विकासन्युज

सञ्चय कोषले ६८८ मेगावाटको वेतान कर्णाली आयोजना बनाउने, संचयकर्ताको नाफा सेयरमा परिणत हुने

काठमाडौं । कर्मचारी सञ्चय कोषले ६८८ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कोषले आयोजना निर्माणका लागि वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना गरिएको छ । कम्पनीले कारोबार गर्न अनुमति पनि पाइसकेको छ । कोषले वर्षेनी सञ्चयकर्तालाई प्रदान गर्ने नाफा रकम आयोजनामा लगानी गर्ने भएको छ ।   कम्पनीका सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानी सम्बन्धित विनियमावली लागु गरेको छ । यस्तै कोष, नेपाल विद्युत प्राधिकरणको पनि लगानी हुने छ । कोषले आयोजनामा लगानी जुटाउन सञ्चयकर्ताको नाफालाई जलविद्युतको सेयरमा लगानी गर्ने तयारी थालेको छ । उसले नाफा सेयरमा लगानी गर्नका लागि सञ्चयकर्तालाई अनुरोध समेत गरेको छ । निवेदन नदिने सञ्चयकर्ताको नाफा रकम सिधै सेयरमा लगानी गर्ने जानकारी दिएको छ । सञ्चयकर्ताले नचाहेमा लगानी नहुने कोषले जनाएको छ । गत आर्थिक वर्ष ०७३÷०७४ देखिको नाफालाई आयोजनामा लगानी हुने गरी विनियमावली परिवर्तन गरेको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीरआर) तयारीका लागि आवश्यक कार्यादेश (टीआर) को मस्र्यौदा अन्तिम चरणमा पुगेको र नेपाल विद्युत प्राधिकरण अन्र्तगतको इन्जिनियरिङ कम्पनीमार्फत आयोजनाको अध्ययन काम अघि बढाउने तयार भएको उनले जानकारी दिए । ३ वर्षभित्र सम्पुर्ण अध्ययन सम्पन्न, विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) र लगानी जुटाएर आयोजनाको निर्माण सुरु गर्ने आचार्यको योजना छ । अर्धजलासययुक्त आयोजना ( पिकिङ रअ अफ दी रिभर) प्रकृतिको यो आयोजना बनाउन ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक ४ अर्ब २६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भीक अध्ययनले देखाएको छ । जसअनुसार हिउँदमा १ अर्ब ४९ करोड २० लाख र वर्षादमा २ अर्ब ७७ करोड ३० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भीक अध्ययनले देखाएको छ । कोषका सञ्चयकर्ताबाट ६ वर्षमा ९ अर्ब रुपैयाँ स्वपुँजी (इक्युटी) जुट्ने उनले जानकारी दिए । ५० देखि ५५ अर्ब रुपैयाँ बैंकबाट ऋण लिने योजना तय भएको छ । यद्यपी डीपीआरपछि मात्र आयोजनाको वास्तविक लागत आउने भएकाले यसमा केही परिवर्तन हुने उनले बताए । कोषका सञ्चयकर्ताले वर्षेनी औसत १ अर्ब ३० करोड रुपैयाँ नाफा पाउने गरेका छन् । वर्षेनी नाफा बढ्दै गएकाले रकम थपिने छ । मुलुकमा लोडसेडिङ अन्त्यका लागि कोषमा भएको रकम जलविद्युत आयोजनामा लगानी गर्नका लागि प्रक्रिया सुरु गरिएको उनको भनाई छ । ऊर्जा मन्त्रालयले वेतन कर्णालीलाई अध्ययन गर्न अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ । काम सुरु गरेको ६ वर्षमा आयोजना काम सम्पन्न हुने उनले जानकारी दिए । आयोजना सुर्खेत र आछम जिल्लामा पर्छ । आयोजनाको सुरुङ ६.६ किलोमिटर लामो हुने छ ।  

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिनमा सवारी आवागमन सुचारु

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ । सो सडकखण्डअन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो हटाउन शुरु गरिएको थियो । सो सडकखण्डमा शुक्रबार दिउँसोपछि ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक आइतबार साँझ मात्र सञ्चालनमा आएको थियो । रासस

विपद व्यवस्थापनका लागि तात्यो सरकार, बाढी प्रभावित जिल्लामा निशुल्क स्वास्थ्य सेवा दिने

काठमाडौं । सरकारले देशव्यापीरुपमा बाढी प्रभावित जिल्लाका अस्पताललाई निशुल्क स्वास्थ्य सेवा दिन निर्देशन दिएको छ। साउन २७ देखि परेको अविरल बर्षाबाट तराईका विभिन्न जिल्लामा परेको विपद व्यवस्थाको लागी स्वास्थ्य मन्त्रालयले आपतकालिन तयारी थालेको हो । मन्त्रालयले अस्पतालहरूमा ७ दिनको लागी प्रभावितहरूको लागी निशुल्क स्वास्थ्य सेवा दिन व्यवस्था गर्न जिल्लाहरू लाई निर्देशन दिएको छ । बाढीपछि देखिने रोगहरू जस्तै झाडा पखाला, हैजा आउ, हेपाटाइटिस, टाईफाइड र सर्पदंश जस्ता समस्याहरू देखापर्न सक्ने हुदा आवश्यक, औषधि र स्वास्थ्य कर्मि तयारी अवस्थामा राख्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सवै स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मि र सम्पुर्ण कर्मचारीहरू समेत आफ्नो कार्यक्षेत्रमा रहि कार्य गर्न र विदा वसेकाहरू सवै विदा छोट्टाई कार्य क्षेत्रमा फर्किन निर्देशन दिएको छ । विपदको व्यवस्थापन गर्न स्वास्थ्य सेवा विभागका उपमहानिर्देशकको संयोजकत्वमा विपद व्यवस्था कमिटि बन्ने सरकारले निर्णय लिएको छ । सो कमिटिले हाल लाई ४ बटा टोली वनाई प्रभावित क्षेत्रका समन्वयको लागी विराटनगर, जनकपुर, रौतहट र नेपालगंज पठाउनेछ । देनिक विहान ९।३० बजे र साँझ ५ बजे स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र मा भए गरेका कार्यहरू र जिल्लाका अवस्थाको वारेमा जानकारी दिनेछ । विपदबाट पर्न गएको क्षतिको तत्काल मूल्याङ्कनको प्रतिवेनद अनुरूप कार्ययोजना बनाइ विपद व्यवस्था कमिटि लाई कार्य योजना दिन प्राविधिक सल्लाहाकार समिती ले प्राविधक सहजिकरण गर्ने मन्त्रालयले जनाएको छ। यस विपदलाई नियमित सम्पर्कमा रहनको लागी यस स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा उपसचिव २४ सै धन्टा सम्पर्कमा रहन श्री सत्य आचार्य, भिम सापकोटा, लक्ष्मी मरासिनि, संन्जिव गौतम र उपेन्द्र के.सि लाई खटाउने तयारी रहेको मन्त्रालयले जनाएको छ । जिल्लाका स्वास्थ्य संस्थाहरू बाट स्कुलहरू र अन्य क्षेत्रमा क्याम्प गरी वसेका जनताको स्वास्थ्य अवस्था र निजहरू लाई रोग लाग्न नसक्ने गरि स्वास्थ्य सुरक्षा विधिको नियमित अनुगमन गर्ने भएको छ । सो को जानकारी र अवस्थको प्रतिवेदन क्षेत्र र स्वास्वास्थ्य सेवा विभागको विपद व्यवस्थापन केन्द्रमा दैनिक रूपमा गराउनेछ । रोगको रोकथाम र स्वास्थ्य सुदृढिकरण सम्वन्धमा सूचना प्रवाह गर्न राष्टिय स्वास्थ्य शिक्षा तथा सूचना तथा संन्चार केन्द्र ले गर्ने मन्त्रालयले जनाएको छ । विपदमा खटिने स्वास्थ्य कर्मी हरूकोलागी रेस्क्यु ज्याकेटको व्यवस्था गरिएको छ ।  

सुपरस्टार अमिताभ बच्चन माथि कर छलीको आरोप, भारतीय कर विभागले थाल्यो छानबिन

काठमाडौं । भारतको आयकर विभागले कर छली गरेको आरोपमा वलिउड सुपरस्टार अमिताभ बच्चनमाथि छानबिन सुरु गरेको छ । पनामा पेपर्सले अमिताभले कर छलिगरेको विवरण सार्वजनिक गरेपछि कर विभागले उनीमाथि अनुसन्धान थालेको हो । छानबिनमा बच्चन लगायत कैयौं हस्तीहरुको नाम खुलासा भएको थियो । यस मामिलामा भारतको विभाग निकै ’आक्रमक’ रुपमा काम गरिरहेको त्यहाँको चर्चित अखबार टाइम्स अफ ईण्डियाले जनाएको छ । विभागले यसबारे थप अनुसन्धानका लागि ब्रिटिस भर्जिन आइल्याण्डमा आफ्नो एक उच्च पठाएको अखबारले उल्लेख गरेको छ । क्यारेबियन द्विपमा अवस्थित ब्रिटिस भर्जिन आइल्याण्ड (कर तिर्नुनपर्ने (ट्याक्स हेभेन) मूलुकको रुपमा गनिन्छ । अमिताभबारे सोधपुछमा एक अधिकारीले भने, ’मिस्टर बच्चनले पनामा पेपर्समा आएका कुनै फर्ममा पनि आफ्नो सम्बन्ध नरहेको बताएका छन् । त्यसैले हामीले सिधै सोधपुछ गर्न सकेनौं । हामीलाई अन्य जानकारी जुटाउनु आवश्यक छ ।’ टाइम्स अफ इन्डियासँग कुरा गर्दै विभागका एक अधिकारीले भने, ’हामीले थप जानकारी जम्मा गर्नका लागि सीबीडीटी (सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्स) को कर्मचारीलाई ब्रिटिस भर्जिन आइल्यान्ड पठाइएको छौं । हामी अन्य मूलुकबाट पनि जानकारी खोजिरहेका छौं । सबै जानकारी लिइसकेपछि मात्र कानुन तोडिएको हो कि होइन पत्ता लाग्नसक्छ ।’ पनामा पेपर्समा थुप्रै भारतका ठुला फिल्मी कलाकार, राजनेता तथा व्यापारीको नाम सार्वजनिक भएको छ। अमिताभले आफूले कुनै गलत काम नगरेको दाबी गरेका थिए । बच्चनले भारतीय नियम अनुसार विदेशमा रकम पठाउने गरेको दाबी गरेका थिए । अधिकारीले भने, ’सार्वजनिक भएका कतिपय खाताका वास्तविक हुन् । जानकारी जम्मा गर्न धैरै समय लाग्छ ।’ इनकम ट्याक्स विभागले पनामा पेपर्समा देखापरेका मध्ये ३३ नाममाथि मुद्दा दायर गरिएको छ र बाकी विरुद्ध छानबिन चलिरहेको छ । पनामा पेपरले विदेशमा सम्पत्ति जोडेको विवरण सार्वजनिक गरेपछि पाकिस्तानी प्रधानमंत्री नवाज शरीफलाई त्यहाँको सर्वोच्च अदालतले पदच्युत गरेको छ । यता भारतमा करको घटना लम्ब्याइएको भनेर कर विभागको आलोचना भइरहेको छ । पनामा पेपर्सका दस्तावेज पनामास्थित एक ल फर्म ( मोसेक फोन्सेकाले ’लीक’ गरेका थिए । यो फर्मको ३५ वटा मूलुकमा ब्युरो छ । दस्तावेजमा ५० देशका १४० राजनेताहरुको नाम उल्लेख छ जसको विभिन्न तरिकाबाट विदेशमा रकम जम्मा रहेको दाबी गरिएको छ । यसमा १२ भुतपूर्व राष्ट्राध्यक्षहरुको नाम पनि उल्लेख छ। खेलाड़ी, प्रशासक तथा फोर्ब्समा सूचीकृत २९ अर्बपतिको पनि नाम पेपर्समा उल्लेख छ । भारतले ग्लोबल टास्क फोर्ससँग सहकार्य गरेर पनामा पेपर्सले सार्वजनिक गरेका दोषिमाथी अनुसन्धान गरिरहेको छ ।  

सिमावर्तीका वाँध भत्काउन कुटनीतिक कदम चालः चुरे भावर

काठमाडौं । भारतीय पक्षले तराईका सिमावर्ती जिल्लामा वनाएको तटबन्ध र वाँधलाई भत्काउनका लागि तत्काल कुटनीतिक कदम चाल्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सरकारसमक्ष माग गरेको छ । अविरल वर्षाका कारण वाढी र डुबानमा परेर ५० जना भन्दा बढीको ज्यान गएकोमा दुःख ब्यक्त गर्दै सो पार्टीले सिमावर्ती क्षेत्रमा वनाएका वाँध नभत्काएसम्म तराईको भुमी डुवानमा परिरहने पनि जनाएको छ । अध्यक्ष वद्रीप्रसाद न्यौपानेको अध्यक्षतामा वसेको केन्द्रीय कार्य सम्पादन समितिको वैठकले सो माग अघि सारेको हो । ‘भारतले सीमा क्षेत्रमा बनाएको उच्च सडक, बाँध र तटबन्धका कारण नेपालको तराई क्षेत्रमा डुबान भएको चुरेभावर पार्टीको ठहर छ,’ सो पार्टीले भनेको छ, ‘नेपाल र नेपालीहरूलाई क्षति हुने गरेर बनाइएका त्यस्ता संरचनाहरू हटाउने विषयमा भारतसँग कूटनीतिक पहलमार्फत तत्काल समाधान खोज्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ सो पार्टीले माताहातका जिल्ला कमिटीलाई वाढी र डुवानमा परेकाको तत्कालै उद्धार कार्यमा सक्रियतापुर्वक खटन र उपलब्ध राहात वितरण गर्न पनि माताहतलाई निर्देशन दिएको छ । सो पार्टीले वाढी, डुवान र पहिरोवाट अर्वौको धनजनको क्षति भएको तर सरकारले सो क्षतीलाई न्युनीकरण गर्न कुनै पुर्व तयारी नगरेको आरोप लगाउँदै पीडितलाई तत्काल उद्धार, राहत र क्षतिपुर्तिको व्यवस्था गराउन पनि माग गरेको छ । ‘सरकारले बाढी पीडितहरूको उद्धार र राहत वितरणमा जसरी काम गर्नुपर्ने हो त्यो नगरेको हाम्रो पार्टीको ठहर छ’ सो आरोप लगाउँदै पार्टीले भनेको छ, ‘सरकारले छिटोभन्दा छिटो बाढी पीडितहरूलाई खाने, बस्ने, शुद्ध पिउने पानी, औषधि र बालबच्चाहरूको उचित स्याहार सुसारका लागि पहल गर्न गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’ मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजन प्रति हार्दिक समवेदन प्रकट गरेको सो पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिलिमे हाइड्रोपावरको नाफा साढे ९६ करोड

काठमाडौं । चिलिमे हाइड्रोपावर लिमिटेडको गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा ३ करोड रुपैयाँ मात्र बढेको छ । गत आवमा चिलिमेले ९६ करोड ६३ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको नाफा ९३ करोड ५५ लाख रुपैयाँ मात्र थियो । खोलामा पानीको वहावमा सुधार आएपछि उत्पादन भएको बढी बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गरिदिएको कारण कुल आम्दानी २.९ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । चिलिमेले सोमबार गत आवको वित्तीय विवरण सार्वजनिक गरी गत आवमा १ अर्ब १९ करोड ६८ लाख रुपैयाँको बिजुली बिक्री गरेको जानकारी दिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो आम्दानी २९ रुपैयाँ थियो । अघिल्लो वर्ष १ अर्ब १६ करोड ३१ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । चिलिमेले सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन र तल्लो सान्जेन र १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना निर्माण गरिरहेको छ ।

कुमारी बैंकको नाफा ७० करोड, संचित कोष १३५ करोड थपियोे

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड रुपैयाँ कम हो । तर एक वर्षमा बैंकको संचित कोषमा १३५ करोड थपिएको छ । गत आर्थिक वर्षमा कुमारी बैंकले काष्ठमाण्ड डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविकार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स एक्वाएर गरेको थियो । उक्त एक्वाएर पूर्व ती बैंकहरुले गरेको नाफा ६६ करोड र स्वाप रेसियो अन्तरबाट थप पुँजी गरी संचित कोष १३५ करोडले वृद्धि गरेको हो । २०७३ असार मसान्तमा ७६ करोड संचित कोष भएको यस बैंकले २०७४ असार मसान्तमा संचित कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । संचित कोषमा ठूलो रकम सेयरधनीलाई वितरण गर्न योग्य भएको बैंक स्रोतले बतायो । यस बैंकले २० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाईरहेको छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ । हकप्रद सेयर र यस वर्ष दिने बोनस सेयरबाट बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ । यस बैंकले असारमसान्तसम्ममा ५२ अर्ब निक्षेप, ४५ अर्ब कर्जा र साढे सात अर्ब लगानी परिचालन गरेको छ । सीडी रेसिओ ७८ प्रतिशत छ । बैंकको एनपीएल १.८६ प्रतिशत रहेको छ । बैंकको आरओई ८.६७ प्रतिशत रहेको छ ।

हिमालयन डिष्टिलरीको नाफामा भारी गिरावट

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको नाफामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीको नाफा १२ करोड २१ लाख घटेर ३ करोड ८८ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष कम्पनीले १६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । रोयल ट्रेजर ब्राण्ड लक्ष्यअनुसार बिक्री नभएपछि कुल आम्दानीमा गिरावट आएको हिमालयनले जनाएको छ । यस्तै गोल्डेन ओक ब्राण्डको मदिरा पनि बिक्री कम भएको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले १ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ । अघिल्लो वर्ष मदिरा बिक्रीबाट १ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बिक्रीबाट हुने आम्दानी झण्डै १८ करोड रुपैयाँ घटेको कम्पनीले सोमबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणमा उल्लेख छ । वित्तीय विवरणअनुसार बिक्री, नाफा, प्रतिसेयर आम्दानी र तरलता अनुपातमा कमी आएको छ । नाफा घटेपछि प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ मात्र छ । कम्पनीले पछिल्लो समयमा ल्याएका उत्पादन लक्ष्य अनुसार बिक्री हुन सकेका छैनन् ।