शनिबार ३५ हजारले गरे नाडा अटो शो अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा जारी १८ औँ संस्करणको नाडा अटो शो मा शनिबार अवलोकनकर्ताको भीड उल्लेख्य रूपमा बढेको छ । आयोजकका अनुसार शनिबार मात्रै करिब ३५ हजारले अटो शोको अवलोकन गरेका छन् ।

मंगलबारदेखि सुरु भएको अटो शोको पहिलो दिन नै करिब ३० हजारले अवलोकन गरेका थिए । तर, बुधबार भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण अटो शोमा अवलोकनकर्ताको चहलपहल केही घटेको थियो ।

शुक्रबारदेखि भने पुनः अवलोकनकर्ताको संख्या बढ्न थालेको र शनिबार उत्साहजनक भीड देखिएको आयोजक संस्था नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले बिहानैदेखि नयाँ सवारी खरिद गर्ने योजनामा रहेका ग्राहकहरूको बाक्लो उपस्थिति देखिएको थियो । 

विशेषगरी नयाँ विद्युतीय कार, मोटरसाइकल तथा स्कुटरका स्टलमा अवलोकनकर्ताको बढी चाप
देखिएको थियो ।

यस वर्षको नाडा अटो शोमा नयाँ मोडल र नयाँ ब्रान्डको प्रवेशले पनि अवलोकनकर्ताको आकर्षण बढाएको छ । करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक भएका छन् भने नाडा अटो शोमार्फत आधा दर्जनजति नयाँ अटोमोबाइल ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति जनाएका छन् ।

चारपांग्रे सवारीतर्फ ईभीमा विशेष आकर्षण देखिएको छ । नामी भिगो, नामी बक्स, नयाँ नेक्सन, पन्च ईभी, बीवाईडी एटो २, जेको जेफाइभ, चेरी क्यू, एक्सियन, आर्कफक्स टी-वान, ओरा फाइभ, लीपमोटर बी०३ र प्रोटोन इमास फाइभलगायतका नयाँ मोडलका स्टलमा अवलोकनकर्ताको बाक्लो भीड देखिएको छ ।

ईभीको बढ्दो आकर्षणका बीच पेट्रोल सवारीसाधनप्रति पनि ग्राहकको चासो कायमै देखिएको छ । नयाँ सुजुकी ब्रेजा, जिम्नी र अल न्यू हुन्डाई भेन्यूलगायतका पेट्रोल गाडीमा पनि ग्राहकले चासोपूर्वक जानकारी लिइरहेका छन् ।

दुईपांग्रे सवारीतर्फ नेपालमै उत्पादन भएको यात्री पी, यामाहा एक्सएसआर १५५, यामाहा आर १५, यामाहा फासिनो,
अप्रिलिया एसआर १७६ तथा एक्सट्रीम २५० आरलगायत नयाँ मोडल हेर्न र बुझ्न चाहनेको भीड देखिएको छ । 

हाइब्रिड सवारीतर्फ बीएआईसी बीजे३०ई, एमहिरो वान र बीवाईडी शार्कप्रति पनि अवलोकनकर्ताको चासो देखिएको छ ।

यसपटकको अटो शोमा २३ वटा प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल र १३ वटा दुईपांग्रे ब्रान्डसहित ५३ वटा सवारी ब्रान्ड सहभागी छन् । 

त्यस्तै, अटो पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसहित २०० भन्दा बढी स्टल राखिएका छन् ।

नयाँ मोडलसँगै कम्पनीहरूले ल्याएका आकर्षक छुट, बुकिङ योजना तथा वित्तीय सुविधाले पनि ग्राहकलाई अटो शोमै सवारी खरिद गर्ने वातावरण बनाएको छ । 

विशेषगरी ३० देखि ५० लाख रुपैयाँ मूल्य समूहका कार, नयाँ मोटरसाइकल तथा स्कुटरमा ग्राहकको चासो बढी देखिएको छ ।

भदौ १४ गतेसम्म सञ्चालन हुने भएकाले अन्तिम दिनसम्म अवलोकनकर्ताको संख्या अझ बढ्ने आयोजकको अपेक्षा छ ।

अटोमोबाइल व्यवसायमा आएको सुस्तताका बीच आयोजना भएको यस वर्षको नाडा अटो शोमा शनिबार देखिएको उत्साहले नेपाली अटो बजारमा ग्राहकको रुचि अझै बलियो रहेको संकेत गरेको व्यवसायीहरूको भनाइ छ ।

Share News