विकासन्युज

मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज, अब डोल्मा इम्प्याक्ट फण्डलाई कर लाग्ने

काठमाडौं । सरकारले मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज गरेको छ । नेपाल सरकारले गणतन्त्र मौरिसस सरकारसँग सन् १९९९ अगस्ट ३ मा द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता गरेको थियो । तर, अहिले सरकारले सो सम्झौता खारेज गर्ने निर्णय गरेर मौरिससलाई समेत जानकारी गराइसकेको छ ।  बुधबार आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै सो सम्झौता खारेज भएको जानकारी दिएको हो । विभागले कूटनीतिक माध्यमबाट सो सम्झौताको को धारा २९, उपधारा १ (समाप्ति सम्बन्धी प्रावधान) बमोजिम सम्झौता खारेज गरिएको औपचारिक पत्र पठाएको बताएको छ ।  नेपाल सरकारको यो रणनीतिक निर्णय घरेलु कानुन र विश्वव्यापी कर वातावरण दुवैमा भएका महत्वपूर्ण परिवर्तनहरूसँग आफ्नो अन्तर्राष्ट्रिय कर संरचनालाई एकरूप बनाउन आवश्यक भएकोले यो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालले लागू गरेको आयकर ऐन, २०५८ (सन् २००२) ले सन्धि कार्यान्वयनमा प्रभावित पार्ने आधुनिक कर दुरुपयोग नियन्त्रण प्रावधानहरू समावेश गरेको छ । यसमा विशेषगरी ऐनको दफा ७३ (५) अन्तर्गत सीमित लाभ सम्बन्धी प्रावधान समावेश छ ।  सन् १९९९ पछिको अवधिमा विश्वव्यापी कर शासनमा आमुल परिवर्तनहरू आएको उल्लेख गर्दै ओईसीडीको कर आधार कटौती तथा मुनाफा स्थानान्तरण परियोजना जस्ता पहलहरू मार्फत अन्तर्राष्ट्रिय कर सम्झौताहरूमा बढी पारदर्शिता र कर दुरुपयोग नियन्त्रणको माग हुने गरेको विज्ञप्तिमा उल्लेख छ ।  यो खारेजीले नयाँ विश्वव्यापी न्यूनतम मापदण्डहरूको पालना गर्ने समकालीन सम्झौताका लागि मार्ग प्रशस्त भएको विज्ञप्तिमा उल्लेख छ । सम्झौता खारेजीको मिति धारा २९ मा उल्लिखित प्रावधानहरू अनुसार नेपालको हकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को साउन १ गते देखि कायम हुने उल्लेख छ ।  अर्थमन्त्रालयका प्रवक्ता टंक पाण्डेले पनि अबको ६ महिनासम्म यो सम्झौताले नै काम गर्ने र ६ महिनापछि सो सम्झौता स्वतः खारेज हुने बताए । उनले खारेजीसम्बन्धी जानकारी मौरिससलाई गराइसकेको बताए ।  सन् १९९९ मा मौरिसससँग  भएको दोहोरो करमुक्ति सम्झौताको धारा १३ मा मौरिससमा भएको कम्पनीले नेपालमा लगानी गरेर पुँजीगत लाभकर आर्जन गर्यो भने  मौरिससमा कर लाग्छ, नेपालमा लाग्दैन भन्ने व्यवस्था छ । नेपालमा स्थायी इन्टीटी भयो भने त्यो कर नेपालमा लाग्थ्यो । तर, डोल्मा इम्प्याक्ट फण्डको स्थापना मौरिससमा भएको हो । त्यही भएर सो संस्थालाई मौरिससमा कर लाग्छ, नेपालमा लाग्दैन ।  २०५८ मा आयकर बनेसँगै दफा ७३ को उपदफा ५ मा यदि दोहोरो करमुक्ति सम्झौता भएको मुलुकसँग पुँजीगत लाभकरको विषयमा छुट दिने प्रबन्ध भएको छ भने संहिताकारी मुलुकमा कर लाग्ने प्रबन्ध गरिएको छ भने त्यस्तो मुलुकबाट आउने लगानीमा ५० प्रतिशत स्वामित्व त्यही मुलुकका नागरिकको हुनुपर्ने व्यवस्था छ ।  केही साताअघि मात्रै सरकारले डोल्मा इम्प्याक्टलाई सोही व्यवस्थाअनुसार कर नलाग्ने निर्णय गरेको थियो । त्यसपछि सरकारको सो निर्णयको चौतर्फी आलोचना भएको थियो । तर, सरकारको त्यो निर्णय सन्धिको व्यवस्था अनुसार नै थियो ।  डोल्मामा ९९ प्रतिशत लगानी अरु मुलुकको कोषको छ । त्यहाँ ५० प्रतिशत लगानी मौरिससका नागरिकको भएन ।  डोल्मा इप्याक्ट फण्डमा कर नलगाउने निर्णयको आलोचना भएपछि अर्थमन्त्री रामेश्वर खनालले विकासन्युजसँगको अन्तर्वार्तामा भनेका थिए, ‘आयकरमा त्यस्तो प्रबन्ध गरिसकेपछि दोहोरो करमुक्ति संहिता संशोधन गर्नुपर्थ्यो । अथवा नेपाल सरकारले मौरिसस सरकारलाई हाम्रो ऐनमा यस्तो व्यवस्था छ, आगामी दिनमा त्यो प्राबधान हाम्रो आयकर ऐन अनुसार लागु हुन्छ भने सूचना दिनुपर्थ्यो । तर, हामीले त्यो सम्झौता संशोधन पनि गरेनौं र आयकरमा भएको परिवर्तनको विषयमा जानकारी पनि गराएनौं । सन्धीमा भएको प्रबन्धलाई काट्ने गरी ऐन बनाउन पाइँदैन भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । कानुन परिवर्तन गर्नका लागि सन्धी नै परिवर्तन गर्नुपर्छ । तर, हामीले माथिको दुइटै काम नगरेपछि सन्धी लागू हुने भयो ।’ विगत लामो समयदेखि यो विषयमा सरकारले निर्णय दिन नसकेर अल्झिएर बसेको थियो । अन्ततः अर्थमन्त्री खनालले सम्झौता नै खारेज गर्ने निर्णय गरेका हुन् । 

१६९ कम्पनीको सेयर मूल्य घट्यो, ३ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २६०९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८० कम्पनीको सेयर मूल्य बढ्दा १६९ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२९ कम्पनीको ८६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार श्रीनगर एग्रीटेकको भएको छ । श्रीनगरको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी ग्रुपको १७ करोड, युनिभर्सल पावरको ११ करोड, सागर डिस्टीलरीको १० करोड र हिमालयन रिइन्स्योरेन्सको ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एसवाई प्यानलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।  

स्वदेशी उत्पादन प्रवर्द्धनका लागि स्वदेशी बजार २०२५ हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित ‘मेक इन नेपाल–स्वदेशी’ अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा ‘स्वदेशी बजार २०२५’ आयोजना गर्दैछ । आगामी डिसेम्बर मंसिर २७ गते शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने सो एकदिने प्रदर्शनीले 'नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान' भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्‍याउने उद्देश्य लिएको छ । साना, मध्यम तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि निःशुल्क स्टल सुविधा र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा तीन हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ । प्रदर्शनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवा सम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ, र अन्य उत्पादन निर्माण सम्बन्धी उद्योगसहित करिब ४०–५० उद्योग तथा उद्यम सहभागी हुने छन् । यसमार्फत सहभागी उद्योगहरूले आफ्ना उत्पादन तथा सेवाहरू सार्वजनिक रूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष रूपमा संवाद एवं अन्तरक्रिया गर्ने, तथा सम्भावित खरीदकर्ता, वितरक, व्यवसायिक साझेदार र सरोकारवालाहरूसँग नेटवर्क विस्तारका कार्यक्रमहरू सञ्चालन गरिनेछ । परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले ‘स्वदेशी बजार २०२५’ ले नेपाली उद्योग, सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्ने तथा स्वदेशी उत्पादनको उपभोग प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । नेपाल सरकारले स्वदेशी उत्पादन तथा उद्योगको प्रवर्द्धन गर्ने नीति लिएसँगै, ‘स्वदेशी बजार २०२५’ ले नेपाली उद्योगीको मनोबल बढाउने विश्वास लिएको छ ।

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौं । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् ।      क्षेत्रपाटी शाखा र त्रिपुरेश्वर शाखा गाभिने तथा महाराजगञ्ज र कमलादी शाखाको सफ्टवेयर एकीकरण सम्बन्धीकार्य  गर्नुपर्ने भएकाले यही मङ्सिर २६ गते दिउँसो ३ः०० बजेदेखि २८ गतेसम्म सेवा बन्द हुने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।      उनले भने, 'सफ्टवेयर मर्ज गर्न लागिएकाले क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा तथा महसुल सङ्कलन काउण्टर, नयाँ धारा जडानलगायत सबै सेवा तीन दिनसम्म बन्द रहनेछन् ।'  

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन् । बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको बताएकी हुन् ।  सो विश्वविद्यालयका कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विश्वविद्यालयहरुका कुलपति, उपकुलपति र अन्य सरोकारवालाहरुसँग गम्भिर परामर्श गरिरहेको जानकारी समेत दिइन् । नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्न सरकार यस काममा लागेको प्रधानमन्त्री कार्कीको भनाई थियो ।  उनले भनिन्,‘पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । शिक्षामन्त्री महावीर पुनजीले शिक्षाविद विश्वविद्यालयको कुलपति, उपकुलपति लगायत उच्च नेतृत्व र अन्य सरोकारवालाहरुसँग यस विषयमा गम्भिर परामर्श र गृहकार्य गरिरहनुभएको छ । ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ ।’ त्यस अवसरमा प्रधानमन्त्री कार्कीले नेपालको उच्च शिक्षा सुधारमा काठमाडौं विश्वविद्यालयको खेलेको भुमिकाको प्रशंसा गर्दै त्यसको अनुशरण गर्दै अघि बढ्न अन्य विश्वविद्यालयहरुलाई पनि आग्रह गरिन् । 

खानेपानीको चरम संकट भएका भगवतीमाई गाउँपालिकाका ३ वडामा खानेपानी सुविधा

रातामाटा । खानेपानीको चरम संकट भएका भगवतीमाई गाउँपालिकाका विभिन्न तीन वडामा चार खानेपानी योजना सम्पन्न भएका छन् । यसबाट भगवतीमाई १, ३ र ४ वडामा ‘एकघर एक धारा’को सुविधा पुगेको छ । ती वडाका करिव १९६ घरधुरीका एक हजार १८४ स्थानीयवासी लाभान्वित भएका छन् ।  ब्रिटिस रेडक्रस र स्वीस रेडक्रसको संयुक्त आर्थिक एवं प्राविधि सहयोगमा नेपाल रेडक्रस दैलेख शाखाले भगवतीमाई गाउँपालिकासँगको सहकार्य र साझेदारीमा यहाँ सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले ती वडामा खानेपानीको सुविधा पुर्याउन सहयोग गरेको हो ।  भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काकाले वडावासीले पानी लिन धेरै टाढा जानुपर्ने अवस्था अन्त्य भएको जानकारी दिए । उनले भने, 'कुवाका दूषित पानीका कारण बिरामी भएर स्वास्थ्यचौकी धाउनुपर्दथ्यो । यस्तो अवस्था अन्त्य भएको  छ ।' उनका अनुसार सो परियोजना र गाउँपालिकाको सहकार्यमा भक्रमुल सिस्नेरी खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएसँगै वडाका ९४ घरमा ‘एक घर एक धारा’ निर्माण भएको छ ।  यसबाट अति विपन्न समुदायका स्वच्छ खानेपानीको पहुँच पुगेको छ । परियोजनाले उपभोक्तालाई खानेपानीका मुहान दर्ता गर्नसमेत सहजीकरण गरेको थियो ।  निर्माण सम्पन्न भएका खानेपानी आयोजनाहरुले कार्यालय व्यवस्थापन, खानेपानी सुुरक्षा योजना लागू गर्नुको साथै नियमित रुपमा पानी महसुल संकलन गरिहेको छन् ।  साथै परियोजनाले ती वडाका २४ अति विपन्न घरधुरीहरुलाई शौचालय निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सुविधाहरु निर्माण गर्नुको साथै तीन तारे विद्यालय घोषणा गर्न, गाउँपालिकाको कार्यालय र छ वटा स्वास्थ्य संस्थाहरुमा पानीको गुणस्तर परीक्षण केन्द्र स्थापना गर्न सहयोग तथा सहजीकरण गरेको थियो ।  भगवतीमाई गाउँपालिका–१  का वडाध्यक्ष मानबहादुर खड्काले परियोजनाको सहयोगमा खानेपानी तथा सरसफाइ योजनाका सम्वन्न भएसँगै वडामा फोहर सङ्कलन तथा व्यवस्थापन केन्द्र प्रयोगमा आएको जानकारी दिए । उनले  भने, 'विपन्न समुदायलाई खानेपानीको सुविधा पुर्याउन ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले  महत्वपूर्ण सहयोग गरेको छ ।' भगवतीमाई गाउँपालिका–४ का वडाध्यक्ष देवलोक अधिकारीले खानेपानी लिन टाढाटाढा जानुपर्ने अवस्थामा केही सुधार भएको जानकारी दिँदै खानेपानीको हुँदा महिलाको समयमा बचत भएको छ भने । उनले भने, 'स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छताका विविध विषयहरुमा नेपाल रेडक्रसले महत्वपूर्ण सहयोग गरेको छ ।' नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्रीले सुरक्षित सुत्केरीका लागि पूर्वतयारी, पारिवारिक विपद् पूर्वतयारी, पिउने पानीको उचित व्यवस्थापन र प्रयोगका साथै चर्पीको उचित प्रयोगसम्बन्धी सकारात्मक व्यवहार परिवर्तनका लागि गाउँपालिकामा सबै वडाका घरधुरीमा ६३ जना तालिम प्राप्त स्वयंसेवकहरु परिचालन गरिएको जानकारी दिए ।  परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठले पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्नको लागि वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई परिचालन गरिएको बताए । विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका लागि  ६६ स्वयंसेवकलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको, ५८ स्यंसेवकलाई विपद् प्रतिकार्यका लागि सामुदायिक पहल र आधारभूत खोज तथा उद्धार तालिम प्रदान गरिएको, २४ स्वयंसेवकलाई द्रुत प्रतिकार्य तालिम प्रदान गरिएको, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रको लागि आवश्यक पर्ने विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको, विभिन्न विपद्सँग सम्बन्धित कृत्रिम घटना अभ्यास कार्यक्रम सञ्चालन गरिएको, स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा विपद् जोखिम न्यूनीकरण, वातावरण र जलवायु परिवर्तन अनुकूलन विषयहरुमा छलफल तथा अभिमुखीकरण गरिएको बताए । रासस

एमालेको ११औं महाधिवेशन पहिलोपटक रावलविहीन, सुदूरपश्चिमबाट चार नेताको पदाधिकारीमा दाबी

काठमाडौं । नेकपा एमालेको इतिहासमा पहिलोपटक ११औं महाधिवेशन भीम रावलविहीन हुँदैछ । सुदूरपश्चिमका प्रभावशाली नेता तथा १०औं महाधिवेशनका अध्यक्षका प्रत्याशी रावल यस पटक पार्टी बाहिर रहेका छन् । रावलको बहिर्गमनसँगै प्रदेशमा नयाँ शक्ति सन्तुलन सिर्जना भएको छ । रावलको अनुपस्थितिलाई भर्ने उद्देश्यले सुदूरपश्चिमका चार नेताहरू लेखराज भट्ट, कर्ण थापा, गणेश ठगुन्ना र ईश्वरीप्रसाद खरेल पदाधिकारी स्तरमै प्रतिस्पर्धामा उत्रने गरी सक्रिय भएका छन् । भट्ट र थापाको मुख्य दाबी बहालवाला सचिव लेखराज भट्टले यस महाधिवेशनमा एक तह प्रमोशनको अपेक्षा पार्टी नेतृत्वसमक्ष राखेका स्रोत बताउँछन् । भट्ट अहिले सचिव पदमा छन् । उनी सर्वोच्च अदालतको फैसलापछि माओवादीबाट एमालेमा फर्किएका वरिष्ठ नेतामा पर्छन्। कर्ण थापा भने विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी यसपटक प्रमुख प्रवेशद्वार मानिने सचिवका आकांक्षी हुन् । पार्टीका पुराना नेता गणेश ठगुन्नाले पनि सचिव पदमै प्रतिस्पर्धा गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै जानकारी गराइसकेका छन् । ईश्वरीप्रसाद खरेलले पनि लेखा आयोगको उपाध्यक्ष पदमा आफ्नो दाबी रहेको सार्वजनिक रूपमा बताएका छन् । खरेल संगठनको भूगोल आधारित संरचनाबाट उदाएका स्थिर कार्यकर्तामा गनिन्छन् । अन्य नेताहरू केन्द्रीय सदस्यतिर पदाधिकारी तहमा यी चार नेताले दाबी गरे पनि सुदूरपश्चिमका अन्य नेताहरू भने केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । केन्द्रीय सदस्यमा निरन्तरताका लागि चाहना देखाएका नेताहरूमा निरु पाल, दामोदर भण्डारी, भैरव बहादुरसिंह, राजेन्द्र रावल, झपट रावल, ऐनसिंह महर, नारायणमुनि राना, लालबहादुर थापा, तारा लामा तामाङलगायतका वरिष्ठ नेताहरू समावेश रहेको सुदूरपश्चिमका एक नेताले जनाएका छन् । यसैगरी, नयाँ पुस्ताका एलवि सिंह, लोकेन्द्र सिंह, बचनबहादुर सिंह, डाक्टर दीपक प्रकाश भट्ट, नरेश रोकाया, गोविन्द गिरी, तीर्थ भट्टराई र चक्र मल्ललगायतका युवा नेताहरूले यसै महाधिवेशनबाट केन्द्रीय सदस्यमा डेब्यु गर्दै प्रतिस्पर्धामा उत्रने तयारी गरिरहेको नेताहरूले जानकारी दिए । सुदूरपश्चिमतर्फ पदाधिकारीमा सीमित संख्याको दाबी भए पनि केन्द्रीय सदस्यतिर नयाँ तथा पुराना दुवै पुस्ताको चहलपहल बढेपछि एमालेको ११औं महाधिवेशनमा प्रदेशको प्रभावकारी उपस्थिति रहने देखिएको छ ।

एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि २ हजार २६२ पुग्ने

काठमाडौं । नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको संख्या औपचारिक रूपमा टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको अन्तिम सूची तय गरेको हो । स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी जम्मा २ हजार १५४ जना प्रतिनिधि रहनेछन् ।  एमालेको विधानअनुसार कुल प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि पार्टी केन्द्रीय सचिवालयले मनोनयन गर्न पाउने छ । सचिवालयको बैठकले १०८ प्रतिनिधि यप गर्न सक्ने संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए । उनका अनुसार सचिवालयले मनोनयन गरेको खण्डमा कुल महाधिवेशन प्रतिनिधिको संख्या २ हजार २६२ हुनेछ । साथै केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्य समेत महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुने छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी हुनेछ भने बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।