जमलको जुत्ताघरमा समर सेल मेला, भाग्यमानीले पाए मोटरसाइकल
काठमाडौं, २० असार । राजधानीको जमलस्थित नाचघरमा रहेको नेपाली जुत्ता घरमा बृहत समर सेल मेला सुरु भएको छ । नेपाली जुत्ता उत्पादक कम्पनीहरुले मिलेर स्थापना गरेको नेपाली जुत्ता घर प्रालीले आयोजना गरेको मेलामा ७० प्रतिशतसम्म छुट सुबिधा प्राप्त हुनेछ । जुत्ता मेलामा शिखर सुज, बिएफ डियरहिल सुज, स्काई सुज, क्रस रोड, कोशेली, सफट् टच, लेदर विंग्स, टाकुरा, इजी र शुल् ल्याण्ड गरि १० वटा कम्पनीका सबै खाले जुत्ता चप्पलहरु सेल गरिनेछन् । समर सेलमा ५० हजार जोर जुत्ता चप्पल बिक्रि गर्ने लक्ष्य रहेको बिएफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । मेलाको उद्घाटन गर्दै नेपाल उद्योेग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालका उद्योगी व्यवसायीलाई प्रोत्साहन गरे मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बस्ने बताए । स्वदेशी उद्योग धन्दाको प्रवद्र्धनका लागि सरकार गम्भिर नभएको आरोप समेत लगाए । त्यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले पनि स्वदेशी उद्योगको प्रवद्र्धनमा जोड दिए । को होला भाग्य मानी ? कार्यक्रममा नेपाली जुत्ता घर प्रालीले गत दशैं तिहारमा ल्याएको स्क्र्याचमा मनी, बम्परमा बाइक धनी उपहार योजनाको लक्की ड्र समेत गरेको छ । लक्की ड्रमा प्रथम हुनेले मोटरसाइकल, द्धितिय हुनेलाई ल्यापटप,तृतिय हुनेलाई २१ इञ्चको एलइडी टीभी र सान्त्वना हुने १० जनालाई एक एक वटा राइस कुकर प्रदान गरिनेछ । उनीहरुलाई १० दिन भित्रै सम्पर्क गर्न पनि नेपाली जुत्ता घर प्रालीले अनुरोध गरेको छ ।
विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने
काठमाडौं, २० असार । एक हप्ताअघिदेखि बिग्रेको विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने भएको छ ।असार १३ गते सोमबारको अविरल वर्षाले चावहिल, गौशालाको ढल विद्युतीय शवदाह यन्त्रको पम्पमा जमेपछि यन्त्र बन्द भएको थियो । पम्पमा जमेको ढल निकाल्न सोमबार खानेपानी तथा ढल निकास विभागबाट जेट मेसिन ल्याएर सफा गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिए। “पम्प सफा गरेर सकेसम्म मङ्गलबार नसके बुधबार विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइनेछ, यन्त्रमा समस्या छैन अविरल वर्षासँगै आएको बाढी र ढलले पम्पमा आएको समस्या समाधानमा लागेका छौँ” – उनले भने । विसं २०७२ माघ १० गतेदेखि नेपालमै पहिलो शवदाह गृह सञ्चालनमा आएको थियो । यन्त्र सञ्चालनमा आएदेखि हालसम्म एक हजार ८०० शवदाह गरिएको कोषले जनाएको छ । रासस
गेट कलेजको पूर्वविद्यार्थी सम्मेलन सम्पन्न
काठमाडौं, २० असार । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)को पहिलो पूर्वविद्यार्थी सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलानले विवेक पौडलको अध्यक्षतामा गेट आल्मुनाइ फोरम गठन गरेको छ । राजधानीको मण्डिखाटारस्थित रहेको गेट कलेजले विगत नौ वर्षदेखि नेपालमा विश्वस्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको छ । “नेपालमै अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापनको डिग्री लिन चाहने हामी युवाका लागि गेट कलेजले एउटा अवसर प्रदान गरिदियो,” हाल गोकर्ण फरेस्ट रिसोर्टका प्रबन्धक रहेका पौडलले सम्मेलनमा भने, “गेट कलेजमा अध्ययन गरेका विद्यार्थीहरू आज हामी नेपालका विभिन्न पाँच तारे होटलदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न निकायहरूका कार्यरत छौं ।” सम्मेलनमा दिइएको जानकारीअनुसार गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरू अष्ट्रेलिया, जर्मनी, हङकङ, यूएइए, बहराइन, कतार, मलेसिया र चीनमा अभ्यासरत छन् । सन् २००७ मा सुरु भएको कलेजबाट हालसम्म ३९१ जनाले अध्ययन पूरा गरेका छन् र हाल ३२५ जना विद्यार्थीहरू अध्ययनरत रहेका कलेजले बताएको छ । यसबाहेक गेट कलेजको भातृ संस्था गेट भोकेनसलतर्फ २००० जनाले होटल व्यवस्थापनका विभिन्न आयाममा आवधिक प्रशिक्षण पूरा गरिसकेका छन् । गेट भोकेसनलतर्फ अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान टेफको मान्यताप्राप्त कोर्ष नियमित सञ्चालनमा छ । गेट भोकेसनलको कोर्षलाई सीटीईभीटीद्वारा मान्यता प्रदान गरिएको छ भने त्रिभुवन विश्वविद्यालयले गेटको एकेडेमिक कोर्षलाई मान्यता प्रदान गरेको छ । “गेट कलेजमा हामी नेपाली विद्यार्थीले मात्र नभइ विभिन्न १६ देशका विद्यार्थीले अध्ययन पूरा गरेका छन्,” पौडेलले भने । कार्यक्रममा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले होटल व्यवस्थापन शिक्षाको अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रयोगात्मक पक्षमा बढी ध्यान दिइएको कारणले नै कलेजको शिक्षा विशिष्ट रहेको बताएका छन् । “गेट कलेज मूल्य, मान्यता, नैतिकतायुक्त र स्वच्छ शैक्षिक वातावरणमा विश्वास राख्दछ । हामी यस कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्य र उनीहरूको गुणस्तरीय शैक्षिकस्तरप्रति पूर्ण प्रतिबद्ध छौं,” लकाईंले भने । उनले कलेजले गुणस्तरीय शैक्षिक स्तर कामय गर्नमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनमा गेट कलेजको पहिलो ब्याचदेखि एघारौं ब्याचसम्मका नेपाल तथा विभिन्न मुलुकमा होटल, रेष्टुराँ, ट्राभल एजेन्सी र अन्य निकायमा संलग्न, आफ्नै स्वःव्यवसायमा संलग्न करिब सयजना विद्यार्थीको सहभागिता थियो । यस्तो सम्मेलन हरेक वर्ष आयोजना गरिने रहेको गेट आल्मुनाइ फोरमका अध्यक्ष विवेक पौडेलले जानकारी दिएका छन् ।
युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौं, २० असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । सोमबार घोषणा गरिएको १५ सदस्यीय टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदानमा खेल्नेछ । कप्तान पारस खड्काको नेतृत्वको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी छन् । त्यस्तै, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगरसमेत टोलीमा अटाएका छन् । नेपालले आगामी अगस्टमा नेदरल्यान्डसँग उसकै मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्दैछ । हाल नेपाली टोली त्यसैको तयारी रहे बमोजिम युके भ्रमणमा निस्कन लागेको हो । क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट सङ्घ निलम्बनमा रहेका अवस्थामा आइसिसीले आफ्नै अग्रसरतामा नेपाली टोलीको छनोट गरेको हो । छनोट समितिमा आइसिसीका प्रतिनिधि भेन्कातपाथी, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान खड्का थिए । रासस
रिलायबल बैंकले १० प्रतिशत बोनस र १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने
काठमाडौं, २० असार । रिलायबल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७१/७२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले पूँजी वृद्धिका लागि बोनस सेयर पश्चात १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त निर्णय शुक्रबार बसेको बैंकको दशौँ वार्षिक साधारणसभाले पारित गरेको छ । यसका साथै बैंकले १९ प्रतिशत प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने भएको छ । कार्यक्रममा बोल्दै बैंकका सिइओ नारायण बाबु लोहनीले बैंकले आगामी दिनमा बैंकलाई अझ सबल बनाउदै लैजाने र आगामी आ.व.मा शेयरधनीहरुलाई अझ बढी बोनस प्रदान गर्ने बताएका छन् । बैंकको शुक्रबारसम्मको निक्षेप ८१२ करोड रुपैयाँ र कर्जा लगानी ६५८ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । साथै बैंकले असार मसान्त भित्र तनहुको डुम्रेमा शाखा सन्चालनमा ल्याउने समेत जनाएको छ । बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनकोलागि सबै तयारी भइरहेको जनाएको छ । बोनस पश्चात ७८ करोड चुक्ता पूँजी रहेको यस बैंकले अधिकृत पूँजी वृद्धि गरी ३ अर्ब पु¥याउने भएको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।
नेपाल एसबीआई बैंकको अध्यक्षमा आचार्य नियुक्त
काठमाडौं, २० असार । नेपाल एसबीआई बैंकको अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन् । आईतबार बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा आचार्यलाई चयन गरेको हो । आचार्य कर्मचारी संचय कोषको प्रशाशक (कार्यकारी प्रमुख) हुन् । यसअघि नविल बैंक, हिमालयन बैंकमा सञ्चालक भएर काम गरेका आचार्यले यूनाईटेड इन्स्योरेन्स, एनआईडीसी डेभलपमेन्ट बैंकमा कार्यकारी प्रमुख भएर काम गरेका थिए ।
लुम्बिनी बैंकबाट शोभनदेब बाहिरिए
काठमाडौं, २० असार । लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेब पन्तले बैंक छोडेका छन् । बैंक अफ काठमाडौं (विओके) र लुम्बिनी बैंक मर्जरको प्रक्रिया अगाडि बढेपछि पन्तले बैंक छोडेका हुन् । पन्त विगत १० बर्षदेखि सो बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । लुम्बिनी बैंक समस्यामा परेपछि नेपाल राष्ट्र बैंकले ब्यवस्थापन आफैले लिएर सुधारको प्रक्रिया अगाडि बढाएको थियो । सुरुको समयमा राष्ट्र बैंकको तर्फवाट नारायणदास मानन्धरले ब्यवस्थापन प्रमुखको जिम्मेवारी पाएका थिए । मानन्धरको एक कार्यकाल पूरा भएपपछि राष्ट्र बैंकले पन्तलाई बैंक ब्यवस्थापनको जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी अनुसार पन्तले बैंकको वित्तीय स्वास्थ्य राम्रो बनाएका थिए । पन्तले आइतवार (हिजो) देखि बैंकबाट विदा लिएका हुन् ।
मार्च १७ मा भारतसँग इन्धन किन्ने सम्झौताको म्याद सकिँदै
काठमाडौं, २० असार । नेपालको पेट्रोलियम बजारमा एकाधिकार जमाएको इन्डियन आयल कर्पाेरेशनसँगको इन्धन खरिद सम्झौताको म्याद आगामी मार्च १७ तारिखका दिन समाप्त हुँदैछ । नेपाल आयल निगमले प्रत्येक पाँच पाँच बर्षमा आइओसीसँग इन्धन खरिद सम्झौता गर्दै आएको थियो । आगामी मार्चमा १७ देखि इन्धन खरिद सम्झौताको म्याद सकिने भएपछि नयाँ सम्झौताका लागि आइओसीको टोली काठमाडौं आईपुगेको छ । ‘इन्धन खरिद सम्झौता नविकरणका लागि आइओसीको टोली एक हप्तादेखि काठमाडौंमा छ’, नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्काले भने । मधेश आन्दोलनको बहानामा आइओसीले इन्धन कटौती गरेपछि नेपालमा पेट्रोलियम पदार्थको अभाव भएको थियो । यसपाली हुने नयाँ सम्झौतामा त्यस्ता कमजोरीलाई समेत सच्याउने प्रयास गरिने उनले बताए । ‘पुरानो सम्झौतामा कहाँ कहाँ समस्या छ, यसपाली संसोधन हुन्छ, जस्तो सुकै अवस्थामा पनि इन्धन आयातमा प्रभाव नपर्नेगरि आइओसीसँग सम्झौता गर्छाै’, निगम प्रमुख खड्काले व्यवस्थापिका संसदका उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा भने । हाल निगमको टोलीले आइओसीको टोलीसँग इन्धन खरिद सम्झौताको नयाँ मस्यौदाबारे छलफल गरिरहेको छ ।‘मार्चमा सम्झौताको म्याद सकिने भएकाले नयाँ सम्झौताको मस्यौदा निर्माणको प्रारम्भिक छलफल चलिरहेको छ’, निगमका प्रवक्ता मुकुन्द न्यौपानेले विकासन्युजसँग भने । पारादिप डिपोबाट इन्धन यसैबिच नेपाल आयल निगमले निकट भविष्यमै भारतको पारादिप डिपोबाट इन्धन आयात गर्ने भएको छ । नेपाललाई नियमित इन्धन उपलब्ध गराउँदै आएका डिपोहरुको सो भन्दा बढि इन्धन दिने क्षमता नभएकाले थप इन्धन पारादिप डिपोबाट आयात गर्न लागिएको हो । आपुर्ति मन्त्री गणेशमान पुनले पनि पारादिप डिपोबाट इन्धन ल्याएर पनि नेपालको आपुर्ति व्यवस्थालाई सहज बनाउन लागिएको बताए । हाल नेपाललाई इन्धन दिईरहेका डिपोहरुले सो भन्दा बढि मात्रामा इन्धन दिन नसक्ने बताएपछि पारादिप डिपोबाट ल्याउन लागिएको हो । सो डिपोबाट इन्धन ल्याउन थालेपछि थप भण्डारण गृह निर्माण गरेर ९० दिनलाई पुग्ने इन्धन सञ्चित गरिने उनले बताए । निगमका प्रमुख खड्काले पारादिपबाट इन्धन ल्याउँदा उपभोक्तालाई थप मुल्यभार नपार्ने जानकारी गराएका थिए ।