नेपाल–भारत सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी बाँकी समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलका क्रममा सीमा समस्यालाई संयुक्त भिजन डकुमेण्टमा समेत समावेश गरिएको हो ।

दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भार कार्यलाई अघि बढाउने विषयमा सहमति जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सीमा सम्बन्धी विद्यमान समस्या समाधानको प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशनसमेत दिइएको बताए । 

स्थापित सीमा संयन्त्रहरूमार्फत कुटनीतिक समाधान खोज्न दुवै पक्ष प्रतिवद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवस्तरीय बैठक बसेर लामो समयदेखि थाँती रहेका सीमा सम्बन्धी विषयको समाधान प्रक्रिया अघि बढाइने जनाइएको उनले बताए । 

प्रवक्ता क्षेत्रीले भने, ‘दुई प्रधानमन्त्रीज्युहरुले नेपाल र भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमास्तम्भहरुको मर्मतसम्भार कार्यको उल्लेख गर्नुभएको छ । विद्यमान सीमा सम्बन्धी जुन विषय छ, अघि बढाउन परराष्ट्रसचिव र विदेशसचिवज्यूहरूलाई निर्देशन दिइसक्नुभएको छ ।’

‘दुई देशबीच स्थापित सीमा सम्बन्धी संयन्त्रहरुमार्फत कुटनीतिक हल निकाल्न दुवै पक्षको प्रतिवद्धता जाहेर भएको छ । दुवै पक्षलाई अनुकूल हुने समयमा परराष्ट्रसचिव र भारतीय विदेश सचिवस्तरीय बैठक बसी सीमा सम्बन्धी थाँती रहेका विषयहरुको कुटनीतिक समाधानको प्रक्रिया अघि बढ्नेछ,’ उनले थपे ।

ईपीजी प्रतिवेदन प्रधानमन्त्रीहरूसमक्ष पेश हुने विश्वास

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेश हुने विश्वास सरकारले व्यक्त गरेको छ । 

ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण आफूसँग रहेको प्रतिवेदनको साँचो २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गर्नुभएको प्रवक्ता क्षेत्रीले बताए । 

दुवै पक्षको सहमतिअनुसार ईपीजी प्रतिवेदन शुरुमा भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसमक्ष पेश गर्ने कार्यतालिका रहेको सरकारले जनाएको छ । दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न समय प्राप्त हुने विश्वाससमेत व्यक्त गरिएको बताए । 

ईपीजी गठन हुनुका मूलभूत उद्देश्यअनुरूप प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने सरकारको धारणा छ । 

प्रधानमन्त्री साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन संयुक्त भिजन डकुमेन्टमार्फत दिशा निर्देश गरेको पनि सरकारले जनाएको छ ।

नेपाल र भारतबीच जारी संयुक्त भिजन डकुमेण्टमा दुई देशको सम्बन्धका विभिन्न आयाम समेटिएको प्रवक्ता क्षेत्रीले बताए । त्यसमा उल्लेखित विषयलाई कार्यान्वयनमा लैजान परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखाले सम्बन्धित निकायसँग पत्राचार र समन्वय गरिसकेको उनले जानकारी दिए । 

उनले भने, ‘दुई देश नेपाल र भारतबीच ज्वाइन्ट भिजन डकुमेण्ट दुवै पक्षले जारी गरेका छन् । त्यसले नेपाल र भारत सम्बन्धका विभिन्न पाटाहरुलाई समेटेको छ । ति पाटाहरुलाई कार्यान्वयनको चरणमा लैजान हाम्रो साउथ एशिया महाशाखाबाट सम्बन्धित निकायहरुमा पत्राचार र समन्वय भइसकेको छ ।’

प्रधानमन्त्री बालेन्द्र साहले मंसिरको ६ र ७ गते भारतको भ्रमण गरेका थिए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगको छलफलपछि दुवै देशले संयुक्त पत्रकार सम्मेलन गर्दै संयुक्त ज्वाइन्ट भिजन डकुमेण्ट सार्वजनिक गरेका थिए ।

Share News