ठमेलमा पर्यटकको भीड

व्यवसायी भन्छन्- अपेक्षाभन्दा राम्रो पर्यटक आए, सेवा दिन भ्याइनभ्याइ

काठमाडौं । केही समयअघिसम्म प्राकृतिक विपत्तिका कारण पर्यटन व्यवसाय प्रभावित हुने चिन्तामा रहेका ठमेलका व्यवसायी अहिले पर्यटकको चहलपहल देखेर उत्साहित छन् । पर्यटकीय सिजन सुरु भएसँगै काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल विदेशी पर्यटकले भरिन थालेको छ ।

ठमेलका सडक, होटल, रेस्टुरेन्ट, ट्रेकिङ सामग्रीका पसलदेखि स्पा र ट्याटु स्टुडियोसम्म विदेशी पाहुनाको उपस्थिति बढेको छ । विशेषगरी असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिने भएकाले यस अवधिमा पर्यटकको आगमन बढ्दै गएको व्यवसायीहरूको अनुभव छ ।

यस वर्ष नेपालले विभिन्न प्राकृतिक विपत्तिको सामना गर्नुपरेपछि पर्यटक आगमन प्रभावित हुने अनुमान गरिएको थियो । भोटेकोशी क्षेत्रमा आएको बाढीलगायतका घटनाले नेपालको पर्यटनबारे अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने चिन्ता व्यवसायीमा थियो । तर, सिजन सुरु भएसँगै पर्यटकको चहलपहल बढ्न थालेपछि उनीहरूमा उत्साह थपिएको छ ।

ठमेलस्थित मार्लो होटलका सञ्चालक अभी ढकालका अनुसार सिजनको सुरुवातमा पर्यटक आगमन अपेक्षाअनुसार नदेखिए पनि पछिल्लो समय होटलमा विदेशी पाहुनाको उपस्थिति बढेको छ ।

'सुरुवातमा केही निराशाजस्तो अवस्था थियो। तर, अहिले तेस्रो मुलुकका विदेशी पाहुनाहरू आइरहनुभएको छ । होटलमा कोठा बुकिङ पनि राम्रो छ,' ढकालले भने ।

केही समयअघि प्राकृतिक विपत्तिका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने हो कि भन्ने चिन्ता रहेको उनले बताए। अहिले भने ठमेलका सडक र होटलमा पर्यटकको उपस्थिति उल्लेख्य देखिन थालेको उनको भनाइ छ ।

उनका अनुसार ठमेलमा तेस्रो मुलुकका पर्यटकको आवागमन राम्रो देखिए पनि भारतीय पर्यटकको उपस्थिति भने तुलनात्मक रूपमा कम छ। पर्यटकीय सिजनमा विदेशी पाहुनाको संख्या बढ्नु व्यवसायीका लागि सकारात्मक संकेत भएको उनी बताउँछन्।

पर्यटकको चापले सेवा व्यवस्थापनमै चुनौती

ठमेलमा पर्यटकको चहलपहल बढेको संकेत होटलको बुकिङमा मात्र सीमित छैन। पर्यटकले रुचाउने स्पा तथा वेलनेस सेवामा समेत ग्राहकको चाप बढेको व्यवसायीहरूको अनुभव छ।

ठमेलस्थित जेन स्पाका सञ्चालक रामदेव महत्तोका अनुसार पछिल्ला केही सातादेखि स्पामा सेवा लिन आउने विदेशी पर्यटकको संख्या बढेको छ । आयुर्वेदिक मसाजलगायतका सेवा लिन नेपालीभन्दा विदेशी पाहुना बढी आउने गरेको उनले बताए ।

'क्षणक्षणमा गेस्ट आइरहेका छन् । पर्यटकको चाप यति बढेको छ कि सबैलाई सहज रूपमा सेवा दिनसमेत गाह्रो भइरहेको छ,' महत्तोले भने, 'ग्राहकको मागअनुसार सेवा दिन अन्य ठाउँबाट समेत कामदार बोलाउनुपर्ने अवस्था आएको छ ।'

उनका अनुसार भोटेकोशीमा आएको बाढीपछि पनि ठमेल घुम्न आउने पर्यटकको संख्या घटेको छैन । प्राकृतिक विपत्तिका कारण नेपाल घुम्ने योजनामा रहेका पर्यटक प्रभावित हुन सक्ने व्यवसायीको अनुमान थियो । तर, अहिले ठमेलका सडक र व्यवसायमा देखिएको चहलपहलले त्यो चिन्ता केही कम गरेको छ ।

ठमेलमा सरकारी तथ्यांकमा देखिनेभन्दा बढी विदेशी पर्यटकको उपस्थिति रहेको आफ्नो अनुभव सुनाउँदै महत्तोले पर्यटकको आवागमन उत्साहजनक रहेको बताए ।

ट्याटु स्टुडियोमा पनि विदेशीको भीड

ठमेलमा पर्यटकको बढ्दो उपस्थितिको अर्को संकेत ट्याटु स्टुडियोमा देखिएको छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये केहीले यहाँको बसाइलाई स्मरणीय बनाउन ट्याटु खोप्ने गरेका छन् ।

ठमेलस्थित इडेन ट्याटुका सञ्चालक सागर राना मगरका अनुसार पछिल्लो समय ट्याटु बनाउन आउने विदेशी पर्यटकको संख्या बढेको  छ। उनको स्टुडियोमा दैनिक ७ देखि ८ जनासम्म विदेशी पर्यटक ट्याटु बनाउन आउने गरेका छन् ।

'गत सिजनको तुलनामा यस वर्ष असोजदेखि मंसिरसम्मको अवधिमा विदेशी पर्यटकको आगमन बढेको छ। ट्याटु बनाउन आउने पाहुनाको संख्या पनि राम्रो छ,' मगरले भने ।

ग्राहकको चाप बढ्दा स्टुडियोमा कार्यरत कलाकारलाई समय व्यवस्थापन गर्न कठिन भइरहेको उनले बताए । कतिपय पर्यटकले समय नपाउँदा सेवा नलिई फर्किनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

पर्यटकको बढ्दो उपस्थितिले ठमेलको पर्यटन व्यवसाय होटल र रेस्टुरेन्टमा मात्र नभई व्यक्तिगत सेवा तथा मनोरञ्जनसँग जोडिएका व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ ।

अधिकांश होटलका कोठा बुकिङ

ठमेलमा पर्यटकको बढ्दो चहलपहललाई ठमेल पर्यटन विकास परिषद्ले पनि सकारात्मक रूपमा लिएको छ । परिषद्का अध्यक्ष राजुमान डंगोलका अनुसार यस वर्ष प्राकृतिक विपत्तिका कारण पर्यटक आगमन कमजोर हुने अनुमान गरिए पनि वास्तविक अवस्था अपेक्षाभन्दा राम्रो देखिएको छ ।

'यस वर्ष पर्यटक आउँदैनन् कि भन्ने चिन्ता थियो । तर, अहिले ठमेलका अधिकांश होटलका कोठा बुकिङ भइसकेका छन्,' डंगोलले भने, 'होटल र रेस्टुरेन्टमा पर्यटकको उपस्थिति पनि राम्रो छ ।'

उनका अनुसार ठमेलका सडकमा देखिने धेरै पर्यटक यही क्षेत्रमा बसोबास गर्ने पाहुना हुन्। कतिपय पर्यटक पदयात्राका लागि बाहिर गएकाले आगामी दिनमा उनीहरू फर्किएपछि ठमेलमा चहलपहल अझ बढ्ने अपेक्षा गरिएको छ ।

'बाढीको प्रभावका कारण पर्यटक कम आउलान् भन्ने व्यवसायीको अनुमान थियो। तर, अपेक्षा गरेभन्दा राम्रो संख्यामा पर्यटक आएका छन्। त्यसैले व्यवसायी निराश हुनुपर्ने अवस्था छैन,' डंगोलले भने ।

पर्यटनको प्रवेशद्वारका रूपमा ठमेल

काठमाडौंको प्रमुख पर्यटकीय, सांस्कृतिक तथा व्यावसायिक केन्द्रका रूपमा ठमेलले लामो समयदेखि अन्तर्राष्ट्रिय पहिचान बनाएको छ। पदयात्रा, पर्वतारोहण, किनमेल, रेस्टुरेन्ट, सांस्कृतिक अनुभव र रात्रिकालीन मनोरञ्जनका लागि ठमेल विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ ।

नेपालका हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकका लागि आवश्यक पर्ने ज्याकेट, जुत्ता, ब्याग, ट्रेकिङ सामग्री र अन्य उपकरण ठमेलमा सहजै उपलब्ध हुन्छन्। त्यसैले नेपाल आउने धेरै पर्यटकको भ्रमण सूचीमा ठमेल पर्ने गरेको छ ।

होटल, ट्राभल एजेन्सी, ट्रेकिङ पसल, रेस्टुरेन्ट, बार, स्पा, ट्याटु स्टुडियो र अन्य सेवा व्यवसायको बाक्लो उपस्थितिले ठमेललाई पर्यटनसँग जोडिएका विभिन्न व्यवसायको केन्द्र बनाएको छ ।

ठमेल काठमाडौं महानगरपालिकाका वडा नम्बर १६, १७, २६ र २७ मा फैलिएको छ। यसको ठूलो हिस्सा वडा नम्बर २६ मा पर्छ ।

पर्यटकीय सिजनमा ठमेलमा देखिएको अहिलेको चहलपहलले नेपालको पर्यटन क्षेत्र प्राकृतिक विपत्तिका चुनौतीबीच पनि आफ्नो गतिमा फर्किन खोजिरहेको संकेत गरेको छ । यद्यपि, सडकमा देखिने पर्यटकको भीड र व्यवसायीको अनुभवलाई समग्र राष्ट्रिय पर्यटक आगमनको आधिकारिक तथ्यांकका रूपमा बुझ्न मिल्दैन ।

पर्यटकको आगमनसँगै होटल, रेस्टुरेन्ट, यातायात, ट्रेकिङ, किनमेल र अन्य सेवा व्यवसायमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। यसले पर्यटनमा प्रत्यक्ष रोजगारी पाएका मात्र होइन, साना व्यवसायी, श्रमिक र स्थानीय आपूर्तिकर्तालाई समेत लाभ पुर्याउन सक्छ ।

प्राकृतिक विपत्तिपछि पर्यटन क्षेत्रप्रति देखिएको चिन्ता कम हुँदै जाँदा ठमेलमा बढेको विदेशी पाहुनाको चहलपहलले यस वर्षको पर्यटकीय सिजनप्रति व्यवसायीमा नयाँ आशा जगाएको छ ।

Share News