केयी नेपालले नयाँ वर्ष लक्षित एक्सचेन्ज अभियान सुरु गर्ने
काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा केयी (Kaiyi) गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा.लि. र जी.ओ. अटोमोबाइल्स प्रा.लि.ले देशभर तीन दिने ‘केयी एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेका छन् । ग्राहकहरूलाई सहज, आकर्षक तथा प्रतिस्पर्धी मूल्यांकनमार्फत आफ्ना सवारी साधन स्तरोन्नति (अपग्रेड) गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त एक्सचेन्ज क्याम्प अप्रिल १० देखि १२, २०२६ (२०८२ चैत २७–२९) सम्म देशभर रहेका आधिकारिक केयी प्रदर्शनी कक्ष (शोरूम)हरूमा सञ्चालन हुनेछ । कार्यक्रममार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर नयाँ केयी मोडलका गाडी विशेष नयाँ वर्ष अफरसहित खरिद गर्न सक्नेछन् । काठमाडौंमा कार्यक्रम थापाथलीस्थित केयी प्रदर्शनी कक्ष नजिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी आगन्तुकहरूले प्रत्यक्ष खाना स्टल (लाइभ फूड स्टल) तथा मनोरञ्जनात्मक गतिविधिसहित उत्सवमय वातावरणको अनुभव लिन सक्नेछन् । नेपालमा किफायती तथा मूल्यअनुसार लाभदायी (भ्यालु–फर–मनी) सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्दै आधुनिक आवागमन (मोडर्न मोबिलिटी) मा पहुँच सहज बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ वर्ष विशेष नगद लाभ, आकर्षक एक्सचेन्ज बोनस, व्यावसायिक सवारी मूल्यांकन, वित्तीय सुविधा (फाइनान्सिङ), सवारी बीमा सेवा तथा ७ किलोवाट वा ३ किलोवाट क्षमताका चार्जर विकल्प प्राप्त गर्नेछन् । साथै प्रत्येक बुकिङमा जोडीका लागि धुलिखेलस्थित दुसित थानी होटलमा एक रातको निःशुल्क बसाइ प्याकेज प्रदान गरिनेछ । कार्यक्रममा ग्राहकहरूले केयीका इलेक्ट्रिक तथा सहरी कम्प्याक्ट मोडलहरू, केयी ई–क्यूट ०२, केयी ई–क्यूट ०४ र केयी एक्स–३ प्रो ईभीबारे जानकारी लिन र अवलोकन गर्न सक्नेछन् । थप जानकारीका लागि ग्राहकहरूले ९८०१२०२००० वा ९८०१२०११०३ नम्बरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालको पर्यटनमा मध्यपूर्व संकटले पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल
काठमाडौं । नेपाल पर्यटन बोर्डले मध्यपूर्वमा चर्किएको संकटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल गरिएको छ । बोर्डले बिहीबार आयोजना गरेको ‘मध्यपूर्व संकट र यसको नेपाली पर्यटनमा प्रभाव’ विषयक अन्तरक्रियामा सरोकारवालाहरूले संकटलाई चुनौतीमात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने धारणा राखेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मध्यपूर्व क्षेत्र नेपालको प्रमुख पर्यटन स्रोत बजारमध्ये एक भएको र युरोप र अमेरिकी पर्यटक आगमनको गेटवे भएकाले यस संकटले हवाई सम्पर्क र पर्यटक आगमनमा असर पुर्याउने बताए । ‘सरकारले नेपाललाई सुरक्षित र सहज आवागमनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘यसका लागि विशेष टास्क फोर्स गठन गरिएको छ, जसले अबको मार्गचित्र तय गर्नेछ ।’ उनले संकटले चुनौतीसँगै अवसर पनि ल्याउने उल्लेख गर्दै पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका लागि सरकार दृढ रहेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वर्तमान पर्यटक आगमनको स्थिति, तथा समग्र प्रभावबारे प्रस्तुति दिएका थिए । बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा ‘कमल’ ले समयमै सूचना प्रवाह र वैकल्पिक हवाई मार्गको खोजी अत्यावश्यक रहेको बताए । ‘हामीले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिनुपर्छ,’ उनले भने, ‘इन्धन मूल्यवृद्धिका कारण भाडा बढेको छ, त्यसलाई सम्बोधन गर्न हवाई भाडामा सरकारले सहुलियत दिन आवश्यक छ ।’ त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले विश्व अहिले जटिल अन्तरनिर्भर अवस्थामा रहेको भन्दै यो अस्थिरताले नेपालको पर्यटनमा पर्नसक्ने क्षति न्यूनी करणको लागि सरकारले तयारी गरिरहेको बताए । ‘सरकारले अन्तरमन्त्रालयस्तरीय समिति गठन गरेर समाधान खोजिरहेको छ,’ उनले भने, ‘हामीले आफ्ना कूटनीतिक नियोगहरूसँग समन्वय गर्दै वैकल्पिक रुटबारे छलफल गरिरहेका छौं ।’ उनले पर्यटनलाई आर्थिक कूटनीतिको आधार मान्दै भारत र चीनलाई लक्षित गरी काम गर्नुपर्ने र नयाँ सोचसहित अवसर उपयोग गर्नुपर्ने धारणा राखे । नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्टले वैकल्पिक हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए । ‘काठमाडौं–अस्ट्रेलिया जस्ता नयाँ रुट सञ्चालनले संकट न्यूनीकरणमा सहयोग पुर्याउँछ,’ उनले भने, ‘काठमाडौं–नारिता उडान पूर्ण क्षमतामा सञ्चालन भइरहेकाले नेपालले थप प्रयास गर्नुपर्छ ।’ बोर्ड सदस्यसमेत रहेका नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले वैकल्पिक रुटमा जोड दिँदै ‘काठमाडौं–हङकङको रुटमार्फत् उडान सञ्चालनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन् । उनले सबै सरोकारवालाबीच समन्वय र लचिलोपन आवश्यक रहेको उल्लेख गर्दै भने, ‘एभिएसन बलियो बनाउँदै वैकल्पिक रुटमा उडान गर्ने सुनिश्चितता गर्नुपर्छ । यसका साथै युरोप र अमेरिकाबाट भारतसम्म आएका पर्यटकहरुलाई नेपाल ल्याउनका लागि हामीले थप योजनाहरू बनाउनुपर्छ ।’ त्यसैगरी, सदस्य ऋषि भण्डारीले भारत र चीनबाट पर्यटक भित्र्याउन विशेष पहल गर्नुपर्ने बताए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले मध्यपूर्व हुँदै हुने यात्रामा अनिश्चितता बढेको भन्दै वैकल्पिक मार्ग र इन्धन सहुलियत आवश्यक रहेको बताए । ‘नेपाल एयरलाइन्सले सक्रिय भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र र सरकारबीच सहकार्य अझ सुदृढ हुनुपर्छ ।’ होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले युरोपबाट नेपाल आउन चाहने पर्यटकले आफ्ना बुकिङहरु रद्द गरिरहेको उल्लेख गर्दै विकल्पमा काम गर्नुपर्ने बताए । ‘भारत र चीनलाई लक्षित गरेर प्याकेज तयार गर्नुपर्छ,’ उनले भने, ‘भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनावश्यक सोधपुछले निरुत्साहित गरिरहेको छ । यस्ता विषयमा सरकारले सहजीकरण गरिदिनुपर्छ ।’ उनले आन्तरिक पर्यटन प्रवर्द्धन र सांस्कृतिक उत्सवमार्फत छिमेकी बजार आकर्षित गर्नुपर्ने सुझाव दिए । नाटाका अध्यक्ष विश्वेश्वर श्रेष्ठले करिब ४७ प्रतिशतसम्म बुकिङ रद्द भएको जानकारी दिँदै यसको दीर्घकालीन असर पर्ने उल्लेख गरेका छन् । ‘अहिले रहेका र आउने पर्यटकलाई उत्कृष्ट आतिथ्यमा दिनुपर्छ,’ उनले भने, ‘विदेशी मुद्रा आम्दानीका लागि चीनमा विशेष प्रवर्द्धन आवश्यक छ ।’ उनले पर्यटक बोक्ने उडानलाई सहुलियत दिनुपर्ने पनि बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयरपोर्ट अपरेसन विभागका निर्देशक सन्तुष्टकुमार बस्नेतले संकट व्यवस्थापनका लागि एओसीसी गठन गरिएको जानकारी गराए । ‘हामीसँग ११ पार्किङ, ५ वाइडबडी क्षमता र दैनिक १९ ल्यान्डिङको सीमितता छ,’ उनले भने, ‘३० वटा एयरलाइन्स सञ्चालनमा छन्, तर पार्किङ र ल्यान्डिङ क्षमता अभाव चुनौती बनेको छ । जसले लामो समय ट्राफिक होल्ड हुने समस्या देखिएको छ । पर्यटक आवागमनको सहजताका लागि हामीहरू आवश्यक काम गर्न तयार छौं ।’ विभिन्न एयरलाइन्सका प्रतिनिधिहरूले सन् २०२५ मा राम्रो पर्यटक आगमन रहेको र २०२६ को सुरुवात पनि सन्तुलित रहेको उल्लेख गर्दै संकटबाट बच्न नसकिने भए पनि सक्रिय रणनीतिले असर न्यूनीकरण गर्न सकिने बताए । ‘युरोपबाट पहुँच कठिन भए अन्य गन्तव्य लक्षित गर्नुपर्छ,’ उनीहरूले भने, ‘नेपाल सुरक्षित, शान्त र दिगो गन्तव्य हो भन्ने सन्देश विश्वमा पुर्याउनुपर्छ ।’ यसका साथै भिसा प्रक्रिया सहज बनाउँदै नयाँ अवसर खोज्नुपर्ने उनीहरूको धारणा थियो । एयर इन्डियाका प्रतिनिधिले इन्धन मूल्यवृद्धिका बाबजुद कुनै उडान रद्द नभएको उल्लेख गर्दै लचिलो बुकिङ प्रणाली लागू गरिएको बताए । ‘यो गुनासो गर्ने समय होइन,’ उनले भने, ‘हामी यात्रु ल्याउन लचिलो बनेका छौं । पर्यटन व्यवसायीहरूले पनि सहुलियत प्याकेजहरू घोषणा गर्दै पर्यटक भित्र्याउने रणनीति अपनाउनु पर्छ ।’ यस्तै, टुरगानका अध्यक्ष थानेश्वर देवकोटाले गाइड नै पर्यटक सन्तुष्टिको मुख्य आधार भएकाले सहकार्य आवश्यक रहेको बताए । निजी क्षेत्रका अन्य प्रतिनिधिहरूले विदेशीलाई डलरमा लिइने हवाई शुल्क घटाउनुपर्ने र नयाँ अवसरमा काम गर्नुपर्ने सुझाव दिएका थिए । ‘भुटानले जस्तो अवसर सदुपयोग गर्न सकेको छैनौं, अब केही अतिरिक्त कदम चाल्नुपर्छ,’ उनीहरूले भने ।
भेपमार्फत सुन तस्करी प्रकरण : पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट भेपमार्फत सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल तथा चार विदेशी नागरिकसमेतलाई विशेष अदालतमा अभियोगपत्रसहित पेश गरेको हो । मुद्दामा अख्तियारले कुल ७ करोड ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको जनाएको छ । अनुसन्धानका क्रममा महरा समूहको चिनियाँ नागरिकहरूसँगको सम्बन्ध र भेपमार्फत हुने सुन तस्करीमा संलग्नता खुलेपछि मुद्दा दायर गर्ने निर्णय गरिएको अख्तियारको दाबी छ । मुद्दा दर्तासँगै अब विशेष अदालतमा थुनछेक बहसपछि नियमित सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।
न रहे मन्त्री, न भयो श्रीमतिको नियुक्ति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । बिहीबार प्रधानमन्त्री शाहले उनलाई पदबाट हटाएका हुन् । यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो । मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए । सोही सिफारिस र आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गर्दै पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो । यससँगै श्रममन्त्री साह मन्त्री बनेको १३ दिनमै पदमुक्त भएका छन् । चैत १३ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । उनी महोत्तरी–२ बाट निर्वाचित सांसद हुन् । उनले लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन् । साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् । बोर्डमा उनको श्रीमतीको विवादित नियुक्ति पनि अहिले रोकिएको छ । उनले श्रीमतीलाई नियुक्ति दिनाले आफ्नो मन्त्री पद पनि गुमेको छ भने श्रीमतीको नियुक्ति पनि विवादित बनेको छ ।
प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई हटाए
काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो। मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गर्नुभएको थियो। सोही सिफारिस र आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको जानकारी प्रेस विज्ञ दीपा दाहालले दिइन् । रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ। साथै, पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो। यसैगरी, यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराएका छन् । प्रधानमन्त्री बालेनलाई रविको पत्र : श्रममन्त्रीलाई हटाउनु, स्वास्थ्यमन्त्रीलाई सचेत गराउनु
प्रधानमन्त्री बालेनलाई रविको पत्र : श्रममन्त्रीलाई हटाउनु, स्वास्थ्यमन्त्रीलाई सचेत गराउनु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई मन्त्रीबाट हटाउन सिफारिस गरेका छन् । साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समय देखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको बेहोरा उल्लेख गर्दै लामिछानेले बालेनलाई हटाउन सिफारिस गरेका हुन् । उनले पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारवाहीको लागि मिति २०८२ चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँदै यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको उल्लेख पत्रमा गरेका छन् । पत्रमा भनिएको छ, ‘पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले निज मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु,’ पत्रमा भनिएको छ ।
मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
काठमाडौं । ट्राफिक प्रहरीले चोरी भएको मोटरसाइकल ग्यारेजको अगाडि पार्ट पुर्जा खोली लुकाइ राखेको अवस्थामा फेला परेको छ । बाप्र०२–०३४प ९८३१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकल हराएको भनी पीडितले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकोमा खोजी गर्दै जाँदा उक्त मोटरसाइकल पार्ट पुर्जा खोलेको अवस्थमा फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाइ जानकारी दिए । उनले भने, 'काठमाडौंको तारकेश्वर नगरपालिका–४ रातोपुलमा रहेको मोटरसाइकल ग्यारेज अगाडि पार्ट पुर्जा खोली सकेको अवस्थामा फेला परेको र खोलिएका पार्टपुर्जाहरु लुकाइछिपाइ राखिएको अबस्थामा फेला परेको हो ।' यसैगरी मिलेमतोको आशकामा ग्यारेज सञ्चालक समेतलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रवक्ता सुवेदीले बताए ।
पूर्वसभामुख महराविरुद्ध सुन तस्करी प्रकरणमा अख्तियारको मुद्दा दर्ता हुँदै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सुन तस्करीसम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गर्ने भएको छ । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार अख्तियारका कर्मचारीहरूले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रियामा छन् । लामिछाने सर्वोच्च अदालतको बैठकमा रहेका कारण मुद्दा दर्ता प्रक्रिया केही ढिला भएको हो । विकासन्युजसँग कुरा गर्दै उनले भने,‘ म भर्खर कार्यालय आएर मुद्दा हेर्दैछु, केहीबेरमा मुद्दा दर्ता हुन्छ ।’ अख्तियार स्रोतका अनुसार महरा र उनका छोरा राहुलमाथि भेपमार्फत सुन तस्करीमा संलग्न रहेको आरोप छ । अनुसन्धानका क्रममा उनीहरूको चिनियाँ गिरोहसँग सम्बन्ध र आर्थिक कारोबार खुलेपछि मुद्दा दायर गरिएको हो। मुद्दा दर्तासँगै अब विशेष अदालतमा थुनछेक बहसपछि नियमित सुनुवाइ प्रक्रिया अघि बढ्ने लामिछानेले जानकारी दिए ।