व्यावसायिक ब्रान्डका रूपमा अघि बढाउने योजनासहित उनी काम गरिरहेको बताउँछन् । महाराजगन्जस्थित प्रेसिडेन्टल सेकुवा करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । फराकिलो परिसर, खानपान र पारिवारिक मनोरञ्जनलाई जोडेर ग्राहकलाई फरक अनुभव दिने प्रयास गरिएको छ । स्वादबाट संस्कृति चिनाउने प्रयास पक्कु महोत्सवको भान्सामा तामाको भाँडामा मासु पाकिरहन्छ । सेफको पन्युले भाँडो चलाउँदा निस्कने आवाजसँगै मासुको बास्ना परिसरभरि फैलिन्छ । पाहुना स्वाद चाख्न आतुर हुन्छन् । तर, यो दृश्यको अर्थ प्लेटमा पस्किइने मासुमा मात्र सीमित छैन । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, रैथाने खानालाई नयाँ पुस्तासम्म पुर्‍याउने, रोजगारी सिर्जना गर्ने र पर्यटकलाई नेपाली स्वादसँग परिचित गराउने सम्भावना पनि यसमा छ । पर्यटनको अनुभव आँखाले देखेका दृश्यमा मात्र पूरा हुँदैन । जिब्रोले चाखेको स्वाद र त्यससँग जोडिएको कथाले पनि यात्राको सम्झना लामो समयसम्म जीवित राख्न सक्छ । नेपाली खानालाई त्यसैगरी पर्यटनको एउटा पहिचान बनाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको व्यावहारिक उत्तर खोज्ने प्रयासमा छ प्रेसिडेन्टल सेकुवाको पक्कु महोत्सव । तामाको भाँडामा पाकिरहेको पक्कु त्यस प्रयासको एउटा स्वादिलो सुरुवात हो ।

चीनबाट रिमोट कन्ट्रोल, नेपालमा सुनको धन्दा

काठमाडौं । एउटा सामान्य घर । मानिसको ओहोरदोहोर । घरमा बिवाइडीको सेतो रंगको कार पार्किङ । मानिसको पातलो ओहोरदोहोर । यो काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२, माथिल्लो भंगालको भाडामा लिएको घरको दृश्य हो । घरभित्र सुन प्रशोधन गर्ने मेसिन, उपकरण, नगद, अवैध सुन र ओसारपसार । घरभित्र अवैध सुनको कारोबार ।  काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले विशेष सूचनाका आधारमा लामो समयदेखि उक्त घरलाई निगरानी गरिरहेको थियो । बिहीबार प्रहरीले घरबाट निस्कन खोजिरहेको अवस्थामा बिवाइडी कारसहित तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो । २७ वर्षीय हान फेई, ४७ वर्षीय झीयु लङक्वीन र ३७ वर्षीय वाङ जीयानझेन पक्राउ परेका हुन् । कारमा कतै डेलिभर गर्न लागेका बिस्कुट पिसका सुनका टुक्रा थिए । लगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सुनसहित घरमा छापा मार्‍यो । केहीबेर लुटेरा सम्झिएर प्रहरीसँग धकेलाधकेल । प्रहरीले लगत्तै प्रहरी भएको परिचय दिए । प्रहरीको सक्रियता तुरुन्त बढ्यो । घरमा छापा मार्न पुगेका प्रहरीले कार्यालयका थप अन्य प्रहरी अधिकृतलाई खबर गरे । लगत्तै कार्यालयका प्रमुखसहित थप सुरक्षाकर्मी परिचालन भए । सुरक्षाकर्मी, जनप्रतिनिधिसहित स्थानीयले छापा मार्न थाले । सुन, नगद, सुन प्रशोधनमा प्रयोग हुने उपकरण लगायतका विभिन्न कागजात फेला पार्‍यो ।  प्रहरीले २१ किलो ७५०. ६८ ग्राम सुन फेला पारेको थियो । उक्त सुनको नेपाली बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा बराबरको सुन रहेको थियो । चार महिनाको अग्रिम भाडा  चिनियाँले सुनको कारोबार गर्न घरधनीसँग तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी चार महिनाका लागि १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरिएको कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । उनका अनुसार चिनियाँ नागरिक सुक्यानले सन् २०२६ जुलाई २४ देखि घर भाडामा लिएको देखिन्छ । उनी अगस्ट १५ मा चीन गएको र त्यसपछि नेपाल फर्किएका छैनन् । घरको साँचो भने एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण भएको देखिन्छ । सु क्यानले चीनमा रहेका झेन जियाले नामका व्यक्तिलाई साँचो दिएको र उनले हान फेईलाई साँचो पठाएका थिए । कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर घर भाडामा लिने व्यक्ति र घरभित्रको गतिविधिमा संलग्न व्यक्तिहरूबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको प्रमुख खड्काले जानकारी दिए । 'घर भाडामा लिने व्यक्ति देशबाहिर छन् । तर, घरको प्रयोग निरन्तर छ । घरको साँचो चीनबाट नेपाल आउने व्यक्तिहरूलाई हस्तान्तरण गरिएको छ,' उनले भने ।  चीनमा बसेर निर्देशन, नेपालमा सुन प्रशोधन  झेन जियाले चीनको ग्वाङझाउमा बस्थे । हान फेईले आफूलाई उनको निर्देशनमा काम गर्ने व्यक्तिका खुलाएका छन् । नेपालमा के गर्ने, कहाँ पुर्‍याउने र कसलाई सुन बुझाउने भन्ने कुराहरू वीच्याटमार्पत हुने गरेको थियो ।  खड्काका अनुसार घरमा सुनको लेसिलो तथा अर्धप्रशोधित अवस्थाको धातुलाई प्रशोधन गर्थे । तयार पारेको सुनलाई स्थानमा पुर्‍याउने काम गर्थे । सुन कहाँबाट ल्याइन्थ्यो, कसले घरसम्म पुर्‍याउँथ्यो र तयार भएको सुन कसको जिम्मामा जान्थ्यो भन्ने विषयमा उनीहरूले स्पष्ट जानकारी नदिएको उनी बताउँछन् । नेपालमा सुन प्रशोधन गर्ने मेसिनसहित पहिलो पटक मानिसहरू पक्राउ परेको खड्का दाबी गर्छन् । सुन बोक्न विद्युतीय गाडी, निगरानीमा प्रहरी हान फेईले नेपाल आएको भोलिपल्ट विमानस्थलबाटै विद्युतीय गाडी भाडामा लिएकाे अनुसन्धानबाट देखिएकाे छ ।  असोज ११ देखि २५ गतेसम्मका लागि भाडामा लिएकाे दैनिक ८ हजार भाडा तिर्ने गरेकाे अनुसन्धानबाट खुलेकाे छ । विद्युतीय कारमा जीपीएस जडान हुने भएकाले कहाँ-कहाँ गाडी पुगेको छ त्यसको अनुसन्धान गरेकाे खड्काले बताए । विशेष सूचनापछि प्रहरीले घरमा आउने-जाने व्यक्तिहरूमाथि निगरानी बढाएको थियो । स्थानीय छिमेकी तथा जनप्रतिनिधिबाटसहित घरमा छापा मारिएको थियो ।  पर्यटन भिसामा प्रवेश चिनियाँ नागरिकहरू पर्यटन भिसामा नेपाल आएका थिए । हान फेईले यसअघि परिवारसहित नेपाल आएर सुनको बजार अवस्था र मूल्य बुझी चीन फर्किएका थिए । उनी पुनः नेपाल आएर घरभित्र हुने सुन कारोबारीमा संलग्न भए । उनीहरू हङकङ हुँदै नेपाल आएको खुलेको छ । खुलेन सुनको स्रोत र अन्तिम गन्तव्य अहिलेसम्मको अनुसन्धानमा कुनै नेपाली नागरिकको संलग्नता नखुलेको उनी बताउँछन् । 'नेपाली व्यक्ति वा समूहको संलग्नता देखिएको छैन,’ खड्का भन्छन्,’ सुन कहाँबाट आयो, नेपालभित्र कसले उपलब्ध गरायो, कसका लागि प्रशोधन गरियो र कसलाई बुझाउने तयारी थियो चिनियाले भाषाको कारण भन्न सकेका छैनन् ।'  नेपालमा जोडिएका सम्बन्धहरूको खोजी भइरहेको उनले बताए । सुनको लिक्वीड बाइ प्लेन वा रोड कताबाट आउँथ्यो त्यस विषयमा अझैसम्म खुल्न नसकेको खड्का खुलाउँछन् । घरमा भेटिएका कागजात, उपकरण, गाडी र डिजिटल सम्पर्कका विवरणलाई आधार बनाएर अनुसन्धान गरिने उनले बताए । ' घरमा भेटघाट गर्न आउने व्यक्तिहरूको पहिचान र उनीहरूको सम्बन्ध पत्ता लगाउने काम पनि भइरहेको छ,' उनले अगाडि थपे । डिपोर्टमा चिनियाँको संख्या बढ्दै नेपालमा अपराध गरेर सबभन्दा बढी चिनियाँ डिपोर्ट हुने गरेका छन् । अध्यागमन विभागले प्रत्येक वर्ष विदेशीहरूलाई डिपोर्ट गर्दै आइरहेको छ ।  विभागका अनुसार जनवरीदेखि हालसम्म चाइनिज मात्र १ सय २१ डिपोर्ट भइसकेका छन् । हालसम्म ४१५ जना विदेशी डिपोर्ट भएका छन् ।  विभागले पछिल्लो समय नेपालमा पर्यटकीय भिसाले अपराध गर्नेको संख्या बढ्दै गएको जनाएको छ । भिसाको नवीकरण नगर्ने र भिसाको दुरुपयोग गर्नेको संख्या बढेको छ । भिसाको दुरुपयोग गर्नेमा पनि चिनियाँहरू सबैभन्दा अगाडि रहेको विभागले बताएको छ ।

जेनजी आन्दोलनमा लुटिएका हतियार किन्ने तयारी गर्दै थियो माझी ग्याङ्ग

काठमाडौं । बिहानको अँध्यारो होस् वा मध्यरातको सुनसान । सडकमा एक्लै हिँडिरहेका सर्वसाधारणलाई पछ्याउने, ठेगाना सोध्ने र बहाना बनाउने । उनीहरू मौका मिल्नेबित्तिकै सिक्री तथा नगद लुटेर मोटरसाइकलमा फरार हुन्थे । यही समूहको नेतृत्व सिन्धुलीका आयन माझीले गर्दै आएका थिए । माझीलाई प्रहरीले बुधबार बेलुका जडीबुटी पुलमुनिको सडकबाट मोटरसाइकलसहित नियन्त्रणमा लिन खोज्यो । प्रहरीमाथि धारिलो हतियार प्रहारको प्रयास गर्दै भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको थियो । बिहीबार काठमाडौं जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलनमा एसएसपी दिलिप खड्काले घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको बताए । उनका अनुसार खोजतलासमा भक्तपुरको ठिमीबाट समूहका  थप  दुई जना राकेश थिङ र मनोज कुमार मोक्तान पक्राउ परेका हुन् ।  उनले माझी सामान्य लुटेरा मात्रै होइनन्, समूह परिचालन गर्ने मुख्य योजनाकारसमेत रहेको जानकारी दिए । 'लुटपाटका लागि मोटरसाइकल, हतियार, नक्कली नम्बर प्लेट र अन्य आवश्यक सामग्री व्यवस्थापन गर्ने तथा लुटिएको बहुमूल्य सामानको व्यवस्थापन गर्ने भूमिका उनको थियो,' उनले भने ।  जेलबाट छुटे, फेरि उही धन्दामा माझीको आपराधिक पृष्ठभूमि नयाँ भने होइन। प्रहरीका अनुसार उनी विभिन्न समयमा काठमाडौं, भक्तपुर र काभ्रेका प्रहरी कार्यालयमा डाँका–चोरीसम्बन्धी २७ वटा मुद्दामा प्रतिवादी बनिसकेका छन् । २०७७ सालको डाँका–चोरी मुद्दामा कैद भुक्तान गरेपछि पनि उनी पुनः आपराधिक गतिविधिमा फर्किएकाे  प्रहरीको अनुसन्धानबाट खुलेकाे छ। उनी २०७७ सालको मुद्दामा तीन महिना कैद बसेर धरौटीमा छुटेका थिए । अदालतले थप कैद सजाय तोकेपछि फरार रहेका उनी २०८२ वैशाखमा पुनः तीन महिना कैद भुक्तान गरी छुटेका थि ए। तर, जेलबाट बाहिरिएपछि पनि उनले आपराधिक गतिविधि रोकेनन् । पुरानै शैलीलाई थप संगठित बनाउँदै उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, सिक्री लुटपाट तथा हातहतियारको प्रयोगबाट लुटपाट गर्ने समूह परिचालन गरे । ‘ठेगाना सोध्ने’ बहानादेखि इन्ड्राइभ चालकसम्म माझी समूहको आपराधिक कार्यशैली पनि प्रहरी अनुसन्धानमा खुलेको छ । बिहानको अँध्यारो समयमा सडकमा हिँडिरहेका व्यक्तिलाई ठेगाना सोध्ने बहाना बनाउने, नजिक पुगेपछि सिक्री खोस्ने र मोटरसाइकलमा भाग्ने उनीहरूको एउटा प्रमुख शैली रहेको प्रहरी बताउँछ । उनीहरूले इन्ड्राइभ वा पठाओ चालककाे बाहना बनाएर राति तथा बिहानको सुनसान समयमा एक्लै हिँड्ने महिला तथा पुरुषलाई निशाना बनाउने गरेका थिए । सुनसान स्थानमा पुर्‍याएर लुटपाट गर्ने र आवश्यक परे हतियार प्रयोग गर्ने तयारीसमेत उनीहरूले गर्ने गर्थे । लुटपाटपछि पक्राउबाट बच्न एउटै मोटरसाइकलमा निर्भर नभई तीन वटाभन्दा बढी सवारी साधन परिवर्तन गर्ने गरेका थिए । कतिपय अवस्थामा लुटपाटकै लागि मोटरसाइकल चोरी गर्ने र त्यही मोटरसाइकल प्रयोग गर्ने गरेका थिए ।  माझी समूहले गरेका भनिएका घटनामध्ये असोज १४ गते राति बौद्ध गेट नम्बर २ नजिक भएको लुटपाट गरेका थिए । तरकारी किन्न जाने क्रममा रहेका महेन्द्रकुमार बललाई चार–पाँच जनाको समूहले नियन्त्रणमा लिएर दुई लाख रुपैयाँ नगद तथा कागजात लुटेका थिए । त्यसअघि गत १३ गते राति डल्लु चौतारास्थित सडकमा अर्को घटना भएको थियो। कारभित्र रहेका रमेश खड्कीको घाँटीमा लगाएको करिब साढे तीन तोलाको सिक्री मोटरसाइकलमा आएका तीन जनाले लुटेका थिए । उक्त सिक्रीको अनुमानित मूल्य १० लाख ५० हजार रुपैयाँ रहेको थियो । मोटरसाइकल चोरीदेखि हतियारसम्म माझी समूहले लुटपाटका लागि काठमाडौंका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेका छन् । पछिल्ला घटनामा प्रयोग भएको पल्सर २२० मोटरसाइकलसमेत बालकुमारी पुलमुनिबाट लुटेका थिए । उनीहरुले लुटपाटमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल, नक्कली नम्बर प्लेट पाँच थान, एक थान खुकुरी तथा घटनाका बेला प्रयोग गरिएका कपडा बरामद भएको छ । माझीको समूहले जेनजी आन्दोलनका क्रममा लुटिएका आधुनिक प्रहरी हतियार खरिद गर्ने तयारीमा थिए ।  माझीले लामो समयदेखि उपत्यकामा सिक्री स्न्याचिङ, मोटरसाइकल चोरी तथा सुन–डलर देखाएर लुटपाट गर्ने आपराधिक समूहका व्यक्तिहरूसँग सम्पर्क विस्तार गर्दै आएका थिए। उनले नयाँ समूह बनाउने र योजनाबद्ध रूपमा अपराध गर्ने गरेका थिए ।

नागरिकता देऊ, लगानी बढाऔं

काठमाडौं । हरियो रुख । डमी छ । जय नेपाल ! जय नेपाल !  म केन्द्रीय सदस्यको उम्मेदवार गणेश खड्का हुँ ।  यो दृश्य र आवाज राष्ट्रिय सभा गृहको प्राङगणमा सुनिएको हो । उम्मेदवार तथा प्रतिनिधिको घाटीमा फोटोसहितको माला झुण्डिएको छ । हात- हातमा भिजिटिङ कार्ड बाँडिरहेका छन् । त्यहीँ चर्को आवाजकै सुनिएको भीडमा भेटिए ५३ वर्षीय दयानिधि सापकोटा । उनी बेलायतबाट जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेर काठमाडौं आएका हुन् ।  सापकोटा बेलायतमा बसेको तीन दशक बढी भयो । उनी पेशाले होटल तथा रेष्टुरेण्ट व्यवसायी समेत हुन् । यति मात्र नभइ नेपाली विद्यार्थी र अन्य मुलुकका नागरिकलाई काम समेत दिएका छन् । व्यवसायसँगै राजनीतिलाई सेवा ठानेका उनी यो पटकको महाधिवेशनमा सहभागी हुन काठमाडौंसम्म आइपुगेका छन् । तीन पुस्ते नेपाली कांग्रेसको राजनीतिमा लागेकाले आफू पनि त्यसबाट भाग्न नसकेको सापकोटा बताउँछन् । 'राजनीति सेवा रहेछ ।  नेपालको राजनीतिलाई चासो लिने गरेकाले पनि महाधिवेशनले यहाँसम्म ल्याएको छ,' उनले विकासन्युजसँग भने, 'राजनीतिसँगै व्यवसायलाई निरन्तरता दिँदै आएको छु ।' नेपाली कांग्रेसले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न पुर्याएको योगदानले पार्टीको राजनीति छाड्न नसकिएको उनले बताए । 'प्रजातान्त्रिक विचारलाई सधैं आत्मसात गर्ने भएकाले नेपाली राजनीतिमा फरक पहिचान बनाएको दल हो,’ उनी भन्छन्,’ कांग्रेसले नेपालको शासकीय व्यवस्थामा ठूलो भूमिका निभाएको छ ।' दयानिधि सापकोटा ।  युवा पुस्तालाई समेट्न सकेकाले यो अधिवेशनमा आकर्षण बढेको सापकोटाको बुझाइ छ । नेपाली राजनीतिको करेक्सन बदलिएको उनले बताए । मुलुकको माटो सुहाउँदो राजनीति र सिद्धान्त हुनुपर्ने उनले उल्लेख गरे । नेपाली राजनीतिमा कांग्रेसले पुर्‍याएको योगदानलाई भुल्न नसकिने उनको भनाइ छ । विदेशमा बसेका नेपालीलाई वंशजको नागरिकता दिलाउन कांग्रेसले पहल गर्नुपर्ने उनको भनाइ छ। विदेशमा रहेका नेपालीले रेमिट्यान्स मार्फत नेपाललाई योगदान पुर्‍याइरहेको उनले बताए ।  विदेशमा बसेका नेपालीलाई एक पटकको नेपाली सधैंका लागि नेपाली हो भनेर सम्झनुपर्ने उनले सुझाए । विदेशमा रहेका नेपालीले जन्मभूमिलाई कहिले पनि बिर्सन नसक्ने उनले बताए । विदेशमा ठूला लगानी भित्र्याउन एनआरएन नेपालीले गरिरहेका लगानीको सुरक्षित वातावरण हुनुपर्ने सापकोटाको भनाइ छ । 'लगानी गरेका पैसा जन्मभूमिमा योगदान गर्न पाइयोस र कर्मभूमिमासमेत लैजान पाइयोस भन्ने छ,' उनले अगाडि सुनाए । राजनीतिले डोर्‍याएर युरोपबाट नेपालसम्म बदलिँदो राजनीतिको दृश्यमा परिवर्तनको सन्देश बोकेर आएको महाधिवेशन नयाँ सन्देश बोकेको बताउँछन् स्पेनबाट आएका प्रतिनिधि ४७ वर्षीय चिन्तामणी सापकोटा । विदेशमा बसे पनि नेपालको राजनीतिले टाढा पुर्‍याउन नसकेको उनले बताए ।  'नेपालको राजनीतिमा कांग्रेस सधैं अगाडि रहेको छ,' उनले भने,' हरेक परिवर्तनको साक्षी कांग्रेस हो । अहिले पनि मुलुक विषम परिस्थितिमा गुज्रिरहेको छ । यस्तो अवस्थामा कांग्रेसले लिड गर्नुपर्ने हुन्छ ।' मुलुकमा नेपाली कांग्रेस भन्ने दलले ठूलो रहेको सन्देश पुर्‍याउन भए पनि मातृभूमि आउनुपरेको उनले बताए ।  ‘सामाजिक र राजनीतिक आन्दोलनमा नेपाली कांग्रेसले पुर्याएको भूमिकालाई बिर्सन हुँदैन, 'उनी भन्छन्,' युरोपबाट नेपालको राजनीतिलाई हरेक पल चासो राख्ने गरेकाले यहाँसम्म आउनु परेको छ।' नेपालमा विदेशी लगानी कसरी ल्याउन सकिन्छ त्यसमा कांग्रेसले ध्यान दिनुपर्ने सापकोटा बताउँछन् । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन के कस्तो योजना तथा नीति बनाउने त्यसमा अहिलेदेखि गृहकार्य गर्न उनले सुझाए । नेपाललाई अप्ठ्यारो पर्दा विदेशमा रहेका नेपालीलाई धेरै सहयोग गर्ने गरेको उनले बताए । विदेशमा रहेका नेपालीलाई राजनीति र आर्थिक क्षेत्रमा सहभागी गराउन विशेष नीति ल्याउनुपर्ने सापकोटाले उल्लेख गरे । चिन्तामणी सापकोटा ।  श्रमिकको आवाज बन्दै मध्यपूर्वमा मध्यपूर्वको देशमा दुई दशकदेखि पसिना बगाउँदै आएका ४४ वर्षीय खेमराज बस्नेत पनि कांग्रेसको कुम्भ मेलामा आएका छन् । दुवईमा व्यवसाय गरिरहेका उनलाई पनि काठमाडौंमा भएको अधिवेशनले डोर्‍याएर ल्याएको छ ।  विदेशमा श्रम गर्नुपरे पनि राजनीतिले नछाड्ने उनले बुझेका छन् । नेपालको राजनीतिको कारण भनौ वा शासककै कारण देश छाड्नु परेको व्यथा उनले सुनाए । विदेशमा बसेर राजनीतिमार्फत श्रमिकको आवाज उठाउन पनि राजनीतिमा होम्मिएको उनी बताउँछन् । त्यसो त उनी यो पटक मतमात्र गर्ने छैनन् । उनी नेतृत्त्व गर्नसमेत हौसिएका छन्। बस्नेतले मध्यपुर्वको कलष्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । विदेशमा सिकेका सीप र ज्ञानलाई नेपालमा लगानी गर्न नेपाली कांग्रेसले विशेष नीति ल्याउनु पर्ने उनले बताए । विदेशको भूमीलाई कर्म गर्ने क्षेत्र बनाएका उनी मत माग्दै हिँडिरहेका छन् । दुवईमा होटल व्यवसाय गरिरहेका उनी यो पटकदेखि राजनीतिमार्फत सेवा गर्ने हुटहुटीमा लागि राजनीतिको मैदानमा छन् । राजनीतिलाई पेशाभन्दा पनि सेवा ठानेकाले आजसम्म राजनीतिमा लाग्नुपरेको उनले बताए । 'यसभन्दा अघिल्लो अधिवेशनमा भएका पात्रहरूले राजनीतिलाई पेशा बनाएका थिए,’ उनले भने,’ अब बन्ने नयाँ नेतृत्वले सेवा मात्र गर्नु पर्छ । राजनीति सिक्ने र सेवा गर्ने ठाउँ हो ।' खेमराज बस्नेत ।  विदेशमा रहेका श्रमिकको आवाज, सीप र ज्ञानलाई व्यवहारमा लागू गर्न सकेमा मुलुक समृद्ध बन्न सक्नेमा उनी विश्वस्त सुनिन्छन् । नेपाली राजनीतिमा देखिएका विकृती र विसंगतिलाई सदाका लागि त्याग्न सकेमा मुलुक सुनौलो युगमा प्रवेश गर्न सक्ने उनको बुझाइ छ । 'नेपालको विकासमा विदेशबाट आएको रेमिट्यान्सले ठूलो सहयोग गरेको छ,' बस्नेत भन्छन,' रेमिट्यान्स पठाउनेहरू अपहेलित छन् । उनीहरूलाई सम्मान गर्नुपर्छ । नेपाली कांग्रेसको महाधिवेशनबाट विदेशमा बसेका नेपालीका छुट्टै नीति पारित हुनुपर्छ ।' यतिखेर नेपाली कांग्रेसको १५ औं महाधिवेशन चलिरहेको छ । देशविदेशबाट नेपाली कांग्रेसका कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि काठमाडौं आएका छन् । 

चोलेन्द्रदेखि दीपक र वंशीराजसम्म फैलिएको लहरो

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल गत सोमबार निलम्बनमा परे । सरकारले दाहाललाई पदीय आचरणविपरीत काम गरेको र गम्भीर तथा संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बन गरेको जनाएको छ । दाहालमाथि कारबाहीको खबर सार्वजनिक भएसँगै यसको कारण र आधारबारे स्वाभाविक रूपमा प्रश्न उठेको छ । उच्च तहका सुरक्षा अधिकारीमाथि राज्यले गरेको निलम्बन सामान्य प्रशासनिक निर्णय होइन । यसले सुरक्षा संगठनको अनुशासन, नेतृत्वको जवाफदेहिता र सरकारको कार्यशैलीसँग जोडिएका गम्भीर प्रश्न सतहमा ल्याउँछ । गृह मन्त्रालयले पदीय आचरण विपरीत काम गर्ने र संवेदनशील सूचना चुहाउने कर्मचारीलाई गम्भीरतापूर्वक हेरिरहेको जनाएको छ । शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको र कानुनविपरीत काम गर्ने जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ । यो सन्देशका रूपमा सकारात्मक हुन सक्छ । राज्यका संवेदनशील सूचना व्यक्तिगत स्वार्थ, राजनीतिक पहुँच वा अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न मिल्दैन । सुरक्षा निकायमा रहेका अधिकारीले अझ बढी पदीय मर्यादा र गोपनीयताको पालना गर्नुपर्छ । तर, त्यससँगै राज्यले कारबाहीको आधार र प्रक्रिया पनि पारदर्शी बनाउनुपर्छ । दाहाललाई निलम्बन गर्नु आफैमा अन्तिम कारबाही होइन । निलम्बन छानबिनको प्रक्रिया अघि बढाउने प्रशासनिक कदम हो । त्यसैले अब मुख्य प्रश्न हो, उनीमाथि लागेको आरोपको प्रमाण के हो ? गृह मन्त्रालयले दाहालमाथि गम्भीर सूचना चुहाएको आरोप लगाएको छ । तर, कुन सूचना, कसलाई, कुन माध्यमबाट र कुन उद्देश्यले चुहाइएको हो भन्ने विषय सार्वजनिक रूपमा स्पष्ट गरिएको छैन । आरोपको गम्भीरताअनुसार त्यसको आधार पनि स्पष्ट हुन आवश्यक छ । यस विषयमा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहालमाथि छानबिन गर्न जाँचबुझ समिति गठन भएको र समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको बताएका छन् । समितिमा एआईजी अञ्जनीकुमार पोख्रेल रहेको र प्रतिवेदनमा उल्लेख भएअनुसार कारबाही हुने उनको भनाइ छ । ‘दाहाललाई प्रतिवेदनमा उल्लेख गरेअनुसार कारबाही हुन्छ । उहामा के-कस्ता प्रमाण भेटिए त्यस बारेमा मैले भन्न मिल्दैन,’ काफ्लेले भने ।  यहीँबाट सरकारको अर्को दायित्व सुरु हुन्छ । छानबिन समितिले के निष्कर्ष निकाल्छ, त्यसलाई सार्वजनिक बहसमा ल्याउनुपर्छ । आरोप प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्छ । प्रमाण नपुगेमा पनि त्यसको अवस्था सार्वजनिक रूपमा स्पष्ट हुनुपर्छ । निलम्बनलाई नै दोष प्रमाणित भएको अर्थमा बुझ्ने अवस्था सिर्जना गर्नु हुँदैन । उच्च तहका सुरक्षा अधिकारीमाथि लागेको आरोपलाई राजनीतिक वा प्रशासनिक दबाबको विषय बनाइनु हुँदैन । नत सुरक्षा निकायभित्र गलत काम गर्ने जोसुकैलाई संरक्षण दिन मिल्छ । राज्यका कर्मचारी र अधिकारीका लागि एउटै मापदण्ड लागू हुनुपर्छ, गल्ती भए प्रमाणसहित छानबिन र कानुनअनुसार कारबाही । चोलेन्द्र जबरा प्रकरणले उठाएको प्रश्न दाहालको निलम्बनसँगै केही साताअघि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा दिएको घटनासँग जोडिएका प्रश्न पनि फेरि सतहमा आएका छन् । सरकारले जबरालाई पक्राउ वा नियन्त्रणमा नलिएको, सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा लगिएको बताउँदै आएको छ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परिवारबाट सुरक्षा माग गर्दै प्रहरीमा निवेदन आएपछि उनलाई सुरक्षित स्थानमा लगिएको बताएका थिए । ‘स्पष्ट भइसकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन,’ उनले भनेका थिए, ‘उहाँकै आफ्नो परिवारबाट उहाँको सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाइएको छ ।’ सरकारको यो स्पष्टीकरणपछि पनि एउटा प्रश्न भने बाँकी छ, सुरक्षा खतरा कहाँबाट थियो ? यदि कुनै व्यक्तिमाथि गम्भीर सुरक्षा खतरा थियो भने त्यस्तो खतरा के थियो, कसबाट थियो र त्यसका आधारमा प्रहरीले के अनुसन्धान गर्‍यो भन्ने जानकारी सार्वजनिक हुनुपर्छ । सुरक्षा दिने नाममा राज्यले कुनै नागरिकलाई अस्पष्ट अवस्थामै लामो समयसम्म राख्ने अभ्यास स्थापित हुनु हुँदैन । कुनै नागरिकमाथि अनुसन्धान आवश्यक भए त्यसको कानुनी आधार हुनुपर्छ । सुरक्षा जोखिम भए त्यसको प्रकृति र राज्यले अपनाएको प्रक्रिया पनि कानुनको सीमाभित्र हुनुपर्छ । पारदर्शिता र जवाफदेहिता सुरक्षा निकायका लागि पनि उत्तिकै आवश्यक छन् । यही कारण चोलेन्द्र जबरा प्रकरण र एआईजी दाहालमाथिको कारबाहीलाई एउटै घटनाका रूपमा हेर्नु उचित हुँदैन । तर, दुवै घटनाले राज्यका सुरक्षा संयन्त्रले नागरिक र आफ्नै उच्च अधिकारीमाथि गर्ने कारबाही तथा सुरक्षा व्यवस्थापनमा कानुनी प्रक्रिया, प्रमाण र पारदर्शिताको आवश्यकता भने देखाएका छन् । प्रमाणका आधारमा कारवाही हुनुपर्छ  गृहमन्त्री सुधन गुरुङले मंगलबार सामाजिक सञ्जालमार्फत गृह मन्त्रालय र मातहतका निकायमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् । उनका अनुसार राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले राज्यका सूचनामा पहुँच दिने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ । ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु,’ उनले भनेका छन् । गुरुङले राज्यको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनीसमेत दिएका छन् । यो विषयमा सरकार स्पष्ट हुनुपर्छ । राज्यका गोप्य सूचना चुहाउने काम गम्भीर अपराध वा कसुरको दायरामा पर्छ भने प्रमाणका आधारमा दोषीमाथि कारबाही हुनुपर्छ । तर, ’सूचना चुहाएको’ भन्ने आरोप मात्रै पर्याप्त हुँदैन । आरोप पुष्टि गर्ने प्रमाण, कानुनी आधार र छानबिनको निष्पक्षता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । सुरक्षा निकायमा कार्यरत अधिकारीले पदीय मर्यादा पालना गर्नुपर्छ । तर, राज्यले पनि आफ्नो अधिकार प्रयोग गर्दा कानुन, प्रक्रिया र प्रमाणको सीमा नाघ्नु हुँदैन । कर्मचारीलाई गलत काम नगर्न सचेत गराउने सबैभन्दा प्रभावकारी माध्यम मनपरी कारबाही होइन, निष्पक्ष छानबिन र निश्चित कानुनी प्रक्रिया हो । गलत गर्ने कर्मचारीलाई संरक्षण गर्नु हुँदैन, तर आरोप लगाएर मात्र दोषी ठहर गर्ने संस्कार पनि स्थापित गर्नु हुँदैन । दाहालको हकमा पनि यही मापदण्ड लागू हुनुपर्छ । छानबिन समितिले तोकिएको समयभित्र निष्पक्ष प्रतिवेदन दिनुपर्छ । प्रतिवेदनमा प्रमाण भेटिए कारबाही अघि बढाउनुपर्छ । प्रमाण नपुगेमा त्यसको अवस्था पनि स्पष्ट गर्नुपर्छ । सरकारले निलम्बनलाई शक्ति प्रदर्शनको माध्यम होइन, जवाफदेहिताको सुरुवात बनाउनुपर्छ । सुरक्षा निकायका अधिकारीदेखि सामान्य कर्मचारीसम्म सबैका लागि एउटै कानुनी मापदण्ड लागू भएको अनुभूति नागरिकले गर्न सक्नुपर्छ । राज्यको अधिकार बलियो हुनु आवश्यक छ । तर, राज्यको अधिकारसँगै त्यसको प्रयोगमाथिको पारदर्शिता पनि बलियो हुनुपर्छ । निलम्बन गर्न सक्ने अधिकार सरकारसँग छ । तर, निलम्बनको कारण र प्रमाणबारे जवाफ दिने दायित्व पनि सरकारकै हो । दीपकको सरुवामा थप संशय कारागार व्यवस्थापन विभागले नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको घटनाले थप संशय सिर्जना गरेको छ । उनलाई गत शनिबार सिन्धुपाल्चोक स्थानान्तरण गरिएको हो ।  भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण गरी भ्रष्टाचार र बैंकिङ कसुर गरेको आरोप छ । उच्च अदालत, पाटन र विशेष अदालतमा उनीसँग सम्बन्धित मुद्दा विचाराधीन छन् । अदालतले प्रारम्भिक सुनुवाइपछि पुर्पक्षका लागि थुनामा पठाएपछि उनी नख्खु कारागार बस्दै आएका थिए । दीपक भट्टको सरुवा पनि सामान्य होइन । यसलाई विशेष चासोका साथ हेरिएको छ । कतिपयले यसलाई पूर्वप्रधानन्यायाधीश जबरासँग जोडिएर पनि हेरेका छन् । प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले उनीमाथि चलखेल गरेको आरोप लगाउँदै सरुवा गरेको हुनसक्ने बुझाइ अधिकांशको छ । 

ई-बिडिङ प्रकरणमा निर्माण व्यवसायी धमाधम पक्राउ

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत आएपछि सार्वजनिक खरिद प्रणालीमा भएको अनियमिततामाथिको अनुसन्धानले गति लिएको छ ।\ विद्युतीय बोलपत्र (ई-बिडिङ) प्रणालीमा प्रवेश गरी ठेक्काको रकम तथा सूचनामा चलखेल गरेको आरोपमा निर्माण व्यवसायीहरू धमाधम पक्राउ पर्न थालेका छन् । करिब पाँच महिनाअघि पीपीएमओले सार्वजनिक खरिदको विद्युतीय प्रणालीमा निर्माण व्यवसायीबाट कैफियत भएको फेला पारेपछि अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको थियो । त्यसपछि साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका थिए । अनुसन्धानका क्रममा ई-बिडिङ प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी छुट्टै ‘फेक सिस्टम’ बनाएर निर्माण व्यवसायीलाई ठेक्कासम्बन्धी सूचना उपलब्ध गराउने गरेको आरोपमा ३३ वर्षीय दिवाकर देउजा पक्राउ परे । उनी हाल कारागारमा छन् । प्रहरीका अनुसार ई-बिडिङ प्रणालीमा भएको चलखेलमा देउजाको मुख्य भूमिका देखिएको छ । देउजाले सार्वजनिक खरिद प्रणालीमा प्रवेश गरी विभिन्न कम्पनीले ठेक्कामा कति रकम प्रस्ताव गरेका छन् भन्ने सूचना व्यवसायीलाई उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । त्यसपछि व्यवसायीसँग भेटेर रकममा बार्गेनिङ गर्ने वा मिलेर ठेक्का प्रक्रियामा अघि बढ्न सुझाउने गरेको समेत खुलेको छ । प्रहरीका अनुसार देउजाले व्यवसायीको आवश्यकता र प्रतिस्पर्धाको अवस्थाअनुसार बोलपत्रको रकम तलमाथि गर्न सहयोग गर्ने गरेका थिए । कम रकम कबोल गरेका व्यवसायीको रकम बढाउने तथा आफूअनुकूल हुने गरी बोलपत्रमा चलखेल गर्ने गरेको आरोपमा थप व्यवसायी पक्राउ परेका हुन् । आठ निर्माण व्यवसायी पक्राउ यही प्रकरणमा साइबर ब्यूरोले गत शुक्रबार मात्रै आठ जना निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार भक्त लामा, नारायणप्रसाद सितिखु, रितुबहादुर कार्की, विष्णुमान लामा, ध्रुव खनाल, केदार मल्ल, गंगाबहादुर सिलवाल र स्वदेश पोख्रेल पक्राउ परेका हुन् । यसअघि यही प्रकरणमा १२ जना व्यवसायीसहित पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परिसकेका थिए । पछिल्लो आठ जनासहित पक्राउ पर्ने व्यवसायीको संख्या २० पुगेको प्रहरीको भनाइ छ । साइबर ब्यूरोका एसपी दीपक अवस्थीका अनुसार पक्राउ परेका व्यवसायीहरूको गतिविधि पीपीएमओले विद्युतीय ठेक्का प्रणालीको अनुगमनका क्रममा फेला पारेको थियो । ‘व्यवसायीहरूले कैफियत गरेको भेटिएपछि ब्यूरोलाई कारबाहीका लागि पत्राचार गरेको हो,’ अवस्थीले विकासन्युजसँग भने, ‘प्रहरीको अनुसन्धानसँगै उनीहरूले पनि निरन्तर कैफियत गरेको फेला पारेको थियो ।’ उनका अनुसार पक्राउ परेका व्यवसायीहरूले ह्याकर देउजासँग मिलेर ठेक्काको रकम घटबढ गर्ने गरेको खुलेको छ । ठेक्का प्रक्रियामा एउटै कम्पनीले पटक–पटक आफ्नो कबोल रकम परिवर्तन गरेको प्रमाणसमेत फेला परेको उनले बताए । ‘व्यवसायीसँग कुराकानी गर्न ह्याकरले बेग्लै सिस्टम बनाएका थिए,’ अवस्थीले भने, ‘पक्राउ परेका व्यवसायीसँग ह्याकरभन्दा पनि सिस्टमले संवाद गर्ने गरेको थियो ।’ एउटै कम्पनीले तीन पटकसम्म रकम परिवर्तन पीपीएमओको अनुसन्धानका क्रममा एउटै कम्पनीले एउटै ठेक्कामा तीन पटकसम्म कबोल रकम परिवर्तन गरेको देखिएको अवस्थीले बताए । रकम परिवर्तन भएको प्रमाण भेटिएपछि त्यस्ता व्यवसायीलाई अनुसन्धानको दायरामा ल्याइएको उनको भनाइ छ । पीपीएमओले उपलब्ध गराएको पासवर्ड परिवर्तन गर्नसमेत देउजाको मुख्य भूमिका रहने गरेको अनुसन्धानबाट खुलेको अवस्थीले बताए । ‘आठ जना पक्राउ परेका व्यवसायीसँग दोहोरो संवाद गरेको खुलेपछि र पैसा घटाएको प्रमाण भेटिएपछि उनीहरू पक्राउ परेका हुन्,’ उनले भने । प्रहरीका अनुसार व्यवसायीहरूले कारागारमा रहेका देउजालाई क्रिप्टोमार्फत रकम बुझाउने गरेका थिए । त्यसको बदलामा देउजाले ठेक्का प्रणालीमा प्रवेश गरी व्यवसायीलाई आवश्यक सूचना उपलब्ध गराउने तथा बोलपत्रको रकम परिवर्तन गर्न सहयोग गर्ने गरेको आरोप छ । अवस्थीका अनुसार ठेक्का प्रणालीमा प्रवेश गरी रकम परिवर्तन गर्ने गतिविधिमा देशका विभिन्न स्थानका निर्माण व्यवसायीको संलग्नता देखिएको छ । अनुसन्धान अझै जारी रहेकाले थप व्यवसायीसमेत अनुसन्धानको दायरामा आउन सक्ने प्रहरीको भनाइ छ । यही प्रकरणमा कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे यसअघि पक्राउ परेर धरौटीमा रिहा भइसकेका छन् । आशिष निर्माण सेवाका प्रबन्ध निर्देशक ऋषिकेश गौली पनि गत वैशाखमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए । ई-बिडिङ प्रणालीमा अनधिकृत प्रवेश, व्यवसायीलाई ठेक्कासम्बन्धी गोप्य सूचना उपलब्ध गराउने तथा बोलपत्रको रकममा चलखेल गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । यस प्रकरणमा पक्राउ परेका व्यवसायीहरूको संलग्नता र उनीहरूले प्रणालीमा गरेको भनिएको चलखेलबारे थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण खुल्ने प्रहरीले जनाएको छ ।

अभिभावक गुमाएका ५० बालबालिकाको सहारा बन्दै वडा सदस्य थापामगर

काठमाडौं । मध्यान्हको १२ बज्यो । उनी होल्डिङ सेन्टरको दायाँपट्टि उभिएका छन् । मानिसहरूको आवतजावत चलिरहेको छ । होल्डिङ सेन्टरमा आउने-जाने गफिइरहेका छन् । रसुवामा गत भदौ १० गते आएको बाढीले धेरै जनधनको क्षति गर्यो । क्षति मात्र गरेन बस्ती उजाड बनायो । मानिस एक्ला भए । भएका धनसम्पत्ति बगे । भोटेकोशीमा आएको बाढीले रसुवाको उत्तरगया गाउँपालिका-१ का ५० जना बालबालिकाको जीवनमा रिक्तता छाएको छ । उनीहरुलाई नुवाकोटको विदुर नगरपालिका-२ स्थित अन्नपूर्ण आदर्श विद्यालयको होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरू कसैका आमा छैनन्, कसैका बाबु छैनन् । पूर्ण रुपमा अभिभावक विहीन भएका छन् । यही पीडाको बीचमा उनीहरूको हेरचाह, बसोबास र भविष्यको चिन्ता बोकेर खटिएका छन्- नुवाकोटको विदुर नगरपालिका-२ का वडा सदस्य रञ्जन थापा मगर । होल्डिङ सेन्टरका बालबालिकालाई आफ्नै छोराछोरी सरह उनले हेरचाह गरिरहेका छन् । एउटा जनप्रतिनिधिको औपचारिक जिम्मेवारीभन्दा धेरै गहिरो मानवीय संवेदना उनमा लुकेको छ । विपत्तिमा साथ र सहारा बन्न पाउनु पनि ठूलो भाग्य बनेको उनी बताउँछन् । बाढीपछि प्रभावित बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । धेरै बालबालिकाहरू केहीका आफन्तकामा गएका छन् । अभिभावक नभएका बालबालिकालाई थापामगरले अभिभावकको भावना महसुस गराइरहेका छन् । 'बालबालिकाहरूले पढ्न नपाएको र बाबुआमा नभएकाले अभिभावकत्वको अभाव भएको कुरा गरिरहेका छन्,' थापा मगर बताउँछन्, 'बालबालिकाको भावना बुझ्दा र बोली सुन्दा यस्तो विपत्ति नेपालमा कहिले नदोहरियोस् ।' बालबालिकाको इच्छा बुझेर कसरी पढाइलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको उनी बताउँछन् । पढ्न चाहने बालबालिकालाई आवश्यक व्यवस्था मिलाएर विद्यालय पठाउने पहल भइरहेको उनले सुनाए । आफ्ना अभिभावक गुमाएका बालबालिकाको भविष्य केवल राहत सामग्री दिएर सुरक्षित हुँदैन भन्ने कुरालाई  प्राथमिकतामा राखिएको उनले उल्लेख गरे । बाबुआमा गुमाएका बालबालिकाको मनस्थितिबारे कुरा गर्दा थापा मगर भावुक सुनिन्छन् । उनका अनुसार सुरुका दिनमा उनीहरू त्यहाँ बस्न नचाहने, रुने-कराउने र असहज महसुस गर्ने गर्थे । आफ्ना अभिभावकको अनुपस्थितिलाई स्वीकार गर्न उनीहरूलाई सहज थिएन । समयसँगै उनीहरूलाई नियमित दिनचर्यामा फर्काउने प्रयास भइरहेको छ । बालबालिकाहरू बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको थापा मगरले बताए । उनीहरूको गतिविधि पढाइ र दैनिक गतिविधिमा सहभागी भइरहेको छ । बालबालिकाको परिवर्तन उनका लागि सन्तोषको विषय बनेको छ । 'उनीहरूको अनुहारमा देखिएको सामान्यपनले भित्रको पीडा मेटिएको छैन,’ उनले थपे, 'सबैले उनीहरूको भावनात्मक अवस्था र भविष्यप्रति निरन्तर चासो राख्न आवश्यक छ ।' वडाका विभिन्न पाँच-छ स्थानमा अस्थायी होल्डिङ सेन्टर बनाइएका बेला उनी त्यहाँ पुगेर आवश्यक सामग्री, खाना, बसोबास र प्रभावितका समस्याबारे बुझ्थे ।  अधिकांशको व्यवस्थापन अन्यत्र सारिए पनि उनी बिहान-बेलुका प्रभावितहरू बालबालिकाकै बीचमा पुगिरहेका छन् । शान्ति सेवा गृहले खाना, पिउने पानी, बसोबास तथा व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको छ। संस्थाले समाधान गर्न नसकेका समस्या आए आफूले सहयोग गर्ने गरेको उनी बताउँछन् । 'कहिलेकाहीँ रक्तचापका बिरामीलाई पनि समस्या पर्ने गरेको छ। आवश्यक समन्वय र सहयोग गरिन्छ,’ उनले भने, 'कतिपय बालबालिकालाई तत्कालै अस्पताल लानुपर्ने हुन्छ । कति रात नसुती नसुती उनीहरुको सेवामा खटिएको छु ।' मगरका अनुसार व्यवस्थापनमा ठूलो समस्या छैन । विपद्का कारण विस्थापित भएका मानिसहरूको आवश्यकता बुझ्नुपर्छ । उनीहरूलाई सहज वातावरण दिनु जिम्मेवारीमा परेको छ । थापा मगरले आफ्नो वडा प्रत्यक्ष रूपमा बाढीबाट ठूलो भौतिक क्षति व्यहोरेको छैनन् । कामको सिलसिलामा बाहिर गएका करिब ८-१० जना स्थानीय बेपत्ता भएको उनले जानकारी दिए । 'मानिसहरू बेपत्ता भएको पीडा एकातिर छ, अर्कोतिर अभिभावक गुमाएका बालबालिकाको भविष्यको चिन्ताले सताइरहन्छ,’ उनले भने । ५४ वर्षका थापा मगरको जनप्रतिनिधिका रूपमा कार्यकाल आगामी केही महिनामा सकिँदै छ । पदमा रहे पनि नरहे पनि मानवताको कार्यमा सधैँभरि अगाडि रहने उनले बताए । विपद्का बेला सबैभन्दा ठूलो सहयोग सधैँ रकम वा राहत सामग्री मात्र नहुने उनको बुझाइ छ । 'मानिसका समस्या सुनिदिनु, आवश्यक पर्दा  उनीहरूका साथमा उभिनु र अभिभावक गुमाएका बालबालिकालाई आफ्नै सन्तानझैँ माया गर्नु । मानिसले अरूको भावना बुझेर काम गर्न सक्यो भने त्यसलाई असल मानवता हो,' थापा मगरले भने ।

सुन तस्करीको शैली फेरियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो एक महिनामा मात्रै करिब दुई किलो सुनसहित ४० जनाभन्दा बढी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालीसँगै विदेशी नागरिकसमेत छन् । उनीहरूले विभिन्न मुलुकबाट सुन ल्याउनेदेखि शरीरभित्र लुकाएर विमानस्थल पार गर्ने प्रयाससम्म गरेको पाइएको छ । गत बुधबार मात्रै विमानस्थलबाट १०४.२५ ग्राम सुनसहित दुई नेपाली पक्राउ परे । कतारबाट नेपाल एयरलाइन्सको जहाजमा आएका ३१ वर्षीय अनिल राय र ३३ वर्षीय अनिस अन्सारीलाई प्रहरीले सुनका गरगहना अवैध रूपमा नेपाल भित्र्याउने तथा संकलन गरी लैजाने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । त्यसअघि आइतबार भारतीय नागरिक अस्लाम शोकात सुनसहित विमानस्थलबाट पक्राउ परे । भारतको मुम्बईबाट इन्डिगो एयरको उडान नम्बर ६ ई ११५७ मार्फत काठमाडौं आएका शोकातको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो । भदौ ५ गते पनि त्रिभुवन विमानस्थलबाट पेटभित्र सुन लुकाएर ल्याएका बंगलादेशी नागरिक पक्राउ परेका थिए । दुबईबाट काठमाडौं आएका ३५ वर्षीय मोहम्मद रसिल हल्दारलाई भन्सार क्षेत्र पार गरेर पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए । सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन क्याप्सुल आकारमा लुकाएर ल्याएको स्वीकार गरेका थिए । यी घटनाले विमानस्थल हुँदै नेपालमा अवैध रूपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन भन्ने देखाउँछन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार पछिल्लो एक महिनामा मात्रै विभिन्न साना परिमाणमा करिब दुई किलो सुन बरामद भएको छ । यस क्रममा नेपाली तथा विदेशी नागरिक पक्राउ परेका छन् । बदलियो सुन तस्करीको शैली विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार तस्करहरूले सुन नेपाल ल्याउने शैली परिवर्तन गरिरहेका छन् । पहिलेको तुलनामा अहिले सुनलाई विभिन्न स्वरूपमा परिवर्तन गरेर ल्याउने क्रम देखिएको उनको भनाइ छ । ‘हाल सुन बोक्ने भरिया वा तस्करले सुन आयात गर्ने प्याटर्न परिवर्तन गरेका छन्,’ उनले भने, ‘सुन आयात भइरहेको छ । उनीहरूले सुनको लिक्विड बनाएर ल्याउँछन् ।’ उनका अनुसार केहीले सुनलाई झोलको स्वरूपमा ल्याउने गरेका छन् भने केहीले गहनाका रूपमा ल्याउने गरेका छन् । विमानस्थलबाट प्रहरीले तीन करोड रुपैयाँभन्दा बढी मूल्यको सुन नियन्त्रणमा लिइसकेको उनले बताए । ‘विमानस्थलका भन्सार कार्यालयले चेकजाँच गरिसकेका यात्रीलाई पक्राउ गर्ने गरिएको छ,’ सिलवालले भने, ‘भन्सारबाट छुटेर आएका यात्रीलाई मात्र हामीले समात्ने गरेका छौं । उनीहरूको गतिविधि शंकास्पद भेटिएकाले नियन्त्रणमा लिनु परेको हो ।’ भन्सारले चेकजाँच गर्ने स्थानमा प्रहरीको छुट्टै टोली नरहने भएकाले भन्सारबाट छुटेर बाहिर आएका यात्रुमाथि प्रहरीले निगरानी गर्ने गरेको उनले बताए । भरिया पक्राउ, मुख्य व्यक्ति अझै अनुसन्धानको चुनौती विमानस्थलबाट पक्राउ पर्ने अधिकांश व्यक्ति आफू भरिया मात्रै भएको र अरू कसैका लागि सुन ल्याएको बयान दिने गरेको प्रहरीको भनाइ छ । ‘विमानस्थलमा पक्राउ परेकाहरू सबै भरिया हुन् । अरूका लागि ल्याइदिएको भनेर जवाफ दिने गरेका छन्,’ सिलवालले भने, ‘सुन बोकेबापत पैसा पाउने र विमानस्थलमा मानिस सुन लिन आउने गर्छन् । सुन लिन आउनेहरूलाई सुन दिनु भनेकाले हामीले दिन्छौं भन्ने जवाफ भरियाबाट पाउँछौं ।’ तर, सुन पठाउने मुख्य व्यक्ति र त्यसको वास्तविक सञ्जालसम्म अनुसन्धान पुर्‍याउन चुनौती रहेको देखिन्छ । पक्राउ परेका भरियाले सुन पठाउने व्यक्तिको विवरण नदिने तथा सुन लिन आउने व्यक्तिको विवरणसमेत गलत हुने गरेको सिलवालले बताए । उनका अनुसार सुन पठाउने व्यक्तिले भरियाको उडान, विमानस्थलबाट बाहिरिने समय र गन्तव्यसम्मको विवरण पहिल्यै लिने गरेका हुन्छन् । ‘सुन पठाउनेले सुन रिसिभ गर्नेलाई सुन बोक्ने भरियाको सबै विवरण बताउने गरेका हुन्छन्,’ उनले भने । प्रहरीले विमानस्थल परिसरमा विशेष निगरानी बढाएको छ । विमानस्थलबाट बाहिर निस्किएपछि सुन लिन आउने व्यक्तिमाथि समेत सादा पोसाकमा निगरानी गर्ने र लेनदेनको क्रममा पक्राउ गर्ने गरिएको प्रहरीको भनाइ छ । तस्करीको सुनले व्यवसायी मारमा अवैध रूपमा भित्रिएको सुनले वैध रूपमा कारोबार गर्ने व्यवसायीसमेत प्रभावित हुने सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार अदृश्य लगानीकर्ताले चोरी तथा तस्करीमार्फत सुनको कारोबार गरेर सहजै नाफा कमाउने प्रयास गर्दा वैध व्यवसायी समस्यामा पर्ने गरेका छन् । ‘चोरी र लुकीछिपी आयात गरिएका सुनहरू बजारमा आएमा व्यवसायीलाई असर पर्छ,’ उनले भने, ‘व्यवसायीले पनि बिलबिनाका सुन लिन हुँदैन । सुनको गुणस्तर कस्तो हुन्छ भन्नेबारे समेत थाहा हुँदैन ।’ अन्जान व्यक्तिबाट बिलबिनाको सुन खरिद गर्दा व्यवसायीसमेत कानुनी झमेलामा पर्ने जोखिम रहेको उनले बताए । अवैध सुन आयातको विरोध महासंघले संस्थागत रूपमा पहिलादेखि गर्दै आएको भन्दै उनले राज्यका सबै निकाय गम्भीर हुनुपर्ने बताए । ‘चोरी तथा सुन तस्करीलाई नियन्त्रण गर्न राज्यका सबै निकाय गम्भीर लाग्नुपर्छ,’ शाक्यले भने । बिलबिनाको सुन चोरी तथा तस्करीको हुनसक्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता ध्रुवराज विश्वकर्माका अनुसार विदेशबाट आउने यात्रुले निश्चित सीमासम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने व्यवस्था छ । महिलाले ५० ग्रामसम्म र पुरुषले २५ ग्रामसम्म सुनका गहना ल्याउँदा भन्सार छुट हुने उनले बताए । तोकिएको सीमाभन्दा बढी सुन वा भन्सार नतिरी ल्याइएको सुन अरू व्यक्तिमार्फत ओसारपसार गरेको पाइएमा विमानस्थल बाहिरसमेत निगरानी हुने उनले बताए । सुन लिन आउने व्यक्ति विमानस्थल आसपासमा पुग्ने र लेनदेनको क्रममा प्रहरीले पक्राउ गर्ने गरेको विश्वकर्माको भनाइ छ । प्रहरीले सादा पोसाकमा समेत निगरानी गर्ने गरेको उनले बताए । पक्राउ परेको सुनसम्बन्धी कागजपत्र तथा मुचुल्का तयार गरेर भन्सार कार्यालयमा बुझाउने गरिएको उनले बताए । ठूलो परिमाणमा सुन बरामद भएको अवस्थामा भने सुन पठाउने व्यक्तिसम्म अनुसन्धान विस्तार गरिने उनको भनाइ छ । ‘सानो-सानो परिमाणको सुनमा पक्राउ परेका व्यक्तिलाई कारबाही गरिन्छ,’ उनले भने, ‘भन्सारले छोडे पनि बाहिर गएर पक्राउ परेपछि प्रहरीले सबै कलेक्सन गरेर फेरि भन्सारमै बुझाउँछ ।’ पक्राउ परेका व्यक्तिले सुन आफ्नो नभएको बयान दिने गरेको भन्दै विश्वकर्माले बिल नभएको सुनको स्रोत पुष्टि गर्न कठिन हुने बताए । उनका अनुसार विदेशबाट आउने यात्रुले निश्चित सीमासम्म सुन ल्याउन पाउने भए पनि त्यसको मूल्य ठूलो हुने भएकाले अरू व्यक्तिको सुन बोकेर आउने सम्भावना रहन्छ । ‘५० ग्राम सुन भनेको करिब चार तोला हो । नेपालको मूल्याङ्कनअनुसार पनि यसको मूल्य १२ लाख रुपैयाँसम्म पर्न सक्छ,’ उनले भने । बरामद सुनको प्रयोग असर्फी र स्मारिकामा अवैध रूपमा बरामद भएको सुनको शुद्धता र वैधता परीक्षण नेपाल राष्ट्र बैंकले गर्ने गरेको छ । मुद्दाको प्रक्रिया सकिएपछि सरकारले खरिद गर्ने निर्णय गरेमा राष्ट्र बैंकले शुद्धता परीक्षण गरी प्रचलित दरभाउअनुसार सुन खरिद गर्ने व्यवस्था रहेको छ । राष्ट्र बैंकसँग रहेको सुनमध्ये इन्भेस्टमेन्ट पेपर गोल्ड, बुलियन अर्थात् भौतिक सुन र ट्रेडिङ नेचरका सुनको व्यवस्थापन गरिन्छ । टक्सार महाशाखाले त्यस्तो सुन असर्फी तथा स्मारिका बनाउन प्रयोग गर्ने गरेको छ । यसरी विमानस्थलबाट सुन बरामद हुने क्रम निरन्तर देखिए पनि पक्राउ पर्नेहरू अधिकांश भरिया मात्रै भएको प्रहरीको भनाइ छ । सुन पठाउने र प्राप्त गर्ने मुख्य सञ्जालसम्म अनुसन्धान पुर्‍याउने चुनौती भने कायमै छ । विमानस्थलबाट बाहिरिने यात्रुको निगरानी बढाइए पनि तस्करीको बदलिँदो शैलीसँगै सुनको अवैध कारोबार नियन्त्रणका लागि थप प्रभावकारी अनुसन्धान आवश्यक देखिन्छ ।