काठमाडौं । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई विदेशी नागरिकलाई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ ।
विभागका अनुसार डोल्पाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई प्रवेश गरेका मेक्सिकोका चार जना नागरिक र उनीहरूलाई पदयात्रा गराउने ट्राभल्स कम्पनीमाथि कारबाही गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्रका आधारमा गरिएको छानबिनपछि माउन्ट रोज टुर्स एन्ड ट्राभल्स प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । उक्त कम्पनीले प्रचलित कानुनी व्यवस्था पालना नगरी विदेशी नागरिकलाई निषेधित क्षेत्रमा पदयात्रा गराएको पाइएको थियो ।
त्यसैगरी, अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गर्ने चारै जना मेक्सिकन नागरिकलाई जनही १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । उनीहरूबाट पदयात्रा अनुमति शुल्कबापत प्रतिव्यक्ति २० अमेरिकी डलरसमेत असुल गरिएको विभागले जनाएको छ ।
नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पदयात्रासम्बन्धी कानुनी व्यवस्था तथा अनुमति प्रणालीको पूर्ण पालना गर्नुपर्ने विभागले जनाएको छ ।
विशेषगरी निषेधित क्षेत्रमा प्रवेश गर्नुअघि अध्यागमन नियमावली, २०५१ को नियम ३२ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी अनुमति लिनुपर्ने व्यवस्था छ ।
विभागले विदेशी नागरिक, ट्रेकिङ एजेन्सी तथा सम्बन्धित सरोकारवालालाई निषेधित क्षेत्रमा पदयात्रा गराउँदा अनिवार्य रूपमा अनुमति लिन र प्रचलित कानुनको पालना गर्न आग्रह गरेको छ ।