नयाँ संसद्को पहिलो बैठक : रवि लामिछानेलाई २५ मिनेट, प्रधानमन्त्री बालेनको मौन उपस्थिति
काठमाडौं । गत फागुन २१ गते सम्पन्न आम निर्वाचनपछि गठित प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार (आज) दिउँसो २ बजे बस्दैछ । निर्वाचनपछिको यो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । आजको बैठकमा विशेष गरी नयाँ सरकारको कार्यदिशा र जनअपेक्षाका विषयमा नेताहरूले आफ्ना धारणा राख्ने जनाइएको छ । बैठकमा नेताहरूका लागि सम्बोधनको समयसमेत निर्धारण भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा बढी समय सम्बोधन गर्नेछन् । उनलाई सुरुमा ४० मिनेटको समय उपलब्ध गराइए पनि लामिछानेले २५ मिनेट मात्र प्रयोग गर्ने जानकारी दिएपछि सोहीअनुसार समय व्यवस्थापन गरिएको छ । यस्तै, नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले १० मिनेट र नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले ८ मिनेट बोल्ने समय पाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने अन्य दल र स्वतन्त्र सांसदहरूका लागि पनि समय बाँडफाँट गरिएको छ । जसअनुसार नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र स्वतन्त्र सांसद महावीर पुनले जनही ७–७ मिनेट सम्बोधन गर्नेछन् । उनीहरूलाई निर्धारित ५ मिनेटमा थप २ मिनेट समय उपलब्ध गराइएको हो । संसद्को पहिलो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति रहने भए तापनि उनले आज सम्बोधन नगर्ने भएका छन् ।
प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौं । फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईबाहेक अरू दलका शीर्ष नेताहरूले निर्वाचन हारेका छन् । आजको बैठकमा सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले सरकारको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने तय भएको छ । कांग्रेसले अझै संसदीय दलको नेता टुंगो नलगाएका कारण आङ्देम्बेलाई वक्ताको रूपमा अघि सारिएको हो । अर्का नेता अर्जुननरसिंह केसी ज्येष्ठ सदस्यका रूपमा बैठक सञ्चालनमा केन्द्रित रहने भएकाले उनी सम्बोधनमा सहभागी नहुने भएका हुन् । यसैगरी, नेकपा एमालेबाट रामबहादुर थापा, श्रम संस्कृतिबाट हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाहीले पनि आफ्नो धारणा राख्ने तय भएको छ । नेकपाका तर्फबाट संयोजक प्रचण्डले वर्षमान पुनलाई वक्ताका रूपमा अघि बढाउने तयारी गरेको नेकपाका एक नेताले जानकारी दिए । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुनले समेत पहिलो बैठकमा बोल्ने अवसर पाउनेछन् । प्रधानमन्त्री बालेन्द्र शाह संसद् भवनमा उपस्थित हुने भए पनि आजको बैठकमा सम्बोधन नगर्ने उनको सचिवालयले जनाएको छ ।
निर्माण व्यवसायी महासंघमा आज चुनाव, निकोलस पाण्डे र एडी लामा प्यानलसहित भिड्दै
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारणसभा तथा १३ औं महाधिवेशनको आज तेस्रो अर्थात् अन्तिम दिन नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । महासंघमा यसपटक नेतृत्वका लागि सल्लाहकार तथा पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामा (एडी) को प्यानल चुनावी मैदानमा छन् । उनीहरू आ-आफ्नो प्यानलसहित मैदानमा उत्रिएका हुन् । अध्यक्ष बन्ने दौडमा रहेका पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक तथा एएसी ब्रिकी उत्पादक संघका अध्यक्ष हुन् । निर्माण व्यवसायीका साथै युवा उद्यमी पनि हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेका छोरासमेत हुन् । कालिका कन्सट्रक्सनले निर्माणको क्षेत्रमा थुप्रै ठूलाठूला परियोजना निर्माण गर्दै आइरहेको छ । निकोलस पाण्डेको प्यानलले युवाजोस र एसोसिएट क्षेत्रको प्रतिनिधित्वलाई जोड दिएको छ । उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) देखि सातै प्रदेशका उपाध्यक्षहरूको बलियो टिम छ । जसमा कोशी प्रदेशबाट उपाध्यक्षमा धिरेन्द्र दाहाल, बागमती प्रदेशबाट उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेशबाट उपाध्यक्षमा राजेन्द्र पहाडी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा सहदेव खड्का, कर्णाली प्रदेशबाट उपाध्यक्ष हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा भीमबहादुर पाल, एसोसिएट उपाध्यक्षमा नरहरि थपलिया महासचिवमा बलिभद्र राणा, उपमहासचिव (नीतिगत) मा मंगल बहादुर शाही, उपमहासचिव (आन्तरिक) मा सुवित श्रेष्ठ, कोषाध्यक्षमा उज्वल गौतम तथा सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ रहेका छन् । एडीले सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनी विगत १५ वर्षदेखि महासंघमा सक्रिय छन् । केन्द्रीय सदस्य, महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै उनी अध्यक्षको दौडमा छन् । उनको कम्पनी पीएस कन्स्ट्रक्सन हो । उक्त कम्पनीले वार्षिक करिब १ अर्बको कारोबार गर्दै ६०० भन्दा बढीलाई रोजगारी दिएको छ । लामाको प्यानल अनुभव र पुरानो साख जोगाउने दाउमा छ । लामाको प्यानलमा रोशन दाहाल वरिष्ठ उपाध्यक्ष, एनसी शेर्पा एसोसिएट उपाध्यक्ष, जनक राज तिम्लिसेना उपाध्यक्ष कोशी प्रदेशबाट, हिरण कुमार श्रेष्ठ उपाध्यक्ष बागमती प्रदेशबाट, खिमप्रकाश मल्ल उपाध्यक्ष गण्डकी प्रदेशबाट, मोहनप्रकाश आचार्य उपाध्यक्ष कर्णाली प्रदेशबाट, प्रकाश सेटी उपाध्यक्ष सुदुरपश्चिम प्रदेशबाट रहेका छन् । यस्तै, शिवहरि घिमिरे महासचिवका उम्मेदवार बनेका छन् भने सन्तोस शाह उपमहासचिव (आन्तरिक), राजकुमार बास्कोटा उपमहासचिव (नीतिगत), कोषाध्यक्षमा बालाजु श्रेष्ठ छन् । सह-कोषाध्यक्षमा दिनेश सिंह छन् । दुवै प्यानलले आ-आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् । यस्तै, महासंघको जारी महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भइसकेका छन् । सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का निकोलस पाण्डे प्यानलका हुन् । बुधबार उम्मेदवारी दर्ताको कार्यक्रममा लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा खड्काको एकल उम्मेदवारी परेको थियो । यसैगरी, प्रमोद लामिछानेले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
सहकारी पीडितसँग मन्त्री रावलको संवाद सुरु
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रका पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकार सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने लक्ष्यसहित अगाडि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग छलफल थालेकी हुन् । मन्त्री रावलले पीडितहरूलाई मन्त्रालयमै बोलाएर उनीहरूका गुनासा सुन्न थालेकी हुन्। बिहीबार बिहानैदेखि मन्त्रालयमा भेला भएका देशभरका विभिन्न सहकारीका पीडितहरूले लामो समयदेखि आफ्नो बचत फिर्ता नपाउँदा भोग्नुपरेको आर्थिक र मानसिक पीडा मन्त्रीसमक्ष राखेका थिए । छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले पीडितहरूको उचित सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै साना बचतकर्ताहरूलाई राहत दिने गरी चरणबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिइन् । ‘पीडितहरूको समस्या कसरी प्रभावकारी रूपमा समाधान गर्ने भन्नेमा हामी केन्द्रित छौं,’ उनले भनिन् ।
होटलमा महिला पुर्याएर ग्राहकबाट ८ देखि २० हजारसम्म लिने सारु पक्राउ
काठमाडौं । यौनधन्दामा लगाएको आरोपमा त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेका छन् । बुधबार साउदी अरबबाट फर्कने क्रममा अध्यागमन कार्यालयबाट अर्घाखाँचीका ३० वर्षीय शिवबहादुर सारुलाई प्रहरीले पक्राउ गरेको हो । मानव बेचबिखन ब्यूरोका अनुसार सारुले ह्वाटसएपमार्फत महिलालाई आर्थिक प्रलोभनमा पार्ने गर्थे । २०८१ असोजदेखि विभिन्न माध्यमबाट महिलालाई ग्राहकसमक्ष पुर्याउने गरेका थिए । उनले ग्राहकले खोजेबमोजिम विभिन्न होटल तथा कोठामा महिला पठाउने गरेका थिए । सारुले एक जना ग्राहकबाट ८ देखि २० हजार रुपैयाँसम्म लिने गरेको ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले जानकारी दिए । वेश्यावृत्तीमा लगाएको अवस्थामा प्रहरीले २०८१ कात्तिक १२ गते प्रहरीले ती महिलालाई उद्धार गरेका थिए । सोही वर्ष कात्तिक २६ गते सारुविरुद्ध उजुरी परेको थियो । काठमाडौं जिल्ला अदालतबाट दिन तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी लिम्बुले जानकारी दिए ।
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका–६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका–१० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, धनुषाधाम नगरपालिका–९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका–५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका–१ भरुवाबाट एक जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको छ । केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।
ज्ञान उदासलाई देवकुमारी थापा स्मृति पुरस्कार
विराटनगर । देवकुमारी थापा स्मृति गुठीले ५१ हजार रुपैयाँ राशिको देवकुमारी थापा स्मृति सम्मान कवि ज्ञान उदासलाई प्रदान गर्ने घोषणा गरेको छ । विसं २०१८ देखि साहित्य सेवामा निरन्तर सक्रिय उदासका सातवटा कविता सङ्ग्रह प्रकाशित छन् । यो सम्मान विसं २०६८ देखि प्रदान गर्न थालिएको हो, जुन यसअघि इन्द्रबहादुर राई, सत्यमोहन जोशी र महावीर पुनजस्ता वरिष्ठ व्यक्तित्वहरूले प्राप्त गरिसकेका छन् । त्यसैगरी, गुठीले २५ हजार रुपैयाँ राशिको बबरसिंह थापा स्मृति सम्मान चलचित्र निर्देशक सङ्गीता श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । श्रेष्ठले ‘कथा काठमाडौं’जस्ता चलचित्र र ७० भन्दा बढी ‘म्युजिक भिडियो’को निर्देशन गरेका छन् ।
बिहीबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रूपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ ।