विद्युत् प्राधिकरणका कर्मचारीले युनिफर्म नलगाए कारबाही हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोसाक (युनिफर्म) लगाउन निर्देशन जारी गरेको छ । अबदेखि पोसाक नलगाई कार्यालय पुग्ने कर्मचारीले सिधै विभागीय कारबाही भोग्नुपर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशकस्तरीय (मंसिर १२ गतेको) निर्णय अनुसार कार्यालय समयमा तोकिएको पोसाक अनिवार्य गरिएको हो । प्राधिकरणले ‘नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली, २०७५’ को विनियम १२१ को उप–विनियम (४) लाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो । नयाँ निर्देशन अनुसार अब कुन कर्मचारीले पोसाक लगाएका छन् वा छैनन् भनेर नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनका क्रममा पोसाक नलगाएको भेटिएमा सोही विनियमावलीको उप–विनियम (५) बमोजिम कडा विभागीय कारबाही गर्न सम्बन्धित विभागहरूलाई परिपत्र गरिएको छ । प्राधिकरणको केन्द्रीय कार्यालय लगायत विभिन्न निकायमा कार्यरत धेरैजसो कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक नलगाउने गरेको गुनासो राष्ट्रिय सतर्कता केन्द्रमा पुगेको थियो । सतर्कता केन्द्रले यस विषयमा चासो देखाउँदै पोसाक अनिवार्य गराउन प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरण नेतृत्व ‘एक्सन’ मा उत्रिएको हो । यो निर्देशनसँगै अब प्राधिकरणका कार्यालयहरूमा अनुशासनको नियम कडा हुने देखिएको छ । प्रशासनले अब नियमित ‘छड्के जाँच’ गर्ने र पोसाक बिनाका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ ।
निर्वाचन आयोगले तोक्यो समानुपातिकमा उम्मेदवारको बन्द सूची पेश गर्ने समय सीमा
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय तोकेको छ । आयोगले मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निवेदन पेश गर्ने भनेको हो । आयोगले कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा निवेदन सार्वजनिक सूचनामार्फत भनेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगले भनेको छ। राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरिदिनुपर्ने भएको आयोगले जनाएको छ । उम्मेदवारको बन्द सूची पेश नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नपर्ने आयोगले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ । सहायक पददेखि सहायक निर्देशक गरी ७६ जना कर्मचारी मागेको हो । राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागका अनुसार अधिकृत तृतीय श्रेणीमा सहायक निर्देशक अर्थशास्त्र र व्यवस्थापन तर्फ १/१ जना, सहायक निर्देशक ३९ जना, लेखा तथा लेखापरीक्षणतर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना र सहायक द्वितीय २१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिनेछ ।
नेपाल फाइनान्सका दोस्रो ठूला सेयरधनी मानन्धर बाहिरिने, मूल्य १ सय रुपैयाँ
काठमाडौं । नेपाल फाइनान्सका संस्थापक ठूला सेयरधनी विजय मानन्धर बाहिरिने भएका छन् । मानन्धरले फाइनान्समा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गरेर बाहिरिने भएका हुन् । फाइनान्समा मानन्धर दोस्रो ठूलो संस्थापक सेयरधनी हुन् । कम्पनीमा मानन्धरको ३.५४ प्रतिशत अर्थात् २ लाख ५८ हजार ७२८ कित्ता सेयर स्वामित्व छ । उनले आफ्नो स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको मूल्य न्यूनतम् प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा २ करोड २६ लाख ४० हजार ३ सय रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र न्यूनतम् मूल्य वा सो भन्दा बढी मूल्यमा आवेदन दिनुपर्नेछ । यसअघि संस्थापक सेयरधनीहरूलाई ३५ दिनको समय दिएको भएपनि कसैले पनि चासो नदिएपछि सर्वसाधारण लगानीकर्तालाई बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका-७ का वडाअध्यक्ष थापाको निधन
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको हरिसिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए । वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिका अन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ ।
आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपरान्ह ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । ६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरिने छ । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।
रुसी राष्ट्रपति पुटिन भारतमा, रक्षा र व्यापारमा सम्झौता हुन सक्ने
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन २ दिने भारत भ्रमणमा शिलशिलामा बिहीबार साँझ भारतको राजधानी आइपुगेका छन् । विश्वले विशेष चासोका साथ हेरेको यस भ्रमणका क्रममा रूस र भारतबीच रक्षा सम्बन्धलाई गहिरो बनाउने उद्देश्य रहेको बताइएको छ। नयाँ दिल्लीले मस्कोबाट तेल खरिद गर्न रोक्नका लागि अमेरिकाको कडा दबावको सामना गरिरहेको छ। रूसी नेता पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमा पुगेका थिए । पुटिनलाई रातो कार्पेटमा अँगालो हाली स्वागत गरेका प्रधानमन्त्री मोदी र नेता पुटिन त्यसपछि एउटै कारमासँगै विमानस्थलबाट बाहिरिएका थिए । युक्रेन युद्धपछि भारतको पहिलो भ्रमणमा रहेका पुटिनसँगै उनका रक्षा मन्त्री एन्ड्रे बेल्उसोभ पनि रहेका छन् भने लडाकु विमान तथा हवाई रक्षा प्रणालीसम्बन्धी सम्भावित सम्झौताहरूमा छलफल हुने अपेक्षा गरिएको छ। इन्डिया टुडेसँगको एक संक्षिप्त अन्तर्वार्तामा पुटिनले भने, ‘म मेरो मित्र मोदीलाई भेट्न पाउँदा धेरै खुसी छु। भारतसँग हाम्रो सहयोगको दायरा विशाल छ ।’ सहयोगको दायरामा जहाज र विमान निर्माण, आणविक ऊर्जा र अन्तरिक्ष अन्वेषणलगायतका क्षेत्रलाई समेटिएको इन्डिया टुडेले भारतीय तथा रूसी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ। भारतीय प्रधानमन्त्रीले पनि आफ्ना मित्र तथा रूसी राष्ट्रपति पुटिनलाई भारतमा स्वागत गर्न पाउँदा आफू ‘अत्यन्तै खुशी भएको बताए । उनले बिहीबार साँझ पुटिनलाई निजी रात्रिभोजमा स्वागत गरे भने शुक्रबार दुई नेताबीच दुवै देशका प्रतिनिधिसहित शिखर बैठक हुनेछ । ‘भारत-रुसको मित्रता समयको परीक्षामा खरो उत्रिएको मित्रता हो जसले हाम्रा जनतालाई धेरै फाइदा पु¥याएको छ,’ मोदीले भने । भारतले रणनीतिक रुसी तेल आयातमा निर्भर रहँदै जारी भन्सार शुल्क वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तेजित नगर्ने प्रयास गरिरहेको बेला व्यापारिक सम्बन्ध प्रमुख रूपमा अगाडि आउने अपेक्षा गरिएको छ। ऊर्जा आयात क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसको उन्नत एस-४०० हवाई रक्षा प्रणालीको भारतमा आपूर्ति विस्तार गर्ने एजेन्डामा वार्ता केन्द्रित रहने बताए । भारतीय सञ्चारमाध्यमका रिपोर्ट अनुसार मस्कोले रुसको एसयु-५७ लडाकु विमानको सह–उत्पादनको प्रस्ताव पनि गर्न सक्छ । भारत विश्वको शीर्ष हतियार आयातकर्तामध्ये एक हो र रुस लामो समयदेखि एक प्रमुख आपूर्तिकर्ता रहँदै आएको छ। तर नयाँ दिल्लीले प्रतिरक्षाका लागि घरेलु उत्पादन बढाएको छ वैकल्पिक आपूर्तिकर्ताहरू पनि खोजेको छ । स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका अनुसार, भारतको हतियार आयातमा रुसको हिस्सा २००९–१३ मा ७६ प्रतिशतबाट घटेर २०१९–२३ मा ३६ प्रतिशतमा पुगेको छ। अगस्टमा अमेरिकी राष्ट्रपति ट्रम्पले दिल्लीले रुसको तेल निरन्तर खरिद गरिरहेको भन्दै अधिकांश भारतीय उत्पादनहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाएपछि रूसी नेता पुटिनको भ्रमण हुन लागेको छ र यसले पनि विश्वको ध्यान खिचेको छ। वाशिङ्टनको तर्कअनुसार रूससँगको व्यापार सम्बन्धलाई लिएर भारतमाथि लगाइएको अतिरिक्त शुल्कले युक्रेनमा युद्धलाई आर्थिक सहयोग पुर्याउँछ। विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारत, रुसको तेलको प्रमुख खरिदकर्ता बनेको छ, जसले भारतलाई अर्बौं डलर बचत गराएको छ भने युद्धका कारण युरोपका परम्परागत खरिदकर्ताहरूबाट अलग भएपछि मस्कोलाई एक अत्यन्त आवश्यक निर्यात बजार प्रदान गरेको छ। तर हालै दिल्लीले रुसका शीर्ष तेल उत्पादकहरू रोसनेफ्ट र लुकोइलमाथिको प्रतिबन्धको दबाबमा कच्चा तेलको आयात घटाएको छ। रुससँग कुनै पनि नयाँ ऊर्जा वा रक्षा सम्झौताले ट्रम्पलाई रिसाउन सक्छ कि भन्ने भारतीय सरकारलाई डर छ । यसको वाशिङ्टनसँगको व्यापार वार्तामा असर पर्ने सम्भावना रहन्छ। पेस्कोभले भने, ‘मस्को कसैलाई हस्तक्षेप गर्न नदिई भारतसँगको हाम्रो द्विपक्षीय व्यापारको मात्रा कायम राख्न र बढाउन चाहन्छ ।’ नयाँ दिल्लीस्थित ‘थिङ्क-ट्याङ्क अब्जर्भर रिसर्च फाउन्डेसन’ का नन्दन उन्नीकृष्णनले एएफपीसँग भने, ‘अमेरिकी दबाबका कारण ऊर्जा खरिदमा केही कमी आउन सक्छ तर सम्बन्धको समग्र दिशा पूर्ववत कायम रहनेछ किनभने दुवै देशलाई रणनीतिक स्तरमा एक-अर्काको आवश्यकता छ।’ संवेदनशील क्षण भारतीय परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा भने, ‘व्यापार असन्तुलनलाई जे भए पनि सम्बोधन गर्न आवश्यक छ। द्विपक्षीय व्यापार सन् २०२४/२५ मा ६८.७ अर्ब डलर पुगेको छ जुन महामारी अघिको स्तरभन्दा लगभग ६ गुणा बढी हो । तर भारतीय निर्यात केवल ४.८८ अर्ब डलर मात्र रहेको थियो । भारतले औषधि, सवारी साधन (अटोमोबाइल) र सेवा क्षेत्रलगायत आफ्ना प्रमुख उद्योगहरूका लागि बजार पहुँच विस्तार गर्न मस्कोमाथि दबाब दिँदै आएको छ । किङ्स कलेज लन्डनका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हर्ष वी पन्तले भने, ‘यो भ्रमण दुवैका लागि एक महत्त्वपूर्ण भू-राजनीतिक क्षणमा आफ्नो सम्बन्धलाई पुर्नस्थाना गर्ने एक प्रयास हुनेछ ।’ ‘भारतका लागि यो रणनीतिक स्वायत्तताको लागि दृष्टिकोणको एक व्याख्या हो भने बिरलै यात्रा गर्ने पुटिनले यहाँ यात्रा गरेर मजबुत सम्बन्धको महत्त्वबारे सन्देश दिइरहेको पाइन्छ,’ पन्तले भने । भारतीय परराष्ट्र मन्त्रालयका एक अधिकारीले मस्को र दिल्ली बीचको सम्बन्धलाई ‘आधुनिक समयको सबैभन्दा स्थिर सम्बन्धका रूपमा वर्णन गरेका छन् । ती अधिकारीले विश्वव्यापी भू-राजनीतिक महत्त्वलाई स्वीकार गर्दै बैठकलाई केवल अर्को वार्षिक शिखर सम्मेलनको रूपमा हेरिनुपर्ने कुरामा जोड दिए।