कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले बाढी प्रभावित परिवार तथा समुदायको राहत र पुनस्र्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको शनिबार (भदौ १३ गते) बसेको कार्यकारी परिषद्को बैठकले पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको तलब भुक्तानी गर्दा निश्चित प्रतिशत/दिन बराबरको रकम कट्टा गरी उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

निर्णयअनुसार उपकुलपति, रजिस्ट्रार, सबै डीन र परीक्षा नियन्त्रकबाट एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । त्यस्तै, सबै निर्देशक र सहायक डीनबाट आधा महिनाको तलब बराबरको रकम कट्टा हुनेछ ।

प्राध्यापक तथा प्रशासक, सह-प्राध्यापक तथा सह-प्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम कट्टा गरिनेछ ।

उप-प्राध्यापक तथा उप-प्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम कट्टा हुनेछ ।

त्यसैगरी, मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिन तथा सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरिने विश्वविद्यालयले जनाएको छ ।

भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।

सो घटनाप्रति दुःख तथा समवेदना व्यक्त गर्दै विश्वविद्यालयले प्रभावित परिवार तथा समुदायको राहत र पुनस्र्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुविर सिंहद्वारा जारी अत्यन्त जरुरी सूचनामा प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत र पुनस्र्थापना कार्यमा स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्ने विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, शिक्षक तथा कर्मचारीप्रति धन्यवादसमेत व्यक्त गरिएको छ ।

Share News