काठमाडौं । राष्ट्र बैंकको जागिर, किराना पसल, अटोमोबाइल व्यवसाय, घरजग्गाको कारोबार र पोखरा उद्योग वाणिज्य संघको नेतृत्व उनको जीवनयात्राले भोगेका पेशा हुन् । विन्दुकुमार थापा कुनै एक पेशा वा एकै क्षेत्रको परिचयमा मात्र सीमित रहेनन् ।
उनले जागिरे जीवनको सुरक्षित बाटो छाडे र व्यवसायमा अनेकौं उतारचढाव पनि भोगे । उनी निजी क्षेत्र नेतृत्व गर्दै राजनीतिमा प्रवेश गरे । उनको राजनीतिक पहिचान बन्नुअघि नै पोखराको व्यावसायिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनिसकेको थियो ।
व्यवसायमा सफलता पाउनु र त्यसलाई राजनीतिक पुँजीमा बदल्नु एउटै कुरा होइन । तर नेपाली कांग्रेसका नेता थापाले व्यावसायिक क्षेत्रबाट आर्जन गरेको अनुभव, सम्बन्ध र सामाजिक सक्रियतालाई राजनीतिक यात्रासँग जोडे ।
२०७४ सालमा पहिलोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका उनी त्यसपछि दुई फरक कार्यकालमा गण्डकी प्रदेश सरकारको मन्त्री बने । दुईपटक प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभामा पुगेका उनले कानुन निर्माणदेखि सामाजिक विकास, स्वास्थ्य, युवा तथा खेलकुद क्षेत्रको नेतृत्व गर्ने अवसर पाए ।
राजनीतिक पद र प्रतिष्ठासँगै व्यक्तिगत लाभ जोडिने आम बुझाइबीच थापाले भने आफूले राज्यबाट पाउने पारिश्रमिक तथा सेवा सुविधा सामाजिक काममा खर्च गर्ने अभ्यास अघि सारे । अहिलेसम्म ९० लाख रुपैयाँभन्दा बढी रकम शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकुद र विपन्न नागरिकको सहयोगमा खर्च गरेको उनी दावी गर्छन् ।
चन्द्रबहादुर थापा र चन्द्रकला थापाका जेठा छोराका रूपमा पोखरामा जन्मिएका बिन्दुको बाल्यकाल नयाँबजार क्षेत्रमा बित्यो ।
सैनिक परिवारमा जन्मिएर वकिल बने
सैनिक परिवारमा जन्मिए पनि थापाको जीवनको बाटो सैनिक सेवातर्फ गएन । उनले महेन्द्र माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरे भने वाराही माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरे ।
उनीसँग पृथ्वीनारायण क्याम्पसमा कानुन विषय अध्ययन गरी स्नातक तह पूरा गरे र अधिवक्तासमेत बनेको अनुभव छ । अध्ययन पूरा गरेपछि उनले रोजगारीको खोजी गर्दै बैंकिङ क्षेत्रमा प्रवेश गरे ।
२०५३ मा नेपाल राष्ट्र बैंकको जागिर सुरु गरेका थापाले वित्तीय कारोबार, आर्थिक गतिविधि र व्यावसायिक क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाए । तर जागिरबाट प्राप्त आम्दानीले परिवारको आवश्यकता र भविष्यका योजनालाई सहज रूपमा पूरा गर्न कठिन हुने उनको अनुभव थियो ।
‘जागिरले आफ्नो मात्र आवश्यकता पुरा हुन्थ्यो,’ उनी भन्छन्, ‘समाज र राष्ट्रका लागि केही गरौं भन्ने थियो । त्यसैले फरक पेशा अपनाएकाले जीवनको फरक मोडमा छु ।’
छोराछोरीलाई राम्रो शिक्षा दिने र परिवारको आर्थिक अवस्था सुधार गर्ने चाहनाले उनलाई जागिरभन्दा बाहिरको बाटो रोज्न प्रेरित गर्यो । २०६० मा राष्ट्र बैंकको जागिरबाट अवकाश लिएपछि उनले निजी व्यवसाय सुरु गरे ।
नियमित आम्दानी हुने जागिर छाडेर अनिश्चित व्यवसायमा हात हाल्नु उनका लागि सहज निर्णय थिएन । उनको व्यावसायिक यात्रा सानो किराना पसलबाट सुरु भयो। तर उधारो कारोबार बढ्दै जाँदा अपेक्षाअनुसार आम्दानी गर्न नसकेको तीतो अनुभव उनीसँग छ ।
थापाले लगानीसमेत जोखिममा पारे । उनले व्यवसायको क्षेत्र परिवर्तन गर्दै मोटरसाइकल तथा अटोमोबाइमा हात हाले । मोटरसाइकल र गाडीको किनबेचसँगै उनले अटोमोबाइल व्यवसायलाई विस्तार गर्दै लगे ।
पोखरामा अटोमोबाइल व्यवसायको विस्तार र संस्थागत विकासमा थापाको योगदान महत्त्वपूर्ण मानिन्छ । यस क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले व्यवसायीलाई संगठित गर्न समेत सक्रियता देखाए ।
अटोमोबाइल व्यवसायमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि उनले साथीहरूसँगको सहकार्यमा घरजग्गा कारोबार सुरु गरे । घरजग्गा व्यवसायबाट आर्थिक अवस्था सुधार हुँदै गएपछि पुरानो ऋण तिर्न समेत सहज भएको उनले बताए ।
उनको व्यावसायिक यात्रा रियलस्टेट, आवास, व्यापारिक मल, वित्तीय संस्था, होटल तथा आतिथ्य क्षेत्रसम्म फैलियो । व्यवसाय विस्तारसँगै उनले रोजगारी सिर्जना र सामाजिक क्षेत्रमा पनि आफ्नो संलग्नता बढाउँदै लगे ।
व्यवसायबाट आर्जित आम्दानीको केही हिस्सा सामाजिक काममा खर्च गर्ने गरेको उनी बताउँछन् । यही क्रममा उनी पोखरा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा समेत पुगे ।
पोखरा उद्योग वाणिज्य सङ्घमा सदस्य हुँदै सचिव, उपाध्यक्ष र अन्ततः २०७१ देखि २०७३ सम्म थापाले अध्यक्षको जिम्मेवारी सम्हाले । निजी क्षेत्रका समस्या, उद्योगी व्यवसायीका आवश्यकता र व्यावसायिक वातावरण सुधारका विषयमा उनले संस्थागत रूपमा काम गर्ने अवसर पाए ।
पोखरालाई युरोपसँग जोड्ने भूमिकामा
सङ्घका तत्कालीन कर्पोरेट सदस्य अर्जुन पोख्रेल थापाको नेतृत्वलाई प्रेरणादायी र उपलब्धिमूलक मान्छन् । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवासँग थापाकै नेतृत्वमा छलफल भएको थियो ।
पोख्रेलका अनुसार युरोपसँग भगिनी सम्बन्ध स्थापित गर्न पनि थापाले प्रभावकारी पहल गरेका थिए । एनआरएन अध्यक्ष जीवा लामिछानेको कार्यकालमा थापाले युरोपलाई पोखरासँग जोड्न विशेष पहल गरेको पोख्रेलको भनाइ छ ।
व्यावसायिक सङ्घसंस्थामा उनको संलग्नता पोखरा उद्योग वाणिज्य सङ्घमा मात्र सीमित रहेन । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) को उपाध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको सल्लाहकार तथा नेपाल–रसिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको गण्डकी च्याप्टरमा समेत उनले जिम्मेवारी सम्हाले ।
२०७३ मा फेवा विकास बैंकको अध्यक्ष बने । गण्डकी विकास बैंकको अध्यक्षसमेत भए । वित्तीय तथा व्यावसायिक संस्थाको नेतृत्वमा प्राप्त अनुभवले उनलाई संगठन सञ्चालन, व्यवस्थापन र नेतृत्व क्षमतामा थप परिपक्व बनायो । यही अनुभव उनको राजनीतिक प्रवेशको एउटा आधार बन्यो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा स्थानीयस्तरमा समन्वय, निजी क्षेत्रको प्रतिनिधित्व र जग्गा अधिग्रहणमा सहजीकरण गर्ने काममा पनि उनी सक्रिय रहे ।
विमानस्थल निर्माणको पक्षमा पैरवी गर्दै आएका थापाले व्यवसायीका माग र स्थानीय आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्याउने भूमिका निर्वाह गरे ।
व्यवसायबाट राजनीतितर्फको यात्रा
थापाको पारिवारिक पृष्ठभूमि नेपाली कांग्रेससँग जोडिएको थियो । उनका बुबा तथा अग्रजहरू कांग्रेसप्रति निकट रहेकाले पनि उनी पार्टीसँग सम्बन्धित कर्मचारी संगठनमार्फत राजनीतिक गतिविधिमा जोडिएका थिए ।
व्यावसायिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेपछि भने उनी सक्रिय राजनीतिमा प्रवेश गरे । उनको राजनीतिक यात्राको महत्त्वपूर्ण मोड २०७४ को प्रदेशसभा निर्वाचन बन्यो ।
नेपाली कांग्रेसले उनलाई कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट उम्मेदवार बनायो । त्यतिबेला वाम गठबन्धनको बलियो प्रतिस्पर्धाका बीच उनले तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकाजी गुरुङलाई पराजित गरे ।
कास्कीमा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुने उनी एक्ला उम्मेदवार थिए । व्यवसायीका रूपमा स्थापित थापाका लागि यो जित राजनीतिक जीवनको नयाँ सुरुवात थियो। त्यसपछि उनी प्रदेशसभाको कानुन निर्माण र संसदीय गतिविधिमा सक्रिय हुन थाले ।
कानुन निर्माणदेखि मन्त्रीको जिम्मेवारीसम्म
गण्डकी प्रदेशमा नयाँ प्रदेश संरचनालाई संस्थागत गर्न आवश्यक कानुन निर्माण गर्नु पहिलो कार्यकालको महत्त्वपूर्ण जिम्मेवारी थियो । २०७८ मा उनी गण्डकी प्रदेश सरकारको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बने । प्रदेशका लागि आवश्यक कानुन निर्माण, सञ्चार क्षेत्रको व्यवस्थापन र प्रदेशसभा सञ्चालनसँग सम्बन्धित विषयमा उनले जिम्मेवारी सम्हाले ।
२०७९ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले उनलाई पुनः कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट उम्मेदवार बनायो । नेकपा एमालेकी उम्मेदवार मीना गुरुङलाई पराजित गर्दै दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भए । यससँगै उनको राजनीतिक यात्रा थप बलियो बन्यो ।
दोस्रो कार्यकालमा उनी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पुगे ।
मन्त्रालयको संरचना र जिम्मेवारी परिवर्तनसँगै उनले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वसमेत गरे ।
शिक्षा, स्वास्थ्य, सामाजिक विकास, युवा तथा खेलकुदसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नु उनको मुख्य जिम्मेवारी थियो । खेलकुद पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि, युवा लक्षित कार्यक्रम, स्वास्थ्य सेवा र सामाजिक सुरक्षासँग सम्बन्धित विषय उनको मन्त्रालयको कार्यक्षेत्रमा पर्दथे ।
प्रदेशमा सामाजिक विकासका विभिन्न नीति तथा कार्यक्रम अघि बढाइएको मन्त्रालयका प्रवक्ता विदुरहरि आचार्य बताउँछन् । आचार्यका अनुसार थापाको कार्यकालमा गण्डकी प्रदेशको पहिलो दिवा शिशु स्याहार केन्द्र सञ्चालनमा आएको थियो ।
पोखरा–८ सिमलचौरस्थित श्रीराम आधारभूत विद्यालयमा स्थापना गरिएको उक्त केन्द्रले कर्मचारीका शिशुलाई सुरक्षित र सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्य राखेको थियो । त्यसैगरी, गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक,अपाङ्गतासम्बन्धी विधेयक र दलित अधिकारसम्बन्धी विधेयक पारित गर्ने प्रक्रियामा पनि उनको कार्यकाल जोडिएको थियो ।
सामाजिक विकासका क्षेत्रमा नीति निर्माण र कार्यक्रम कार्यान्वयनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रवक्ता आचार्यको भनाइ छ ।
आचार्यका अनुसार थापाको कार्यकालमा निजामती कर्मचारीका लागि दिवा शिशु स्याहार केन्द्र स्थापना, हिंसापीडित महिलाका लागि पुनःस्थापना केन्द्र निर्माण तथा बालबालिका र ज्येष्ठ नागरिक लक्षित नीति निर्माणका काम अघि बढेका थिए ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा सामाजिक विकासका कार्यक्रम विस्तार गर्न उनको योगदान रहेको आचार्य बताउँछन् ।
सेवासुविधा सामाजिक काममा खर्च
थापाको राजनीतिक जीवनमा चर्चामा आउने विषयमध्ये एउटा आफूले राज्यबाट प्राप्त गर्ने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने अभ्यास हो । २०७८ देखि तलब, भत्ता र अन्य सेवा सुविधा व्यक्तिगत प्रयोजनमा नभई सामाजिक काममा खर्च गर्ने घोषणा गरेको उनले बताए ।
उनका अनुसार हालसम्म ९० लाख रुपैयाँभन्दा बढी रकम सामाजिक क्षेत्रमा खर्च भइसकेको छ । उक्त रकम क्यान्सर तथा मुटुरोगीको उपचार, विपन्न परिवारलाई सहयोग, खानेपानी आयोजना, सडक निर्माण तथा मर्मत र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न खर्च गरिएको छ ।
त्यसैगरी, खेलकुद प्रतियोगिता, महिला समूह, युवा क्लब, सामाजिक भवन निर्माण तथा विपद्मा परेका परिवारलाई राहत प्रदान गर्न पनि सहयोग गरिएको सरोकारवालाहरू बताउँछन् ।
प्रदेश सरकारबाट प्राप्त निवास सुविधा प्रयोग नगरी आफ्नै निवासमा बस्दै आएका थापाले राजनीतिलाई समाजसेवाको माध्यमका रूपमा व्याख्या गर्दै आएका छन् । व्यवसायबाट आर्थिक रूपमा स्थापित भएपछि राजनीतिमा प्रवेश गर्दा आफूलाई केही सहज भएको उनको भनाइ छ ।
राजनीतिक पदबाट प्राप्त पारिश्रमिक र सुविधा सामाजिक क्षेत्रमा लगाउन पाएकोमा उनी सन्तुष्ट देखिन्छन् ।
‘राजनीतिक पदबाट प्राप्त हुने पारिश्रमिक र सुविधा व्यक्तिगत आवश्यकताका लागि खर्च गर्नुपर्ने बाध्यता छैन,’ उनी भन्छन्, ‘ सामाजिक क्षेत्रमा लगाउने गरेको छु । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलकुद र विपन्न नागरिकलाई सहयोग गरेको छु ।’
व्यवसाय, समाजसेवा र राजनीति उनका जीवनका तीन महत्त्वपूर्ण आधार बनेका छन् । व्यवसायबाट आर्थिक रूपमा स्थापित भएर राजनीतिमा आएका थापाले नागरिकका समस्या नजिकबाट बुझ्ने र समाधान खोज्ने अवसर पाएको बताउँछन् ।