होटल व्यवसायी महासंघको अध्यक्षमा टिआर भण्डारी निर्विरोध निर्वाचित
काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशबाट टी.आर. भण्डारी (शंकर) निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको महाधिवेशनले टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट सिंगो कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले पर्यटन तथा होटल क्षेत्रलाई अझ प्रतिष्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकता दिने बताए । महासंघले देशभरका होटल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ । पर्यटन क्षेत्रका सरोकारवालाहरूले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबीच समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौंमा विमोचित भयो स्रष्टा जीवन शर्माको नयाँ गीत ‘जीवन रहरमै’
काठमाडौं । सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ । साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल–सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन् । सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रहेको गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर समावेश छ । गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको आयोजकले जनाएको छ । मिलाप मासिक र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वरिष्ठ गीतकार चूडामणि देवकोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा तारेकेश्वर कला प्रतिष्ठान, डिआर म्युजिक क्रियशन र युथ क्रियशनलगायत संस्थाले पनि स्रष्टा शर्मालाई सम्मान गरेका थिए । प्रमुख अतिथि तथा सभापतिसहित महाकाव्यकार खेमनाथ दाहाल, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी, रमेश थापा, निर्देशक रामशरण कोइराला, लव प्याकुरेललगायतले फूल, माला, दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरेका थिए । गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, प्राडा. गोविन्दमान सिंह कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ समालोचक प्रमोद प्रधान, महाकाव्यकार खेमनाथ दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समारोहमा स्रष्टा शर्माले सानैदेखि गीत–संगीतप्रति लगाव रहेको उल्लेख गर्दै नेपालमा पाएको सम्मानले थप जिम्मेवारी बढाएको बताए । उनलाई बुधबार काठमाडौंमा सगरमाथा म्युजिक अवार्ड पनि प्रदान गरिएको थियो । समापन मन्तव्यका क्रममा सभापति लेकालीले नेपाल र सिक्किमबीचको साहित्यिक आदान–प्रदानको महत्त्व औंल्याउँदै यस्ता कार्यक्रमले सिर्जनशील सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । स्रष्टा जीवन शर्माका ४० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् भने उनका केही उपन्याससमेत पाठकमाझ आइसकेका छन् । कार्यक्रममा साहित्यकार, पत्रकार, कलाकार तथा सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
राजेश हमालद्वारा माइडिया एक्टिम प्लस इन्भर्टर एसी सार्वजनिक
काठमाडौं । नेपालको एयर कन्डिसनिङ बजारमा नयाँ प्रविधिको सुरुवात गर्दै विश्वकै स्मार्ट मानिएको माइडिया एक्टिम प्लस इन्भर्टर एसी औपचारिक रूपमा सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा अभिनेता राजेश हमालले उक्त एसी अनावरण गरेका हुन् । कार्यक्रममा उद्योगका प्रमुख प्रतिनिधि, व्यवसायिक साझेदार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । माइडियाले नयाँ उत्पादनमार्फत आधुनिक जीवनशैलीअनुसार स्मार्ट र शक्तिशाली कूलिङ समाधान उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ । कार्यक्रममा बोल्दै हमालले माइडिया एक्टिम प्लस नेपाली घरपरिवारका लागि उपयोगी प्रविधि भएको उल्लेख गर्दै ऊर्जा खर्च बढिरहेको र गर्मी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा स्मार्ट तथा प्रभावकारी समाधान आवश्यक रहेको बताए । नयाँ माइडिया एक्टिम प्लस एसी अत्याधुनिक डीसी इन्भर्टर प्रविधि र एआई–आधारित प्रदर्शन अनुकूलन प्रणाली सहित तयार गरिएको कम्पनीले जनाएको छ । चिसो तथा तातो दुवै मौसमका लागि उपयुक्त यो एसीले आरामदायी तापक्रम कायम राख्दै ऊर्जा बचत तथा उच्च प्रदर्शन प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार यसमा जडित एआई ऊर्जा अनुकूलन प्रणाली ले अनुकूल प्रयोग अवस्थामा ७५ प्रतिशतसम्म ऊर्जा बचत गर्न मद्दत गर्छ । प्रयोगकर्ताले माइडिया स्मार्ट होम एप मार्फत वास्तविक समयमै बिजुली खर्च ट्र्याक गर्न सक्ने सुविधा पनि रहेको छ । यसमा स्मार्ट कनेक्टिभिटी सुविधा उपलब्ध भएकाले स्मार्टफोन, ट्याब्लेट, स्मार्ट स्पिकर तथा स्मार्टवाचमार्फत सेटिङ नियन्त्रण गर्न सकिन्छ । प्रि–कुलिङ, तापक्रम समायोजन र भ्वाइस कन्ट्रोलजस्ता सुविधाले प्रयोगलाई अझ सहज बनाउने कम्पनीको दाबी छ । नेपालको विविध मौसमलाई ध्यानमा राखेर डिजाइन गरिएको यो एसी ५५ डिग्री सेल्सियससम्मको तापक्रममा पनि सञ्चालन गर्न सक्ने क्षमता राख्छ । साथै ९० देखि २६५ भोल्टसम्मको भोल्टेज रेंज भएकाले शहर तथा ग्रामीण क्षेत्रमा हुने भोल्टेज उतारचढावमा पनि सहज सञ्चालन हुने बताइएको छ । एसीमा समावेश एयर म्याजिक टेक्नोलोजी माइडिया ग्रुपको पेटेन्टेड प्रविधि हो, जसले हावामा रहेका ब्याक्टेरिया तथा भाइरसको मात्रा कम गरी वातावरणलाई सफा र स्वास्थ्यकर बनाउन सहयोग पुर्याउने कम्पनीले जनाएको छ । नेपालका लागि माइडियाको आधिकारिक वितरक एयर एक्सपर्ट्सका निर्देशक नवीन भन्सालीले यो केवल उत्पादन सार्वजनिक गर्ने कार्यक्रम नभई नेपाली उपभोक्तालाई सुविधा र प्रभावकारिताको नयाँ स्तर प्रदान गर्ने पहल भएको बताए । नेपालमा दुई दशकभन्दा बढी समयदेखि उपस्थित माइडियाले विश्वसनीयता र नवप्रवर्तनमा बलियो पहिचान बनाएको उल्लेख गर्दै कम्पनीले एक्टिम प्लस इन्भर्टर एसीमार्फत नेपाली बजारमा स्मार्ट र भविष्यउन्मुख कूलिङ समाधान विस्तार गर्ने जनाएको छ ।
अमेरिका-इरान वार्ता निष्कर्षविहीन, उपराष्ट्रपति भान्सद्वारा ‘अन्तिम प्रस्ताव’ पेस
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा भएको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता कुनै ठोस सहमति विना नै टुङ्गिएको छ । दुई देशबीच जारी तनाव कम गर्ने उद्देश्यले आयोजना गरिएको उक्त वार्ता निष्कर्षविहीन बनेको हो । अमेरिकी टोलीको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्सले वार्तामा कुनै पनि सहमति जुट्न नसकेको पुष्टि गरेका छन् । झन्डै एक दिनसम्म चलेको निरन्तरको संवाद र छलफलपछि अमेरिकाले आफ्नो तर्फबाट ‘अन्तिम प्रस्ताव’ पेस गरेको थियो । तर, उक्त प्रस्तावमा इरानी पक्ष सहमत नभएपछि वार्ता टुङ्गिएको भान्सले बताए । उपराष्ट्रपति भान्सका अनुसार वार्ता सकारात्मक र सद्भावपूर्ण वातावरणमा भएको थियो । अमेरिकाले राखेको अन्तिम प्रस्तावलाई इरानी पक्षले स्वीकार नगरेका कारण वार्ता उपलब्धिमूलक हुन सकेन । वार्ता निष्कर्षविहीन भएसँगै दुई देशबीचको कूटनीतिक सम्बन्ध र युद्धको अवस्था आगामी दिनमा कुन दिशामा जान्छ भन्ने विषय थप अन्योलपूर्ण बनेको छ । लामो समयदेखि युद्धको चपेटामा रहेका यी दुई राष्ट्रबीचको यो वार्तालाई विश्व समुदायले निकै चासोका साथ हेरेको थियो । पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै इस्लामावादमा यो संवादको वातावरण जुराएको थियो ।
सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीले लिइरहेका छन् सेवा
काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले स्थापना भएको १२ वर्ष पूरा गरेको छ । सन् २०१४ मा स्थापना भएको कम्पनीले प्रोडक्ट-आधारित तथा कस्टमाइज्ड सफ्टवेयर समाधानमार्फत विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको छ । कम्पनीका अनुसार विधिको एचआर तथा पेरोल सफ्टवेयर हाल नेपालभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन् । त्यसैगरी, कम्पनीको ईआरपी समाधान निर्माण तथा जलविद्युत् क्षेत्रमा विशेष रूपमा लोकप्रिय बन्दै गएको छ, जहाँ १०० भन्दा बढी कम्पनीहरूले यसको प्रयोग गरिरहेका छन् । निर्माण क्षेत्रमा शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्सजस्ता ठूला कम्पनीहरू विधिको ईआरपी प्रणालीका प्रमुख प्रयोगकर्तामा पर्छन् । यस्तै, जलविद्युत् क्षेत्रमा अपर त्रिशूली, भुगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावरजस्ता परियोजनाहरूले पनि विधिका समाधान अपनाएका छन् । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले १२ वर्ष पूरा गर्नु गौरवको विषय भएको बताए । ‘प्रविधिको विकाससँगै व्यवसायहरूलाई प्रविधिमार्फत सहजता प्रदान गर्ने हाम्रो यात्रा १२ वर्ष पूरा भएको छ,’ उनले भने, ‘यस अवधिमा योगदान पुर्याउने सम्पूर्ण टिम, ग्राहक तथा साझेदारप्रति आभार व्यक्त गर्दछु ।’ उनले आगामी दिनमा एचआर तथा पेरोल र ईआरपी प्लेटफर्ममा एआई-आधारित सुविधा थप्ने तयारी भइरहेको जानकारी दिए । यसअन्तर्गत पेरोल प्रोसेसिङमा स्वचालन, एआई-आधारित उपस्थिति व्यवस्थापन, कार्यबल विश्लेषण तथा व्यवसायलाई छिटो र प्रभावकारी निर्णय लिन सहयोग गर्ने प्रिडिक्टिभ इनसाइट्स समावेश गरिनेछ । कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य पनि राखेको छ । विधिले आफूलाई नेपालबाट उदाएको प्रविधि नवप्रवर्तनकर्ताका रूपमा स्थापित गर्दै विश्व बजारमा स्केलेबल तथा एआई-समर्थित समाधान प्रदान गर्ने योजना बनाएको जनाएको छ ।
अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
इनरुवा । जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ । नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै पसल व्यवसाय हटाउने कार्य सुरु गरिएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए । नगरपालिकाको कार्यालयले पटकपटक सूचना जारी गर्दा नहटाएपछि नगरपालिकाको डोजरले हटाइएको उनले बताए । पछिल्लोपटक नगरपालिकाले यही चैत ५ गते अतिक्रमित क्षेत्र खाली गरिदिन अनुरोधसहितको सातदिने सूचना जारी गरेको थियो । कार्यालयको सूचनालाई अटेर गरेपछि आफैँले अतिक्रमित सडक क्षेत्र खाली गराउने अभियान सञ्चालन गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए । पूर्वपश्चिम राजमार्ग खण्डअन्तर्गत इनरुवा बसचोकबाट सुखुवागाछीसम्म अतिक्रमण गरेर जथाभावी कवाडी व्यवसाय सञ्चालन, निर्माण सामग्री राखिएका, पसल व्यवसायका लागि सामान राख्ने गरिएकाले आवतजावतमा समस्या हुनुका साथै कुरुप पनि भएको गुनासो आएपछि राजमार्गका मापदण्डभित्र बनाइएका संरचना, कवाडी सामग्री, निर्माण सामग्री हटाउन सुरु गरिएको नगरप्रमुख भण्डारीले बताए । इनरुवा नगरपालिकाले सुरु गरेको कार्यलाई निरन्तरता दिनग स्थानीयले माग गरेका छन् । इनरुवा बजर क्षेत्रमा पनि सडक अतिक्रमण गरेर पसल सञ्चालन गर्नुका साथै भौतिक संरचना निर्माणका लागि सामग्री राखेकाले बजार क्षेत्रमा समेत खाली गराउनका लागि स्थानीयले माग गरेका हुन् । रासस
पोखरा अन्तरराष्ट्रिय विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित
गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्यत् सबस्टेशनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्विस लेन र फुटफाथ निर्माण हुन नसकेको हो । सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले विद्युत्का पोल हटाउन पटकपटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिए पनि कुनै सुनुवाइ नभएको बताए । विमानस्थलले कुँडहरचोकबाट आफ्नै संरचना बनाएर डेडिकेटेड लाइनमार्फत लगेको विद्युत् उपयोग गर्दै आएको छ । उक्त स्थानमा विद्युतीय तार भूमिगत गर्न संरचना बनाएबापतको भुक्तानी विमानस्थल कार्यालयबाट नहुँदासम्म विद्युत् पोल हटाउन नसकिने जानकारी प्राधिकरणले दिएको इन्जिनियर कुँवरले बताए । नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले विमानस्थल क्षेत्रमा तार भूमिगत गर्न संरचना तयार भइसकेपनि विमानस्थलले भुक्तानी नदिएसम्म सेवा सञ्चालन गर्न नसकिने उल्लेख गरे । विमानस्थलले रु एक करोड ६३ लाख प्राधिरणलाई तिनुपर्ने उनको भनाइ छ । 'विमानस्थलको डेडिकेटेड लाइनलाई भूमिगत संरचनामा लैजाँदाको खर्च प्राधिकरणलाई भुक्तानी भएपछि मात्र भूमिगत सेवा सुरु हुन्छ', उनले भने, 'भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् पोल हट्छन्, सडक आयोजनाले आफैँ पनि हटाउन सक्छ ।' भूमिगत लाइन सुरु नभएका कारण विमानस्थलमा अहिले पुरानै संरचनाको विद्यत् सेवा सञ्चालनमा छ । प्राधिकरणका इन्जिनियर सुवेदीले विमानस्थल व्यवस्थापनबाट रकम जम्मा गरिदिने आश्वासनमात्र आउने गरेको बताए । 'यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसँग शनिबार पोखरामा छलफल भएको छ, मन्त्रालय तहबाट यसको समाधान हुनेमा हामी आशावादी छौँ', उनले भने । निर्माणको भुक्तानी नआएसम्म भूमिगत विद्युतीय लाइन सञ्चालनमा ल्याउँदा पछि कानुनी समस्या पर्न सक्ने भन्दै प्राधिरणले पहिले विमानस्थलले रकम तिनुपर्ने अडान राख्दै आएको छ । कुँडहरचोकबाट विमानस्थल प्रवेशमार्गसम्मको झन्डै एक किमी दूरीमा तार भूमिगत गर्नका लागि प्राधिकरणले संरचना निर्माण गरिसकेको छ । सडक आयोजनाका इन्जिनियर कुँवरले विद्युत् पोलसँगै मापदण्डविपरीतका संरचना शीघ्र हटाउन, खानेपानी पाइप, कटान गरिएका रुखलगायतलाई स्थानान्तरण गर्न सम्बन्धित निकायमा ताकेका गरिएको बताए । सडक आयोजनाको पश्चिम खण्ड (पोखरा-जामुने)को निर्माण चालु आवभित्र सक्ने लक्ष्य लिइएकाले मापदण्डविपरीतका संरचना छिटो हटाउनुपर्ने उनको भनाइ छ । उक्त सडकको ठेक्का अवधि तेस्रोपटक थप भई आगामी असार १५ गतेसम्म कायम भएको छ । हालसम्म सडकको भौतिक प्रगति ७७ दशमलव ४७ र वित्तिय प्रगति ६२ दशमलव २० प्रतिशत पुगेको छ । कुल ३८ दशमलव ७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव २८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६ दशमलव ३२ किमीको सर्विस लेनमा हालसम्म १७ दशमलव ६६ किमी कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए । विसं २०७८ माघमा ठेक्का भई विसं २०८० वैशाखदेखि निर्माण सुरु भएको विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराका मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्न लागिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्वारबाट पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए । अहिले सिर्जनाचोकबाट सभागृह, पृथ्वीचोक, जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उनको भनाइ छ । रासस
अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज
काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय भएको हो । यो दिवसले अन्तरिक्ष विज्ञान तथा प्रविधिको योगदानलाई स्मरण गर्दै दिगो प्रविधिका माध्यमबाट विकास लक्ष्य हासिल गर्न तथा जनताको जीवनस्तर उकास्न जोड दिएको छ । सन् १९६१ अप्रिल १२ मा सोभियत नागरिक युरी गागरिनले पहिलो पटक अन्तरिक्ष उडान सम्पन्न गरेका थिए । उनी पृथ्वीको परिक्रमा गर्ने पहिलो मानव बन्दा अन्तरिक्ष अन्वेषणको नयाँ युगको सुरुआत भएको मानिन्छ । त्यसअघि सन् १९५७ अक्टोबर ४ मा पहिलो मानव निर्मित पृथ्वी उपग्रह ‘स्पुतनिक–१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । यसबाट अन्तरिक्ष अन्वेषणको मार्ग प्रशस्त भएको थियो । त्यसपछिका दशकहरूमा मानव अन्तरिक्ष यात्रामा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । सन् १९६३ जुन १६ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला बनिन् भने सन् १९६९ जुलाई २० मा नील आर्मस्ट्रङले चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो मानवको इतिहास रचिन् । सन् १९७५ जुलाई १७ मा अपोलो र सोयुज अन्तरिक्ष यान जोडेर पहिलो पटक योजनाबद्ध अन्तरराष्ट्रिय मानव अन्तरिक्ष अभियान सफल भएको थियो । संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषण र यसको उपयोग मानवजातिको साझा सम्पत्ति भएको उल्लेख गर्दै त्यसको लाभ सबै राष्ट्रसम्म पुर्याउनुपर्नेमा जोड दिएको छ । रासस