बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले उनलाई आजै बिहान नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो । बालेन मुलुकको ४० औं प्रधानमन्त्री हुन् ।
अमरेशले चाहेनन् मन्त्री बन्न
काठमाडौं । नेपाली राजनीतिका चतुर खेलाडी अमरेशकुमार सिंहले आफू मन्त्री बन्न नचाहेको बताएका छन् । सिंहले आफू सुरुदेखि नै मन्त्री बन्न इच्छुक नभएको बताउँदै आएका थिए । निर्वाचनको समयमा पनि उनले आफूलाई मन्त्रीको चाहना नरहेको बताएका थिए । पछिल्लो बालेन्द्र शाह क्याबिनेटमा उनको नाम उद्योगमन्त्रीको रूपमा चर्चामा आएपछि उनले आफूलाई मन्त्री नबनाउन प्रधानमन्त्रीलाई जानकारी गराएको सिंह निकट स्रोतले बतायो ।
ऊर्जामन्त्री बन्दै विराजभक्त श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विराजभक्त श्रेष्ठलाई ऊर्जामन्त्री बनाएको छ । काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका श्रेष्ठलाई रास्वपाले ऊर्जामन्त्री बनाएको हो । उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगै आजै शपथ ग्रहण गर्ने छन् । उनले २४ हजार ५९२ मतसहित जित हासिल गरेका थिए । २०७९ को निर्वाचन पनि श्रेष्ठले यही क्षेत्रबाट जित निकालेका थिए । यसअघि उनी युवा खेलकुदमन्त्री बनेका थिए ।
समानुपातिक सांसद निशा मेहता स्वास्थ्यमन्त्री बन्दै
काठमाडौं । स्वाथ्यमन्त्रीमा निशा मेहता नियुक्त हुने भएकी छिन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेसी क्लष्टरबाट समानुपातिक सांसद बनेकी हुन् । पेशाले स्वास्थ्यकर्मी रहेकी निशाको घर सुनसरीको इनरुवा हो । उनी नर्स भएपनि रास्वपाको स्थापनाकालदेखि नै राजनीतिमा आवद्ध थिइन् । यसअघि २०७९ सालको निर्वाचनमा पनि रास्वपाले निशालाई समानुपातिक सांसद बनाउने प्रयास गरेको थियो । पहिलो पटक सफल नभएकी निशा दोस्रो पटक भने सांसदसँगै मन्त्री बन्न लागेकी हुन्। निशा सांसद बन्नु अघि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा कार्यरत थिइन् । सांसद बन्नु अघिल्लो दिनसम्म अस्पतालमा कार्यरत उनले सांसद बनेपछि राजीनामा दिएकी थिइन् ।
शिक्षामन्त्री बन्दै सस्मित पोखरेल
काठमाडौं । बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बन्न लागेको नयाँ सरकारको शिक्षामन्त्री सस्मित पोखरेल बन्ने भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका पोखरेल शिक्षामन्त्री बन्न लागेका हुन् । पाेखरेल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका हुन् । उनले ३० हजार ७ सय ३७ मत प्राप्त गर्दै पौडेललाई हराएका थिए । प्रदीपले भने ९ हजार १ सय ५९ मत प्राप्त गरेका थिए । उनीसँगै प्रतिस्पर्धामा नेकपा एमालेका ईश्वर पोख्रेल पनि प्रतिस्पर्धामा थिए । कांग्रेस र एमालेका प्रखर नेतालाई पराजित गर्दै सस्मितले संसदीय यात्रा तय गरी शिक्षामन्त्री बन्न लागेका हुन् ।
बालेनका विज्ञ सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बन्दै
काठमाडौं । सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् । उनले प्रधानमन्त्री बालेन शाहसँगै आजै शपथ ग्रहण गर्ने छन् । ३५ वर्षीय लम्साल रूपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका हुन् । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उनले नेपाली कांग्रेसका हीराबहादुर केसीलाई ४२ हजार ८ सय ६३ मतान्तरले हराउँदै संसदीय यात्रा तय गरेका थिए । उनले खसेको ९६ हजार ८ सय ५९ सदरमध्ये ५४ हजार ८ सय ४५ मत प्राप्त गरेका थिए । कांग्रेसका केसीले ११ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए । काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह मेयर हुँदा उनले पूर्वाधार एवं वातावरणविज्ञका रुपमा सचिवालयमा काम गरेका थिए ।
र्यापर, मेयरदेखि ३५ वर्षमै प्रधामन्त्रीसम्म, को हुन् बालेन शाह ?
काठमाडौं । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । को हुन् बालेन ? बालेनले एक इन्जिनियर, र्यापर, स्वतन्त्र युवा अभियन्ता र काठमाडौं महानगरपालिकाका मेयर लगायतका परिचयहरूलाई समेट्दै उनले नेपाली राजनीतिमा एउटा नयाँ अध्याय सुरु गरेका छन् । नेपालको समकालीन राजनीतिक इतिहासमा केही यस्ता पात्रहरू उदाएका छन् जसले परम्परागत बाटोको यात्रालाई मोडेर नयाँ सम्भावनाको ढोका खोलेका छन् । तिनैमध्ये एक हुन् बालेन्द्र शाह, जसलाई आम रूपमा बालेन भनेर चिनिन्छ । शाहको जन्म २०४७ सालमा भएको हो । उनका बुबा सरकारी सेवामा थिए भने आमा गृहिणी हुन् । उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन् । आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन् । उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी जिल्ला हो । उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन् । इन्जिनियरिङ अध्ययनको क्रममा उनी समाजका संरचनागत समस्याहरूसहित सहरी योजना, अव्यवस्थित विकास, प्रदूषण र प्रशासनिक कमजोरीप्रति झन् संवेदनशील बनेको उनको सचिवालयले जनाएको छ । इन्जिनियरिङ अध्ययनसँगै बालेनले संगीत क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका छन् । उनी नेपाली ¥याप संगीतमा सामाजिक मुद्दाहरू उठाउने कलाकारका रूपमा चिनिएका थिए । उनका गीतहरूमा भ्रष्टाचार, राजनीतिक विकृति, सामाजिक असमानता, युवाको निराशा जस्ता विषयहरू प्रमुख रूपमा उठेका छन् । संगीतसँगै शाह सामाजिक अभियन्ताको रूपमा पनि सक्रिय थिए । उनले विशेषगरी काठमाडौंको अव्यवस्थित सहरीकरण, फोहोर व्यवस्थापन, ट्राफिक समस्या र भ्रष्टाचारविरुद्ध आवाज उठाए । यसले उनलाई युवा विद्रोही आवाजको रूपमा स्थापित गर्यो । उनी नेपाली ¥याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिए । त्यतिबेला धेरैले उनको उम्मेदवारीलाई प्रतीकात्मक मानेका थिए । किनकि उनका प्रतिस्पर्धीहरू ठूला राजनीतिक दलका शक्तिशाली उम्मेदवार केशव स्थापित, सृजना सिंह थिए । तर बालेनले परम्परागत राजनीतिक समीकरणलाई उल्ट्याउँदै जित हासिल गरे । बालेनले विशेषगरी युवाहरूको ठूलो समर्थन पाए । युवाहरूको नजरमा उनी आफ्नो मान्छेको रूपमा प्रस्तुत भए । जनतामा स्थापित दलप्रति निराशा थियो । बालेन त्यसको विकल्प बने । उनले सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गरे । उनको एजेन्डा स्पष्ट थियो सफा सहर, पारदर्शी प्रशासन र कानुनको कडाइ । यिनै एजेण्डामा उनले निर्वाचन जिते । मेयर बनेपछि बालेनले केही साहसिक र विवादास्पद निर्णयहरू पनि लिए । काठमाडौंका सडक छेउका अवैध संरचना हटाउने अभियान सुरु गरियो । यसले ट्राफिक व्यवस्थापनमा सुधार ल्यायो । सिसडोल समस्या समाधानका लागि पनि बालेनले पहल गरेका थिए यद्यपि यो पूर्ण रूपमा समाधान हुन सकेको छैन । उनको मेयरको कार्यकालमा सामुदायिक विद्यालय सुधारका लागि विभिन्न कार्यक्रमहरू लागू गरिए । सेवाहरूलाई डिजिटल बनाउने प्रयास गरियो । बालेनको लोकप्रियता काठमाडौंमा मात्र सीमित थिएन, देशैभरि नै लोकप्रियता चुलिएको थियो । धेरैले उनलाई भविष्यका सम्भावित प्रधानमन्त्रीका रूपमा हेर्न थालिसकेका थिए । जुन उनले देशको चालीसौं प्रधानमन्त्रीको रूपमा शपथ लिएसँगै पूरा भएको छ । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी भएका हुन् । प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मेयरबाट राजीनामा दिएका उनी रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका हुन् । रास्वपाले शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो । रास्वपाले पूर्वघोषणाअनुरुप शाहलाई बिहीबार प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गरेको थियो । काठमाडौं नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पास गरेका हुन् । उनले स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन् । त्यहाँ उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए । उनले स्नातकोत्तर तहको अध्ययन भारतमा गरेका हुन् । भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङ अध्ययन पूरा गरेका शाहलाई निर्माणसम्बन्धी कार्यको अनुभव पनि छ ।
शपथसँगै सांसदलाई तलब सुविधा सुरु, मासिक आम्दानी १ लाख नाघ्ने
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन् । शपथ ग्रहणसँगै सांसदहरूको औपचारिक जिम्मेवारी सुरु भएको छ भने सेवा-सुविधा पनि लागू भएको संघीय संसद् सचिवालयले जनाएको छ । सांसदहरूले ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३’ अनुसार तलब तथा अन्य सुविधा पाउनेछन् । सांसदहरुले तलबसहित विभिन्न बैठक भत्तामा उपस्थित भएरबापत मासिक १ लाख रुपैयाँ हाराहारी र सेवा सुविधा पाउने देखिन्छ । सांसदहरूको मासिक तलब ६६ हजार ७० रुपैयाँ तोकिएको छ । यसबाहेक, उनीहरूले मासिक १ हजार रुपैयाँ विशेष भत्ता पनि पाउँछन् । संसदीय समिति वा संसद् बैठकमा सहभागी भएबापत दिनको १ हजार रुपैयाँ बैठक भत्ता उपलब्ध गराइन्छ । तर, समिति र संसद् बैठक एउटै दिन परेमा दोहोरो भत्ता भने पाइँदैन । बैठकमा सहभागी हुनका लागि १ हजार रुपैयाँ सवारी भाडा पनि दिइन्छ । काठमाडौं उपत्यकामा आफ्नै घर नभएका सांसदहरूले मासिक १८ हजार रुपैयाँ घरभाडा पाउँछन् भने घर भएकालाई ९ हजार रुपैयाँ मर्मतसम्भार खर्च दिइन्छ । सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट तथा पत्रपत्रिका) का लागि मासिक ३ हजार रुपैयाँ र बिजुली-पानीका लागि २ हजार रुपैयाँ उपलब्ध गराइन्छ । त्यसैगरी, सांसदलाई एकमुष्ट १५ हजार रुपैयाँ फर्निचर खर्च पनि प्रदान गरिन्छ । तलब र अन्य सुविधासहित सांसदहरूको मासिक आम्दानी १ लाख रुपैयाँभन्दा बढी पुग्ने देखिन्छ, जुन बैठक सहभागिताको आधारमा फरक पर्न सक्छ । आधिकारिक कामका लागि देशभित्र भ्रमण गर्दा दैनिक २ हजार ५ सय रुपैयाँ भत्ता दिइन्छ भने विदेश भ्रमणमा प्रतिदिन २२५ अमेरिकी डलर उपलब्ध गराइन्छ । विदेश भ्रमणका क्रममा १० लाख रुपैयाँसम्मको यात्रा बिमा पनि व्यवस्था गरिएको छ। विदेश भ्रमण भत्ता भने सभामुखको स्वीकृतिपछि मात्र पाइन्छ । सांसदहरूलाई औपचारिक विदेश भ्रमणका लागि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रदान गरिन्छ । स्वास्थ्य सेवाअन्तर्गत सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा परामर्श शुल्क तथा अस्पताल खर्चमा सहुलियत पाइने व्यवस्था छ । कार्यकालमै सांसदको मृत्यु भएमा परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिन्छ भने अपाङ्गता भएका सांसदलाई एकमुस्ट ५० लाख रुपैयाँ सहयोग दिने प्रावधान छ ।