विकासन्युज

तनहुँ जलविद्युत:  प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

काठमाडौं । तनहुँ जलविद्युत आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान सुरु भएको छ । आयोजनाको प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपान सुरु गरिएको हो । आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारमा पर्ने चितवन जिल्लास्थित राष्ट्रिय वनमा रहेका रुखहरूको छपान कार्य सुरु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटबिरुवा हटाउन वन तथा भू-संरक्षण विभागसँग सम्झौता भएको थियो ।  प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका ९ हजार १२७ रुख पोल हटाउन अनुमति प्राप्ति भएसँगै काम अगाडि बढेको भण्डारीले बताए ।  मन्त्रिपरिषद्को निर्णय बमोजिम आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटबिरुवा हटाउन तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भू-संरक्षण विभागबीच हालै सम्झौता भएको थियो ।  यस प्याकेजको निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरहरूको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न गरिसकेको छ । यस प्याकेजको समग्र प्रगति ७६ प्रतिशत रहेको भण्डारीले बताए ।  तनहुँ जलविद्युत आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । प्याकेज एक अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५४ प्रतिशत प्रगति भएको भण्डारीले बताए । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुइवटा डाइभर्सन सुरुङलगायत संरचनाको निर्माणकार्य सकिएको छ । मुख्य बाँध निर्माणका लागि सेती नदीलाई २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो । वि.सं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माणकार्य सकिएको जनाइएको छ ।  प्याकेज-२ अन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । यस अवधिसम्म भूमिगत संरचना निर्माणका लागि खन्ने कार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माणकार्य सम्पन्न भएको भण्डारीले बताए। विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको प्रगति ७३ प्रतिशत छ । भण्डारीका अनुसार विद्युतगृहको सिभिल कार्य करिब सम्पन्न भएको छ भने इलेक्ट्रोमेकानिकल कार्य जारी छ । विद्युतगृहमा छाना लगाउने, पानी फाल्ने लगायतका काम भइरहेका छन् । 

१२ वर्षपछि बन्यो सडक पुल, २४.२२ करोडमा भएको थियो ठेक्का सम्झौता

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ । पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ । पुल निर्माणको सम्झौता अनुरूप त्यतिबेला काम सुरु भएर ३ वटा पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि डिजाइन परिवर्तन भएर पुल निर्माण हुन १२ वर्ष लागेको हो । ‘पुलको फाउन्डेसनमै समस्या देखिएपछि डिजाइन परिवर्तन गरेर पुल निर्माण गर्न समय लाग्यो,’ डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर हरिसप्रसाद जोशीले भने, ‘पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भइसकेको छ ।’  उनका अनुसार उक्त पुल निर्माणका लागि ३ पटकसम्म म्याद थप गरिएको थियो । दोदा नदीमा पुल नहुँदा वर्षौंदेखि यहाँका स्थानीयले आवतजावतमा समस्या झेल्दै आएका थिए । ‘पुल बनेपछि हामीलाई आवतजावतमा सहज भएको छ, वर्षातमा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो । पुल बनेपछि यहाँका स्थानीयलाई ठूलो राहत भएको छ,’ स्थानीय भूपेन्द्र चौधरीले भने ।  नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले बाध्य भएर ज्यान नै जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय रमेश महर बताउँछन् ।  ‘नदीपारि लालझाडीमा बसाइ रहेका धेरैको वारि कृष्णपुर नगरपालिकामा खेती छ । पुल बनेपछि यहाँका स्थानीय हर्षित छन्,’ उनले भने ।  उनले उक्त नदीमा पुल नहुँदा यहाँका स्थानीयहरू रोपाइँको सिजनमा सास्ती खेप्दै आएको बताए । पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३० पैसा र बिक्रीदर २०१ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९० रुपैयाँ ०६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४० पैसा र बिक्रीदर १०८ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७२ पैसा र बिक्रीदर २१ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १९ पैसा र बिक्रीदर २३ रुपैयाँ २८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४० पैसा रहेको छ  । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विधिपूर्वक मनाइँदै राम नवमी पर्व, रामजस्तै राज्य सञ्चालकको आशा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने राम नवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्या देवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।  विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान रामचन्द्रको कुण्डलीमा पाँच ग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई राम नवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरिएको बताउँछन् ।  ‘जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्न सकेमात्र यो पर्व मनाउनुको अर्थ हुन्छ,’ उनले भने । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्‍टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा राम लीला प्रदर्शन गरिन्छ । राम नवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुसुप्त दसैँ भनिन्छ । त्यसैगरी, व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नास भई बैकुण्ठ बास प्राप्त हुने उल्लेख छ । असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने राम नवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेता युगमा आजकै दिन भारतको अयोध्यामा भगवान श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी राम गीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको सातौं अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नास गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उहाँको सम्झनामा राम नवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

राति १० बजे असन पुगेर राष्ट्रपति पौडेलले गरे सेतो मच्छेन्द्रनाथको पूजा

काठमाडौं । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका छन् । असनमा राति करिब १० बजे उनले सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना एवं दर्शन गरेका हुन् । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दसैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्राको प्रक्रिया सुरु हुने परम्परा रहेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्‍टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा सुरु भएको छ । रथयात्रामा हजारौंको सहभागिता जुटेको छ । रथयात्राका लागि बिहीबार बेलुकी ५ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन बिहीबार रथ असन पुर्याइएको जनाइएको छ । सोही क्षेत्रमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रवहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ । चैत्र शुक्ल अष्टमीका दिन बिहीबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी एवं काठमाडौं महानगरपालिका-२५ का पूर्वअध्यक्षसमेत रहिसकेका नीलकाजी शाक्यले जानकारी दिए । 

मुलुकले आज जननिर्वाचित प्रधानमन्त्री पाउने, राष्ट्रपतिले बालेन्द्र शाहलाई सपथ खुवाउने

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार अपरान्ह प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।  गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् । 

देशका विभिन्न भागमा वर्षा र हिमपात हुने, कोशी, बागमती र गण्डकीमा सतर्क रहन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा अधिकांश बदली, पहाडमा साधारणतया बदली र तराई भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ । आज राति हिमाली भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेश लगायत पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । मौसमको उपर्युक्त अवस्थालाई दृष्टिगत गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हुने सम्भावित वर्षा, हिमपात र हुरीबाट सतर्क रहन तथा पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह पनि गरेको छ ।

प्रधानमन्त्री कार्कीले जाँदाजाँदै के-के भनिन् ? {भिडियो}

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । शुक्रबार नयाँ सरकार आउने भएसँगै उनले राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् । उनले ६ महिनाको अवधिमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई आभार प्रकट गरिन् ।  यस्तो छ उनको समबोधनको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नमस्कार। आज म तपाईंहरूसामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ। म सम्झिरहेकी छु, ती कलिला बालबालिका, जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्‍यो। ती ऊर्जावान् किशोरकिशोरी, जसले आजीवन अपांगता व्यहोर्नुपर्‍यो। ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुपर्‍यो। सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुति दिने ती सम्पूर्ण सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते योद्धाहरुको स्वास्थ्य लाभको कामना गर्दछु। र, सहारा गुमाउनुभएका परिवारलाई भन्न चाहन्छु, तपाईँहरु एक्लो हुनुहुन्न। तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दछु। हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न म सबैलाई आह्वान गर्दछु। भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो। तर देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ। परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ। अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु। हामी सबैलाई स्मरण होला- २०८२ भदौ २३ र २४ को युवाहरुको अगुवाइमा भएको जनआन्दोलनपछिको जटिल परिस्थिति। ७६ जनाको निधन, २ हजार ६ सयभन्दा बढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो। त्यस्तो अवस्थाबाट वातावरण सहज बनाउँदै, सुरक्षा संगठनको मनोबल उकास्दै, प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनुपरेको थियो। सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास गर्‍यौँ। आयोग पनि सरकारको चाहना र मुलुकको आवश्यकता बमोजिम घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्ययोजनामा अघि बढ्यो। र, फागुन २१ गते तोकिएकै दिन एकै खेपमा ऐतिहासिक रुपमा शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न भयो। यस कार्यमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तज्यूहरु, त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुले छोटो समयमा गहन परिश्रम गरी महत्त्वपूर्ण भूमिका खेल्नुभयो। म उहाँहरुको उच्च प्रशंसा गर्दछु। नेपाली सेनाले अहोरात्र खटेर कहालीलाग्दो परिस्थितिलाई काबुमा लिँदै सुरक्षा व्यवस्था सुदृढ गर्न र निर्वाचन गराउन समेत महत्त्वपूर्ण भूमिका खेलेको छ। यसका निम्ति प्रधानसेनापतिसहित प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु। चौकी जलाइएका, हतियार लुटिएका, लुगा, जुत्तासमेत नभएका अवस्थामा पनि खरानीबाट उठाएर संगठनलाई पुनः सक्षम बनाउँदै निर्वाचन सम्भव तुल्याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु। राष्ट्रिय अनुसन्धान विभागले देखाएको सक्षमता थप प्रशंसनीय छ। यसका लागि प्रमुख र प्रत्येक कर्मचारीलाई धन्यवाद छ। आफ्नो घरबार छोडी छोटो समयका लागि पनि आएर सेवा गर्ने निर्वाचन प्रहरीहरुको योगदान ससम्मान सम्झिन चाहन्छु।     निर्वाचनमा खटिने अदालतका कर्मचारीसहित प्रत्येक राष्ट्रसेवक पनि धन्यवादका पात्र हुनुहुन्छ। सबै राजनीतिक दल तथा उम्मेदवारहरुले विषम परिस्थितिका बीच निर्वाचनमा भाग लिएर गर्नुभएको सहयोगका लागि पनि आभारी छु। यस निर्वाचनको महान् पर्वमा फागु वा होलीलाई पनि थाती राखी शान्तिपूर्ण तरिकाबाट सहभागी हुनुहुने सम्पूर्ण मतदाताप्रति कृतज्ञ छु। यस्तै सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा पर्यवेक्षक पनि धन्यवादको पात्र हुनुहुन्छ। मित्रराष्ट्रहरू, विभिन्न विकास साझेदारसहित अन्तर्राष्ट्रिय समुदायको सहयोगप्रति पनि म कृतज्ञता व्यक्त गर्दछु। मेरो नेतृत्वमा सरकारमा सहभागी मन्त्रीज्यूहरू र मेरो सचिवालयको टोलीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। सम्माननीय राष्ट्रपतिज्यूको अभिभावकीय भूमिका र मार्गदर्शन स्मरणीय छ। विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले थुप्रै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ। निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा यसपालि हामीले थुप्रै मानक स्थापित गर्न सकेका छौँ। आगामी चुनावहरुमा यही स्तर कायम राख्न सक्यौँ भने हाम्रो लोकतन्त्रलाई थप सुसंस्कृत र समृद्ध चरणमा पुर्‍याउन सकिनेछ। यस निर्वाचनले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ- निःस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ। संकटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनः प्रमाणित गरेका छौँ। र हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन र आफ्नो समस्या आफै सुल्झाउन सक्छौँ भन्ने पनि सावित गरेका छौँ। यो निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकहरुले स्पष्ट जनादेश दिनुभएको छ। यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत सावित गरिदिएको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु। यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु। छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। तर हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ। जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायहरुलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न हामीले प्रेरित गर्‍यौँ। परिणामस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका प्रकरणहरुमा मुद्दा अघि बढाएका छन्। ठेका लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्ने जस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रुपमा कठोर कदम चालेको छ। जेनजी आन्दोलनको जगमा बनेको यस सरकारले आन्दोलनकारीहरुसँग २०८२ मंसिर २४ गते ऐतिहासिक सम्झौता गरेको छ। उक्त सम्झौताबमोजिमका केही काम अधुरा रहेका कारण आगामी सरकारले प्राथमिकतासाथ अघि बढाउने विश्वास लिएकी छु। आन्दोलनका क्रममा भएको बल प्रयोग, तोडफोड, आगजनी, लुटपाट लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ। र आगामी सरकारले प्रतिवेदनको पूर्ण अध्ययन गरी सिफारिस र सुझावहरुको सन्दर्भमा आवश्यक कदम चाल्ने नै छ। जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र प्रतिष्ठानलाई राहत, कर छूट, सहुलियत तथा सुविधाहरू प्रदान गरी आर्थिक गतिविधि सहजरूपमा सञ्चालन गर्न र उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको छ। जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। म आज यहाँ सरकारका कामको फेहरिस्त वा उपलब्धि सुनाउन उपस्थित भएकी होइन। हामीले के गर्न सक्यौँ र के सकेनौँ भन्ने मूल्यांकन गर्ने जिम्मा यहाँहरुलाई नै छाड्न चाहन्छु। यो कठिन घडीमा हामीले निकै सानो र छरितो टिम बनाएर रातदिन खटेर, आलोचना र प्रहार सहेर, पीडा खपेर, देशकै निम्ति भनेर काम गरेका छौँ। कुनै सुविधाको लोभ नगरी मितव्ययी ढंगले हामी चलेका छौँ।यस क्रममा सबै काम राम्रो र त्रुटिरहित ढंगले गर्‍यौँ भन्ने पनि दाबी छैन। तर यहाँहरुसामु के निवेदन गर्दछु भने हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौँ। पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गरेका छौँ। यस अवधिमा केही राम्रो गर्न सकिएको रहेछ भने त्यो तपाईंहरूकै कारण सम्भव भएको हो। यस निम्ति तपाईंहरू सबैप्रति नतमस्तक छु। यदि कमजोरी रह्यो भने त्यो मेरै भागमा पारिदिनुहोला। अन्त्यमा, मुलुकका सबै संस्था र सबै पक्षले आआफ्नो संवैधानिक मर्यादाको परिपालना गर्दै अगाडि बढ्नुको विकल्प छैन। यसबाट मात्र सुशासनको जग मजबुत हुन्छ भन्ने हेक्का राख्न विनम्र अनुरोध गर्दछु। अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु। र आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु- जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ। धन्यवाद। नमस्कार।