विकासन्युज

सम्पर्कविहीन हेलिकप्टर पाइलट सुरज थापाले उडाएका थिए

   काठमाडाै । दोलाखाको लाप्चा–चारिकोट क्षेत्रमा मुस्ताङ हेलिकप्टर सम्पर्कविहीन भएको छ । कलसाइन ९एन–एनओ नम्बरको उक्त हेलिकप्टर दिउँसो १२ : १७ बजे उडान भरेपछि सम्पर्कविहीन भएको हो । हेलिकप्टरमा ४ जना यात्रु र १ जना चालक दल सदस्य ५ जना सवार थिए । हेलिकप्टर पाइलट क्याप्टेन सुरज थापाले चलाएको पाईएको छ । सम्पर्कविहीन भएको खबरपछि सम्बन्धित निकायले उक्त क्षेत्रमा खोज तथा उद्धार ​​कार्य सुरु गरेको जनाएको छ । डोलखाको दुर्गम भौगोलिक अवस्था र सम्भावित खराब मौसमका कारण खोजी कार्यमा चुनौती हुन सक्ने बताइएको छ।    

परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार पदभार ग्रहण गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सक्रिय नेता खनाल पार्टीको विदेश विभाग प्रमुखसमेत हुन् । उनले पार्टीभित्र पर्यटन विभाग प्रमुखको जिम्मेवारी पनि वहन गर्दै आएका छन् ।  ४७ वर्षीय खनाल शैक्षिक रूपमा पनि सशक्त पृष्ठभूमि बोकेका छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन-म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् भने बज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।  नयाँ परराष्ट्रमन्त्रीको रूपमा खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउने, कूटनीतिक पहललाई प्रभावकारी बनाउने तथा देशको हितलाई विश्वमञ्चमा अझ मजबुत रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । 

प्रधानमन्त्री बालेन साहको पहिलो मन्त्रिपरिषद बैठक ४ बजे बस्दै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेपछि शुक्रबार साँझ ४ बजे पहिलो मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।  बैठकले आगामी दिनमा सरकारको प्राथमिकता र कार्यदिशा तय गर्ने स्रोतले जनाएको छ ।  बैठकमा नीति तथा कार्यक्रम निर्धारण र देशका तत्कालीन राजनीतिक तथा आर्थिक चुनौतीहरूको सामना गर्ने रणनीतिका विषयहरू समावेश हुने जनाइएको छ । 

लाङटाङ क्षेत्रमा हेलिकप्टर हरायो

काठमाडौं । लाङटाङ क्षेत्रमा हेलिकप्टर हराएको बुझिएको छ । मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उत्त क्षेत्रमा हराएको हो ।  त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले उक्त हेलिकप्टर हराएको पुष्टि गरे ।  यसबारे थप विवरण प्राप्त आउन बाँकी छ ।  कलसाइन एन–एनओ हेलिकप्टर सम्पर्कविहिन भएको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।  उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले चलाएका थिए ।    हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

क्याबिनेट बैठकअघि प्रधानमन्त्री बालेन र रविबीच छलफल

काठमाडौं । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरुको शपथ ग्रहणपछि पहिलो मन्त्रिपरिषद बैठक आजै बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरू आउन थालेका छन् । अहिले बालेन र रविबीच  प्रधानमन्त्री कार्यालयभित्रै छलफल भइरहेको बुझिएको छ ।    

कृषिमन्त्री चौधरीले गरिन् पदभार ग्रहण

काठमाडौ ।  नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालायमा आज उहाँले पदबहाली गरेकी हुन् ।  मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरे । उनीहरूले मन्त्रालयका गतिविधिबारे ब्रिफिङ गरे । कृषि प्रधान देश नेपालमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत कृषि क्षेत्रको योगदान रहँदै आएको छ भने ५० प्रतिशत जनशक्ति यस क्षेत्रमा संलग्न छन् ।  हाल कुल बजेटको तीन प्रतिशत बजेट यस क्षेत्रमा विनियोजन हुँदै आएकामा ८० प्रतिशतसम्म खर्च हुँदै आएको सचिवद्वयले जानकारी गराए । त्यस अवसरमा मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताईन् । 

गुरुका कारण ‘सुधन बने, अहिले ‘गृहमन्त्री’

काठमाडौं । ‘गुरुलाई ढोग्थें । सम्मान गर्ने बानी पहिलेदेखि नै थियो । गुरुको कारण बनेको सुधन हुँ,’ करिब तीन महिनाअघि सुधन गुरुङले एक टीभी अन्तर्वार्ताका क्रममा भनेका थिए । तिनै गुरुङ आज मुलुकको गृहमन्त्री बनेका छन् । गुरुले समाज र राष्ट्रको महत्त्व बुझाउने तिनै गुरुङले आजदेखि गृह प्रशासनको बागडोर सम्हाल्ने छन् । गुरुङ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा गोरखा १ बाट २९ हजार ८९६ मत पाएर विजयी भएका थिए ।  गुरुङ जेनजी आन्दोलनबाट उदाएका नेता हुन् । यहीँ आन्दोलनले उनको जीवनमा राजनीतिक परिवर्तन ल्याएको हो  गुरुङको सक्रियता आन्दोलनपछि पनि  उत्तिकै थियो । उनले सरकार सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार बनाउन अहम भूमिका खेलेका थिए । कार्की प्रधानमन्त्री बनेपछि उनले राष्ट्रपति कार्यालयमा खुट्टासमेत ढोगेका थिए। कार्की नेतृत्वको सरकारमा उनको हस्तक्षेपकारी भूमिका थियो । गुरुङको जन्म गोरखाको दुर्गम चुमनुम्रीमा २०४४ सालमा सामान्य परिवारमा भएको थियो ।आमासँग सम्बन्धविच्छेदपछि उनको बुवा रोजगारीका लागि भारत गए । तीनजना काकामध्ये कान्छा काकाले सुधनलाई आफ्नै परिवारसँग राखे । उनी हजुरवुवासँग बसेर हुर्किएका हुन् ।  पढाइमा भने सुधन सफल हुन सकेनन् । कक्षा १० मा असफल भएपछि उनले पढाइ छाडे । सुरुमा कल सेन्टरमा काम गरेर सुधनले गुजारा चलाए । पाँच–छ वर्षपछि उनी ठमेलका क्लब र पार्टीहरूमा डीजे बने । ‘डीजे सुधन’ नामले ठमेलका क्लबबीच उनी परिचित भए ।  ठमेलमा उनले पैसा मात्र कमाएनन्, ठूलो नेटवर्क पनि बनाए ।  उनले ‘हामी नेपाल’ नामको गैरसरकारी संस्था स्थापना गरे । यो संस्थाले २०७२ को भूकम्प, कोभिड महामारीमा काम गरेको थियो । विशेषगरी यसले युवा सशक्तिकरणमा काम गर्छ ।  सुधनको सम्पर्क राजनीतिदेखि व्यवसायीसम्म, विदेशी पाहुनादेखि एनजीओसम्म थियो। २०७२ सालको विनाशकारी भूकम्पमा वीर अस्पताल र ट्रमा सेन्टरमा शव र घाइतेको भीड बढ्दा गुरुङ उद्धारमा सक्रिय थिए । उनले स्वयंसेवक परिचालन गरी अस्पताललाई सहज बनाए । त्यहीँबाट उनले ‘सामाजिक अभियन्ता’को परिचय बनाएका हुन् । गुरुङ आफूलाई सामाजिक सेवामा आफ्नै खर्च गर्ने र पारदर्शितामा जोड दिन चाहन्छन् ।

घुस खुवाउने र लाइन लाग्नु पर्ने बाध्यता अब अन्त्य हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रष्टाचारमुक्त र सहज सेवा प्रवाहको प्रतिबद्धता व्यक्त गरेका छन् । डा. वाग्लेले शुक्रबार पदभार ग्रहण गर्दै घुस खुवाउन नपर्ने र लाइन बस्न नपर्ने गरि सेवा प्रवाह हुने प्रतिवद्धता गरेका हुन् ।  पदभार सम्हाल्दै उनले सङ्लो नेतृत्व भए कर्मचारीतन्त्र पनि सहज रूपमा सञ्चालन हुने बताए । ‘कानुनको इमानदार कार्यान्वयन नहुँदा विगतदेखि समस्या देखिएका हुन्,’ उनले भने, ‘अब त्यसलाई सुधारेर जनतालाई सहज सेवा दिनुपर्छ ।’  उनले सरकारी सेवामा हुने ढिलासुस्ती र अनियमितता अन्त्य गर्ने बताए । ‘घुस खुवाउन नपर्ने, लाइन लाग्नु नपर्ने गरी सेवा दिनेछौं,’ उनले भने ।  अर्थमन्त्री वाग्लेले कर्मचारीहरूलाई निहित स्वार्थका काम नगर्न निर्देशन दिँदै लोकसेवा आयोग पास गर्दा देश बनाउने उद्देश्यले लेखिएका निबन्ध सम्झेर काम गर्न आग्रह गरे । ‘जसरी परीक्षा दिँदा देश बनाउने सपना देख्नुभयो, अब त्यसलाई व्यवहारमा उतार्ने बेला आएको छ,’ उनले भने ।  देशको अर्थतन्त्र सुधारतर्फ उन्मुख भए पनि अझै लयमा ल्याउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । सकारात्मक सोच र स्पष्ट नीति भए राज्य गरिब भए पनि देश सबल बन्न सक्ने उनको भनाइ छ । उनले वास्तविक आर्थिक रूपान्तरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए । भूपरिवेष्ठित मुलुकहरूका लागि आवश्यक क्षेत्रमा उदारता नदेखिएको उल्लेख गर्दै नीति सुधारको संकेत गरे । मध्यमवर्गको विस्तार बिना देशको दीर्घकालीन हित सम्भव नहुने उनको भनाइ छ । साथै, विदेश पलायन भएका नेपालीलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने र नेपाली मूलका लगानीकर्तालाई सहज रूपमा जोड्ने नीति लिइने उनले बताए । अर्थमन्त्रीले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड सम्बन्धी विभिन्न ऐनहरू पारित गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए । पूर्वसचिवहरूले आफ्नो कार्यकालमा पूरा गर्न नसकेका कामहरूलाई समेत अघि बढाइने बताउँदै उनले अनुभवी जनशक्तिको उपयोग गरिने स्पष्ट पारे । ‘राम्रो काम गर्नेलाई माया गर्छु, तर नराम्रो काम गर्नेलाई मेरो कुनै संरक्षण हुने छैन,’ उनले भने ।