विकासन्युज

११ करोडको लागतमा दूधमति नदीको उत्खनन, २९ किलोमिटर क्षेत्रमा कार्य हुने

जनकपुरधाम । एघार करोड रुपैयाँको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति नदीको उत्खनन तथा विकास निर्माणककार्य सुरु भएको छ ।       मधेस प्रदेश सरकारको ऊर्जा तथा सिँचाइ तथा खानेपानी मन्त्रालयको सहयोगमा सो नदीको उत्खनन तथा विकास निर्माण कार्य सुरु भएको हो ।   मन्त्रालयका निमित्त सचिव रामकुमार खंगले सो नदीको पहिलो चरणमा धनुषाको महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म २९ किलोमिटर नदी बहाव क्षेत्रमा कार्य हुने जानकारी दिए । सो मन्त्रालयको दूधमति नदीको विकास कार्यक्रमअन्तर्गत उक्त नदीको सौन्दर्यकरण,  घाट निर्माण र  मर्मतसम्भार, बाँध निर्माण, सडक निर्माण तथा सिँचाइका सुविधा पुर्याउनेलगायतको कार्य हुने बताइएको छ ।  उक्त नदी उत्खनन तथा विकासको ठेक्का वछालदेवी जेभी काठमाडौंले एक वर्षभित्र कार्य सम्पन्न गर्नेगरी ठेक्का पाएको मन्त्रालयले जनाएको छ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको कार्यकालमा सो उत्खननका साथै अतिक्रमण हटाउने विषयमा बजेट विनियोजन भएको थियो ।  साथै तत्कालीन प्रदेशका पूर्वऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको विशेष पहल तथा सक्रियतामा बजेट विनियोजन भएको थियो । विभिन्न धार्मिकग्रन्थमा समेत पवित्र नदीको रुपमा वर्णन गरिएको यस नदीमा स्नान तथा पूजाआजाको लामो परम्परा रहिआएको छ ।     

४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ७ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १३३ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ६० करोड, राधी विद्युत कम्पनीको २६ करोड, श्रीनगर एग्रीटेकको २५ करोड र बन्दिपुर केबलकारको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिन्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखु खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।  बुधबारको कारोबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.९३ प्रतिशत बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।  

नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७, सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी

काठमाडौं । प्रोटोन नेपालअन्तर्गतको फुल-साइज इलेक्ट्रिक एसयूभी इमास ७ नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर एक इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत नेपालमा उपलब्ध छ । इमास ७ को प्रमुख विशेषता यसको एइजिस सर्ट ब्लेड ब्याट्री हो, जुन हाल उपलब्ध अत्याधुनिक ब्लेड-टाइप लिथियम आयरन फस्फेट ब्याट्री प्रविधिमध्ये एक हो । यसले उच्च ऊर्जा घनत्व प्रदान गर्दै लामो ड्राइभिङ रेन्ज सुनिश्चित गर्दछ भने लामो साइकिल लाइफले दीर्घकालीन टिकाउपन र प्रदर्शनमा स्थिरता दिन्छ । कम्पनीका अनुसार यो ब्याट्री उच्च चार्जिङ दक्षतासहित तयार गरिएको छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको चार्ज केवल २० मिनेटमै पूरा गर्न सक्ने क्षमता राख्छ, जसले चार्जिङ समय उल्लेखनीय रूपमा घटाउँछ । सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना राखिएको छ, जसले चालक तथा यात्रु दुवैलाई थप सुरक्षित बनाउँछ । ब्याट्रीको लेआउटले इन्टेरियर क्याबिन स्पेस अधिकतम बनाएको छ, प्रदर्शनमा कुनै सम्झौता नगरी छिटो चार्जिङ क्षमतासहित न्यू युरोपियन ड्राइभिङ साइकल (NEDC) प्रमाणित ४९२–५८५ किलोमिटर सम्मको प्रभावशाली ड्राइभिङ रेन्ज प्रदान गर्दछ । यसले इमास ७ लाई दैनिक शहरी यात्रा देखि लामो दूरीका यात्रासम्मका लागि उपयुक्त बनाउँछ । प्रोटोन नेपालले इमास ७ को सुरुवातसँगै आधुनिक, सुरक्षित र दिगो इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।  

‍काठमाडौंबाट उडेको टर्किस एयरलाइन्समा आगलागी, जहाज कलकता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीतर्फ उडेको टर्किस एयरलाइन्सको जहाज भारतको कोलकाता विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । जहाजको दायाँ (राइट) इन्जिनमा आगलागी भएसँगै जहाज डाइभर्ट गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान नम्बर टीएचवाई–७२७ ले उडान भर्ने क्रममा एउटा इन्जिनमा खराबी आएको जानकारी चालक दलले काठमाडौं टावरलाई गराएका थिए।  त्यसपछि इन्जिनमा आगलागी देखिएपछि सुरक्षाका लागि इन्जिन बन्द गरिएको थियो । उक्त जहाजले काठमाडौंबाट दिउँसो १ बजेर २८ मिनेटमा उडान भरेको थियो ।  आगलागीपछि वैकल्पिक अवतरणका लागि जहाजलाई कोलकाता विमानस्थलतर्फ मोडिएको क्यानले जनाएको छ।

सन नेपालको नाफा सामान्य बढ्यो, महाविपत्ति कोषमा २३ करोड ६१ लाख

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा सामान्य रूपमा बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमासमा २८ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले २२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.११ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.१२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, कम्पनीले दोस्रो त्रैमाससम्ममा २ अर्ब २६ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३.६४ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २० करोड ४६ लाख रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ८४ करोड ८५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ५४ करोड ८५ लाख रुपैयाँ थियो भने सोभन्दा अघिल्लो वर्ष १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । कम्पनीको अन्य इक्विटी २९ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको अन्य इक्विटी ३० करोड ४९ लाख रुपैयाँ थियो । ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ सेयरपुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.३० रुपैयाँ रहेको छ । कम्पनीको पीई रेसियो ४१.९५ गुणा र प्रतिशेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको छ । 

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर, पोखरा जानुपर्ने बाध्यता हट्यो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो ।  बस सेवाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गरे । म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न त्यहाँका पर्यटकलाई समेत भित्र्याउन सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।  'बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ', उनले भने, 'बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ ।' बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर कायम भएको छ ।  बसको क्षमता ४५ जनाको रहेको छ । बेनी–दिल्लीको दूरी १४ सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् । यसअघि म्याग्दीबाट भारत जान पोखरा पुगेर गाडी चढ्नुपर्ने समस्या थियो । एक दिनअघिनै पोखरा पुगेर बास बसी भोलिपल्ट बस चढेर दिल्ली जानुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–१ भरजुलाका सुसन किसानले बताए ।  बेनी नगरपालिकाका प्रमुख केसीले दिल्लीसँग म्याग्दीको यातायात सम्पर्क स्थापना भएपछि पर्यटक विकासमा पनि सहयोग पुग्ने बताए । म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई बस सेवाबाट सहज हुने नगर प्रमुख केसीले बताए ।  सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल–भारतमैत्री बस सेवा कार्यक्रमअन्तर्गत दिल्लीदेखि कालीगण्डकी कोरिडोरको सडक भएर म्याग्दी हुँदै चीनको सिमानामा रहेको कोरला नाकासम्म यातायात सञ्चालनका लागि पहल गरिएको बताए ।  मुस्ताङको मुक्तिनाथ मन्दिरमा वार्षिक एक लाख जनाभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट रोजगार, शिक्षा, उपचारसहित अन्य विभिन्न कामले भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्नेभन्दा निकै सस्तो भाडा, लुटिने जोखिमसमेत कम हुने यातायात व्यवसायी ऐनबहादुर शाहीले बताए । रासस

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

ध्रुवसागर शर्मा गलेश्वर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिनमात्र बाँकी रहँदा म्याग्दी जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल, उम्मेदवार, प्रमुख निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरु निर्वाचनको लगभग अन्तिम तयारीमा जुटेका छन् भने नागरिकहरु मतदानको प्रतीक्षामा छन् ।   माघको चिसोमा शरीरभरि न्यानो कपडा लगाएर उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदाताको घरदैलोमा पुग्न थालेपछि लामो समयदेखि सुनसान देखिने गाउँबस्ती, सदरमुकाम बेनी बजार, सार्वजनिकस्थल र चिया पसलहरूमा चुनावी बहस सुरु भएको छ ।  एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट डम्बरबहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, मङ्गल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिस्पर्धामा रहेका छन् । दलहरू घरदैलोमा सक्रिय निर्वाचन नजिकिँदै जाँदा यहाँ राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । ठूलादेखि साना दल र स्वतन्त्र उम्मेदवारले मतदाताको समर्थन जुटाउन घरदैलो, आन्तरिक छलफल, भेला तथा समन्वय बैठकहरू सञ्चालन गरिरहेका छन् । नेकपा (एमाले)ले वडादेखि टोलस्तरसम्म छलफल, भेला र बैठक गर्दै सङ्गठनात्मक गतिविधि तीव्र बनाएको जनाएको छ । पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई गति दिएको र मतदाता भेटघाटमा व्यस्त रहेको नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताए । एमालेले जिल्ला बाहिर (पोखरा) मा रहेका मतदाताहरुसँग उम्मेदवारसहितको टोली पोखरामा नै पुगेर मतदाता भेटघाट गरेको जनाएको छ ।      नेपाली कांग्रेसले पनि घरदैलो गरी मतदाता भेटघाट कार्यलाई तीव्र बनाएको छ । रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका केही वडामा पुगेर मतदाता भेटघाटपछि उम्मेदवार भण्डारीसहित नेपाली कांग्रेसका नेता कार्यकताहरु सोमबार मतदाता भेटघाटका लागि पश्चिम म्याग्दीतर्फ लागेका नेपाली कांग्रेस म्याग्दीका नेता विक्रम बोगटीले बताए । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि मतदाता भेटघाट, आन्तरिक भेला, जनवर्गीय सङ्गठनका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखरामा रहेका मतदाताहरुसँग भेटघाट गरी जिल्ला फर्केको नेकपाको टोली यतिबेला गाउँका मतदाताहरु भेट्न व्यस्त छ । स्वतन्त्र उम्मेदवार डा महावीर पुनलगायत अन्य दलका उम्मेदवारहरु पनि मतदाता भेटघाट गरी आफ्ना योजना तथा विचारहरु सुनाउन घरदैलो अभियानमा व्यस्त रहेका छन् । मुख्य तीन दल र स्वतन्त्र उम्मेदवार पुनबीच प्रतिस्पर्धा म्याग्दीमा कांग्रेस, एमाले, नेकपा र स्वतन्त्र उम्मेदवार महावीर पुनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले २४ हजार २१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार, १८९ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले समेत सर्मथन गरेका थिए । यस पटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसँगै  स्वतन्त्र उम्मेदवार डा. पुन पनि रहेका छन् । यसपटक प्रतिस्पर्धा थप चुनौतीपूर्ण हुने आकलन गरिएको स्थानीयको भनाइ छ । यहाँका मतदाताले प्रत्येक निर्वाचनमा स्वविवेकको आधारमा फरक–फरक दललाई अवसर दिँदै आएको देखिन्छ । यही कारण यसपटकको निर्वाचन परिणाम २०७९ सालको भन्दा फरक हुन सक्ने अनुमान गरिएको छ ।  पूर्व शिक्षामन्त्री डा पुन भित्रिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले भने मैदान छोडेको छ । स्वतन्त्र पार्टीका जिल्ला सभापति युवराज रोकाले पार्टीको सहमतिमा उम्मेदवारी फिर्ताको घोषणा गरे पनि हालसम्म जिल्ला, प्रदेश र केन्द्रीय समितिले समर्थनको पत्र सार्वजनिक गरेको भने छैन । पुराना दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपासँग स्वतन्त्र उम्मेदवार डा. पुन नै प्रमुख प्रतिस्पर्धी मानिएको छ । म्याग्दीका राजनीतिक दलले डा पुनको उपस्थितिको सुरुमा कल्पना नगरेपनि अन्तिममा उनले उम्मेदवारी दिएका थिए ।  एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको यस जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ । यहाँ कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।  बदलिँदो राजनीतिक परिवेश विसं २०७९ पछि सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका घटनाले राजनीतिक माहोल बदलिएको छ । युवा मतदाताको सक्रियता, सामाजिक सञ्जालको प्रभाव र नयाँ मतदाताको प्रवेशले २०८२ को निर्वाचनलाई थप चासोपूर्ण बनाएको देखिएको छ । घोषित निर्वाचन मिति नजिकिँदै जाँदा म्याग्दीमा राजनीतिक गतिविधि झन सक्रिय बन्दै गएको छ । गत भदौको ‘जेनजी’ आन्दोलनपछि केही समय सुस्त देखिएको दलीय गतिविधि पुनः पुरानै लयमा फर्किएको स्थानीयहरू बताउँछन् । सुरुमा विगतमा झैँ नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको भए पनि अहिले परिस्थिति फेरिएको धेरैको अनुमान छ । नेकपा एमालेको २०४६ सालयता बलियो आधार मानिएको अन्नपूर्ण गाउँपालिका ८, राम्चे, नाँगीका स्थायी बासिन्दा रहेका छन् डा. पुन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका एमालेको बलियो मत भएको क्षेत्रमा डा पुनको उपस्थितिले नयाँ तथा पुराना मतदाताहरूको सोचमा पनि फेरबदल आउन सक्ने देखिन्छ ।  यस्तो छ निर्वाचनको तयारी  आसन्न निर्वाचनका लागि मतदाताको सुरक्षा, मतदानस्थलको निरीक्षणलगायत आवश्यक सम्पूर्ण तयारीहरु तीव्र गतिमा रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्रमध्ये माघ १९ गते (आइतबार)सम्म एकसय मतदान केन्द्रको अनगुमन तथा निरीक्षण गरेर आवश्यक तयारी गर्न सुरु गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमलगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको अनुगमन तथा निरीक्षण गरेको हो । टोलीले मतदानस्थलको भौतिक पूर्वाधार, सडक, खानेपानी, शौचालय, घेराबार, विद्युत्लगायतको अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गरेको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमन गरिएको हो ।  'मतदानस्थलमा पानी, बिजुली, मतपत्र ढुवानीको सहजता, मतदातालाई सुविधालगायत समग्र पूर्वाधारको अवस्थाका बारेमा अनुगमन निरीक्षण  गरेका छौँ', प्रजिअ आचार्यले बताए । सबै मतदानस्थलको अनुगमन सकेपछि सुधार गर्नुपर्ने देखिएका मतदानस्थलको तत्काल सुधारको काम पनि थाल्ने योजना बनाएको उनले बताए । निर्वाचन प्रहरी छनोट तथा प्रशिक्षण  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहहादुर थापाका अनुसार शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरूलाई आवश्यक निर्देशन र प्रशिक्षण दिन सुरु गरिएको छ ।  निर्वाचन प्रहरीको वैकल्पिक सूचीमा छनोट भएका २८६ जनामध्ये २१२ जना छिमेकी जिल्ला बागलुङमा पठाइएको छ । छनोट भएका निर्वाचन प्रहरीहरुका लागि आइतबारदेखि तालिम सञ्चालन गरिएको छ ।  निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गरिएको हो । जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यसहित सुरक्षा अधिकारीहरुको टोलीले मतदानस्थलको निरीक्षण कार्यलाई अन्तिम चरणमा पुर्याएको जनाइएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्यमा दुई, छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ मतदानस्थलमा १२० मतदान केन्द्र कायम गरिएको छ । रासस

सूर्यज्योति लाइफको खुद बीमा शुल्क आर्जन १४ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  वित्तीय विवरणअनुसार ६ महिनामा कम्पनीले ५ अर्ब ७१ करोड २ लाख लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४ दशमलव ६२ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासमा कम्पनीको नाफा २० करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २.९० प्रतिशतले बढेको छ ।  ६ महिनामा कम्पनीले ५ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.४९ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।  त्यस्तै, दोस्रो त्रैमाससम्ममा कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ४२ करोड रुपैयाँ थियो ।  कम्पनीको रिटेन्ड अर्निङमा ४५ करोड २९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ९२ करोड ३६ लाख रुपैयाँ थियो ।  यसैगरी, समीक्षा अवधिका कम्पनीको अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ३१ करोड ८४ लाख रुपैयाँ थियो । ६ महिनाको अवधिमा  कम्पनीको जीवन बीमा कोषमा ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ थियो । ५ अर्ब १ करोड रुपैयाँ सेयर पूँजी रहेको कम्पनीको सेयरपुँजी वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ०६ पैसा, पीई रेसियो ५५.६९ गुणा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ रहेको छ ।