विकासन्युज

स्वास्थ्य बीमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाका सम्बन्धमा देखिएको समस्या सरकारले स्रोत जुटाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य बीमासम्बन्धी छलफलमा उनले आर्थिक अभावको अवस्थामा सेवा कायम राख्ने, एकद्वार प्रणाली लागु गर्ने, बलियो नियमन र तत्काल स्रोत व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।      ऋण लिएर भए पनि वा अन्य स्रोत जुटाएर भए पनि स्वास्थ्य बीमा सेवा निरन्तर गर्नुपर्ने उनको स्पष्ट सन्देश छ । 'अब सेवा दिएन भने जनताले सडकमा प्रश्न उठाउँछन् । स्रोत जुटाउनै पर्छ', उनले भनिन्, 'एकद्वार प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्छ । नियमन गर्न जरुरी छ । पैसा गइरहेको छ, तर उपचार पाइरहेको छैन । कहाँ के भइरहेको छ, त्यो ठीक भएन ।'      प्रधानमन्त्री कार्कीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसङ्ख्यक समुदायका लागि स्वास्थ्य बीमा सुविधा निरन्तरता दिनैपर्नेमा जोड दिइन् । 'जनताले रु ३ हजार ५०० तिरेका छन् । सरकारले रु १ लाखसम्म उपचार दिने भनेको छ । तर रकम पुर्‍याउन नसक्ने, सेवा दिन नसक्ने, यहाँ गम्भीर कमजोरी देखियो,' उनले भनिन्, 'हाल १६ लाख १७ हजार ८५ जना बिमितले सेवा लिइरहेका छन् । जुन तीन करोड जनताले तिरेको करबाट सम्भव भएको हो । सेवा लक्षित वर्गको पहुँचमा पुग्नुपर्छ ।'      सो छलफलमा सहभागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले प्रिमियम दर फ्ल्याट राख्नुको सट्टा उमेरअनुसार बनाइनुपर्ने सुझाव दिए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषसँग दोहोरोपना हटाएर वितरणमुखी कल्याणकारी कार्यक्रम एकीकृत गरे स्रोत व्यवस्थापन सम्भव हुने बताए । यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष जुद्धबहादुर गुरुङले नीतिगत सुधार र दोहोरोपना हटाउन नसके स्वास्थ्य बिमाले गति नलिने स्पष्ट पारे । 

एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशका ७५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ । बैंकले काठमाडौं उपत्यकाबाहिरका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त आवेदनमध्ये छनोट गरी ७५ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व हुने गरी बैंकले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको थियो । यसअघि पनि बैंकले यस्ता विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई निरन्तर छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसका साथै बैंकले सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको जनाएको छ । सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई प्रदान गरिएको यस छात्रवृत्तिले उनीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै व्यक्तित्व विकास र अध्ययन निरन्तरतामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

वित्तीय साक्षरताबाट आत्मनिर्भर समाज निर्माणको यात्रामा एक बीमा अभियन्ता

भविष्यलाई भाग्यमा होइन, बीमाले सुरक्षित गर्नुपर्छ भन्ने मान्यतालाई जीवनको मूल दर्शन बनाएकी दिलमाया तामाङ आज नेपाली समाजमा वित्तीय साक्षरताको एक शान्त तर प्रभावशाली अभियानको नाम बनेकी छन् । धेरैका लागि बीमा अझै पनि जटिल प्रक्रिया, ठूलो प्रिमियम र सम्पन्न वर्गका लागि मात्र सीमित विषयजस्तो देखिन्छ । तर यही भ्रम चिर्दै समाजका हरेक तह, वर्ग र समुदायसम्म बीमाको वास्तविक अर्थ र महत्त्व पुर्‍याउने अभियानमा उनी निरन्तर लागिरहेकी छन् । उनका लागि बीमा केवल वित्तीय उत्पादन होइन, चेतनाको विषय हो । एउटा दुर्घटना, रोग वा अकाल मृत्युले कसरी सिङ्गो परिवारलाई आर्थिक रूपमा दशकौँ पछाडि धकेल्न सक्छ भन्ने अनुभव र बुझाइले उनलाई यो क्षेत्रमा समर्पित बनाएको छ । उनी स्पष्ट शब्दमा भन्छिन्, 'बीमा विलासिता होइन, करकाप होइन यो जीवनको आधार हो' । आर्थिक सुरक्षाको आधारशिला बिना आत्मनिर्भर समाज सम्भव छैन भन्ने विश्वास उनको अभियानको केन्द्रमा छ ।' सिन्धुली जिल्लाको मरीन झाडीमा जन्मिएकी दिलमाया आर्थिक र शैक्षिक सीमाबीच हुर्किइन् । त्यतिबेला पढाइ आजको जस्तो सहज थिएन । विद्यालयसम्म पुग्नुपर्ने दूरी, सीमित साधन र पारिवारिक अवस्थाले उनलाई बारम्बार चुनौती दियो । तर जीवनले कोरेको सीमालाई चेतनाको शक्तिले जित्न सकिन्छ भन्ने विश्वासले उनलाई अघि बढायो । कठिनाइका बाबजुद उनले पढाइलाई निरन्तरता दिइन् र अहिले स्नातक तहको अध्ययन पूरा गर्ने चरणमा छिन् । कोभिड–१९ को महामारीले संसारलाई अनिश्चिततामा धकेलेको बेला उनले बीमा क्षेत्रमा प्रवेश गरिन् । त्यो समय केवल पेसागत परिवर्तनको क्षण मात्र थिएन, जीवनप्रतिको दृष्टिकोण बदलिने मोड पनि थियो । सुरुवातमा उनलाई बीमा के हो, यसको फाइदा के हो भन्ने विषयमा खासै जानकारी थिएन । लकडाउनका दिनहरूमा जुम मिटिङमार्फत बीमाबारे सुन्दै जाँदा उनले पहिलो पटक बीमालाई आफ्नो जीवनसँग जोडेर बुझ्न थालिन् । त्यही क्रममा उनले आफूले कमाएको सानो आम्दानीबाट बीमा गर्दा आमाबुबालाई हकदार बनाउन सकिने कुरा थाहा पाइन् । 'भोलि मलाई केही भइहाल्यो भने मेरो बीमाको रकम बुवा–आमाले पाउनुहुन्छ,' भन्ने सोचले उनलाई गहिरो रूपमा छोयो । त्यस क्षणदेखि बीमा उनका लागि केवल कागजी सम्झौता रहेन, पारिवारिक जिम्मेवारी र प्रेमको प्रतीक बन्यो । यही भावनात्मक बुझाइले उनलाई बीमाप्रति सकारात्मक बनायो र यो क्षेत्रलाई समाज परिवर्तनको माध्यमका रूपमा हेर्न सिकायो । बुझ्दै जाँदा उनले बीमालाई एउटा जीवनपद्धतिका रूपमा स्वीकार गरिन् । बचत गर्ने बानी बसाल्ने, जोखिमको सुरक्षा गर्ने, आवश्यक पर्दा कर्जाको सुविधा दिने र दीर्घकालीन योजना बनाउन सहयोग गर्ने यस्तो संयन्त्र उनले अरू कतै देखेकी थिइनन् । उनका अनुसार बीमाले मानिसलाई अनुशासनमा बाँधेर जीवनलाई सहज बनाउँछ। यही बुझाइले उनलाई अरूलाई पनि यो ज्ञान बाँड्नुपर्छ भन्ने निष्कर्षमा पुर्‍यायो र उनी बीमा अभिकर्ता बन्न पुगिन् । उनका लागि अरूलाई बुझाउनु भनेको व्याख्या गर्नु मात्र होइन, आफैँ उदाहरण बन्नु हो । 'अरूलाई खोलाको गहिराइ बुझाउन चाहने हो भने पहिले आफैँ खोलामा पसेर अनुभव गर्नुपर्छ,' भन्ने सोचका साथ उनले आफ्नै जीवन बीमा गरिन् । आफू बिमित भएर मात्रै विश्वास जित्न सकिन्छ भन्ने मान्यताले उनलाई अझ जिम्मेवार बनायो । आज दिलमाया तामाङको अभियान सहरका सीमामा सीमित छैन । उनी गाउँका किसान, मजदुर, गृहिणी, साना व्यवसायी, एकल महिला, बाटोमा मकै बेच्ने महिला र वैदेशिक रोजगारीमा जाने युवासम्म पुगेर बीमाको महत्त्व बुझाइरहेकी छन् । धेरैले 'बचत छैन' भन्दै बीमाबाट टाढा भाग्ने गरेको देख्दा उनी सोच परिवर्तन आवश्यक रहेको बताउँछिन् । सानो रकमबाट पनि बीमा सुरु गर्न सकिन्छ भन्ने सन्देश उनी निरन्तर दिन्छिन् । उनको बुझाउने शैली सरल र जीवनसँग जोडिएको छ। मोटरसाइकल किन्दा बीमा अनिवार्य हुन्छ भने, हाम्रो अमूल्य जीवनलाई बिना बीमा उपेक्षित गर्नु बुद्धिमानी हो त ? यही प्रश्नले उनले धेरै मानिसको सोच बदल्न सफल भएकी छन् । बीमा बेच्नु उनको लक्ष्य होइन, चेतना बाँड्नु उनको ध्येय हो । उनको काम केवल बीमाको फाइदासम्म सीमित छैन । उनी आय–व्यय व्यवस्थापन, बचतको बानी, जोखिम व्यवस्थापन र दीर्घकालीन योजना जस्ता विषयमा खुलेर कुरा गर्छिन् । आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म मानिस साँच्चिकै स्वतन्त्र हुन सक्दैन भन्ने विश्वासका साथ उनले बीमालाई आत्मनिर्भरताको पहिलो खुड्किलोका रूपमा प्रस्तुत गर्दै आएकी छन् । अरूलाई सिकाउनुअघि आफू उदाहरण बन्नुपर्छ भन्ने मान्यताअनुसार उनले आफैँ करिब एक करोड रुपैयाँ बराबरको जीवन बीमा गरेकी छन् । यसले उनको प्रतिबद्धता र विश्वासलाई अझ मजबुत बनाएको छ । बीमा बाहेक, उनले महिलालाई लक्षित गर्दै तामाङ पहिरन उत्पादनको सानो उद्योग पनि सञ्चालन गरेकी छन् । मौलिक संस्कृतिको जगेर्नासँगै बच्चा भएका महिलालाई रोजगारी दिने उद्देश्यले सुरु गरिएको यस उद्योगमा अहिले १०–१२ जना महिला कार्यरत छन्, जसले उनको सामाजिक सोच र मानवीय संवेदनशीलतालाई स्पष्ट देखाउँछ । उनका अनुसार बीमा व्यवसाय इमान्दारिता र विश्वासमा आधारित हुनुपर्छ । ग्राहकको आय, परिवारको अवस्था र आवश्यकताबिना बीमा गराउनु गलत हो भन्ने कुरामा उनी दृढ छिन् । एक पटक विश्वास टुटेपछि यो पेसा नै समाप्त हुने भएकाले आफू यस विषयमा अत्यन्त सजग रहेको उनी बताउँछिन् । केही वर्षअघि विवाहबन्धनमा बाँधिएकी दिलमायाकी अहिले १६ महिनाकी छोरी छिन्। आमा बनेपछि बीमाको महत्त्व उनले अझ गहिरो रूपमा महसुस गरेकी छन् । बच्चाको भविष्यलाई 'जे होला होला' भन्दै भाग्यमा छोड्ने प्रवृत्तिप्रति उनी असहमत छिन् । उनको धारणा स्पष्ट छ—जुन जोखिमको समाधान सजिलै सम्भव छ, त्यसमा भाग्यवादी हुनु हुँदैन । 'जोखिमलाई भाग्यमा नछोडौँ, बीमाले सुरक्षित गरौँ,' भन्ने सन्देश उनको जीवनदर्शन बनेको छ। छोरीलाई काखमा लिएर भविष्यतर्फ हेर्दा, आफूले बीमा गरेर मात्र होइन, बीमा अभियन्ताको रूपमा धेरै परिवारलाई जोखिमबाट सुरक्षित बनाउन पहल गरेकोमा उनलाई धेरै गर्व लाग्छ । उनका लागि बीमा व्यवसाय होइन, बरु आत्मनिर्भर, सुरक्षित र सचेत समाज निर्माणतर्फको निरन्तर यात्रा हो ।

नेपाल बीमा प्राधिकरणको सञ्चालकमा सुमन दाहाल नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा डा. सुमन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सहसचिव दाहाललाई मन्त्रालयले प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो । प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसँगै अर्थमन्त्रालयको सहसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव, जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिमध्येबाट एक जना र निर्जीवन बीमा व्यवसायमा ज्ञान भएका मध्येबाट एक जना गरी कुल पाँच जनाको सञ्चालक समिति गठन हुने व्यवस्था छ।  तर प्राधिकरणको सञ्चालक समितिमा पनि सरकारी अधिकारीकै रजगज छ ।  बीमा ऐनअनुसार सञ्चालक समितिमा महिला सदस्य अनिवार्य छ । यसअघि महिला सदस्य राधा पोखरेलले राजीनामा दिएपछि सो पद खाली हुँदै आएको छ । 

प्रभु बैंकको नेतृत्वमा शर्मा : लाभांश पाउने आशा, एनपीएल घटाउनुपर्ने चुनौती

काठमाडौं । प्रभु बैंकको व्यवस्थापकीय नेतृत्व सुमन शर्माले सम्हालेका छन् । बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेसँगै शर्माले मंगलबारदेखि कार्यभार सम्हालिसकेका छन् । बैंकका कम्पनी सचिव अमित भण्डारीका अनुसार सञ्चालक समितिले शर्मालाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका निवर्तमान सीईओ अशोक शेरचनले राजीनामा दिएपछि सञ्चालक समितिले उक्त राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा करिब तीन दशक लामो अनुभव हासिल गरेका शर्मा अनुभवी तथा कुशल बैंकरका रूपमा चिनिन्छन् । यसअघि शर्मा साबिक सनराइज बैंकको सीईओका रूपमा कार्यरत थिए । सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जरमा गएपछि उनी बाहिरिएका थिए । त्यसअघि उनले माछापुच्छ्रे बैंकमा सीईओको जिम्मेवारी सम्हाल्नुका साथै ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ । कर्जा तथा जोखिम व्यवस्थापनमा दख्खल राख्ने शर्मालाई सक्षम व्यवस्थापकका रूपमा हेरिन्छ । एमबीए गोल्ड मेडलिस्ट शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ करिअर सुरु गरेका हुन् । बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनले डेकोर कन्सलटेन्सीमा समेत काम गरेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा पक्राउ परेपछि अशोक शेरचन बैंकको सीईओ पदबाट निलम्बनमा परेका थिए । बैंकको शीर्ष व्यवस्थापन तह नै विवादमा तानिएपछि यस विषयले व्यापक चासो र चर्चा पाएको थियो, जसका कारण सीआईबीले औपचारिक अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा शेरचन केही समय थुनामा रहे पनि पछि थुनामुक्त भएका थिए । थुनामुक्त भएको केही समयपछि शेरचनले बैंकको सीईओबाट राजीनामा दिएका हुन् । याे कठिन अवस्थामा बैंकको व्यवस्थापन नेतृत्व सम्हाल्ने जिम्मेवारी अनुभवी बैंकर सुमन शर्मालाई दिइएको हो । यस्तो छ बैंकको वित्तीय अवस्था चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म प्रभु बैंकको खुद नाफा २४.०७ प्रतिशतले घटेर १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत बढेर ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ८६ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ३७ लाख ८७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ६९ करोड ६४ लाख २४ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ९६ करोड ६५ लाख ९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १२ करोड २२ लाख ४९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ६६ करोड ७५ करोड २४ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ५२ करोड २८ लाख ३६ हजार रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा ३ खर्ब ३५ करोड ६४ लाख ४८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २२ करोड ७० लाख २ हजार रुपैयाँ छ ।  समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३ खर्ब ४० अर्ब ७३ करोड ७३ लाख २० हजार रुपैयाँ र कर्जा लगानी २ खर्ब २७ अर्ब ३२ करोड ११ लाख ७४ हजार रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ४५ करोड ५९ लाख २३ रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७०.९१ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ५.३६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँबाट घटेर ८.६२ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३.३० रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ७.९४ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ५.०६ प्रतिशत खराब कर्जा थियो । प्रभु बैंकका अध्यक्ष किशोर जंग कार्कीले पछिल्लो समय बैंकमा देखिएका अप्रत्याशित घटनाका बाबजुद बैंकको कामकारबाही र वित्तीय अवस्था सामान्य र स्थिर रहेको बताए । बैंकका नवनियुक्त सीईओ सुमन शर्माले गर्नुपर्ने काम र जिम्मेवारी बैंक तथा वित्तीय संस्था ऐनमै स्पष्ट उल्लेख रहेको उनको भनाइ छ ।  अध्यक्ष कार्कीका अनुसार सीईओ, डीसीईओलगायत केही कर्मचारी छानबिनमा परेपछि जनमानसमा अन्योल र आशंका देखिनु स्वाभाविक भए पनि सञ्चालक समितिले समयमै वैकल्पिक व्यवस्था गरेकाले बैंकको कामकाजमा असर पर्न दिइएन । ‘बैंक अहिले पनि ठिकठाक चलिरहेको छ । सबै सूचक सामान्य अवस्थामा छन्,’ उनले भने । उनले बैंकमा सुधार प्रक्रिया निरन्तर चलिरहने उल्लेख गर्दै वर्तमानभन्दा अझ राम्रो प्रदर्शनका लागि दीर्घकालीन दृष्टिकोणसहित रणनीतिक कार्ययोजना कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘हामीसँग रणनीतिक कार्ययोजना छन् । तिनलाई समयसापेक्ष सुधार र परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ,’ अध्यक्ष कार्कीले भने । नवनियुक्त सीईओ शर्माले नीति, संरचना र कार्यान्वयनका पक्षमा रहेका कमजोरी, चुनौती र सम्भावनालाई सूक्ष्म रूपमा विश्लेषण गर्दै सुधारका कदम चाल्नुपर्ने उनको धारणा छ । बैंकभित्रका आन्तरिक समस्या र अवसर पहिचान गरी संस्थालाई थप सुदृढ बनाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा रहेको उनले बताए ।  ‘सीईओ, डीसीईओ पक्राउ परेपछि पनि बैंकप्रति जनताको विश्वास घटेको छैन । सूचकहरूले नै त्यो कुरा पुष्टि गर्छन् । अब त्यो विश्वास अझ मजबुत बनाउनुपर्छ,’ उनले जोड दिए । अध्यक्ष कार्कीले बैंकले पछिल्ला तीन वर्षदेखि लाभांश वितरण गर्न नसकेको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए । यसका कारणहरू भए पनि त्यसैलाई बहाना बनाएर पन्छिन नमिल्ने उनको भनाइ छ । ‘कतिपय बैंकले लाभांश दिइरहेका छन् । त्यसैले व्यवस्थापनले पनि यसतर्फ गम्भीर सोच्नुपर्छ,’ उनले भने । सञ्चालक समिति र व्यवस्थापनबीचको भूमिकाबारे स्पष्टता दिँदै उनले बैंक तथा वित्तीय संस्था ऐनले दुवै पक्षको जिम्मेवारी स्पष्ट पारेको उल्लेख गरे । सञ्चालक समितिको भूमिका नीति निर्माण र अनुगमन गर्ने र व्यवस्थापनको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा नीति कार्यान्वयन गर्ने रहेको उनले बताए । ‘सञ्चालक समिति र व्यवस्थापनको उद्देश्य एउटै हो– बैंक र सेयरधनीको हित तथा कर्पोरेट गभर्नेन्सको सुदृढीकरण,’ अध्यक्ष कार्कीले भने, ‘नयाँ सीईओले बैंकलाई लाभांश दिन सक्ने अवस्थामा पुर्‍याउन केन्द्रित भएर काम गर्ने विश्वास छ ।’ बैंकका एक उच्च व्यवस्थापक कर्मचारीले नवनियुक्त सीईओ सुमन शर्मा सक्षम, अनुभवी र प्रोफेशनल बैंकर भएको बताउँदै बैंकभित्र देखिएका समस्या समाधान गर्न उहाँ उपयुक्त व्यक्ति भएको बताए । उनका अनुसार शर्मा कम्प्लायन्स र नीति–नियम पालनामा कडाइ गर्ने बैंकर हुन् र विगतमा विभिन्न बैंकको सीईओका रूपमा काम गरिसकेको अनुभव बैंकका लागि हितकारी हुने छ ।  समग्र बैंकिङ क्षेत्रमा कर्जा असुली मुख्य चुनौती रहे पनि प्रभु बैंकसँग सक्षम टिम भएकाले नेतृत्व सशक्त भए अब सुधार सम्भव हुने विश्वास व्यक्त गरिएको छ । राष्ट्र बैंकको मापदण्ड अनुसार बैंकका अधिकांश सूचक सामान्य अवस्थामा रहे पनि खराब कर्जा करिब ८ प्रतिशत पुगेको र विगत तीन वर्षदेखि लाभांश दिन नसकिएको स्वीकार गर्दै आगामी दिनमा कर्जा असुली र नयाँ लगानी विस्तारमा जोड दिइने व्यवस्थापनको भनाइ छ । समग्र बैंकिङ क्षेत्रमा कर्जा असुली प्रमुख चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै उनले यो समस्या प्रभु बैंक मात्र नभई सम्पूर्ण बैंकिङ क्षेत्रले भोगिरहेको बताए । राष्ट्र बैंकको मापदण्ड अनुसार बैंकका सूचक सामान्य अवस्थामा रहे पनि खराब कर्जा करिब ७.९४ प्रतिशत पुगेको र विगत तीन वर्षदेखि लाभांश वितरण हुन नसकेको स्वीकार गरिएको छ । व्यवस्थापनले आन्तरिक तथा बाह्य चुनौती सामना गर्न कर्जा गुणस्तर सुधार, जोखिम व्यवस्थापन मजबुत बनाउने, मानव स्रोत विकास, डिजिटल प्रणाली सुदृढीकरण र गैर–ब्याज आम्दानी वृद्धि जस्ता रणनीति अवलम्बन गरेको जनाएको छ । सक्षम टिम र नयाँ नेतृत्वका कारण आगामी दिनमा बैंकको अवस्था सुधार हुनेमा व्यवस्थापन आशावादी छ ।

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् ।    निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग बिहीबार गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए ।  टिकटकसँग सम्झौता गरेपछि यसका माध्यमबाट आचारसंहिता उल्लङ्घन, मिथ्या सूचना रोक्न सहयोग पुग्ने विश्वास गरिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । टिकटकले निःशुल्क रूपमा निर्वाचनमा हुने दुरुपयोग रोक्न सहयोग गर्न लागेकामा उनले धन्यवाद दिए ।    कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति र सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्र आदानप्रदान गरेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता कायम गर्न यसबाट सहयोग पुग्ने विश्वास गरिएको छ । निर्वाचनमा स्वच्छता प्रवर्द्धन तथा आयोगको क्षमता अभिवृद्धिका लागि टिकटकले सहयोग गर्ने भएको छ । साझेदारीले निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सर्वसाधारणको पहुँचमा सूचनाको पहुँच पुर्याउन सहयोग पुग्ने विश्वास आयोगले गरेको छ ।    समझदारीले निर्वाचनलाई असर पार्नसक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।  

स्विङ क्षेत्र काठमाडौं–८ मा विराजभक्तले जोगाउलान् त विरासत ?

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ फेरि एकपटक चुनावी बहसको केन्द्रमा छ । राजधानीको सबैभन्दा कोरभित्र पर्ने यो क्षेत्रलाई राजनीतिक रूपमा स्विङ क्षेत्रका रूपमा हेरिँदै आएको छ । यस क्षेत्रका मतदाताको निर्णय प्रत्येक निर्वाचनपिच्छे बदलिँदै आएको देखिन्छ । विगतका निर्वाचन परिणाम हेर्दा काठमाडौं– ८ मा कुनै एक दलको निरन्तर वर्चस्व स्थापित हुन सकेको देखिँदैन । २०६३ पछि काठमाडौंलाई १० निर्वाचन क्षेत्रमा विभाजन गरियो । त्यसपछि यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर वडाहरू समावेश गरिएको छ । यस्तै, नागार्जुन नगरपालिकाका ४ र ५ वडा यस क्षेत्रमा पारिएको छ । काठमाडौंलाई १० निर्वाचन क्षेत्रमा विभाजन गरिएपछि २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशी यस क्षेत्रबाट निर्वाचित भएर पहिलो संविधान सभामा प्रतिनिधित्व गरेका थिए । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा पनि जोशी नै निर्वाचित भए ।  २०७४ मा भने नेकपा एमालेले कांग्रेसलाई पराजित गर्दै सिट आफ्नो पक्षमा पारेको थियो । यस निर्वाचनमा जीवनराम श्रेष्ठ निर्वाचित भए । यी नतिजाले कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा यस क्षेत्रमा लामो समयदेखि चल्दै आएको देखिन्छ । तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनले काठमाडौं–८ को राजनीतिक चरित्रमा नयाँ मोड ल्यायो । परम्परागत ठूला दललाई पछि पार्दै वैकल्पिक धारका उम्मेदवारले सफलता हासिल गरेपछि यस क्षेत्रका मतदाताले नयाँ अनुहार र फरक राजनीतिक एजेन्डालाई पनि अवसर दिन सक्ने सन्देश गएको थियो । २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी भएका थिए । यसले काठमाडौं–८ लाई केवल कांग्रेस–एमालेको प्रतिस्पर्धामा सीमित नराखी बहुपक्षीय प्रतिस्पर्धाको क्षेत्रका रूपमा स्थापित गरिदिएको छ । हाल यस क्षेत्रमा पर्ने अधिकांश स्थान विगतमा एमालेकी साहना प्रधानले जितिरहेको क्षेत्र पर्दछ । २०४८ र ०५१ मा गरेर दुई पटक प्रतिनिधि सभा सदस्यमा प्रधानले जित हासिल गरेकी थिइन् । ०५६ मा भने एमालेकै अष्टलक्ष्मी शाक्य विजयी भएकी थिइन् । स्थानीय सावित्रा राजभण्डारीका अनुसार यस क्षेत्रका हरेक टोल र वडामा कांग्रेस, एमाले र रास्वपाको उस्तैउस्तै प्रभाव र पकड रहेको छ । यी दलबाहेक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तथा स्वतन्त्र समूहको उपस्थिति कमजोर नरहेको राजभण्डारीले जानकारी दिइन् । यही कारण आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको व्यक्तित्व, स्थानीय मुद्दाप्रतिको पकडले निर्णायक भूमिका खेल्ने राजभण्डारीको तर्क रहेको छ । आगामी निर्वाचनलाई हेर्दा काठमाडौ–८ मा पुनः कडा प्रतिस्पर्धा हुने लगभग निश्चित देखिन्छ । परम्परागत दलहरू आ-आफ्नो संगठन बलियो बनाउन प्रयासरत छन् । नयाँ र वैकल्पिक शक्तिहरूले अघिल्लो निर्वाचनको सफलतालाई निरन्तरता दिन खोजिरहेका छन् । सबै दलले यस क्षेत्रका मतदाताको मन जित्न विकास, सुशासन र सहरी व्यवस्थापनजस्ता मुद्दा मुख्य एजेन्डा बनाउने अनुमान गरिएको छ । विगतको उतारचढावपूर्ण नतिजा र वर्तमान राजनीतिक अवस्थालाई हेर्दा काठमाडौं–८ को चुनावी परिणाम अन्तिम समयसम्म अनिश्चित रहने सम्भावना उच्च छ । यही अनिश्चितताले यो क्षेत्रलाई आगामी निर्वाचनको सबैभन्दा चासोका साथ हेरिने निर्वाचन क्षेत्रमध्ये एक बनाएको छ ।  यस क्षेत्रका निवर्तमान सांसद विराजभक्त श्रेष्ठ दोस्रोपटक लोकप्रिय मतसहित पुनः प्रतिनिधि सभा पुग्ने लक्ष्यसहित निर्वाचनमा होमिएका छन् । गत निर्वाचनमा ८ हजार १०४ मतसहित निर्वाचित श्रेष्ठ यस पटकका पनि प्रबल दावेदार हुन् । अघिल्लो निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट मैदानमा उत्रिएका सुमन सायमी नेकपा प्रवेश गरेर मैदानमा उत्रिएका छन् । अघिल्लोपटक उपविजेता बनेका सायमी अहिले जित निकाल्न चाहन्छन् । पहिलोपटक प्रतिनिधि सभाको मैदानमा देखिएका एमालेका राजेश शाक्य ०४८ देखिको विरासत फर्काउने ध्यानमा छन् । स्थानीय स्तरमा निकै सक्रिय साहना शाक्य र अष्टलक्ष्मीको विरासत फर्काउने मेसोमा उनी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसले नवीन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारीलाई उम्मेदवार बनाएको छ । राजभण्डारीले पनि आफ्ना श्रीमानले दुईपटक जितेको स्थानमा पुन जित निकाल्न चाहन्छिन् ।  २२ प्रतिस्पर्धी उम्मेदवारहरू विभिन्न दल र स्वतन्त्र हैसियतमा मैदानमा रहेको यस क्षेत्रमा रास्वपा, एमाले र कांग्रेस मुख्य दाबेदार रहेको नागार्जुन ५ का प्रकाश गिरी बताउँछन् । सामान्यतया निर्वाचन यिनै दलका अगाडि पछाडि नै घुमेको जस्तो देखिन्छ । कालीमाटीका सरोज श्रेष्ठ भने यो क्षेत्रका मतदाताको ट्रेण्ड बागी रहेकोले अहिलेसम्म नामै नसुनिएको उम्मेदवार पनि अगाडि आउन सक्ने दाबी गर्छन् । यस क्षेत्रका उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नवीन शाही, जनता समाजवादी पार्टी (जसपा) बाट सरोजराज वैद्म, नेपाल मजदुर किसान पार्टीबाट बन्दना श्रेष्ठ उम्मेदवार रहेका छन् । यसैगरी, दिनेश शाहीले नेपाल जनता संरक्षण पार्टीबाट उम्मेदवारी दिएका छन् । रेशमबहादुर सुनार संयुक्त नागरिक पार्टीबाट मैदानमा छन् । राजेन्द्रप्रसाद शाहले नेपाल कम्युनिष्ट पार्टी संयुक्त र शिव सुन्दर कर्माचार्यले श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएका छन् ।     सलाम सिंह लामा, राजन खड्गी, विजय डंगोल, छत्र कुमार पाख्रिन, मुक्तिनाथ शर्मा,  खगेश रंजितकार, मुना न्यौपाने पाण्डे, तुलसा श्रेष्ठ महर्जन, विकास खड्गी, सुनिता महर्जन र सुशीला नेपालीले स्वतन्त्र उम्मेदवारी दिँदै मैदानमा छन् ।    

कामना सेवा विकास बैंकको ३५ करोडको अग्राधिकार सेयर बाँडफाँड सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशत अग्राधिकार सेयर बाँडफाँड सम्पन्न गरेको छ । बैंकले निष्काशन गरेको 'केएसबीएलएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर' को बाँडफाँड बुधबार सम्पन्न गरेको हो । ३५ करोड रुपैयाँ बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रूपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो, जसले नेपाली पूँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताहरूको उच्च विश्वास र आकर्षणलाई प्रतिबिम्बित गर्दछ । परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरू (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषबाहेक) का लागि माघ १२ गतेदेखि १५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो । उक्त अवधिभर विभिन्न संघ–संस्थाहरूको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ । अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर (असञ्चिति) रहेको यो अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरूमा पहिलो पटक जारी गरिएको हो । यस अग्राधिकार सेयर निष्काशनको कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेडलगायत सम्पूर्ण नियमनकारी निकायहरू, आवेदनकर्ता, प्रेस तथा सञ्चारकर्मी, निष्काशन बैंकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवालाप्रति बैंक परिवार तथा निष्काशन तथा बिक्री प्रबन्धकले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।