काठमाडौं । भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनःस्थापनाका लागि आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
ग्रुप र यस अन्तर्गतका विभिन्न भगिनी संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग उपलब्ध गराउन लागिएको हो ।
यस सहयोग अभियानमा ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ, आइजीआई प्रुडेन्सियल, चन्द्रागिरी हिल्स, डिसहोम, अशोक लेल्यान्ड, आइएमई खल्ती लगायत दर्जनौं सम्बद्ध कम्पनीहरू र तिनमा कार्यरत कर्मचारीहरूको १ दिनको तलब समेत समावेश हुनेछ ।
आर्थिक सहयोगका अलावा आइएमईले संसारभरबाट नेपालमा उद्धार कोषका लागि आउने रकम निःशुल्क पठाउन सकिने रेमिटेन्स सुविधा ल्याएको छ भने खल्ती वालेटमार्फत कोषमा निःशुल्क रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ । साथै, आइएमई फाउन्डेसनमार्फत थप राहत तथा जिन्सी सामग्री समेत वितरण गरिने ग्रुपले जनाएको छ ।
बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रुपले विपद्को यस कठिन समयमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकहरूप्रति आभार व्यक्त गरेको छ । आइएमई ग्रुपले यसअघि पनि भूकम्प, महामारी तथा विभिन्न प्राकृतिक विपद्का समयमा निरन्तर अग्रपंक्तिमा रहेर सहयोग पुर्याउँदै आएको छ ।