विकासन्युज

अर्थमन्त्री डा. वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने निर्णय गरेका छन् । अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।  ‘रास्वपाले वाचापत्र पेस गरेको छ, त्यसमा राज्यले स्वीकार गरेका धेरै कुरा ग्रहण गर्दै कार्यान्वयन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हौं,’ वाग्लेले भने । साथै,  १२ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव अनुसार राजस्व अनुसन्धान विभाग खारेज सहित कानुन खारेजी अध्ययन गर्न कार्यदलले काम गर्ने छ ।  उनले प्रणालीमा अधिक नियमन गरिएका कारण अर्थतन्त्र चलायमान बनाउन उप्रेरणा सहितका समस्या सल्टाएर अगाडि बढ्ने बताए । 

निजामती प्रशासनभित्रका संयन्त्रहरूसँग पार्टीको संलग्नता नरहेको रास्वपाको प्रष्टोक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती प्रशासनभित्र सक्रिय विभिन्न समूह, अभियान वा युनियन शैलीका संयन्त्रसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता कुनै पनि संरचनासँग पार्टीको आबद्धता, समर्थन वा संलग्नता नरहेको बताएका हुन् । विज्ञप्तिमा पार्टीको नाम र नेतृत्व जोडेर केही व्यक्तिहरूले स्वार्थ सिद्ध गर्न खोजेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता भ्रममा नपर्न आम कर्मचारी तथा सरोकारवालाहरूलाई बुर्लाकोटीले आग्रह गरेका छन्। ‘निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हार्दिक अपिल गर्दछौं।’ रास्वपाले पछिल्लो समय निजामती प्रशासनभित्र पार्टीको नाम जोडेर गतिविधि भइरहेको भन्ने सूचनाप्रति गम्भीर चासो व्यक्त गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

यस्तो बन्यो बालेन क्याबिनेट

बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् । उनी लोकतन्त्र पछिकै कान्छो प्रधानमन्त्री हुन् । उनीसँगै १४ जना मन्त्रीले पनि सपथ लिएर पदभार ग्रहणका लागि सिंहदरबार पुगेका छन् ।  बालेको मन्त्रिमण्डलमा डा. स्वर्णीम वाग्ले अर्थमन्त्री बनेका छन् भने सुदन गुरुङ गृहमन्त्री बनेका छन् । यस्तै, शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन् भने सोविता गौतम कानुन मन्त्री बनेकी छन् । यस्तै, शिक्षा मन्त्री सस्मित पोखरेल, भौतिक पुर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन÷भूमी, सहकारी तथा गरिबी निवारण प्रतिभा रावल र सिता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् ।  यस्तै, विराज भक्त श्रेष्ठ उर्जा जलस्रोत तथा सिंचाई मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, गनेश पौडेल संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना मन्त्री बनेका छन् ।  दीपक शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने गिता चौधरीले कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । रक्षा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय बालेन आफैले सम्हाल्ने छन् । 

बालेन्द्रको पीएसओमा डीएसपी बस्याल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निजी सुरक्षा अधिकृत (पीएसओ) मा प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्याल खटिने भएका छन् ।  प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखाले बस्याललाई यो जिम्मेवारी दिएको हो ।  उनी प्रहरीभित्रका एक सफल अनुसन्धान अधिकृत मानिन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टिममा रहेर समेत उनले काम गरेका थिए ।  विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार प्रधानमन्त्रीलाई विशिष्टस्तरको सुरक्षा प्रदान गरिन्छ ।  प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेनाको २००, सशस्त्र प्रहरीको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना सुरक्षाकर्मी खट्ने व्यवस्था छ ।

ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ, यस्तो छ ‘बागमती’ देखि ‘सिंहदरबार सम्मको यात्रा

काठमाडौं । ऊर्जामन्त्रीमा नियुक्त भएका  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले शुक्रबार (आज) प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगै शपथ ग्रहण गरे । उनी दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि युवा तथा खेलकुदमन्त्री बनेका थिए ।  काठमाडौंको इन्द्रचोकमा जन्मिएका श्रेष्ठ विवेकशील साझा पार्टीको पहिले केन्द्रीय सदस्य थिए । तर, पछि सो पार्टी छाड्दै रास्वपामा आवद्ध भए । उनी रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट दोस्रो पटक निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । २०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भएका थिए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिबास लगायतका स्थानमा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।  यस्तै, श्रेष्ठले वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री-मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए । मन्त्रीको रूपमा उनको यो दोस्रो इनिङ्स हो । धेरैले उनलाई सम्भावना भएको युवाका रूपमा हेरेका छन् । काठमाडौं क्षेत्र नम्बर ८ बाट २०७९ को निर्वाचनमा सानदार जित हासिल गरेका श्रेष्ठ अहिले पुनः सोही क्षेत्रबाट चुनाव जितेका  हुन् ।  गत फागुन २१ गते भएको निर्वाचनमा श्रेष्ठले २४ हजार ५९२ मतसहित जित हासिल गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५, नेकपा (एमाले) का राजेश शाक्यले एक हजार ९०९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नविन शाहीले एक हजार ९०९ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचन पनि श्रेष्ठले यही क्षेत्रबाट जित निकालेका थिए ।  बिजनेस एड्मिनिस्ट्रेशनमा स्नातक गरेका श्रेष्ठले आफ्नो करियरको सुरुवात होटल–रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनाहरूमा जागिरेका रूपमा गरेका थिए । श्रेष्ठ २०७४ को निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा होमिएका थिए । समानुपातिक सूचीबाट बागमती प्रदेश सभा सदस्य बनेपछि उनले आफ्नो कार्यशैलीबाट सबैको ध्यान खिचेका थिए ।  श्रेष्ठ हरेक वर्ष आफ्नो कामका प्रतिवेदन सार्वजनिक गर्ने थोरै नेताहरूमध्ये पर्छन् । नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने कानुन पारित गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।  संघीय सरकारले गुठी विधेयक ल्याउँदा उनले सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गरी नेवाः समुदायको भावनाको प्रतिनिधित्व गरेका थिए ।  विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि वैचारिक मतभेदका कारण उनी सो पार्टीबाट अलग समेत भएका थिए । संघीय संसदमा रहँदा उनले सुशासन र खेलकुद क्षेत्रको सुधारका लागि सक्रियता देखाए । छोटो कार्यकालका लागि युवा तथा खेलकुद मन्त्री बन्दा उनले खेलकुद क्षेत्रको बेथिति हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका कदमहरूले उनलाई काम गर्न सक्ने युवा’का रूपमा स्थापित गरेको थियो । 

बालेनका ‘मास्टरमाइन्ड’ अब देशको पूर्वाधार कमाण्डर, यस्तो छ सचिवालयदेखि सिंहदरबारसम्मको यात्रा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएका सुनिल लम्सालले प्रधानमन्त्री बालेन शाहसँगै शुक्रबार (आज) शपथ ग्रहण गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लम्सालले रुपन्देही १ बाट चुनाव जितेका थिए । उनले नेपाली कांग्रेसका हीराबहादुर केसीलाई ४२ हजार ८ सय ६३ मतान्तरले हराउँदै संसदीय यात्रा तय गरेका थिए । उनले खसेको ९६ हजार ८ सय ५९  सदरमध्ये ५४ हजार ८ सय ४५ मत प्राप्त गरेका थिए । कांग्रेसका केसीले ११ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए । सिभिल इन्जिनियर रहेका लम्साल विकास बुझेको नेताका रूपमा मतदाताको रोजाइमा परेको धेरैको बुझाइ छ । ३५ वर्षे लम्साल लामो समयदेखि पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गर्दै आएका युवा हुन् । उनले काठमाडौं महानगपालिका र बालेन्द्र शाह मेयर हुँदा उनको सचिवालयमा प्रमुख सल्लाहकार तथा भौतिक पूर्वाधार विज्ञका रुपमा काम गरेका थिए । यति मात्रै होइन, महानगरपालिकामा बालेनले चलाएको सुधार अभियान र पूर्वाधार विकासको पछाडि लम्सालको प्राविधिक र रणनीतिक दिमाग रहेको मानिन्छ । टुकुचा उत्खननदेखि, सडकका फुटपाथ विस्तार, र अलपत्र परेका आयोजनाहरूलाई गति दिने काममा उनले खेलेको भूमिकाका कारण बालेनले उनलाई देशकै पूर्वाधारको कमाण्ड समेत दिएका दिएका हुन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ का लम्सालले तिलोत्तमामै रहेको लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको निती मिनाक्क्षी इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । अहिले उनले काठमाडौं विश्वविद्यालयबाट सोलिड वेष्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि गर्दैछन् । लम्सालले काठमाडौं महानगरपालिकामा नगर पूर्वाधार तथा वातावरण विज्ञका साथै यस क्षेत्रको भैरहवा र पोखराको अन्तराष्ट्रिय विमानस्थल, सिंहदरबार पुन: निर्माणसहित देशका ३५ जिल्लामा नमुना विद्यालय तथा १२ जिल्लाका जिल्ला अस्पतालको पूर्वाधार विकास परियोजनामा महत्त्वपूर्ण भूमिमा निर्वाह गरेर काम गरेका छन् । रूपन्देहीमा निर्माणाधीन एक्स्टा ओभल क्रिकेट स्टडियमको पूर्वाधारको काम पनि उनले गरिरहेका छन् ।

पाँच मन्त्रालयको जिम्मा महिलालाई

काठमाडौं । शुक्रबार बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले पाँच मन्त्रालयको जिम्मा महिलालाई दिएको छ । १६ वटा मन्त्रालय रहेको यो सरकारले पाँच मन्त्रालयको नेतृत्व महिलालाई सुम्पिएको हो ।  जसमा सोविता गौतम कानुनमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री, सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसख्या मन्त्री र गीता चौधरी कृषि तथा पशुपन्छि मन्त्री बनेका छन् । मन्त्री बनेकाहरूमध्ये सोबिता गौतमबाहेक अन्य सबै मन्त्री समानुपातिक सांसद हुन् ।  कानुनमन्त्री बनेकी सोविता गौतम चितवन क्षेत्र नम्बर ३ बाट निवार्चित सांसद हुन् । गौतम पूर्व तिवन महानगरका मेयर तथा नेकपाका नेता रेणु दाहाललाई पराजित गर्दै विजयी भएकी हुन् । यसअघि २०७९ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी भएकी थिइन् ।  संघीय मामिला तथा सामान्य प्रशासन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी प्रतिभा रावल समानुपातिक सांसद हुन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा लागेकी थिइन् । यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हालेकी सीता वादी पनि समानुपातिक सांसद हुन् । सुर्खेतको महेन्द्रनगरकी उनी वादी समुदायबाट नेतृत्व गर्दै पहिलो पटक मन्त्री बनेकी हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मा पाएकी निशा मेहता पनि समानुपातिक सांसद हुन् । उनलाई मधेशी क्लष्टरबाट समानुपातिक सांसदमा छनोट गरिएको हो । पेशाले नर्स रहेकी निशा स्वास्थ्यमन्त्री बनेकी हुन् । कृषि तथा पशुपंक्षीमन्त्रीको नेतृत्व सम्हालेकी गीता चौधरी पनि रास्वपाबाट समानुपातिक सांसदमा निवार्चित हुन् । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ४ ३३ वर्षीया गीता चौधरी अधिवक्ता हुन् । प्रायः अदालतको बहस र सामाजिक न्यायका लागि सडकमा भेटिने उनी अहिले मन्त्रालयको नेतृत्वमा पुगेकी हुन् ।

अर्थतन्त्रको बागडोर सम्हाल्न डा. स्वर्णिम वाग्ले बने अर्थमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन् । तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित वाग्ले मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहनेछन् ।  सार्वजनिक नीति र अर्थतन्त्रका क्षेत्रमा लामो समयदेखि परिचित वाग्ले २०८० वैशाखमा सम्पन्न तनहुँ-१ को उपनिर्वाचनबाट पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट ३८ हजार ४० मतसहित पुनः निर्वाचित भएका हुन् । अर्थशास्त्री, नीतिगत विज्ञ तथा योजनाविद्का रूपमा पहिचान बनाएका वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अर्थमन्त्री बनेका हुन् । गोरखा जिल्लामा जन्मिएका उनी सामान्य परिवारमा हुर्किएका हुन् । प्रारम्भिक शिक्षादेखि नै अध्ययनमा रुचि राख्ने वाग्ले उच्च शिक्षाका लागि विदेश गएका थिए ।  अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) हासिल गरेका उनले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका क्षेत्रमा विशेष अध्ययन तथा अनुसन्धान गरेका छन् । उनले लन्डन स्कुल अफ इकोनमिक्स, हार्वर्ड विश्वविद्यालय तथा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका छन् ।  उच्च शिक्षापछि वाग्लेले संयुक्त राष्ट्रसङ्घसँग आबद्ध विभिन्न कार्यक्रमहरूमा कार्य गर्दै विकास, गरिबी न्यूनीकरण तथा आर्थिक नीतिका क्षेत्रमा अनुभव हासिल गरेका थिए । सन् २०१४ मा नेपाल फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको सदस्य तथा पछि उपाध्यक्षका रूपमा कार्य गर्दै दीर्घकालीन विकास योजना, आर्थिक सुधार र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका थिए । एसिया-प्रशान्त क्षेत्रका विभिन्न देशहरूको आर्थिक नीति निर्माणमा समेत योगदान पुर्याएका वाग्ले संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को एसिया-प्रशान्त क्षेत्रीय प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत कार्यरत थिए । लामो समयसम्म नेपाली कांग्रेससँग निकट रहेका वाग्ले २०७९ चैतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन् । नीतिगत क्षेत्रमा लामो अनुभवपछि उनले सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । हाल उनी रास्वपाका उपसभापति समेत हुन् । डा. वाग्ले ‘नीतिगत क्षमता भएको नेतृत्व’ का रूपमा चिनिन्छन् । अर्थतन्त्र र विकास नीतिमा उनको अनुभवले सरकारको आर्थिक नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।