चितवनमा २२९ शवको पहिचान भएन, डीएनए लिएर देवघाटमा व्यवस्थापन गरिने

काठमाडौं । चितवनमा पहिचान नखुलेको शवको डिएनए लिएर शव व्यवस्थापन गरिने भएको छ । २ सय ३३ शवमध्ये ४ शवको मात्र पहिचान खुलेको छ । 

बाँकी २२९ शवको पहिचान खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको छ।

चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्थाहरू तथा नदी तटबाट संकलन गरिएका अधिकांश शव तथा शवका अवशेष सडेर–गलेका कारण अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्।

तत्कालीन व्यवस्थापकीय प्रबन्धमार्फत राखिएका शवहरूबाट दुर्गन्ध फैलिन थालेको छ । संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणपछि शव व्यवस्थापनको निर्णय गरिएको प्रशासनले जनाएको छ।

शनिवार जिल्ला सुरक्षा समिति चितवनको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै पहिचान हुन नसकेका शवलाई जमिन मुनि व्यवस्थापन गरिने भएको छ।

शव व्यवस्थापनअघि सबै शवको डीएनए नमूना संकलन गरिने र संकेत नम्बरका आधारमा विस्तृत अभिलेख राखिने प्रशासनले जनाएको छ। आजदेखि भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा शवहरूको सम्मानजनक, सुरक्षित तथा कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गरिने प्रशासनले उल्लेख गरेको छ ।

बुधवार बिहान रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ ।

हालसम्म रसुवामा आएको बाढीका कारण ६२६ जनाको शव फेला परेको छ ।

Share News