विकासन्युज

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सुत्केरी विदा २० हप्ता दिने, महिला कर्मचारीले पुरै तलब पाउने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड  बैंकमा कार्यरत आमा बुवालाइ िददै  आएको विदाको सुविधामा वृद्धि गरेको छ । बैंकको परिवार-मैत्री संस्कार एवं एडप्टको लागि केन्द्रित बैंकको एक हिस्सा स्वरुप र जनशक्तिको परिवर्तित आवश्यकतामा साथ दिन बैंकले साे सेवा दिएको हो । महिला कर्मचारीहरुले सुत्केरी हुँदा पाउँदै आएको ९० दिनको सुत्केरी विदाको अवधि बढाएर अब २० हप्ता पुर्याइएको छ । यस अवधिमा उनीहरुले पूरै तलब प्राप्त गर्ने छन् । यस्तै पुरुष कर्मचारीले पनि पिता बनेको अवस्थामा २ हप्ताको तलबी विदा पाउने भएका छन । यसअघि उनीहरुले १ हप्ता मात्र विदा पाउँदै आएका थिए । यसैगरी बैंकले बच्चा एडप्ट गर्दा हालदिंदै आएको २ दिनको विदाको सुविधा पनि बढाएर २ हप्ता पुर्याएको छ । बैंकमा कार्यरत कर्मचारीहरुलाई थप लाभ प्रदान गर्न गरिएको परिमार्जित नीतिले बैंकलाई समेत फाइदा पुग्ने विश्वास लिइएको छ । यस्तो नीतिले कर्मचारीहरु प्रोत्साहित हुने र उनीहरु आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध रहने छन् भन्ने अपेक्षा गरिएको छ ।  

चुलिँदै तरकारीको मूल्य, बाढी पहिराले तरकारीको भाउ ७५ प्रतिशतसम्म बढ्यो

काठमाडौं । गत बिहीबारदेखि परेको अबिरल बर्षाका कारण काठमाडौं भित्रने नाकाहरू प्राय ठप्प भएपछि त्यसको सोझो असर हरेकको भान्छासँग जोडिएको तरकारीमा परेकोे छ । साखै बाढी पहिरोको सामना खेप्नु नपरेको काठमाडौं बासीहरूले तरकारीमा भाउमा भने चर्को मूल्य भने व्यहोर्नु परेको छ । तीनदिन यता तरकारीको मूल्यमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य भएको छ । औसतमा ७५ रुपैयाँ प्रतिकेजी गोलभेँडाको मूल्य एक सय २५ रुपैयाँ पुगेको छ भने ६५ देखि ७० रुपैयाको काउलीको मूल्यपनि उस्तै छ । प्याजको मूल्य ६० बाट ९० रुपैयाँ पुगेको छ । भान्छामा दैनिक प्रयोग हुनेसमग्र तरकारीको मूल्यमा खुद्रा मूल्यमा वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको एक साता अघिको मूल्य र आजको मूल्य हेर्ने हो भने खासै अन्तर नदेखिएको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । ‘कालिमाटी तरकारी बजारको होलसेल मूल्य प्याज, आलु तथा गोडभेँडाको मूल्यमा केही अन्तर आएपनि अन्य मूल्यमा १० देखि १५ रुपैयाँको मात्र अन्तर आएको छ,’ उनले भने ‘ तर, खुद्रे व्यापारीले भने शतप्रतिशत मूल्य बढाएर बिक्री गर्ने गरेका कारण उपभोक्ता मारमा पर्ने गरेको उनले बताए । अनावश्यक प्रपोगाण्डा मच्याएर वास्तविकता अवस्थाको मूल्यांकन नै नगरी अत्यधिक मूल्य बढाउने परिपाठी रहेको भनाइ छ । केही सानो कुरा भयो कि त्यसको प्रत्यक्ष असर तरकारीमा पर्छ, वास्तवमा त्यति धेरै मूल्य भने बढेको नहुने उनले बताए । त्यहि किलोमा १० देखि २० रुपैयाँसम्म बढेपनि आम उपभोक्ताको घरघरमा पुग्ने टोलटोलका खुद्रे पसलमा भने तरकारीको भाउ नगन्य बढी सकेको छ । औसतमा ७० रुपैयाँ प्रति केजीमा पाइने गोलभेँडा, घिउ सिमी, परवलको मूल्य एक सयभन्दा माथि छ । काउलीको मूल्य एकसयभन्दा माथि अर्थात एक सय २५ रुपैयाँसम्म छ । भन्टा तथा तितेकरेला ७० रुपैयाँ छ भने प्याजको मूल्य प्रति केजीको एक सय रुपैयाँभन्दा माथि छ । कतिपय व्यवसायीले ठाउँ, पसल, ग्राहक हेरर तरकारीको मूल्य गर्ने गरेको पनि पाइन्छ । रेगु्लर आउने ग्राहकलाई एकाथरि भाउ हुन्छ भने कहिले काँही बाटो पर्दा किन्ने ग्राहकको लागि भिन्दै भाउ लिने गरेको पाइन्छ । घट्टेकूलो एक तरकारी व्यापारीले रेगुलरलाई भन्दा कहिले काहिँ आउने ग्राहकलाई प्रति केजीमा १० देखि १५ रुपैयाँसम्म बढी लिएर तरकारी विक्री गर्दा रहेछन् भने नक्सालका व्यापारीमा पनि यस्तै भेटिएको छ । सामान एउटै मूल्य भने दुई थरी स्वयम व्यापारीहरू नै राख्ने गरेका छन् ।  

होटल व्यवसायीले बाढीपीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । होटल संघ नेपाल (हान)ले बाढी पीडितहरुकालाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। मुलुकका तराई भेगका जिल्लाहरु अविरल वर्षाका कारण बाढीग्रस्त छन् । सोमबार बसेको हानका पदाधिकारीहरुको आकस्मिक वैठकले बाढी पीडितहरुको सहयोगार्थ पाँच लाख रुपैंया प्रदान गर्न निर्णय गरेको छ । साथै चितवन , मोरङ, बांके, वर्दिया, सुनसरी, रुपन्देही परासी लगायतका जिल्लाहरुमा बाढीबाट प्रभावित पर्यटकहरुको उद्दार आवश्यक भएमा सेवाका लागि होटल संघ नेपालले चौबिसै घण्टा सुविधा दिने जानकारी गराएको छ । बाढीको प्रकोपवाट भएको धनजनको क्षतिको मूल्यांकन पश्चात होटल संघ नेपालले आवश्यक राहतको कार्यक्रममा सघाउने पनि जनाएको छ ।

सुख्खा बन्दरगाहको कार्य अगाडि बढाउन अध्ययन टोली कञ्चनपुरमा

कञ्चनपुर । महाकाली नगरपालिका-१० मा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउन अध्ययन टोली कञ्चनपुर आइपुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतकोे नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सीतारा कन्सल्ट प्रालिको सम्भाव्यता अध्ययन टोलीले आइतबारदेखि अध्ययनको कार्य शुरु गरेको हो । सम्भाव्यता अध्ययन टोलीका प्रमुख अनिल मरासनीले बन्दरगाह निर्माणका लागि स्थलगत अध्ययनको कार्यलाई अगाडि बढाइएको बताए। टोलीले प्रस्तावित सुख्खा बन्दरगाहबारे महाकाली नगरपालिकाका जनप्रतिनिधि र कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरेको छ । छलफलका क्रममा उद्योगी व्यवसायीले तत्काल बन्दरगाह निर्माणको कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् । टोलीले अन्य सरोकारबालासँग समेत भेटघाट गर्ने कार्यक्रम तय गरेको छ । यसअघि समेत तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भारतीय अधिकारीबीच सुख्खा बन्दगाह निर्माणका लागि मस्यौदा तयार गरी बन्दरगाह निर्माण कार्य अगाडि बढाउने सहमति गरेका थिए । प्रारम्भिक मस्यौदामा पहिलो चरणमा खटिमादेखि भीमदत्तनगरसम्म एसियाली राजमार्ग बनाउने भारतीय सहर खटिमादेखि महाकाली पारी दोधारा चाँदनी हुँदै महेन्द्रनगरसम्म २५ किलोमिटर सडक बनाइने गरी मस्यौदा तयार गरिएको थियो । रासस

बाढी पहिरोका कारण तराईका बैंकिङ सेवा प्रभावित, मंगलबारदेखि ठूला बैंक शाखा खुल्ने

काठमाडौं । आइतबार तराईका सबै बैंक तथा वित्तीय संस्थाहरू बन्द रहे । गत बिहीबारदेखि परेको अबिरल वर्षाको कारण आइतबार उक्त स्थानका बैंक तथा वित्तीय संस्थाहरूले सेवा प्रदान गर्न नसकेको नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष अनिल केशरी शाहले बताए । ‘तराई जलमग्न भएपछि आइतबार बैकिङ सेवाभन्दा पनि जनधनको रक्षातिर लागियो,’ सेवा लिने र दिने कोही पनि भएनन् ।’ अब मंगलबारदेखि भने ठूला शाखाबाट सेवा सुचारु हुनेछ । ठूला शाखाको संचालन व्यवस्था मिलाइ सकेपछि साना शाखा पनि विस्तारै खुल्दै जानेछन् । ‘जलमग्न भएको तराईमा कनेक्टिभिटी टुटेको छ,’ उनले भने ‘ आज विदाको दिन परेकोले दिनभरमा कसरी कनेक्टिभिटी जोडेर सेवा दिन सकिन्छ भनी हामी लागि परिरहेका छौ ।’ विद्युतको विकल्पमा जेनेरेटर प्रयोग गरेपनि इन्टरनेटलगायतका प्राविधिक कारण बैकिङ सेवा दिन अप्ठ्यारो परेको उनले बताए । बाढी पहिरोको कारण तराई प्रभावित भएपछि विराटनगरदेखि सुदूरपश्चिमसम्मको बैंकिङ सेवा प्रभावित भएको छ । आज दिनभरमा सबै मिलाएर भोलि मंगलबारदेखि ठूला शाखा संचालन गर्ने तयारीमा एसोसिएशन लागि परेको छ ।

एनसेलकाे सापटी रकममा वृद्धि, ब्यालेन्स ट्रान्सफर सुविधा निःशुल्क

काठमाडौं । एनसेल प्रा. लि. ले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पुर्याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्धि गरेको छ । साथै ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ । कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पुर्याउन मद्दत गर्नका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको छ । सापटी सेवा अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले रु ४० प्राप्त गर्दै आएकोमा मंगलबार सम्मका लागि रु ६० प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले विद्यमान सेवा शुल्क रु २.५१ मा नै थप सापटी रकमको सुविधा लिन सक्छन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्छन् । यसका साथै एनसेलले अन्य बेलामा सेवा शुल्क रु १.२५ लाग्दै आएको ब्यालेन्स ट्रान्सफर सुविधालाई पनि निःशुल्क बनाएको छ । यो सुविधा पनि मंगलबारसम्म जारी रहने छ । बाढी प्रभावित क्षेत्रका ग्राहकलाई आफ्ना प्रियजनसँग आकस्मिक सूचना आदान प्रदान गर्न सघाउने उद्देश्यले निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ संचालनमा ल्याएको छ । यस अन्तर्गत प्रभावित क्षेत्रका एनसेल ग्राहकले ९००८ मा तथा अन्य नेटवर्कका ग्राहकहरुले ९८०९००८००० मा डायल गरी कम्पनीको कल सेन्टरमा रहेका प्रतिनिधी मार्फत आफ्ना सूचना आफ्ना प्रियजनमा पुर्याउन सक्छन् । “बाढी तथा पहिरोले देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति हामी दुःखी छौं । यस विपतको समयमा संचालनमा ल्याईएका थप सापटी सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालिन कल सेन्टर तथा निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ ले ग्राहकलाई सम्पर्कमा रहन सहज बनाउने तथा उद्दार र राहत कार्यमा योगदान पु¥याउने विश्वास छ,” एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने । “यस प्राकृतिक प्रकोपको समयमा पनि एनसेलको नेटवर्क निरन्तर संचालनमा रहेको र ९० प्रतिशत भन्दा बढी बिटिएस टावर मार्फत सेवा प्रदान गरिरहेका छौं । केहि स्थानमा विद्युत आपूर्ती नरहेको र डिजेल जेनेरेटर संचालन गर्दा जोखिम हुने देखिएको त्यस्ता ठाउँमा जेनेरेटर संचालनमा ल्याउन हामी पानीको सतह कम होस् भनी प्रतिक्षा गरिरहेका छौं,” आचार्यले भने । सापटी सेवाका लागि एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सापटी लिन सक्नेछन् । त्यसै गरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप प्राप्त रकम रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट सेवा शुल्क सहित घटाइनेछ ।

नेपाल बङ्गलादेश बैंकको थप दुई शाखा लेखनाथ र बागलुङमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो थप दुई शाखा लेखनाथ र बागलुङमा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ४६ औं शाखा लेखनाथ र ४७ औं शाखा बागलुङमा संचालनमा ल्याएको हो । बैंकको उक्त शाखा सञ्चालन गर्ने कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थिति र बैंकका संचालकहरुको सभापतित्व तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीद्वारा गरिएको थियो । साथै सोहि परिसरमा एटिएम सेवाहरु पनि थप गरेको जानकारी गराएको छ । यी दुई शाखा सहित बैंकले ४७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ४४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । बैंकले हालै सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार आ. व. २०७३/७४ मा बैंकको कूल निक्षेप ४३ अर्ब ७१ करोड रुपैयाँ, कूल कर्जा ३७ अर्ब ४६ करोड रुपैयाँ परिचालन गरि १ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

लक्ष्मी बैंकको नयाँ शाखा रुपन्देहीको मणिग्राममा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा रुपन्देहीको, मणिग्राममा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । भैरहवा र बुटवल पश्चात्, बैंकको यस क्षेत्रमा, यो तेस्रो शाखा हुनेछ । मणिग्राम शाखा, जोगीकुटि बाट स्थानान्तरण भएको हो । जोगीकुटिमा कारोबार गर्ने सम्पूर्ण ग्राहकलाई सबै सेवाहरु, बुटवल शाखाबाट उपलब्ध गराईने बैंकले जनाएको छ । यस सहित लक्ष्मी बैंकको शाखा संजाल ६९, ३ हस्पिटल सेवा काउन्टर, ८८ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ । बैंकले आ.व. २०७३र७४मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको छ । साथै, सोही अवधिमा यस बैंकको वासलातको आकार ७० अर्ब ९० करोड रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।