मेनपावर कम्पनीले व्यक्तिगत श्रम स्वीकृति गराई विदेश पठाए कारबाही

काठमाडौं । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग गरी कामदार विदेश पठाउने मेनपावर कम्पनी तथा अन्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ । 

विभागले शुक्रबार (आज) एक सूचना जारी गर्दै सो चेतावनी दिएको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा (३) मा वैदेशिक रोजगारीमा कामदार पठाउन इजाजतप्राप्त संस्थाहरूले व्यक्तिगत श्रम स्वीकृति गराई कामदार पठाउन नपाउने व्यवस्था छ । 

सो व्यवस्थाबारे विभागले कम्पनीहरूलाई स्मरण गराउँदै व्यवस्थाविपरीत व्यक्तिगत श्रम स्वीकृति गराई कामदार विदेश पठाउने गरेको पाइएमा हदैसम्मको कारबाही हुने सूचनामा उल्लेख छ ।

त्यस्तै, युरोपलगायतका देशमा वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीमार्फत जाँदा सम्बन्धित कम्पनीले उक्त देशमा कामदार पठाउन पूर्वस्वीकृति लिएको छ वा छैन भन्ने यकिन गर्न पनि विभागले आग्रह गरेको छ ।

व्यक्तिगत श्रम स्वीकृति गराई कुनै म्यानपावर कम्पनी, संस्था, कन्सल्टेन्सी वा व्यक्तिले विदेश पठाइदिने भन्दै आर्थिक कारोबार गर्ने खोजेमा विभागलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

यस्ता गतिविधिबारे सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिने विभागले जनाएको छ ।

null

Share News