कामना सेवा विकास बैंकद्वारा विराटचोकको बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत शाखा कार्यालय विराटचोकमार्फत ब्रेथ अफ लाइफ (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले एक कार्यक्रमकाबीच बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । सामग्री ग्रहण गर्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभूत आवश्यकता, शिक्षा तथा उज्ज्वल भविष्य सुनिश्चित गर्न बैंकको सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले यस सहयोगले आश्रममा रहेका बालबालिकाको दैनिकी र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भन्दै बैंकप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले बाल आश्रमलाई प्रदान गरिएको खाद्यान्न तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममार्फत हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा विराटचोक उपमहानगरपालिकाकी उपमेयर नीतु थापा कोइराला, वडा अध्यक्ष योगेन्द्र सुवेदी, बैंकका कर्मचारी, बाल आश्रमका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
कांग्रेसको भावी यात्राका लागि विशेष महाधिवेशन निर्णायक : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनको उद्घाटन समारोहमा व्यापक सहभागिता जनाउन पार्टीका नेता, कार्यकर्ता तथा समर्थक सबैलाई आग्रह गरेका छन् । महाधिवेशनको उद्घाटन कार्यक्रमलाई पार्टीभित्र देखिएका विचारगत मतभेद, संगठनात्मक चुनौती तथा समसामयिक राजनीतिक अवस्थाबारे खुला छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै थापाले यसमा सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनका अनुसार विशेष महाधिवेशन केवल औपचारिक कार्यक्रम मात्र नभई पार्टीलाई नयाँ दिशा दिने, आन्तरिक लोकतन्त्र सुदृढ बनाउने र कांग्रेसको भावी राजनीतिक यात्राबारे स्पष्ट दृष्टिकोण तय गर्ने मञ्च हो । थापाले पार्टी विधान र प्रक्रियाअनुरूप छलफल र निर्णयको संस्कार बलियो बनाउन विशेष महाधिवेशनको भूमिका महत्वपूर्ण रहने धारणा राखे । उनले पार्टीका सबै तहका नेता–कार्यकर्ताले भृकुटीमण्डपमा उपस्थित भई आफ्ना विचार, सुझाव तथा प्रतिबद्धता प्रकट गर्नुपर्ने बताए । उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले स्पष्ट धारणा र एकताबद्ध दृष्टिकोण प्रस्तुत गर्नुपर्ने आवश्यकता छ, र त्यसका लागि विशेष महाधिवेशन निर्णायक बन्न सक्छ । उद्घाटन समारोहबाटै पार्टीभित्र सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्दै थापाले लोकतान्त्रिक मूल्य, विधि र सिद्धान्तको पक्षमा दृढ भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।
५ अर्बको कारोबार, १८७ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २६३५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २६ करोड रुपैयाँको कारोबार भएको छ । साथै श्रीनगर एग्रीटेकको २३ करोड, मन्जुश्री फाइनान्सको २० करोड, शिवम् सिमेन्टको १६ करोड र सागर डिस्टीलरीको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यूएईसँग व्यापार–लगानी साझेदारी विस्तार गर्न महासंघ अध्यक्ष ढकालको पहल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा रहेको लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि ९आईटी० जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने सकिनेमा जोड दिए । साथै उनले काठमाडौंका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक आवागमन बिस्तारका लागि अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गरे । यूएईको वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति यूएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबीचको सहकार्य बढाउन सकारात्मक रहेको बताए ।। दुवै पक्षले आगामी दिनमा सहकार्यलाई अझ गहिरो बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम
धरान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएका छन् । जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार ९९० मतदाता छन् भने सबैभन्दा कम एक लाख ३४ हजार ३०२ मतदाता कायम भएका छन् । निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिकपछि उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षालगायत तयारीका कार्यक्रम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पौडेलले बताए । आगामी निर्वाचनका लागि सङ्घीय सरकारले सुनसरीमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू खटाइसकेको छ । प्रकाश राउतलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी हाल सुनसरी जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा कार्यरत छन् । निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।
विश्वप्रकाश र मलाई पार्टीभित्र संगठित रूपमा घेराबन्दी गरिँदैछ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई लक्षित गर्दै संगठित रूपमा दबाब र घेराबन्दी भइरहेको आरोप लगाएका छन् । बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले पार्टी सञ्चालनमा पछिल्लो समय प्रक्रिया र विधानलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको दाबीसमेत गरे । महामन्त्रीका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा आफूहरूलाई कर्नर गर्ने प्रयास भइरहेको थापाको भनाइ थियो । ‘मलाई कर्नरमा पार्न खोज्दा मेरो दायरा बढेको छ । केन्द्रीय समितिमा आफू अल्पमतमा भएपनि पार्टी कार्यकर्ता र जनताका बीचमा मेरो लोकप्रियता नेताहरूले खोस्न सक्दैनन्,’ उनको दाबी छ । ‘पार्टीभित्र प्रक्रिया र विधानलाई क्रमशः निल्दै जाने क्रम चलिरहेको छ । यही क्रममा म र अर्का महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो भूमिकामा सक्रिय रहँदा हामीलाई कमजोर बनाउने, एक्ल्याउने र घेराबन्दी गर्ने प्रयत्न भएको छ । संख्याको दम्भ देखाउँदै सबै मिलेर हामीमाथि प्रहार गर्ने काम भइरहेको छ,’ उनले थपे । थापाले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर पारिँदै गएकोप्रति गम्भीर चिन्ता पनि व्यक्त गरे । उनले नेतृत्व तहबाटै विधि र संस्थागत अभ्यासलाई बेवास्ता गरिएको आरोपसमेत लगाए । पार्टी कार्यालयमा गरिएको घेराबन्दी सानो र सीमित भएको उल्लेख गर्दै उनले आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको घेरा भने निकै ठूलो रहेको महामन्त्री थापाको दाबी छ । उनका अनुसार कांग्रेसको वास्तविक शक्ति बाहिर छ । ‘आम कार्यकर्ता, समर्थक र नागरिकको बीचमा रहेको गगन थापालाई एक्ल्याउँदा गगनलाई घाटा हुँदैन । मेरो त्यो घेरा धेरै ठूलो छ,’ थापाले भने । उनले पार्टीभित्रको साँघुरो घेराभन्दा बाहिर निस्केर जनतामाझ जाने वातावरण नेतृत्वकै गतिविधिले सिर्जना गरिरहेको टिप्पणी गर्दै अन्ततः आम नागरिकले नै सही–गलतको फैसला गर्ने विश्वास पनि व्यक्त गरे ।
निक्षेप र कर्जाको ब्याजदर घट्यो, निजी क्षेत्रतर्फ कर्जा बढ्यो
काठमाडौं । पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ । चालु आवको कात्तिकसम्मको अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ । २०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप, २०८२ कात्तिक मसान्तमा ३ दशमलव १ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो निक्षेप २ दशमलव ३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २०८२ असार मसान्तको तुलनामा १.२ प्रतिशतले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो कर्जा २०८१ असार मसान्तको तुलनामा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव ९ प्रतिशतले बढेको छ । कात्तिक मसान्त सम्मको अवधिमा भएको कर्जा प्रवाहमध्ये उपभोगमा आधारित ऋणको हिस्सा सबैभन्दा बढी २० दशमलव ८ प्रतिशत रहेको छ भने सबैभन्दा कम ऋण प्रवाह स्थानीय तहमा भएको छ । २०८१ कात्तिकमा वाणिज्य बैंकको निक्षेप तथा कर्जाको भारित औसत व्याजदर क्रमशः ५ दशमलव १ प्रतिशत र ९ दशमलव ७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा क्रमशः ३ दशमलव ७४ प्रतिशत र ७ दशमलव ३८ प्रतिशतमा झरेको छ । २०८२ कात्तिक मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०७ बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । सबै स्थानीय तहहरुमा वाणिज्य बैंकका शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८१ कात्तिक मसान्तमा ११ हजार ५ सय ४२ रहेकोमा २०८२ को सोहि अवधिमा ११ हजार ५ सय १६ रहेको छ । यस अवधिमा एटिएम बुथको संख्या भने ४४ ले थप भई ५ हजार २६८ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा बढेको छ भने विपन्न क्षेत्र कर्जा घटेको छ । २०८१ कात्तिकमा कुल कर्जाको ४ दशमलव ४२ प्रतिशत रहेको निष्कृय कर्जा २०८२ कात्तिकमा ५ दशमलव २६ प्रतिशत पुगेको छ । त्यसैगरी, २०८१ कात्तिकमा विपन्न क्षेत्र कर्जा कुल कर्जा लगानीको ६.१७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा ५.३६ प्रतिशत रहेको छ ।
स्याङ्जामा ४१ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन
वालिङ । गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले जानकारी दिए । स्याङ्जामा यस वर्ष नौ हजार ७२ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको थियो । जिल्लामा क्रमशः धान उत्पादन हुने क्षेत्रफल घट्दै गइरहेको छ भने उत्पादनमा वृद्धि हुँदै गइरहेको कार्यालयले जनाएको छ । 'पछिल्ला वर्षमा उन्नत जातका बीउको प्रयोग, आधुनिक यन्त्र/उपकरण तथा प्रविधिको प्रयोग बढ्दै गएको छ', पाठकले भने, 'बढ्दो प्रविधिको प्रयोग सँगसँगै अनुकूल वातावरणका कारण पनि उत्पादकत्व वृद्धि भएको हो ।' देशका कतिपय ठाउँमा लगाइएको धानबाली भित्र्याउने बेलामा परेको बेमौसमी पानीले क्षति पुर्याए पनि स्याङ्जामा भने त्यति ठूलो क्षति हुन नपाएकाले उत्पादनमा कमी नभएको उनको भनाइ छ । जिल्लामा धानखेती हुने कूल क्षेत्रफलमध्ये झण्डै ४० प्रतिशतमा ‘हाइब्रिड’ र उन्नत जातका बीउको प्रयोग हुने गरेको अर्थविज्ञ पाठकले जानकारी दिए। यस वर्ष प्रतिहेक्टर चार दशमलव ५९ मेट्रिकटन धानको उत्पादकत्व रहेकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव तीन मेट्रिकटन थियो । गत वर्ष स्याङ्जामा ६७ हेक्टर क्षेत्रफलमा ३०६ मेट्रिकटन चैते धान उत्पादन भएको थियो । जिल्लाका आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धान खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ पाठकले जानकारी दिए। उनका अनुसार यहाँ घरायसी प्रयोजन तथा बीउका लागि धान उत्पादन हुँदै आएको छ । यहाँका किसानले गत वर्षमात्रै करिब रु एक करोडको धानको बीउ बिक्री गरी आम्दानी गरेका थिए । सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट स्याङ्जाका किसानले आम्दानी गर्दै आएका कृषि विकास कार्यालयले जनाएको छ । सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस)मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जासहित बाहिरी जिल्लामा पनि बिक्री भइरहेको कार्यालयका अर्थविज्ञ पाठकले बताए । उनका अनुसार जिल्लामा रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथलगायत उन्नतसहित स्थानीय जातका धान लगाउने गरिएको छ ।