विकासन्युज

तेस्रो स्थानका लागि संघर्ष गर्दै एमाले र नेकपा

काठमाडौं । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) र नेपाल कम्यूनिष्ट पार्टी (एमाले)बीच प्रतिस्पर्धा देखिएको छ ।  निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतगणना अनुसार नेकपाले ९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने एमालेले ९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकूम पूर्वबाट विजयी हुने सम्भावना बढी देखिन्छ । एमालेका लिलामणि गौतमले २ हजार ७५६ मत पाउँदा प्रचण्डले ६ हजार ८२० मत पाएका छन् ।  नेकपाका उम्मेदवार वर्षामान पुन (रोल्पा–१), महेन्द्रबहादुर शाही (कालिकोट १), वृजेश कुमार गुम्ता (कपिलबस्तु–२), बीरमान चौधरी (कैलाली–३), नन्दबहादुर साउद (कैलाली–२), भीम बहादुर रावल (अछाम–१), रमेशकुमार मल्ल (सल्लान–१) र दीनानाथ गौतम (काभ्रे–२) को  मतगणनामा अगाडि रहेका छन् ।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी बालेन्द्र शाहको भन्दा कम मत पाइरहेका छन् ।  एमालेका दीपकबहादुर धामी (डोटी–१), मोहम्मद इश्तियाक राई (बाँके–२), कुलमणि देवकोटा (सुर्खेत–२), लक्ष्मी प्रसाद पोखरेल (दैलेख–२), प्रमोद कुमार यादव (रुपन्देही–४), राजेन्द्र कुमार राई (धनकुटा–१) र भानुभक्त ढकाल (तेह्रथुम–१)मा र सुहाङ नेम्वाङ इलाम–२ मा अगाडि रहेका छन् ।  शुक्रबार मध्यान्नसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा विजय हासिल गर्दै ९२ स्थानमा अग्रता लिइरहेको छ भने नेपाली कांग्रेसले एक स्थानमा विजयीसहित ११ स्थानमा अग्रता हासिल गरिरहेको निर्वाचन आयोगले जनाएको छ ।  जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाही अग्रस्थानमा छन् भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाबीर पुन अग्रस्थानमा छन् । बाँकी ४१ वटा निर्वाचन क्षेत्रमा मत गणनाको तयारीका काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।  हालसम्म रास्वपा एक जितसहित ९२ र कांग्रेस एक जितसहित ११ ठाउँमा अगाडि छ । 

धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले अग्रता कायमै राखेकी छन् । हालसम्म गणना भएका मतमध्ये तामाङले ५ हजार ३०९ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भूमि त्रिपाठीले २ हजार ६२४ मत पाएका छन् ।  यस्तै, नेपाली कांग्रेसका कृष्ण आचार्यले १ हजार ४५३ मत पाएका छन् भने नेकपाका राजेन्द्र पाण्डे १ हजार ६५ मत पाएका छन् । 

इलाम २ मा सुहाङलाई पछयाउँदै श्रम संस्कृतिका उम्मेदवार

काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले पच्छाएका छन् । नेम्वाङले ४९१ मत प्राप्त गर्दा राईले ४४३ मत पाएका छन् ।  त्यस्तै, नेपाली कांग्रेसका भेषराज आचार्यले २१० र रास्वपाका गोकुल राईले १७१ प्राप्त गरेका छन् ।

सुर्खेत- १ मा कांग्रेसका उम्मेदवार विष्णु खड्काले लिए अग्रता

काठमाडौं । सुर्खेत- १ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले अग्रता लिएका छन् ।  खड्काले २ हजार ५ सय १० मत ल्याउँदा एमालेका ध्रुवकुमार शाहीले १ हजार ६५४ मतसहित पछ्याइरहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टेकबहादुर सिंह ठकुरीलाई १ हजार ४४२ मत आएको छ ।  नेकपाका जितबहादुर रानाले २५४ मत र राप्रपाका रविकिरण हमालले ६० मत ल्याएका छन् ।

काभ्रे २ मा बदन दोब्बर मतले अगाडि

काठमाडौं । काभ्रेपलाञ्चोक- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन भण्डारीले अग्रता कायम गरेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार उनले ६ हजार ३०४ मत प्राप्त गरेका छन् ।  नेकपा एमालेका अशोक ब्यन्जुले २ हजार ६२४, नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले १ हजार ७५१ र नेकपाकी बसुन्धारा हुमागाईंले ४५४ मत पाएकी छन् ।

चितवन-३ मा रास्वपाकी सोविता गौतम रेनु दाहालभन्दा साढे ४ हजार मत अगाडि

काठमाडौं । चितवन ३ मा रास्वपाकी सोविता गौतमले अग्रता फराकिलो बनाएकी छन् । पछिल्लो पछिल्लो नेकपाकी रेनु दाहालसँग उनको साढे ४ हजार मतको दुरी छ । अहिलेसम्म १९ हजार ४५ मत गणना हुँदा सोवितालाई ९ हजार ८ सय ७९ मत आएको छ । रेनुले ५ हजार २ सय ५६ मत ल्याएकी छन् । रेनुभन्दा सोविता ४ हजार ६ सय २३ मतले अगाडि छिन् । अन्य उम्मेदवारहरु निकै पछाडि छन् । एमालेका शंकर थपलियाले १४ सय ६५ र कांग्रेसका टेकबहादुर गुरुङले १ हजार २२ मत ल्याएका छन् । 

सुनसरी- १ मा रास्वपाको अग्रता

काठमाडौं । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सरिन तामाङले  १४२ मत ल्याई सुरुवाती अग्रता बनाएकी छन् । श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ४९ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका सुजेन्द्र गोलेले ४०, राप्रपाका उद्धव श्रेष्ठले ३४, नेकपाका मनोज भट्टराईले १२ र नेकपा एमालेका टीकाराम लिम्बूले ८ मत प्राप्त गरेका छन् ।

पर्वत–१ मा रास्वपाका सागर भुसालको सुरुवाती अग्रता

पर्वत । पर्वत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर भुसालले सुरुवाती अग्रता लिएका छन् । पछिल्लो मतगणना अनुसार उनले २ हजार २८३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदम गिरीले एक हजार २८० ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले एक हजार २०३ मत ल्याएका छन् । नेकपाका मनहरि शर्माले २३१ मत प्राप्त गरेका छन् ।