राष्ट्र बैंकले सम्झौता पत्र नहेरी पैसा पठायो, अनुसन्धानमा तानिँदै कर्मचारी

राष्ट्र बैंक र मन्त्रालयको संलग्नतामै श्रमिकको पैसा बाहिरियो

काठमाडौं । मलेसिया रोजगारी श्रमिक ठगी प्रकरणमा राष्ट्र बैंकका कर्मचारीसमेत अनुसन्धानमा तानिने भएका छन् । राष्ट्र बैंकले १ अर्ब भन्दा बढी रकम विदेश पठाउन सहजीकरण गरेको र सम्झौता विपरीत कार्य गरेको भन्दै कर्मचारीहरूमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गर्ने भएको हो ।

हाल विदेशी मुद्रा अपचलन र श्रमिकसँग सम्झौता विपरीत पैसा बढी असुलेको आरोपमा १० जना सीआईबीको हिरासतमा छन् ।  हिरासतमा मलेसियाको रोजगारीमा श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित स्वास्थ्य व्यवसायी कैलाश खड्का तथा अन्य सरकारी कर्मचारी छन् ।

राष्ट्र बैंकले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर ९२ सेन्ट र ३७ लाख १७ हजार ९८० बेलायती पाउन्ड ८० पेन्स पठाउन अनुमति दिएको थियो । उक्त पैसा पठाउन दिने तत्कालीन कर्मचारीहरू अनुसन्धानको दायराम परेको सीआइबीले जनाएको छ ।

मलेसिया पठाउने रकम खड्का सञ्चालक रहेको माइक्रोटेक कम्पनीबाट गएको थियो । माइक्रोटेकको कम्पनीको पैसा भने सनराइज बैंकको खातामा जम्मा हुने गरेको थियो ।

माइक्रोटेकबाट मलेसियास्थित बेस्टिनेट कम्पनीमा रकम जाने गरेको थियो । नेपालबाट भने उक्त रकम डलरमा जाने गरेको थियो । बेस्टिनेट कम्पनीका सञ्चालक बंगलादेशी नागरिक अमिन थिए ।

माइक्रोटेक कम्पनीबाट जाने पैसा भने राष्ट्रबैंकले सहजीकरण गरेको थियो । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्र बैंकलाई पैसा मलेसिया पठाउन पत्राचारसमेत गरेको थियो।

'राष्ट्र बैंकले ठूला-ठूला रकम पैसा पठाउँदा दुई राष्ट्रबीच गरिएको सम्झौता हेर्नुपर्ने हुन्छ,’ सीआइबीका एक अनुसन्धान अधिकृतले भने,’ राष्ट्रले महत्त्वपूर्ण विषयमा गरेको सम्झौता हेरेर पैसा पठाउनु पर्ने हुन्छ । कम्पनीलाई पठाउने पैसा भए अझ यो कुन माध्यमबाट आएको भनेर हेर्नुपर्ने थियो । पैसा पठाउन मात्र पनि सम्झौतामा उल्लेख हुनुपर्छ ।'

राष्ट्र बैंकमा रहेका तत्कालीन कर्मचारीले दुई मुलुकबीच भएको कुनै पनि सम्झौता नहेरेर पैसा पठाइएको सीआइबीले जनाएको छ । मन्त्रालयले पैसा पठाउन दिएको पत्र हेरेर मात्र नहुने सीआइबीका ती अधिकृतको भनाइ छ।

मलेसियामा मात्र त्यत्रो रकम कसरी जाँदैछ भनेर बैंकले प्रश्न गर्नुपर्ने वा सोधखोज गर्नुपर्ने ती प्रहरी अधिकृतको भनाइ छ । श्रम सम्झौता गरेको भए पनि पैसा पठाउने गरिएको सम्झौता छुट्टै हुने भएकाले हेरेर मात्र दिनु पर्ने उनले बताए ।

'राष्ट्र बैंकले के- का आधारमा त्यत्रो रकम पठाउन अनुमति दियो ? मलेसिया पठाउँदा संलग्न भएका सबै कर्मचारी अनुसन्धानमा तानिन्छन्,’ सीआइबीका अनुसन्धान अधिकृतले विकासन्युजसँग भन्छन,’ तत्कालीन श्रम मन्त्री, सचिव तथा सहसचिवहरूसमेत अनुसन्धानमा तानिसकिएका छन् ।'

सीआइबीका प्रवक्ता अनुपम शमशेर जबराले राष्ट्र बैंकका कर्मचारीहरूको कैफियत देखिएमा अनुसन्धान हुन सक्ने बताए । अहिले सबैजना अनुसन्धानको दायरामा रहेको उनको भनाइ छ ।

'राष्ट्र बैंकले श्रम मन्त्रालयले पत्र पठाएको आधारमा पैसा पठाएको देखिन्छ,' उनले भने,' बैंकका कर्मचारीहरूको गडबडी देखिएमा अनुसन्धान त्यहाँसम्म पुग्छ ।'

मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा उठाइएको १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम विदेश पठाउन श्रम मन्त्रालयले नै राष्ट्र बैंकलाई पत्र  पठाएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानले मन्त्रालयको पत्रका आधारमा मात्र राष्ट्र बैंकले सो रकम पठाउन अनुमति दिएको थियो । 

राष्ट्र बैंकले ठूला रकम र प्रत्यक्ष रुपमा राज्य जोडिएको विषयमा सम्झौता पत्र हेरेर मात्र पैसा पठाउन अनुमति दिनु पर्ने सीआइबीले उल्लेख गरेको छ । रकम विदेश पठाउन मन्त्रालयबाट राष्ट्र बैंकलाई पत्र गएको र सोही पत्रका आधारमा विदेशी मुद्रा पठाउने अनुमति दिइएको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ ।

सीआईबीका प्रवक्ता अनुप शमशेर जबराका अनुसार मन्त्रालयबाट पत्र आएपछि राष्ट्र बैंकले रकम विदेश पठाउन अनुमति दिएको थियो । सरकारी समझदारी र कानुनी प्रक्रियाविपरीत श्रमिकबाट संकलित रकम विदेश पठाउने निर्णय प्रक्रियामा तत्कालीन मन्त्री तथा उच्च सरकारी अधिकारीहरूको संलग्नता सीआइबीको भनाइ छ ।

मन्त्रीस्तरीय निर्णयबाट एउटै कम्पनीलाई अनुमति

यो प्रकरण मलेसिया रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रियासँग जोडिएको छ । नेपाल र मलेसिया सरकारबीच भएको समझदारीअनुसार नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि सरकारले शुल्क निर्धारण गरेको थियो । कामदारले नियमित स्वास्थ्य परीक्षणका लागि ४ हजार ५०० रुपैयाँ तिर्दै आएका थिए ।

तर, यही प्रक्रियामा बायोमेडिकल सेवाको नाममा अतिरिक्त शुल्क असुल्ने व्यवस्था गरिएको सीआईबीको अनुसन्धानले देखाएको छ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रियामा म्याक्रोटेक प्रालिले भूमिका खेलेको थियो । उक्त कम्पनीमार्फत कामदारलाई थप मेडिकल स्क्रिनिङका नाममा अतिरिक्त परीक्षण गर्न बाध्य पारेर शुल्क उठाउने गरिएको अनुसन्धानबाट खुलेको हो ।

सीआईबीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट माइक्रोटेकलाई मात्र स्वास्थ्य परीक्षणसम्बन्धी सेवा सञ्चालन गर्न अनुमति दिइएको थियो । कम्पनीले आफूले तोकेका स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्ने व्यवस्था गरेपछि कामदार थप शुल्क तिर्न बाध्य भएका थिए ।

२०७५ सालको अन्त्यदेखि २०८० सालसम्म मलेसिया जाने ७ लाख ३३ हजार नेपाली कामदारबाट प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिटका दरले अतिरिक्त शुल्क असुल गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

तत्कालीन विनिमय दरअनुसार प्रतिकामदार करिब ३ हजार १६० रुपैयाँ पर्ने उक्त रकम पाँच वर्षमा कुल २ अर्ब ३१ करोड ६२ लाख ८० हजार रुपैयाँ पुगेको सीआईबीको प्रारम्भिक निष्कर्ष छ ।

सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क तिरेर पनि कामदारले थप १०० रिङ्गिट तिर्नुपर्ने बाध्यात्मक व्यवस्था सिर्जना गरिएको प्रहरीको भनाइ छ ।

त्यसैगरी, हालसम्म  सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ र तत्कालीन रोजगार व्यवस्था विभागका प्रमुख राजीव पोखरेलसमेत छन् ।

त्यसैगरी, असोज २९ गते चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४५ वर्षीय रामपुकार तिवारी थिए 

Share News