विकासन्युज

वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ ।  कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ । तर, यहाँको राजस्व संकलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा रू ३७ अर्ब ८५ करोड संकलन भएको छ ।  दोस्रो धेरै राजस्व संकलन यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने रू १३ अर्ब ९८ राजस्व संकलन भएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए।  चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रू छ अर्ब ८३ करोड, कपडा आयातबाट रू पाँच अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जाबाट रू चार अर्ब ९१ करोड राजस्व संकलन भएको छ । त्यस्तै मदिराजन्य पेय पदार्थको आयातबाट भने रू एक अर्ब ८३ करोड राजस्व संकलन भएको छ । शृङ्गारको सामानबाट एक अर्ब ८१ करोड राजस्व उठेको छ ।

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

सुरुङ्गा । झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् । अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेको थियो । यसैबीच, तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बाँस्कोटाको उपचारका क्रममा आइतबार नै मृत्यु भएको छ । बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत बाँस्कोटाको आइतबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । माघ २१ गते बिहान अर्जुनधारा–३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र१–०१–०१८ प १६७ नं को स्कुटीले बाटो काट्दै गरेका पैदलयात्री बाँस्कोटालाई ठक्कर दिएको थियो । स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेका छन् । यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो । माघ १ गते एकैदिन तीनजनाको ज्यान गएको थियो, भने त्यसयता जिल्लामा प्रायः दिनहुँजसो सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको छ ।

होटेल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ । माघ २२ गतेदेखि  बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । 

कोरला नाकाबाट अवैध सामान भित्रिनेक्रम बढ्दै, सुरक्षाकर्मीले बढाए गस्ती

काठमाडौं । माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ । लोमान्थाङ-४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र ईलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले १ लाख १७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । लोमान्थाङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारी नेतृत्वको टोलीले अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट बरामद गरिएको अवैध सामान न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको छ । यसअघि गत पुस २७ गते कोरला नाकामा रोकि राखिएको माल बाहक कन्टेनर खानतलासी गर्दा २ करोड २४ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट भेप बरामद गरिएको थियो । सो अवैध सामान मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको थियो । यसैगरी २०८१ पुस २० गते कोरला नाका हुँदै लुकाइ छिपाई जोमसोमतर्फ ल्याउँदै गरेको ६ करोड ८१ लाख रुपैयाँको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो । हिउँद याममा कोरला नाकाबाट अवैध रूपमा चारी/शिकारी र अवैध क्रियाकलाप हुन सक्ने भएकाले सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीले निरन्तर सीमा गस्ती गर्ने गरेका छन् । 

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने, प्रतिमेगावाट १३ करोड लागत

काठमाडौं । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकको बीचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना निर्माणको प्रक्रिया स्वरूप वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम सुरु गरेको छ । म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि आयोजनाको प्रस्तावक रहेको छ । आयोजना नदी प्रवाही प्रकृतिको रहेको छ । आयोजनाबाट वार्षिक रुपमा औसत १७३.४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने विश्वास लिइएको छ । आयोजनाबाट उत्पादित बिजुली १० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन मार्फत धारापानीमा रहेको २२० केभी क्षमताको राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर पठाइनेछ । आयोजनाको कूल लागत ३ अर्ब ९० करोड ९७ लाख रुपैयाँ रहनेछ । यस आधारमा प्रतिमेगावाट लागत १३ करोड ३ लाख रुपैयाँ रहनेछ । वन तथा वातावरण मन्त्रालयले आयोजनाका कारण पर्न सक्ने सम्भावित वातावराीय प्रभावका बारेमा जानकारी दिन सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरेको छ । 

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र, सन् २०२५ मा हालसम्मकै बढी

काठमाडौं । पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी २ लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १०५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’को आँकडाले देखाएको छ । कोभिड-१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो । सन् २००१ देखि सन् २०१० सम्म वार्षिक १ लाखभन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक एक लाख नाघेका थिए । उक्त वर्ष १ लाख १ हजार ९०८ पर्यटक यस क्षेत्रमा भित्रिएका थिए ।  त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९३० पुगेको थियो । त्यसयता वर्सेनि बढ्दै आएको पर्यटक सङ्ख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो । सन् २०२२ पछि भने पुनः पर्यटक सङ्ख्या बढेको देखिन्छ ।  सन् २०२२ मा १ लाख २९ हजार ७२३, सन् २०२३ मा १ लाख ९१ हजार ५५८, सन् २०२४ मा २ लाख ४४ हजार ३९ र गत वर्ष अर्थात् सन् २०२५ मा २ लाख ९९ हजार ८३१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।  गत वर्ष आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ७७ हजार ६२८ र अन्य मुलुकका १ लाख २२ हजार २०३ रहेका ‘एक्याप’का प्रमुख डा. रबिन कडरियाले जानकारी दिए । सन् २०२५ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको उनले बताए ।  ‘पर्यटक आगमन बर्सेनि बढ्दो छ, पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म यस क्षेत्रमा आउने गरेका छन्,’ उनले भने ।  अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायतका गन्तव्यस्थलमा वर्षेनी लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जुनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयबासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।

अमृत कन्स्ट्रक्सनले ६ महिनामै बनायो ​​​​​​​मोटरेबल पुल, लागत साढे ३ करोड रुपैयाँ

काठमाडौं । गोरखाको पालुङटार नगरपालिका-९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम ६ महिनामा नै सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल निर्माणको काम पुस मसान्तमा सम्पन्न भएको हो ।  ३ करोड ४१ लाख ४२ हजार रुपैयाँको लागतमा पुल निर्माणको सम्झौता भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए । उनका अनुसार कार्यालयले ठेकेदार कम्पनीसँग १८ महिनाभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता गरेको थियो ।  ‘निर्माण कम्पनीले ठेक्का सम्झौता भएको ६ महिनाभित्रै काम सम्पन्न गरेको छ,’ उनले भने । पुलको लम्बाइ २० मिटर छ भने चौडाइ ८.४० मिटर रहेको छ । पालुङटारको तल्लो सेरा र माथिल्लो सेरा जोड्ने चुक्तीखोला पुल निर्माण सम्पन्न भएसँगै त्यहाँका स्थानीयले राहतको सास फेरेका छन् । यसअघि पक्की पुल नहुँदा सेराका बासिन्दा काठे पुल हालेर आवतजावत गर्न बाध्य थिए । बर्खाको बेलामा विद्यार्थीलाई विद्यालयसम्म पुग्न पनि कठिनाइ हुने गरेको पालुङटार नगरपालिका-९ का वडाअध्यक्ष भोजराज पाण्डे बताउँछन् ।  ‘जिल्लामा विकास निर्माणका काम जिम्मा लिएर अलपत्र पार्ने प्रवृत्ति कायमै छ । यसरी निर्धारित समय अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने । मोटरेबल पुल बनेपछि आवतजावतसँगै कृषि सामग्री ढुवानी गर्न समेत सहज हुने छ ।

फागुन १५ गतेसम्म रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

काठमाडौं । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ । उक्त सडक खण्ड अन्तर्गत सत्यबती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएको कारण केही समयका लागि सवारी आवागमन बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग अन्तर्गत अति संवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक चौडा गर्ने प्रयोजनका लागि कटिङ्ग गर्नुपर्ने जनाउँदै माघ २६ गतेदेखि फागुन १५ गतेसम्म उक्त सडक आंशिक रुपमा अवरुद्ध हुने भएको हो । उक्त काममा सहजीकरणका लागि सडक डिभिजन कार्यालयले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई समन्वयका लागि पत्राचार अनुरोध गरेको छ । उक्त अवधिमा दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । त्यसैगरी सवारी आवागमन खुला हुने समय प्रत्येक दिन बिहान ९ देखि १० बजे, दिउँसो २ देखि ३ बजे र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन खुला रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा बिहान र दिउँसोको समयमा सोता-तल्लोफाँट-रुपाकोट-दोकुवा-सलाघारी-चोरकाटे तथा साँझदेखि बिहानसम्म मजुवा-दम्का-रुपाकोट-म्यालपोखरी-चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ । उक्त कार्यमा जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गरिदिनसमेत अनुरोध गरेको छ । प्रशासनले सडक स्तरोन्नति कार्यलाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणको सहयोग अपेक्षा गरेको छ ।