विकासन्युज

बालेन शाह र सुदन गुरुङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । अभियन्ता सुदन गुरुङले सामाजिक सन्जालमा लेख्दै आज अपरान्ह साढे ३ बजे औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने जानकारी दिए । गुरुङले पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको स्पष्ट पारेका छन् ।  जनताले माग गर्दै आएको जवाफदेहिता, स्पष्ट दिशा र ठोस नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको उनको भनाइ छ । वक्तव्यमा जनहितलाई पहिलो प्राथमिकतामा राखिने, युवाको विश्वास सुरक्षित गरिने र सुरु भएको परिवर्तनलाई दीर्घकालीन तथा स्थायी बनाइने उल्लेख गरिएको छ । साथै यो कदम व्यक्तिगत यात्रा नभई नागरिकसँगै अघि बढ्ने साझा अभियान भएको गुरुङले बताएका छन् । राजनीतिक रूपमा यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ । बालेन शाहको लोकप्रियता र सुदन गुरुङको सक्रिय भूमिकाले राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक तथा राजनीतिक प्रभाव थप विस्तार हुने अनुमान गरिएको छ ।  सुदनले अन्त्यमा आफू गोरखाबाट निर्वाचन लड्ने संकेत समेत गरेका छन् ।

३१ अंकले बढ्यो नेप्से, ८ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको छ । आइतबार ३३८ कम्पनीको ९५ हजार ४४५ पटकको कारोबारमा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आज ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लागेकाे छ । सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको सेयर सकारात्मक सर्किटमा कारोबार भएको हो । त्यस्तै, सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर मूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स धेरै काराेबार भएकाे छ । सो फाइनान्सको ५३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एसवाई प्यानल नेपालको ३७ करोड रुपैयाँभन्दा बढी र श्रीनगर एग्रीटेकको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशतले बढेको छ । साथै विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशत, र होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मनोनयन अवधि बढ्ने संकेत

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको समयावधि बढाउने तयारी गरेको छ । राजनीतिक दलहरूको आग्रहपछि आयोगले मनोनयन दर्ताको अवधि केही दिन थप्ने विकल्पमा छलफल अघि बढाएको आयोग स्रोतले जनाएको छ । यद्यपि, निर्वाचनको समग्र कार्यतालिका भने यथावत् रहने बताइएको छ । ‘निर्वाचनको कार्यतालिका परिवर्तन हुँदैन, तर मनोनयन दर्ताको समय केही दिन थप हुनसक्छ,’ आयोग स्रोतले भने, ‘यससम्बन्धी आधिकारिक निर्णय हुन बाँकी छ ।’ आयोगले दलहरूबीच देखिएको आन्तरिक विवाद, उम्मेदवार छनोटमा देखिएको ढिलाइ र व्यवहारिक कठिनाइलाई ध्यानमा राख्दै मनोनयन दर्ताको समय बढाउने विषयमा सकारात्मक धारणा बनाएको बुझिएको छ । निर्वाचन आयोगले आवश्यक परे छिट्टै औपचारिक निर्णय सार्वजनिक गर्ने जनाएको छ ।

नेपाल लाइफको समृद्धि लगानी योजनाको इकाई बिक्री खुला

काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रहेको नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई बिक्रीमा आएको छ । यस योजना अन्तर्गत प्रति इकाई १० रूपैयाँको दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ । बीज पूँजीका लागि कम्तीमा २ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको कम्तीमा १५ प्रतिशत मध्ये नेपाल लाइफलाई १४ प्रतिशत (२ करोड २४ लाख इकाई) र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत (१६ लाख इकाई) सुरक्षित गरिएको छ । बाँकी रहेको न्यूनतम १३ करोड ६० लाख इकाई सर्वसाधारण तथा संघसंस्थाहरूका लागि निष्कासन तथा बिक्री खुला गरिएको छ । आवेदनका लागि न्यूनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले यस योजनाको इकाई खरीदका लागि माघ ४ गतेदेखि आवेदन दिन सक्नेछन् । निष्कासन छिटोमा माघ ८ गते बैंकिङ समयपछि बन्द हुनेछ । यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन अवधि माघ १८ गते बैंकिङ समयसम्म लम्बिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले बनाएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइनमार्फत सिआस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

विशेष महाधिवेशन विरुद्ध कांग्रेसको रिट मनोनयन सार्नुपर्ने माग

काठमाडौं । सर्वोच्च अदालतमा आइतबार नेपाली कांग्रेसका नेताहरूले दायर गरेको रिट निवेदनमा उमेदवार मनोनयन दर्ता प्रक्रिया सार्न माग गरिएको छ । निर्वाचन आयोगको कार्यतालीकाअनुसार माघ ५ गते मंगलबार उमेदवार मनोनयन दर्ता कार्यक्रम रहेको छ । सोही दिन कांग्रेसले दायर गरेको रिटको सुनुवाइ समेत परेको छ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले मंगलबार हुने उमेदवार मनोनयन प्रक्रिया सार्न माग गरेको छ । रिटमा यदि मनोनयन भइसकेको भए त्यसलाई खारेज गर्न समेत माग गरिएको छ । कांग्रेसभित्र देखिएको आन्तरिक विवादसँग सम्बन्धित यो मुद्दालाई चासोका साथ हेरिएको छ । अदालतको आगामी आदेशले पार्टीको आन्तरिक राजनीति र निर्वाचन प्रक्रियामा समेत प्रभाव पार्न सक्ने आँकलन गरिएको छ ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दा  ठूलो घाटा बेहोर्नुपरेको भन्दै धेरै अस्पतालले सेवा बन्द गर्ने घोषणा गर्न थालेका छन् । सोही बेला काफ्लेको राजीनामा आएको हो । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा उनी स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए । विभिन्न सेवा प्रदायक संस्थाको साढे १० अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको बोर्डले जनाएको छ ।  अस्पतालहरूले  बोर्डले भुक्तानी नदिँदा सेवा दिन सकिने अवस्था नरहेको भन्दै बीमा कार्यक्रम बन्द गर्नु परेको बताइरहँदा बोर्डले भने तत्काल भुक्तानी गर्न कठिन भएको प्रतिक्रिया दिएको छ ।  करोडौं घाटा भएपछि स्वास्थ्य बीमा बन्द गर्दै ठूला अस्पताल, टिचिङपछि गंगलालले पनि रोक्यो सेवा  

एफ सि बायर्न लेजेन्ड कप–२०२६ ‘डिशहोम गो’मा प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । बायर्न एफ सिले आयोजना गर्ने लेजेन्ड फुटबल खेलाडीहरूको प्रतियोगिता ‘एफ सि बायर्न लेजेण्ड कप २०२६’ लाई नेपालमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडि २ च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ । पुरानो शैलीको इन्डोर फुटबल प्रतियोगितामा सहभागी एफ सि बायर्नका लेजेण्ड खेलाडीहरू आर्जेन रोविन, फ्र्याङ्क रिबेरी, लोथर म्याथ्युज र जोर्गन क्लिन्सम्यानले म्युनिखको साप गार्डेन स्टेडियममा फुटबलप्रेमीहरूलाई पुराना दिनहरू ताजा गराउने अपेक्षा गरिएको छ । यस प्रतियोगितामा ६ वटा क्लब एफसी बायर्न म्युनिख, युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आईट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिडले भाग लिनेछन् । सहभागी क्लबका अन्य पूर्व स्टार खेलाडीहरू (लेजेण्ड फुटबलरहरू) को पनि जादु एकपटक पुनः मैदानमा देखिनेछ । नेपालमा यो प्रतियोगिता नेपाली समय अनुसार बेलुकी ८ बजेर ५ मिनेट देखि डिशहोम गो एप तथा एक्सन स्पोर्टस एचडि २ च्यानलमा प्रत्यक्ष हेर्न पाइनेछ ।

ट्राफिक सप्ताहबाट ३ लाख ८० हजारभन्दा बढी लाभान्वित, नागरिक र प्रहरीबीचको सम्बन्ध सुधार्ने लक्ष्य

काठमाडौं । ट्राफिक सचेतनाको कमी र लापरवाहीका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ट्राफिक सप्ताह तथा सडक दुर्घटना न्यूनीकरण अभियान २०८२ सम्पन्न भएको छ । गत पौष २६ गतेदेखि सुरु भएको साताव्यापी अभियानबाट ३ लाख ८० हजारभन्दा बढी सडक प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सडक विकासको पर्याय भए पनि बढ्दो दुर्घटनाले ठूलो धनजनको क्षति निम्त्याइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै काठमाडौं उपत्यकामा ७ हजार १६९ सवारी दुर्घटनामा १९० जनाले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन् ।  यो भयावह अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले नागरिक केन्द्रित अभियान सञ्चालन गरेको ट्राफिक कार्यालयको भनाइ छ । अभियानको पूर्वसन्ध्यामा पौष २५ गते आयोजित रक्तदान कार्यक्रमबाट सप्ताहको सुरुवात गरिएको थियो, जहाँ १३९ जनाले रक्तदान गरेका थिए ।  साताभरि ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई शिक्षित र जागरुक बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्‍यो । जसमा ५० हजारभन्दा बढी पर्चा, पम्प्लेट वितरण तथा डिजिटल होर्डिङ बोर्ड र सामाजिक सञ्जालमार्फत प्रचार/प्रसार गरिएको जनाएको छ । चालकहरूसँग चिया कार्यक्रम, निःशुल्क आँखा जाँच, सवारीसाधनको प्राविधिक जाँच र नयाँ प्रविधिबारे तालिम दिन नाडासँग सम्झौता समेत भएको छ । विद्यार्थी, पैदलयात्री र सर्वसाधारणका लागि अन्तरक्रिया, प्रभातफेरी, नागरिक सुनुवाइ तथा दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन गरिएको ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक कार्यालय अनुसार पिक एन्ड ड्रप व्यवस्थापन, जेब्रा क्रसिङ र रोड मार्किङ, र सडक छेउका रुख छाँटकाँट जस्ता कार्यहरू गरिएको छ । यस्तै, ट्राफिक प्रहरी कर्मचारीका लागि इन्फ्लुएन्जा खोपको सुरुवात र उनीहरूको मनोबल बढाउन विभिन्न सम्मान कार्यक्रम गरिएको बताइएको छ । पौष २६ गते प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा वसन्तपुरबाट निकालिएको विशाल सचेतना ‍र्यालीमा १० हजारभन्दा बढीको सहभागिता थियो । सोही दिन जनस्तरबाट पुनर्निर्मित कार्यालय भवन र मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको समेत उद्घाटन गरिएको थियो । जेनजी आन्दोलनपश्चात अस्तव्यस्त बनेको सडक व्यवस्थापन र प्रहरीको खस्किएको मनोबललाई उकास्न पनि यो अभियान महत्त्वपूर्ण रहेको ट्राफिक कार्यालयले जनाएको छ । ‘जसरी घरमा अनिष्ट नहोस् भनेर सप्ताह लगाइन्छ, हामीले सडकमा नागरिकको घरमा चोटपटक नलागोस् र कसैले दुर्घटनाको शिकार बन्न नपरोस् भनेर यो सप्ताह लगाएका हौं,’ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीकाले भने । सडक दुर्घटनाको सबैभन्दा बढी जोखिममा युवा वर्ग रहेको उनको भनाइ छ। ‘युवाहरूको कानसम्म हाम्रो सन्देश पुगोस् र उनीहरूलाई दुर्घटनाको जोखिमबाट बचाउन सकियोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ उनले थपे । ट्राफिक प्रहरीको प्रयासको चौतर्फी प्रशंसा भए पनि सडक सुरक्षासँग सम्बन्धित अन्य सरकारी निकायहरूको उदासीनताप्रति भने चर्को आलोचना भएको थियो । राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आक्रोश पोख्दै भने, ‘पौष २६ गतेदेखि ट्राफिक प्रहरी सडकमा खटिँदा यातायात व्यवस्था विभाग कहाँ गयो ? सडक विभाग कहाँ गयो ? सडक बोर्ड कहाँ गयो ?’ उनले कर उठाउने तर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले गर्दा दुर्घटना न्यूनीकरणको सम्पूर्ण भार ट्राफिक प्रहरी, व्यवसायी र आम नागरिकको काँधमा आइपरेको बताए । सिटौलाका अनुसार नेपालमा रहेका ६२ लाख सवारीसाधनमध्ये उपत्यकामा मात्रै २४ लाख मोटरसाइकल छन् र ८० प्रतिशतभन्दा बढी दुर्घटना दुई पाङ्ग्रे सवारीबाटै हुने गरेको छ । शनिबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीकै प्रमुख आतिथ्यतामा विभिन्न सचेतनामूलक प्रस्तुतिसहित अभियानको समापन गरिएको थियो ।   प्रहरीले सप्ताह सकिए पनि दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । दुर्घटनामुक्त सडकको परिकल्पना साकार पार्न ट्राफिक नियमको पालना गर्दै आफू बच्न र अरुलाई पनि बचाउन सबै सडक प्रयोगकर्तालाई आह्वान गरिएको छ ।