विकासन्युज

मन्त्री छोडेर चुनावी मैदानमा गएका चार मन्त्री : खरेल र पुन अगाडि, घिसिङ दबाबमा

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका ४ मन्त्रीहरूले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल, शिक्षामन्त्री महावीर पुन र खेलकुद मन्त्री बब्लु गुप्ता चुनावी मैदानमा उत्रिएका हुन् ।  चारैमध्ये सञ्चारमन्त्री जगदिश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ उज्यालो पार्टीबाट र शिक्षामन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका छन् ।  प्रारम्भिक मतगणनाले ललितपुर-२ मा खरेललाई स्पष्ट अग्रता दिएको छ । उनले ३ हजार १९९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ४९३ मत पाएका छन् भने नेकपा एमालेका प्रेमबहादुर महर्जन ४०७ मतसहित तेस्रो स्थानमा छन् । प्रारम्भिक नतिजाले खरेलको जिततर्फ बलियो संकेत गरेको देखिन्छ ।  काठमाडौं-३ मा भने पूर्वऊर्जामन्त्री घिसिङ र रास्वपाका राजुनाथ पाण्डेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार पाण्डेले ६ हजार ५ सय ८४ मत ल्याउँदा घिसिङ ४ हजार २ सय २० मतमा सीमित छन् । दुई हजारभन्दा बढी मतले पछि परेका घिसिङलाई जित निकाल्न चुनौतीपूर्ण देखिएको छ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन पनि अगाडि छन् ।  सिराहा-१ मा भने खेलकुद मन्त्री बब्लु गुप्ता उम्मेदवार रहे पनि मतगणना सुरु भएको छैन । यस क्षेत्रमा नेपाली कांग्रेसका रामसुन्दर चौधरी र नेकपा एमालेका रामशंकर यादव मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । तर, देशभरि र मधेस प्रदेशको राजनीतिक रुझानलाई हेर्दा गुप्ता पनि जितका बलिया दाबेदार मानिएका छन् । निर्वाचनको प्रारम्भिक परिणामले अन्तरिम सरकारका मन्त्रीहरूको राजनीतिक भविष्य कस्तो बन्छ भन्ने चासो बढाएको छ । 

रौतहट –१ मा रास्वपाका राजेश चौधरी अगाडि

रौतहट  । रौतहट- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरी १ हजार ४९९ मतसहित शीर्ष स्थानमा छन् । जनता समाजवादी पार्टीका योगेन्द्र यादवले  ६३१ मत ल्याएका छन् भने  नेपाली कांग्रेसका अनिल कुमार झाले ३६६ मत ल्याएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल  भने ३२० मतसहित  पाँचाैमा छन् । 

भविष्यका सरकारले पनि भत्काउन नसक्ने मानकहरू

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव कसरी शान्तिपूर्ण रुपमा सम्पन्न भयो भन्ने विषय खुलाएका छन् । शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले यो निर्वाचन कसरी शान्तिपूर्ण र हिंसारहित हुन सक्यो भन्ने विषय खुलाएका हुन् ।  ‘यो चुनावले मानवता जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ । यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो । अब हामीले चुनाव गरेका छौं र निष्पक्ष चुनाव गरेका छौं, यो सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा थियो,’ उनले भनेका छन् ।  यस्तै, विगतको भन्दा यस पटक गुणस्तरीय चुनाव भएको उनको भनाइ छ । ‘सुदृढ चुनाव गरेका छौं, सबैलाई थाहा छ, यसपालि एक थोपा रगत नखसिकन चुनाव सम्पन्न गर्न सकेका छौं, हाम्रो सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपो खसेको छैन । त्यो प्रत्याभूति हामीले दियौं, चुनावको क्रममा पनि हिंसात्मक झडपहरू हुन पाएनन्, एकाधबाहेक । हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर त्यसलाई काबुभित्र राखेर चुनाव गरायौं,’ उनले भने ।  उनले भनेका छन्, ‘पहिला पहिला धेरै ठाउँमा स्थगन हुन्थ्यो र फेरि चुनाव गराउनुपर्थ्यो । तर, यसपालि देशभरि एकैचोटि मतदान सम्पन्न भएको छ । स्थगन गर्नुपरेको अवस्था पनि छैन । यसरी हामीले राजनीतिक सुशासनका मानकहरू बढाउनैपर्छ । यी मानकहरुलाई सुदृढ गर्नुपर्छ । ताकि भविष्यमा आउने सरकारहरूले ती मानकहरू भत्काउन नसकून्, ती मानक घटाउन नसकून् भन्ने तहको लक्ष्य र अपेक्षा राखेर हामीले काम गरेका हौं ।’

व्यवसायी वीरेन्द्र बस्नेतले आफैले खोलेको पार्टी त्यागे

काठमाडौं । व्यवसायी वीरेन्द्रबहादुर बस्नेतले आफैले खोलेको पार्टी त्याग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी त्यागेको जानकारी दिएका हुन् ।  पार्टी छोडेको घोषणा गर्दै उनले लेखेका छन्, ‘अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु ।’  व्यवसायी बस्नेत गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य थिए । उनले सामाजिक सञ्जालमा हालको राजनीतिक संस्कारले आफ्नो आत्मासँग मेल नखाएको र पद र दलको सीमाभित्र रहेर आफ्नो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन नसक्ने उल्लेख गरेका छन् । अबको बाटो फरक रहेपनि देशप्रतिको समर्पण यथावत् रहने उनले बताएका छन् ।   

ललितपुर- १ मा उदयशमशेर राणाको अग्रता कायमै

ललितपुर । ललितपुर क्षेत्र नम्बर १ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार राणाले अन्य प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै विजयतर्फको यात्रा सुदृढ बनाएका हुन् । उनले ४ हजार १३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जनले नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेललाई उछिनेर दोस्रो स्थान कब्जा गरेका छन् । महर्जनले २ हजार ६६३ र सञ्जेलले २ हजार २९१ मत प्राप्त गरेका छन् ।

झापा –३ मा रास्वपाका प्रकाश पाठक अगाडि

काठमाडौं । झापा –३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक २ हजार २८१ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १ हजार ६०० मत ल्याएका छन् । तेस्रोमा नेकपा एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले ६२० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले ५१० मत ल्याएका छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी  डिल्लीराम घिमिरेले ७० मत ल्याएका छन् ।

झापा– ४ मा रास्वपाको सुरुवाती अग्रता

भद्रपुर । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिएका छन् ।  निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले ७५०, नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गरेका छन् ।