विकासन्युज

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ । म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पिपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरवाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति हुन लागेको हो । संघीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले बताए ।  उनका अनुसार रु। दुई करोड पाँच लाख ५५ हजारमा ठेक्का सम्झौता भएको योजनाको आगामी २०८३ असार महिनासम्म म्याद रहेको छ । खहरेदेखि छिसवाङ हुँदै ओखोलासम्म एक किलोमिटर पाँच सय मिटर सडकलाई पक्की नाला सहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिने आचार्यले बताए ।  छिसवाङका दुर्गाबहादुर खत्रीले विसं २०६७ मा मार्ग खुलेको सडक स्तरोन्नतिका लागि योजना परेपछि स्थानीयवासी उत्साही भएको बताए । 'मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फीमात्र गाडी चल्ने गरेका थिए', उनले भने, 'सडक फराकिलो पार्न हामीहरूले स्व:स्फुर्त रूपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छौँ ।' यो सडकबाट मङ्गलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डमा पहिरोलगायत कारणले अवरुद्ध हुँदा वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्त्व रहेको छ । यसअघिका दुई आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पिपलबोट खण्डमा र संघीय सरकारले हिलवाङ–खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन् । जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्त्व र प्राथमिकता दिइएको छ ।  हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताए । यसअघि संघीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ । रासस

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका /स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ । पुस २९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।  लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

होटेल फरेष्ट इनको आईपीओ बिक्री खुला, २ लाख कित्ता आवेदन दिन सकिने

काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले आज माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ६९ करोड १५ लाख रुपैयाँको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १२.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव विष्णु प्रसाद धितालले जानकारी दिए । 

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, एक डलरको १४५.६९ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४३ पैसा रहेको छ । 

पूर्व हवल्दार खत्वेको लोभलाग्दो कृषि कर्म, पोखरीमै आउँछन् व्यापारी

काठमाडौं । नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका-११ मधुवनका महेन्द्र खत्वे विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसायमा लागेका छन् । विसं २०७५ मा स्थापना गरेको ‘खत्वे कृषि फार्म’ हाल उनी र उनको परिवारको मुख्य जीविकोपार्जनको आधार बनेको छ । प्रहरी सेवाका क्रममा ६ महिना शान्ति सेनामा समेत सेवा गरेका खत्वेले अवकाशपछि नेपालमै केही गर्ने सोचका साथ कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेको बताए । फार्म सञ्चालनसँगै उनले स्कोर्पियो गाडी खरिद गरी करिब ५ वर्ष आफैँ चलाउँदै यातायात व्यवसायसमेत गरेका थिए । पछि उक्त गाडी बिक्री गरे पनि कृषि फार्म सञ्चालन भने निरन्तर रूपमा अघि उनले बढाइरहेको बताए । हाल खत्वेले साढे तीन बिघा क्षेत्रफलमा कृषि फार्म सञ्चालन गरिरहेका छन् । फार्मभित्र ५ माछापोखरी रहेका छन्, जहाँ रौ, कमन, भ्याकुर, सिल्भर, ग्रासलगायत प्रजातिका माछापालन गरिएको छ । छमाछा बिक्रीका लागि बजार धाउनु पर्दैन । पोखरीमै व्यापारी आउँछन् र माछा निकालेर लैजान्छन्,’ खत्वेले भने ।  हाल पोखरीबाटै प्रतिकिलो ३ सय रुपैयाँदेखि ३५० रुपैयाँसम्ममा माछा बिक्री भइरहेको छ । सानो लगानीबाट सुरु गरिएको फार्मबाट अहिले वार्षिक सबै खर्च कटाएर ६ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको उनको भनाइ छ । फार्ममार्फत उनले एक जनालाई रोजगारीसमेत दिएका छन् । फार्म निकुञ्ज क्षेत्र नजिकै रहेकाले फिस क्याट, गोही, स्याललगायत वन्यजन्तुले माछा खाइदिने समस्या छ । यसबाट केही क्षति त हुन्छ, तर समग्रमा फार्म नाफामै छ । उनले भने, ‘यही फार्मबाट घरखर्च, परिवार पाल्न र छोराछोरी पढाउन पुगेको छ ।’ माछापालनसँगै खत्वेले कृषि फार्ममा लोकल कुखुरा, हाँस, परेवा, गाई तथा भैँसीसमेत पाल्दै आएका छन् । उनले माछाको भुरा कोसी गाउँपालिकाको स्थानीय बजारबाट खरिद गर्ने गरेको जानकारी दिए । हाल माछाको भुरा प्रतिकिलो ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पर्ने गरेको छ । खत्वे कृषि फार्ममा उत्पादन भएको माछा कोसी प्रदेशका प्रायः सबै जिल्लामा बिक्री हुँदै आएको छ । सुनसरी कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा बोरिङ र मोटर अनुदान उपलब्ध गराएकाले फार्म सञ्चालनमा थप सहजता पुगेको खत्वेले बताउनुभयो । पछिल्लो समय युवा ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति छ । ‘मलाई अवकाशपछि विदेश जाने सोच कहिल्यै आएन । नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास आयो, त्यसपछि फार्म दर्ता गरेर काम सुरु गरेँ,’ उनले भने ।  नेपालमै सम्भावना प्रशस्त छ । स्थानीय सरकार र राज्यले किसानलाई नियमित अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके युवालाई विदेश पलायन हुनुपर्ने अवस्था आउँदैन । नेपालमै अवसर र रोजगारी दुवै सम्भव रहेको खत्वेको भनाइ  । 

साढे ८ अर्बमा तीव्र पुनर्निर्माण गरिँदै क्षतिग्रस्त बीपी राजमार्ग

काठमाडौं । पटक पटकको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडक खण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त सडक खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि हाल तीन खण्डमा काम सुरु गरिएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीले बीपी राजमार्गको पुनर्निर्माणका लागि तीन निर्माण व्यवसायी कम्पनी कार्यक्षेत्रमा खटेर तीव्र रूपमा काम गरेको बताए । उनका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले भने पुनर्निर्माण गर्ने भनिएको एक खण्डको काम सुरु हुनसकेको छैन । ‘जाइकाले थप अध्ययन गरिरहेको छ, केही समयमै उसले पनि काम सुरु गर्ने जनाएको छ,’ उनले भने । उनले गत वर्षको बाढीले क्षति पुर्याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकी डाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको जानकारी दिए । यस्तै डालावेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको उनको भनाइ छ ।  गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । यस्तै आगामी वैशाखसम्म बाढीले क्षति पुर्याएको स्थानमा संरचना निर्माण गरिसक्ने जसबाट अब आउने वर्षायाममा खोलाको किनारबाट यातायात सञ्चालन गर्न नपर्ने गरी साविकको स्थानबाट यातायात सञ्चालन लक्ष्य लिइएको जनाइएको छ । यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्ने लगायतका काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाइ कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताए । बाढी पहिराले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । बाढी पहिरोले सडकको विभिन्न खण्ड बगाएपछि गत सालदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो । अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । ‘पुनर्निर्माण हुने सडक खण्डमा दुई लेनको सडक बन्ने छ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई पनि दुई लेनको निर्माण गरिनेछ,’ उनले भने । उनका अनुसार ५ वटा पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ ।  डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किमी सडक पुनर्निर्माणका लागि खानी-एवन-कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का पाएको छ । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी सडक पुनर्निर्माणका लागि लामा-नवकान्तिपुर जेभीलाई १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको छ । नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँमा निर्माण गर्नेगरी खरिढुङ्गा-घिसिङ-क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको बताइएको छ । क्षतिग्रस्त कुल २९.५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार यस खण्डको पुनर्निर्माणका लागि जापानले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडक खण्ड बाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको छ । क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । जसमध्ये काभ्रेपलाञ्चोक तर्फका तीन सडक खण्डलाई ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडक खण्डलाई १ अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्ड-खण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।