काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तन, पत्रकार पक्राउ गर्न समाचार कक्षमै प्रहरी पठाइएको घटना र प्रहरी अनुसन्धानमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपको आशंकासहितका विवादित विषय अब संसदीय समितिमा प्रवेश गर्ने भएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले यी विषयमा छलफल गर्न आगामी मंगलबारका लागि बैठक बोलाएको छ ।
समितिका सभापति हरि ढकालले मंगलबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
बैठकमा गृहमन्त्री सुधन गुरुङलाई पनि आमन्त्रण गरिएको छ ।
बैठकको कार्यसूचीमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाइएको विषयदेखि पत्रकार पक्राउ गर्न समाचार कक्षमा प्रहरी पठाइएको घटनासम्म समेटिएका छन् ।
त्यस्तै, प्रहरी अनुसन्धानका विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको प्रसंग र प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फोनको लोकेसन प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवासमा देखिएको भनिएको विषयमा पनि छलफल हुने भएको छ ।
प्रहरी संगठनको नेतृत्व परिवर्तन, प्रहरीको अनुसन्धान प्रक्रियामा कार्यकारी निकायको चासो तथा समाचार कक्षसम्म प्रहरी पुग्ने अवस्थाले प्रेस स्वतन्त्रतामाथि उठाएको प्रश्नलाई समितिले छलफलमा ल्याउन लागेको हो ।