प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

शुक्रबार ७१औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री साहले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री साहको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

प्रधानमन्त्री साहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बुद्धिमत्ता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको बताएका छन् । आन्तरिक शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको पनि उनले उल्लेख गरेका छन् ।

उनले भने, ‘नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ । प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बुद्धिमत्ता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको छ । आन्तरिक शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण छ ।’

प्रधानमन्त्री साहले सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्न आवश्यक रहेको बताएका छन् ।

Share News