काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।
बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो ।
सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।
क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने प्रयास भइरहेको छ । क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्याउन यो प्रयास महत्वपूर्ण मानिएको छ ।
उद्धार टोलीले प्वालमार्फत पनि अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ ।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।