विकासन्युज

सरकारको प्रवक्ता बने शिक्षामन्त्री पोखरेल

काठमाडौं । सरकारको प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेल बनेका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेकाे हाे ।

स्वास्थ्य जनशक्तिको पलायन रोक्ने नवनियुक्त स्वास्थ्यमन्त्री मेहताको उद्घोष

काठमाडौं । स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छिन् । शुक्रबार मन्त्रीको सपथ लिएलगत्तै स्वास्थ्य मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।  तर उनले कुनै निर्णय भने गरेकी छैनन् ।  मेहताले स्वास्थ्य जनशक्ति विदेश जाने प्रणालीलाई रोक्न पहल गर्ने बताइन् । अहिले चिकित्सक नर्सदेखि स्वास्थ्यका अधिकांश विधाका जनशक्ति विदेश पलायन हुनेक्रम रहेकाले कसरी रोक्न सकिन्छ भन्ने विषयमा पहल गर्ने मेहताले जानकारी दिइन् । नर्स पेशाबाट मन्त्री बनेकी मेहताले नर्सहरूको समस्या नजिकबाट नियालेको र आफैले समेत भोगेको बताउँदै नर्सका समस्या समाधान गर्न लाग्ने बताइन् ।  उनले स्वास्थ्य सेवा नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि सक्दो प्रयास गर्ने बताएकी छिन् ।

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद बैठक सुरु भएको छ । पदभार ग्रहण सकी नवनियुक्त मन्त्रीहरू बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेका छन् । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूलाई आजै शपथ खुवाएका थिए ।

सहरी विकास मन्त्रालय भौतिक पूर्वाधार मन्त्रालयमा मर्ज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले सहरी विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मर्ज गरेको छ । मन्त्रालयको संख्या घटाउनुपर्ने सरकारी प्रतिवेदनमा टेकेर रास्वपा सरकारले कटौती गरेको हो । नवनियुक्त भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री सुनिल लम्सालले मन्त्रालयकाे बागडोर सम्हालेका छन् ।

शिक्षा सुधारमा महानगरको अनुभव देशभर विस्तार गर्ने मन्त्री पोखरेलको उद्घोष

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले पदभार ग्रहण गरेका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भइसकेपछि शितलनिवासबाट शपथ लिई सिंहदरबारमा उनले पदभार ग्रहण गरेका हुन्।  मन्त्री पोखरेलले काठमाडौं महानगरमा सुरु गरेको शिक्षा सुधारको प्रयास देशभर विस्तारै गर्ने बताए ।  करिब साढे तीन वर्षमा महानगरका शिक्षा सुधारको प्रयास गरेकाले अब देशभरका सबै पालिकामा यो प्रयास गरिने उनले जानकारी दिए ।  उनी भन्छन्, ‘अहिले  जनमानसमा रास्वपा आउनेबित्तिकै आजको भोलि विकासले फड्को मार्ने अपेक्षा गरेको छ तर, एकैदिन कुनै परिवर्तन सम्भव छैन । हामीले गर्ने भनेको पनि पहिले भइरहेका राम्रा प्रयासलाई आत्मसाथ र गलत प्रयासलाई सुधार्ने हो ।’  मन्त्री पोखरेलले यो कार्यमा सहयोग गर्न मन्त्रालयका सबै कर्मचारीको साथ र सहयोग आवश्यक रहेको बताए । ‘ब्युरोक्रेसी र लिडरसिप भनेको एकअर्कासँग नमिलिकन संसारमा कहीँ पनि काम हुँदैन, हजुरहरूप्रति पूर्ण विश्वास छ जुन किसिमले अगाडि कार्यक्रमहरू भइरहेको थियो त्यही किसिमले अगाडि बढाउने हो । हामी आउनेबित्तिकै यो परिवर्तन गर्ने केही हुँदैन, जुन किसिमको छ त्यही किसिमले कार्यक्रम अगाडि बढाइन्छ,’ उनले भने । उनले शिक्षा क्षेत्रमा बजेट कम रहेको गुनासो पहिलेदेखि आउने गरेको बताउँदै अब बढाउने आफ्नो प्रयास रहने बताए ।  ‘यही आर्थिक वर्षको बजेट बढाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा तत्काल भन्न सकिँदैन,’ उनले भने, ‘आगामी आर्थिक वर्षको योजना बनाएर अगाडि बढ्न सकिन्छ ।’  मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा १० प्रतिशत बजेट पुर्‍याउनुपर्ने बताउँदै त्यसो हुन नसकेको उल्लेख गर्दै यो विषयमा अध्ययन गरेर काम गर्ने बताए ।  उनले विद्यालय र विश्वविद्यालयमा भएको राजनीति अन्त्य र नेपालका विश्वविद्यालय र अन्य देशका विश्वविद्यालयले गरेका राम्रा कामको सुरुवात गरिने पनि बताए ।

भौतिक पूर्वाधारमन्त्री लम्सालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री सुनिल लम्सालले पदभार ग्रहण गरेका छन् । शुक्रबार शितलनिवासमा मन्त्रीको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनले मन्त्रालयमा आन्तरिक छलफल गरेर निर्णय सार्वजनिक गर्ने बताएका छन् । 

वरीयतामा चित्त नबुझेपछि अमरेशले गरे मन्त्रीपद अस्वीकार

काठमाडौं । नेपाली राजनीतिमा केही यस्ता पात्रहरू छन् जसले परम्परागत बाटो मात्र पछ्याउँदैनन् बरु समयअनुसार नयाँ बाटो निर्माण गर्छन् । तीमध्ये एक हुन्, अमरेशकुमार सिंह । उनलाई नेपाली राजनीतिमा चतुर खेलाडीका रूपमा चिन्ने गरिन्छ । उनले हरेक राजनीतिक परिस्थितिको सूक्ष्म विश्लेषण गर्दै आफ्नो चाल तय गर्ने गरेको देखिन्छ ।  लामो समय कांग्रेसको राजनीति गरेका सिंह बालेन्द्र शाहको मन्त्रिपरिषदमा मन्त्री बन्ने चर्चा थियो । तर अन्तिम समयमा प्रधानमन्त्री बालेनलाई फोन गरेर उनले आफूलाई मन्त्रीबाट हटाउन अनुरोध गरे ।  सिंह निकट स्रोतका अनुसार प्रधानमन्त्री बालेनले आग्रह गरेपछि अर्थमन्त्रीपछिको दोस्रो वरीयतामा परराष्ट्र मन्त्रालय पाए उनले काम गर्ने इच्छा व्यक्त गरेका थिए। सुरुमा सिंहले मन्त्री बन्न अनिच्छा देखाएका थिए तर, प्रधानमन्त्री बालेनले आग्रह गरेपछि उनले आफूलाई परराष्ट्र मन्त्रालय दिन आग्रह गरेका थिए । सुरुमा बालेनले सिंहको प्रस्तावमा सहमति जनाएपनि अन्तिममा उनलाई परराष्ट्र मन्त्रालय नदिइएको स्रोतले जनाएको छ । सिंह निकट स्रोतका अनुसार उनले मन्त्री बन्न चाहेका छैनन् । लामो समय नेपाली कांग्रेस पार्टीमा सक्रिय रहेका सिंहले २०७९ को आमनिर्वाचन अगाडि पार्टी त्यागेर स्वतन्त्र राजनीतिक यात्रा सुरु गरे र सर्लाही– ४ मा विजयी भएरै छाडे ।  त्यसपछि आम निर्वाचन २०८२ को पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै सिंहले फेरि एकपटक आफ्नो राजनीतिक टाइमिङ प्रमाणित गरेका छन् । सोही निर्वाचनमा उनले कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै संसदमा पुनरागमन गरे, जसले उनलाई राष्ट्रिय राजनीतिमा अझ चर्चित बनायो । आजभन्दा ५५ वर्ष पहिले मधेस प्रदेशको सर्लाही जिल्लामा जन्मिएका अमरेश कुमार सिंह मधेसकै सामाजिक राजनीतिक परिवेशमा हुर्किएका नेता हुन् । सानैदेखि बहस, नेतृत्व र सामाजिक मुद्दामा रुचि राख्ने उनी विद्यालय जीवनदेखि नै सक्रिय रहने गरेको जानकारहरू बताउँछन् ।  प्रारम्भिक शिक्षा आफ्नै गृहजिल्लाबाट पूरा गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं पुगे । त्रिभुवन विश्वविध्यालय अन्तर्गतका कलेजहरूमा राजनीतिशास्त्र, समाजशास्त्र वा कानुन अध्ययन गरेका सिंहले भारतको जवाहारलाल नेहरु विश्वविद्यालयवाट पीएचडीको उपाधिसमेत प्राप्त गरेका छन् ।  विद्यार्थी जीवनमै उनी विभिन्न लोकतान्त्रिक आन्दोलन र विद्यार्थी संगठनसँग जोडिएका नेतासमेत हुन् ।  सिंहको राजनीतिक पहिचान नेपाली कांग्रेसबाट सुरु भएको हो । विद्यार्थी र युवा राजनीतिबाट अघि बढ्दै उनले पार्टीभित्र आफ्नो स्थान बनाएका थिए । मधेसका पहिचान, प्रतिनिधित्व र विकासका मुद्दाहरूलाई सशक्त रूपमा उठाउँदै उनले आफूलाई फरक धारको नेताका रूपमा स्थापित गरेका हुन् । उनी सधैं स्पष्ट रूपमा आफ्नो धारणा राख्ने, आवश्यक पर्दा पार्टी नेतृत्वको आलोचना गर्न पनि नहिच्किचाउने नेताका रूपमा चिनिन्थे । उनको यही स्पष्टवादिता कहिलेकाहीँ विवादको कारण पनि बन्यो, तर यसले उनलाई जनतामाझ निर्भीक नेताको छवि बनाइदिएको देखिन्छ । अमरेश कुमार सिंहको संसदीय यात्रा निरन्तर सफलताले भरिएको देखिन्छ । २०६५ सालको पहिलो संविधानसभा निर्वाचनपछि उनी समानुपातिक प्रणालीबाट संसदमा प्रवेश गरे । त्यसपछि २०७० मा सर्लाहीबाट प्रत्यक्ष निर्वाचित हुँदै उनले आफ्नो जनाधार प्रमाणित गरे । २०७४ को निर्वाचनमा वाम गठबन्धनको लहर देशभरि देखिँदा पनि उनले नेपाली कांग्रेसबाटै जित हासिल गरे । यो जितले उनलाई बलियो क्षेत्रीय नेता मात्र होइन, प्रतिस्पर्धी राजनीतिमा टिक्न सक्ने व्यक्तित्वका रूपमा स्थापित ग‍¥यो । तर २०७९ को निर्वाचनमा पार्टीले उनलाई उम्मेदवार नै नबनाएपछि उनले विद्रोहको बाटो रोजे । स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै उनले पुनः जित हासिल गरे । यो घटना उनको राजनीतिक जीवनको महत्त्वपूर्ण मोड बन्यो, जसले पार्टीभन्दा माथि उठेको उनको व्यक्तिगत प्रभाव समेत देखायो । २०७९ पछि स्वतन्त्र सांसद बनेका सिंहले संसदमा अझ स्वतन्त्र रूपमा आफ्ना विचार राख्न थाले । उनले परम्परागत दलहरूको कार्यशैलीमाथि आलोचना गर्दै वैकल्पिक राजनीतिक सोचको आवश्यकतालाई संसदमा निरन्तर औंल्याइरहे । यही सन्दर्भमा २०८२ को निर्वाचनअघि उनी रास्वपामा प्रवेश गरे । नयाँ दलसँगको उनको सहकार्यलाई धेरैले रणनीतिक कदमका रूपमा हेरेका थिए । उक्त निर्वाचनमा सिंहले नेपाली राजनितिमा सफल मानिएका कांग्रेसका शक्तिशाली सभापति गगन थापालाई पराजित गरे । निर्वाचनमा उनले थापालाई पराजित गर्नु व्यक्तिगत जित मात्र नभई परम्परागत शक्तिमाथि नयाँ राजनीतिक धारको चुनौती पनि हो ।

गृहमन्त्री गुरुङले भने– कम बोल्ने मान्छे हुँ, एक्सनमा जान्छु

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् । उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् ।  उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् । उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दुस्ख दिने काम गर्न नहुने बताए । ‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको मागअनुसार हामी आएको हाैं । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ उनले भने । सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रहसमेत गरे ।