हङकङमा नेपालको पर्यटन प्रवद्रधन गरिने
काठमाडौं, २० असार । भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हङकङमा हाइकिङ (लामो दूरीको पैदल यात्रा) को आयोजना गरिने भएको छ । ‘हाइक फर नेपाल’ शीर्षकमा हुने पैदल यात्रा करिब १३ किलोमिटरको हुने आयोजक मितेरी समाज हङ्कङले जनाएको छ । ‘नेपालकालागि सँगसँगै पाइला चालौँ’ भन्ने नारा दिइएको कार्यक्रम आगामी साउन ९ गते हुनेछ । ‘हामी उठ्नेछौँ’ अभियान अन्तर्गत हुने उक्त पैदल यात्रामा १० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित कीर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा सहभागी हुनेछन् । उनले १७ देखि २४ वर्षको उमेरभित्र ९ पटक सगरमाथाको शिखर चुमेर विश्व कीर्तिमान बनाएका छन् । तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को कीर्तिमान पनि उनकै नाममा छ । शेर्पाले हङ्कङेलीसँगै विदेशीसँग हिमाल आरोहणका सफलता, समस्या र चुनौतीबारे अन्तर्किया समेत गर्ने बताइएको छ । अन्तर्राष्ट्रिय हङकङको केन्द्रविन्दु सेन्ट्रलबाट सुरु हुने यात्रा वानचाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क हुँदै रिपल्स बेमा पुगेर टुङ्गिनेछ । हङ्कङका अग्ला भू–भागमा हुने हाइकिङमा नेपालीसँगै विदेशी पनि सहभागी हुने समाजका अध्यक्ष तुलसी गुरुङले बताए । भूकम्पपछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्न यस्ता कार्यक्रमले टेवा पुग्ने उनको भनाइ थियो । रासस
विद्युत् महसुल बढाउने निर्णय फिर्ता लिन माग
काठमाडौं, २० असार । नेपाल विद्युत् प्राधिकरणले साउन १ गतेबाट २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने भनी गरेको निर्णयको नेकपा माओवादीले विरोध गर्दै फिर्ता लिन माग गरेको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको छ । “ नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ” महसुल वृद्धिबारे पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ “यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसका विरुद्ध कडा सङ्घर्षमा जाने विषय अवगत गराउँदछ ।” प्राधिकरणले हालै घाटा र सेवा शुल्क कारण देखाई आगामी साउन १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा ११।२५ देखि २२.१५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । मूल्य वृद्धिमा निजी विद्युत् कम्पनीको स्वार्थ, विदेशी विद्युत् कम्पनीबाट महँगो मूल्यमा विद्युत् आयात गर्ने रणनीति, विद्युत्को खरिदमा डलरको खेती र विद्युत् प्राधिकरण, विद्युत् महसुल निर्धारण आयोग तथा सम्बन्धित मन्त्रालयका सचिव एवम् सरकारको भ्रष्टाचार एवम् कमिसनको खेल खेल्ने उद्देश्य अन्तरनिहित भएको बताउँदै विज्ञप्तिमा विद्युत् अधिकार जनताको आधारभूत आवश्यकताअन्तर्गत खानेपानी पछिको दोस्रो महत्वपूर्ण पक्ष हो भनिएको छ । रासस
अनुदान सम्झौता भएका १० प्रतिशत पीडितले मात्रै पाए पहिलो किस्ता अनुदान, किन भइरहेछ यस्तो ढिलाई ?
काठमाडौं, २० असार । गत १२ बैशाख २०७२ को भूकम्पको कारण घर भत्किाएका परिवारलाई घर बनाउन सरकारले दिने भनेको अनुदार रकम दिन अत्यन्तै ढिलाइ भएको छ । अनुदान लिएर घर बनाउने सम्झौता गरेकामध्ये अहिलेसम्म सरकारले जम्मा १० प्रतिशत पीडितलाई मात्रै रकम उपलब्ध गराएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दिएको जानकारी अनुसार १ लाख ९९ हजार ६ सय ४ जना पीडितसँग अनुदान सम्झौता भएको छ । तर यसमध्ये २० हजार ८ सय २८ परिवारले मात्रै अनुदानको पहिलो किस्ता रकम पाएका छन् । यो संख्या अनुदान सम्झौता भएको संख्याको १० प्रतिशत मात्रै हो । सरकारले पहिलो किस्ताको रुपमा ५० हजार रुपैयाँ दिइरहेको छ । लामो प्रक्रिया र अनुदान वितरण गर्ने बैंकसँग समयमै कुरा नमिल्दा यस्तो अवस्था आएको पुननिर्माण प्राधिकरणका प्रवक्ता राम थपलियाको भनाइ छ । ‘अनुदान सम्झौताको प्रक्रिया निकै अगाडिदेखि बढेको हो, सरकारी खाता कसरी सन्चालन हुन्छ भन्ने ज्ञान बैंकहरुलाई रहेनछ, यो कुरा बुझाउदा र अन्य प्रक्रियागत विषय मिलाउदैमा ढिलाइ भयो,’ थपलियाले भने । सरकारले अहिले ११ जिल्लामा मात्रै अनुदान सम्झौता गरेर रकम दिन सुरु गरेपनि काभ्रे, सिन्धुली, नुवाकोट र मकवानपूर जिल्लामा अनुदान दिन सुरु नै गरेको छैन । रामेछाप जिल्लामा ४० हजार ४ सय ५१ परिवारसँग अनुदान सम्झौता भएपनि जम्मा १ हजार १ सय ४ परिवारले मात्रै पहिलो किस्ता रकम पाएका छन् । गोरखा जिल्लामा ४३ हजार ५ सय ४७ घरधुरीसँग अनुदान सम्झौता भएको छ । तर १९ असारसम्ममा जम्मा ९ हजार ५ सय ४० परिवारले मात्रै पहिलो किस्ता पाएका छन् । दोलखा जिल्लामा २० हजार ६ सय ५७ परिवारसँग अनुदान सम्झौता भएको छ । तर यसमध्ये ७ हजार ९६ परिवारले मात्रै पहिलो किस्ता रकम पाएका छन् । ओखलढुंगा जिल्लामा १७ हजार १ सय ३६ परिवारसँग अनुदान सम्झौता भएपनि रकम भने ४ सय ४१ परिवारले मात्रै पाएका छन् । सिन्धुपाल्चोक जिल्लामा ३४ हजार ३ सय ६२ परिवारसँग अनुदान सम्झौता भएको छ । यसमध्ये ८ सय ४५ परिवारले पहिलो किस्ता रकम अनुदान पाएका छन् । धादिङ जिल्लामा १७ हजार १ सय ४० परिवारसँग अनुदान सम्झौता भएको छ । यसमध्ये १ हजार ९७ परिवारले मात्रै अनुदानको पहिलो किस्ता रकम पाएका छन् । यस्तै रसुवा जिल्लामा २ हजार ७७ परिवारसँग अनुदान सम्झौता भएको छ । यसमध्ये ७ सय ५ परिवारले पहिलो किस्ता अनुदान पाएका छन् । यसरी दिइदै छ रकम सरकारले पीडितलाई रकम पाउने प्रक्रिया अन्त्यन्तै झन्झटिलो बनाएको छ । पहिलो चरणमा गाविस वा नगरपालिकाले पीडितसँग अनुदान सम्झौता गर्ने कार्य हुन्छ । त्यसपछि गाविस वा नगरपालिकाका प्रतिनिधिले सम्भब भए डिजिटल र नभए म्यानुअल रुपमा सोको जानकारी जिल्ला विकास समितिलाई दिन्छन् । सम्झौता भएको जानकारी जिविसले पाएपछि र रकम निकासाको लागि जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)लाई चेक काटिदिन्छ । जिविसको चेक पाएपछि पनि कोलेनिकायले सहजै रकम निकासा दिदैन । उसले अर्थमन्त्रालयले संचालन गरेको ‘लाइन मिनिष्ट्री बजेट इन्फरमेसन सिष्टम (एलएमविआइएस¬) मा पीडितको नाम भए नभएको रुजु गर्छ । यस्तो रुजु विश्व बैंकले पनि गर्न सक्ने गरी प्रणाली विकास गरिएको छ । योसम्मको कार्य सम्पन्न भएपछि मात्रै जिविसको यस्तो चेकलाई कोलेनिकाले सम्बन्धित क्षेत्रमा रकम बाढ्ने साझेदारको रुपमा सम्झौता भएको बैंकको नाममा सो रकम जम्मा पारिदिन्छ । यसपछि सम्बन्धित बैंकले पीडितलाई अनुदान रकम दिने प्रक्रिया अगाडि बढाउछ । सम्बन्धित बैंकको जिल्ला शाखाको समन्यमा मात्रै ग्रामीण क्षेत्रमा रहेको बैंकले रकम वितरण गर्ने भएकोले केही ढिलाई भएको प्राधिकरणका प्रवक्ता थपलियाले बताए ।
काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्गमा चिनियाँ लगानी भित्र्याउन पहल
काठमाडौं, २० असार । काठमाडौं–कुलेखानी–कुलेखानी–हेटौडा सुरुङ मार्ग निर्माण गर्न चिनियाँ लगानी भित्र्याउन पहल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा चिनियाँ कम्पनीले सुरुङ मार्गमा लगानी गर्न लागेको बताइएको छ । नेपाल पूर्वाधार विकास कम्पनीले निर्माण गर्ने सुरुङ मार्गको लम्बाई ५८ किलोमिटर छ भने ३५ अर्ब रुपैंया लागत अनुमान गरिएको छ । सन् २०१६ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने लक्ष्यसहित सरकारसँग परियोजना लिएको कम्पनीले अहिलेसम्म लगानी जुटाउन पनि सकेको छैन । बुट मोडलमा निर्माण गर्न लागिएको काठमाडौं–कुलेखानी–हेटौडाँ सुरुङ मार्गमा चिनियाँ लगानी कुन मोडलमा भित्र्याउने भन्नेबारे भने अझै टुंगो लागिसकेको छैन् । निर्माण, सञ्चालन र हस्तान्तरणको अवधारणामा निर्माण हुने सुरुङ मार्ग ३३ वर्ष सञ्चालन गरेर सरकारलाई बुझाउनु पर्नेछ । आन्तरिक विवादका कारण संस्थापक अध्यक्ष कुशकुमार जोशीले राजीनामा दिएपछि एनआरएन उपाध्यक्ष भवन भट्ट कम्पनीको अध्यक्ष बनेका छन् । स्थापना कालदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका सुवर्णलाल बज्राचार्यलाई हटाएर आफ्नै कम्पनी टिबिई ग्रुपका सिइओ सनत न्यौपानेलाई पूर्वाधार विकास कम्पनीको सिइओ बनाएका थिए । हाल न्यौपानेलाई समेत हटाईसकिएको स्रोतले बतायो ।
नोरफ्रोस्ट डिप फ्रिजर अब नेपाली बजारमा
काठमाडौं, १९ असार । गोल्छा अर्गनाईजेसनअन्तर्गतको हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले नोरफ्रोस्ट डिप फ्रिजर नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार नोरफ्रोस्ट डिप फ्रिजरको उत्पादनहरु बेलायतमा चार दशक अघि शुरु भएको हो । बेलायती उपभोक्ताहरु माझ निकै लोकप्रिय ब्राण्डको रुपमा स्थापित भएको छ । चेस्ट फ्रिजर अब एबाक कम्पनीले उत्पादन गर्ने भएको छ , जसले यसको ४० वर्षदेखिको गुणस्तर र कार्यदक्षतालाई निरन्तर सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । बजारमा डिप फ्रिजरअन्तर्गतका मोडलहरु १०० लीटर, १७५ लीटर र २१५ लीटरमा उपलब्ध छन् । उपभोक्ताहरुले यी डिप फ्रिजरहरु दुईवटा गुणस्तरीय रंगहरु सेतो र सिल्भरमा छनौट गर्न सक्ने कम्पनीले बताएको छ ।
इन्भेष्टमेण्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई करिब तीन करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौं, १९ असार । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र पशुपति क्षेत्र विकास कोषबीच “पशुपति सङ्ग्रहालय” को विकास गर्ने सम्बन्धि सम्झौता भएको छ । “जनसहभागिता र विकास” कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रको महास्नानघर (ठूलो सदावर्त घर)लाई मर्मत–संभार गर्ने र सो घरलाई “पशुपति सङ्ग्रहालय” को रुपमा विकास गर्ने विषयमा सम्झौता भएको हो । उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. गोविन्द टण्डन तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सो सहमति सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । महास्नानघरकोे दक्षिण र पश्चिमपट्टिको भाग वि सं. २०७२ साल वैशाख १२ र २९ मा गएको माहा भूकम्पले गर्दा क्षति पुगेको अवस्थामा रहेको छ । सम्झौता गरेको एक वर्षभित्र महास्नानघर एवं तीन वर्षभित्र पशुपति सङ्ग्रहालय संचालन गर्ने गरी कार्य सम्पादन हुने विज्ञप्तिमा उल्लेख छ । उपरोक्त पुननिर्माण एवं मर्मत संभार कार्यको लागि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रति वर्ष १ करोड रुपैयाँको दरले ३ बर्षमा जम्मा ३ करोड रुपैयाँसम्म खर्च गर्ने सम्झौता भएको छ । भगवान् पशुपतिनाथ मन्दिर रहेको पावन क्षेत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट विगतमा भष्मेश्वरघाटमा गरिएको मर्मत सुघार एवं योगदानको लागी उक्त कोषले सराहना समेत गरेको छ ।
नेप्सेले माघ्यो सेयर कारोबार अवधि बढाउने विषयमा सुझाव
काठमाडौं, १९ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबारको समय बढाउनुपर्ने बिषय सम्बन्धि सबैसँग सुझाव मागेको छ । विगत एक दशकदेखि नेप्सेमा कारोबार समयलाई हरेक आइतबारदेखि बिहीबारसम्म मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्ममा सीमित गरिएको छ । साथै बजारमा लगानीकर्ताको बढ्दो चाप र नेप्सेको कारोबार प्रणालीमा भइरहेको आधुनिक सुधार तथा परिवर्तनपछि लगानीकर्ताले कारोबारको समयावधि बढाउनुपर्ने माग गरिरहेका छन् । नेप्सेले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ–‘प्रविधिको विकाससँगै बजारको पहुँच विस्तारै हुँदै गएको र नयाँ लगानीकर्ताको प्रवेश गर्ने क्रम जारी रहेकोले कालको कारोबार समय बढाउनुपर्ने माग लगानीकर्ताहरुबाट भएको छ । कारोबार समय बढाउँदा सकारात्मक र नकारात्मक प्रभावहरु के के हुनसक्छन, यो बिषयमा सुझाव आवश्यक छ ।’ नेप्सेले ‘अहिलेको कारोबार अवधि सही छ या छैन, बढाउनुपर्ने आवश्यकता छ या छैन वा कति समय बढाउँदा लगानीकर्ताको माग सम्बोधन हुन्छ’ लगायतका बिषयमा अध्ययन थालिएको पनि विज्ञप्तिमा स्पष्ट छ । नेप्सेले एक साताभित्रमा कारोबार अवधिको बिषयमा कुनै सुझाव वा सिफारिस पठाएर सहयोग गरिदिन एक विज्ञेप्तिद्धारा आग्रह गरेको छ ।
मोरङमा झिँगा आतंक, गाउँले आन्दोलित
काठमाडौं, १९ असार । मोरङ जिल्लाको बेतौना गाउँमा झिँगा आतंकले गाउले त्रसित बनेका छन् । नजिकै रहेको कुखुरा फार्मका कारण झिँगा आतंक बढेपछि सो गाउँका जनता विगत एक हप्तादेखि आन्दोलन गरिरहेका छन् । सोराभाग गाबिसमा रहेको पोल्ट्री फार्मका कारण गाउँमा झिँगा बढेपछि गाउँले खाना खान समेत नसकिरहेको अनेरास्ववियुका सचिव वसिम आलमले जानकारी दिए । झिँगाले स्वास्थ्यमै असर गर्न थालेपछि पोल्ट्री फार्म घेर्न गएका गाउँलेहरुमाथी प्रहरीले केहिदिन अघि लाठी चार्ज गरेको थियो भने केहि गाउँले विरुद्ध मुद्धा समेत चलाएको छ । गाउँलेहरुले इन्दिरा उप्रेतीको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । हरियो झिँगाले सताएपछि गाउँलेहरुले झिँगा धपाउन स्प्रे गर्नु परेको तथा दुर्गन्धले स्वास्थ्यमै समस्या पारेको संघर्ष समिति संयोजक उप्रेतीले बताइन् । पोल्ट्री फार्मको आसपास चार चार किलोमिटरका एक हजार भन्दा बढि घरधुरी प्रभावित बनेको उनले बताइन् । आइतबार क्षेत्र नम्बर ४ का सांसद शिवकुमार भण्डल, एमाले मोरङका अध्यक्ष महेश रेग्मी, प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र जिल्ला प्रहरी प्रमुख संदिप भण्डारीले घट्नास्थलको निरिक्षण गरेका थिए । उनीहरुले पोल्ट्री फार्म हटाउन माग गरेका थिए भने प्रशासनले फार्म हटाउने आश्वासन दिएको थियो ।