विकासन्युज

स्रोत नखुलेको नगद आठ लाखसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद  रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई  पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।     

सेतो मूला किलोको २५ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।      समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३२, आलु रातो प्रतिकिलो रु २३ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।      यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।      त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १२०, मटरकोसा प्रतिकिलो रु ८५, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ११०, तिते करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु ११०, चिचिन्डो प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ५५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।      रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।      कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु ११०, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ३५, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।      स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु २३०, कागती प्रतिकिलो रु ३२०, अनार प्रतिकिलो रु ३६०, अङ्गुर (हरियो) प्रतिकिलो रु २३०, अङ्गुर (कालो) प्रतिकिलो रु ३६०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९०, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।      यसैगरी, एभोकाडो प्रतिकिलो रु ७५०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २३०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १४०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।    

वायु प्रदूषणका कारण नेपालमा बर्सेनि ४० हजार बढीको मृत्यु, विद्युतीय ऊर्जामा जोड दिन आग्रह

काठमाडौं । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले आज हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरणको प्रयोग गर्न सुझाव दिएका हुन् ।  वातावरणविद् भुषण तुलाधरले घरमा हुने वायु प्रदूषण घटाउन भान्सामा ग्यासको सट्टा विद्युत् प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले प्लास्टिकलगायतका फोहर नजलाउन, औद्योगिक क्षेत्र र धेरै प्रदूषण हुने स्थानमा जाँदा तथा हिँडडुल गर्दा मास्कको प्रयोग गर्न सुझाव दिए । वातावरणविद् शिलशिला आचार्यले परम्परागत ज्ञान र सीपलाई आधार मानेर अभ्यासमा ल्याउन सके वातावरण संरक्षणमा टेवा पुग्ने धारणा राखे । उनले वातावरणलाई स्वास्थ र समाजसँग जोडेर अघि बढ्न आवश्यक रहेको बताए ।  समाजका अध्यक्ष महेशकुमार श्रेष्ठले स्वास्थ्य, शिक्षा, वातावरण र संस्कृतिका विषयमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बताए । समाजका उपाध्यक्ष एवं शिक्षाविद् उत्तमराज त्रिपाठी र महासचिव इञ्जिनियर मोहन पौडेलले वातावरण संरक्षण र प्रदूषण कम गरी जीवन्त हाँडीगाउँ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिए ।  कार्यक्रममा भान्सामा ग्यासको सट्टा विद्युत्को प्रयोग बढाउन सके तुलनात्मक रूपमा खर्च कम हुने र वायु प्रदूषण कम हुनेबारे जानकारी दिइएको थियो । यस्तै, वायु प्रदूषणका कारण नेपालमा प्रतिवर्ष ४० हजारभन्दा बढीको मृत्यु हुने गरेको जानकारी दिइएको बताइएको छ । 

'विश्वका खाली तेल ट्यांकरहरू अमेरिकातर्फ आउँदैछन्, हामीले हर्मुज मार्ग सुरक्षित बनाउँदैछौं' : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनावका बीच विश्वका विभिन्न देशबाट खाली तेल ट्यांकरहरू तेल भर्नका लागि अमेरिकातर्फ आइरहेको दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले अमेरिकाको तेल भण्डार विश्वकै उत्कृष्ट रहेको र यसले विश्वव्यापी मागलाई सम्बोधन गरिरहेको उल्लेख गरे ।  इरानसँगको युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध र मूल्य वृद्धि भइरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो । उनले लेखेका छन्, ‘अचम्मको कुरा के छ भने, विश्वका ठूला र खाली तेल ट्यांकरहरू अहिले अमेरिकातर्फ आइरहेका छन्, जहाँ उनीहरू यहाँको उत्कृष्ट र स्विटेस्ट तेल भर्न चाहन्छन् ।’ राष्ट्रपति ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलडमरू मार्गलाई अमेरिकी सेनाले सफा गर्ने (क्लियरिङ) प्रक्रिया सुरु गरेको समेत बताए । इरानले उक्त मार्गमा बिछ्याएका माइनहरू र अवरोधहरू हटाउन अमेरिकाले नेतृत्व लिइरहेको उनको दाबी छ । चीन, जापान, दक्षिण कोरिया, फ्रान्स र जर्मनी जस्ता देशहरूको नाम लिँदै ट्रम्पले ती देशहरूको हितका लागि अमेरिकाले यो जोखिमपूर्ण काम गरिरहेको बताए । ‘ती देशहरूसँग आफैं यस्तो कार्य गर्ने साहस वा इच्छाशक्ति छैन, त्यसैले हामीले यो सहयोग गरिरहेका छौं,’ उनले भने । एक महिनाभन्दा बढी समयदेखि जारी यो द्वन्द्वले विश्व अर्थतन्त्रमै असर परेपछि अहिले दीर्घकालीन युद्धविरामका लागि कूटनीतिक पहलहरू तीव्र पारिएका छन् । यसै सिलसिलामा अमेरिका र इरानका उच्चस्तरीय प्रतिनिधिमण्डलहरू पाकिस्तानको राजधानी इस्लामावादमा भेटेर औपचारिक वार्ता सुरु गरेका छन् । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानी टोलीको नेतृत्व त्यहाँका सभामुख मोहम्मद बागेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन् । 

इन्धन र निर्माण सामग्रीको मूल्य आकाशिएपछि निर्माण उद्योग संकटमा, सरकारसँग आपत्काल घोषणाको प्रस्ताव

काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ । परिषद्ले आज विज्ञप्ति जारी गरी निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको जनाउँदै आपत्काल घोषणा गर्न माग गरेको हो ।  मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीमा पटक-पटक भएको मूल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेका छन्, इन्धन मात्र नभई बिटुमिन, सिमेन्ट, डण्डीलगायत अन्य अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा निरन्तर भइरहेको मूल्य वृद्धि र बजारमा देखिएको अभावले निर्माण व्यवसायीहरू मारमा परेका छन्, विज्ञप्तिमा भनिएको छ । हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने देखिएकाले तत्काल ‘मूल्य समायोजनको मार्ग निर्देशिका-२’ जारी गर्नुपर्ने र सबै अवधिका ठेक्काहरूको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य वृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीका समस्या तुरुन्त सम्बोधन गर्नुपर्ने परिषद्को भनाइ छ । 

गृहमन्त्री गुरुङद्वारा घोप्टे भिरको निरीक्षण, पहिरोको समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने चितवनको जोखिमपूर्ण घोप्टे भिरको स्थलगत अवलोकन गरेका छन् ।  हरेक वर्ष वर्षायाममा जाने बाढी र पहिरोका कारण यात्रुहरूले सास्ती झेल्दै आएको गुनासो बढेपछि मन्त्री गुरुङले उक्त क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।  अवलोकनका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले घोप्टे भिरको भौगोलिक जटिलता र त्यहाँ बर्सेनि दोहोरिने समस्याका कारण यातायात सञ्चालनमा हुने अवरोधबारे गृहमन्त्रीलाई व्रिफिङ गरेका थिए ।  सिडिओ अर्यालले भने, ‘हरेक वर्ष यहाँ बाढी र लेदोसहितको पहिरो खस्दा यात्रुहरूले घण्टौँसम्म सास्ती पाउनुका साथै ज्यानको जोखिम समेत रहने गरेको छ । यसको दीर्घकालीन समाधान खोजिनु आवश्यक छ ।’ स्थानीय प्रशासन र प्राविधिक टोलीको कुरा सुनिसकेपछि गृहमन्त्री गुरुङले नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको बताए । उनले जोखिमयुक्त उक्त क्षेत्रको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न तत्काल ठोस कदम चाल्न मातहतका निकायलाई निर्देशन दिए ।

देशको अर्थतन्त्रको आधार नै निजी क्षेत्र हो: सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको समग्र आर्थिक विकासको निम्ति सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर जानुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसदहरुले निजी क्षेत्रको पुँजीलाई बलियो बनाउन सकेको खण्डमा मात्रै देशले आर्थिक विकासको गति लिनुपर्नेमा जोड दिएका हुन् ।  रास्वपाका सांसद मनिष झाले सरकारले निजी क्षेत्रबाट सञ्चालित साना लगानीका उद्यमलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास व्यक्त गरे । उनले भने, ‘निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सक्दा मात्रै मुलुकको अर्थतन्त्र बलियो हुन सक्छ, देशको अर्थतन्त्रको आधार भनेकै निजी क्षेत्र हो, त्यसैले सरकारले पनि निजी क्षेत्रको पुँजी बलियो बनाउनेतर्फ बढी जोड गर्नुपर्छ ।’ रास्वपाका अर्का सांसद सुशान्त वैदिकले सरकारले उद्यमशीलताको विषयलाई प्राथमिकता दिएको बताए । सरकारले जारी गरेको १०० कार्ययोजनामा उद्यमशीलतालाई जोड दिएको उनको भनाइ छ ।  उनले भने, ‘गाउँघरमा सञ्चालन गरिएका साना लघु उद्यमको देशतन्त्र उकास्न सबैभन्दा ठूलो भूमिका खलेको हुन्छ, त्यसैले देशको आर्थिक रुपान्तरण गर्न देशमा सामाजिक न्यायसहितको आर्थिक उन्नति हासिल गर्न गाउँगाउँकका साना तथा मझौला उद्योगको विकासमा जोड दिनुपर्छ ।’

ट्याक्टर दुर्घटना हुँदा मनिष कुमालको मृत्यु, २ गम्भीर घाइते

 कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी-तुम्लिंटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो भएको दुर्घटनामा घाइते भएका तीन जनामध्ये खाँदबारी-९ तुम्लिंटारका ११ वर्षीय मनिष कुमालको मनकामना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार दुर्घटनामा घाइते खाँदबारी-९ तुम्लिंटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमालको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । तुम्लिंटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो । लगत्तै नेपाली सेना, इन्द्र गुल्मको टोलीले घाइतेको उद्धार गरेर मनकामना सामुदायिक अस्पताल पठाएको थियो । दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् ।