काठमाडौं उपत्यकामा ५३ किमी सडक विस्तार सुरु
काठमाडौं, १६ असार । उपत्यकामा ५३ किमी सडक विस्तारका लागि बोलपत्र आह्वान गरी काम सुरु गरिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उपत्यकामा ३६ किमी सडक विस्तार सम्पन्न भइसकेको जनाएको छ । उपत्यकाका व्यस्त सडकमध्ये ८९ किमी सडक विस्तार गर्ने कार्यक्रम रहेकामा ३६ किमी सम्पन्न गरी ५३ किमी सडक विस्तारको काम अघि बढाइएको आयोजना प्रमुख मनोज श्रेष्ठले राससलाई जानकारी दिए । “त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२.४८ किमी, चाबहिल–जोरपाटी–साँखु १२ किमी, जोरपाटी–सुन्दरीजल सात किमी, लगनखेल–सातदोबाटो ८०० मिटर, इमाडोल–सिद्धिपुर–गोदावरी तीन किमी, कर्मनासा–हरिसिद्धि चार किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ सात किमी, नख्खु–भैँसेपाटी–बुङ्मती साढे तीन किमी सडक विस्तारको प्रक्रिया सुरु भएको छ”– उनले भने । विगत वर्षबाटै काम सुरु भएको त्रिभुवन विश्वविद्यालय मूलद्वार–नयाँबाटो कीर्तिपुर ५०० मिटर र बूढानीलकण्ठ–विष्णुमतीपुल ८०० मिटर सडकको काम केही बाँकी रहेको आयोजनाले जनाएको छ । काठमाडौंउपत्यका विकास प्राधिकरणले विभिन्न समयमा सरकारले तोकेको मापदण्डका आधारमा सडक सीमाको चिह्न लगाएपछि त्यस क्षेत्रको महानगरपालिका वा नगरपालिकाले मापदण्ड विपरीत बनेको संरचना भत्काउँछ । सरकारले तोकेको मापदण्डको जग्गा खाली भएपछि आयोजनाले सडक विस्तार गर्छ । विसं २०३३ मै तोकेको मापदण्डको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको खम्बा गाड्ने र सडक विस्तारका बेला निकाल्न आयोजनाले नै पैसा तिर्नुपर्दा ढिला हुने समस्या रहेको आयोजना प्रमुख श्रेष्ठको गुनासो छ । रासस
पाँच लाख पुरस्कार राशीको फोटो प्रतियोगीतामा फोटो दर्ता सुरु
काठमाडौं, १६ असार । काठमाडौं, असार १६ । ५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशीको ग्लोबल आइएमई फोटो प्रतियोगीताको फोटो दर्ता प्रक्रिया सुरु भएको छ । ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौं संस्करणका रुपमा आयोजना हुन लागेको प्रतियोगीताको आयोजना फोटो पत्रकार क्लब नेपालले गर्दै आएको छ । वर्ष भने भूकम्पका कारण प्रतियोगीता रोकिएको थियो । प्रतियोगीता सहभागीता जनाउन चाहने फोटो पत्रकारहरुले साउन मसान्तसम्म फोटो दर्ता गराउन सक्नेछन् । प्रतियोगिताको मुख्य विधा आइएमई ग्लोबल आइएमई बैंक फोटो अफ दी एयरको विजेताले १ लाख रुपैयाँ पाउनेछ भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक विधामा प्रतियोगीले बढिमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । नेपाल टुरिजम बोर्डको प्रवद्र्धनमा हुने प्रतियोगितामा हालसम्म आइएमएस, नेपाल टेलिकम, शिखर इन्स्योरेन्स, अर्घाखाची सिमेन्ट र आरजे स्पोर्टसले विधागत प्रायोजकका रुपमा सघाउने पक्का भइसकेको छ । प्रतियोगीता सात विधामा सञ्चालन हुनेछ । विजयी फोटो ग्राफरहरुलाई भदौ १५ गते पुरस्कृति गरिनेछ । सोही दिनबाट बबरमहलको नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढि उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राखिनेछ । काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरेपछि मोफसलका पाँच स्थानमा पनि प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा र चितवनको सौराहामा तीन दिनका दरले प्रदर्शनी गरिनेछ । प्रतियोगितामा यसपाली १ हजार ५ सय भन्दा बढि फोटोग्राफरका १३ हजारभन्दा बढि फोटोको सहभागिता रहने आयोजकको अपेक्षा छ । दुई वर्षअघि सम्पन्न अघिल्लो संस्करणमा १ हजारभन्दा बढि फोटोग्राफरका ९ हजार फोटो सहभागि थिए । मुख्य प्रायोजक आइएमई समुहका अध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीलाई प्रायोजन निरन्तरता दिइने वचन दिए । ‘पत्रकारिता र दैनिक जीवनमा फोटोको महत्व विशेष छ । यो वर्ष हाम्रो पुरानो सम्झौताको अन्तिम वर्ष हो । तर पनि हामी यो कार्यक्रमसँगको सहकार्यलाई आगामी वर्षहरुमा निरन्तरता दिनेछौं,’ ढकालले भने, ‘नेपालकै गौरवका रुपमा स्थापित हुँदै गएको यो प्रतियोगिता र प्रदर्शनीमा सफलताका लागि हामी क्यामेरा चलाउने सबैलाई सुभकामना दिन चाहन्छौं ।’ आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले कार्यक्रमको प्रभावकारिताका कारण आफूहरुले सहयोग गरेको बताउँदै नेपाल चिनाउन यो प्रतियोगिता महत्वपूर्ण रहदै आएको विचार राखे ।
हिमालयन बैंकको एटिएम सेवा अब स्वयम्भूमा
काठमाडौं, १६ असार । हिमालयन बैंक लिमिटेडले स्वयम्भूमा भगवान पाउमा आफ्नो एटिएम स्थापना गरेको छ । उक्त एटिएमको स्थापना पश्चात बैंकको देशभर ८३ वटा एटिएम भएका छन् । बैंकका अनुसार उक्त एटिएमबाट भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, जे.सि.बि., युनियन पे तथा एस. सि. टी. ब्राण्डका क्रेडिट र डेविट कार्डधारकहरुले चौबिसै घण्टा नगद प्राप्त गर्न सक्नेछन् । यस एटिएमको स्थापनाले स्थानीय व्यक्तिहरु, यस क्षेत्रका विभिन्न संस्थाहरु, तथा विदेशी पर्यटकहरुले नगद निकाल्ने सुविधा पाउने बैंकले जनाएको छ ।
उपल्लो मुस्ताङमा फेला पर्यो ठुलो युरेनियम खानी(अन्वेषणको फोटो फिचरसहित)
मुस्ताङ, १६ असार । उपल्लो मुस्ताङमा बहुमुल्य धातु युरेनियमको ठुलो खानी रहेको पुष्टि भएको छ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा उपल्लो मुस्ताङ पुगेको प्राबिधिक टोलीले सो क्षेत्रमा उच्च गुणस्तरयुक्त युरोनियमको ठुलो खानी रहेका तथ्यलाई थप पुष्टि गरेको हो । ‘युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन, यसले हामीलाई थप उत्साहित बनाएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।’ खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद धर्मराज खड्काले भने । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा यरेनियमन धातुको अध्ययनका लागि असार १२ गते उद्योग मन्त्री सोम प्रसाद पाण्डेसहितको प्राबिधिक टोली पुगेको थियो । सो टोलीको अध्ययनले लोमान्थाङ क्षेत्रमा यरेनियमन रहेको भन्ने पुरानो आधारलाई थप पुष्टि गर्ने प्रमाणहरु फेला पारेको हो । संसारमै बहुमुल्य मानिने युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ । १० किलोमिटर क्षेत्रमा युरेनियमन खानी तथा भूगर्भ विभागले वि.सं २०७०/७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किलोमिटर लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो । २० वर्षअघि नै मकवानपुर, वैतडी र बझाङ जिल्लामा युरेनियमको खानी भेटिएको थियो । ऐनको अभाव खड्कियो ? यसरी पत्ता लगाइएको युरेनियम उत्खननका लागि भने ऐन आवश्यक पर्छ तर हालसम्म नेपालले त्यस प्रकारको कुनै पनि ऐन बनाएको छैन् । ‘यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ’,खड्काले भने । थप अनुसन्धान र ऐन निर्माणको काम अघि बढ्छः उद्योग मन्त्री पाण्डे लोमान्थाङमै पुगेर यरेनियमन खानीको स्थलगत अवलोकन गरेर फर्किएका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले थप अध्ययन र ऐन निर्माणको अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘लोमान्थाङमा युरेनियम थातुको खानी रहेको तथ्य पुष्टि भएको छ, थप अनुसन्धानसँगै ऐन निर्माणको काम समेत अघि बढ्छ’, मन्त्री पाण्डेले विकासन्युजसँग भने । उनले नेपाल र मित्र राष्ट्रहरुको आपसी सहकार्यमा युरेनियमन उत्खननको काम अघि बढाउने समेत जानकारी दिए ।
सनराइज बैंकको सेफ डिपोजिट लकर सुविधा बिर्तामोड शाखामा
काठमाडौं, १६ आसार । सनराइज बैंक लिमिटेडले आफ्नो सेफ डिपोजिट लकर सुविधा बिर्तामोड शाखामा बिस्तार गरेको छ । बैंकले यस शाखाबाट अत्याधुनिक बैंकिङ्ग सेवाहरुका साथै अब लकर सुविधा पनि प्रदान गर्नेछ । बैंकले मुलुकभर रहेको आफ्ना ५३ वटा शाखाहरु मध्ये २४ वटा शाखाहरुबाट सेफ डिपोजिट लकर सुविधा प्रदान गर्दै आएको छ । हाल बैंकले ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एंव सर्वसुलभ सेवाहरु प्रदान गरि रहेको छ । साथै बैंकका सातवटा शाखारहित बैंकिङ्ख सेवाहरू सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
मुस्ताङमा युरेनियम अन्वेषणमा नयाँ तथ्य, पेट्रोल र नुनखानी भेटियो
मुस्ताङ, १६ असार । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि।सं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको छ । त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । खानी तथा भूगर्भ विभागले वि।सं २०७०/७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो । “युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन्, यसले हामीलाई थप उत्साहित बनाएको छ”, खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले भने, “समग्रतामा यसमा धेरै प्रगति देखिएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।” युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रुपमा प्रयोग गर्न सकिन्छ । नेपालमा युरेनियम अन्वेषण र उत्खनन गर्न कानुन अभाव रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको भूगर्भविद् खड्काले जानकारी दिए। “यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ”, उनले भने । भूगर्भ विभागका अनुसार, मकवानपुर, वैतडी र बझाङ जिल्लामा समेत युरेनियमको खानी भेटिएको छ । २० वर्षअघि छुसाङको तेताङ गाउँमा नुन उत्खनन हुने गरेपनि अहिले भने यो काम पूर्णरुपमा बन्द छ । खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले स्थलगतरुपमा गरिएको अध्ययन र सङ्कलन गरिएको तथ्यबाट मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थ र तेताङमा नुनको खानी रहेको पुष्टि भएको बताए। “नुनका विषयमा हामी सबै जानकार छौँ, त्यसका साथै पेट्रोल र युरेनियमको खानी रहेको औपचारिक रुपमा पुष्टि भयो”, प्रमुख पौडेलले भने । लोमान्थाङमा युरेनियम अन्वेषणका लागि उद्योग मन्त्रालयले थप प्राविधिक टोली छिट्टै खटाउने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए । “कानुन बनाउन पनि मन्त्रालय लाग्नेछ भने त्यसपूर्व यसको सबै प्रक्रिया पूरा गर्न राज्यले कुनै कसर बाँकी राख्नेछैन, आवश्यक परे विदेशी सहयोग पनि लिन्छौँ”, उनले भने। सोमबार मुस्ताङ पुगेको टोली बुधबार राजधानी फर्किएको छ । रासस
शिक्षाले जीवनयापनको शिप र दक्षता दिनु पर्छ-भवानी प्रसाद पौडेल
भवानी प्रसाद पौडेल, क्याम्पस प्रमुख–जया मल्टिपल क्याम्पस, जोरपाटी//// एसएलसीपछि अब के पढ्ने र कहाँ पढ्ने भन्ने दोधारमा रहेका विद्यार्थीहरुलाई के भन्नु हुन्छ ? शिक्षा ऐनको आठौं संसोधनले यसलाई अन्तिम एसएलसी बनाएको छ । कोहि पनि अनुतिर्ण हुँदैनन भन्ने थियो तर केहि सिमा तोकि दिएको छ । अनिवार्य बिषयहरुमा डि प्लस ल्याउनै पर्ने मान्यता राखियो । एक लाख २० हजार जति विद्यार्थीले डि र ई ल्याएका छन् । उनीहरुलाई सिटिईभीटीबाट सञ्चालित कार्यक्रममा मात्रै सहभागी हुन पाउने भनिएको । यति ठुलो संख्यामा रहेका विद्यार्थीलाई तत्काल अध्ययन गराउने अवस्थामा सिटिईभीटी पनि छैन् । भवानी प्रसाद पौडेल, क्याम्पस प्रमुख–जया मल्टिपल क्याम्पस, जोरपाटी त्यसो त उच्च माध्यमिक शिक्षा परिषदमा अध्ययन गर्न पाउने विद्यार्थीहरु पनि केहि अन्यौलमै छन् । कहाँ पढ्ने ? के पढ्ने ? जस्ता प्रश्नहरुले विद्यार्थीलाई सताईरहेको हुन्छ । अविभावक पनि आफ्ना सन्तानको रुची र आफ्नो इच्छाकाबिचमा घेरिएका हुन्छन् । शैक्षिक संस्थाको छनौटमा पनि दुबिधा देखिन्छ । राम्रो अंक ल्याउनेले विज्ञान पढ्नु पर्छ, कम अंक ल्याउनेले मानविकी, शिक्षा वा व्यवस्थापन पढ्नु पर्छ भन्ने गलत मान्यता हावी भएको छ । विद्यार्थीको रुचि र सम्भावना के हो ? भन्ने सवाललाई केन्द्रमा राखेर अध्ययनको विषय छनौट गर्नु पर्छ । त्यसपछि शैक्षिक संस्थाको छनौटको सवाल आउँछ । शैक्षिक संस्था छनौट गर्दा शैक्षिक वातावरण, पुर्वाधार, शुल्क, संस्था सञ्चालकहरुको पृष्ठभूमि, परिक्षा नतिजा लगायत बुझ्नु आवश्यक हुन्छ । कस्तो स्वभावका विद्यार्थीले के पढ्ने ? सानैदेखि विज्ञान प्रबिधीमा रुची राख्ने विद्यार्थीलाई विज्ञान पढाउनु पर्छ । सानैबाट लेखा, व्यापारका गतिबिधीमा रुची राख्ने विद्यार्थीलाई कमर्श पढाउनु पर्छ । सरकारी जागिर, कानुनविद, शिक्षक, प्राध्यापक बन्ने लक्षण देखाउनेहरुलाई मानवीकी वा शिक्षा संकाय अध्ययन गराउनु पर्छ । छोटो समय अध्ययन गरेर आर्थिक उपार्जन गर्न चाहने विद्यार्थीलाई सिटिईभीटीका प्राबिधिक कोर्ष अध्ययन गराउनु पर्छ । त्यसका अलवा अन्तराष्ट्रिय कोर्षका रुपमा ए लेभल पनि भित्रिएको छ । त्यो पनि अध्ययनका लागि एउटा उपयुक्त बिषय बन्न सक्छ । के पढ्ने र कहाँ पढ्ने भन्ने बिषयले अविभावक र विद्यार्थीका बिचमा विवाद उत्पन्न गराउँछ, त्यसको निराकरण कसरी गर्ने ? जो कोही अविभावकलाई आफ्नो सन्तान डाक्टर, पाइटल वा इन्जिनियर बनिदिउन भन्ने लाग्नु स्वभाविक हो । तर सबै विद्यार्थी डाक्टर, पाइलट वा इञ्जिनियर बन्न सक्दैनन् । विद्यार्थीको क्षमता र भावनालाई बुझेर अध्ययनको बिषय छनौट गर्नु पर्छ । सामान्यतया विद्यार्थीहरु भावनामा बग्छन् । लहैलहैमा हिड्छन् । साथी कहाँ गयो र के पढ्दैछ भनेर आफु पनि त्यहि पढ्ने भन्छन् । अविभावकहरुले राम्रो वातावरण भएको शैक्षिक संस्था खोज्नु पर्छ । संस्था सञ्चालक, पुर्वाधार, परिक्षाको नतिजा, शैक्षिक वातावरण र आफ्ना सन्तानको अध्ययनको बिषयका बारेमा गहन विचार गर्नु पर्छ । कलेजहरु खुल्ला ठाउँमा हुनु पर्छ भन्ने कुरा अघिल्लो बर्षको भूकम्पले पनि पाठ सिकाएको छ । ठुला र गगनचुम्बी भवनले मात्रै हुँदैन भन्ने कुरा पनि महत्वपुर्ण सवाल भएको छ । सन्तानहरुको इच्छालाई मध्यनजगर गर्दै अध्ययनका बिषय र शैक्षिक संस्था छनौट गरिदिनु पर्छ । कुनै पनि बिषयमा आफैंमा राम्रो र नराम्रो भन्ने हुँदैन । सबै बिषय आ आफ्ना ठाउँमा राम्रा हुन्छन । बिषयलाई राम्रो वा नराम्रो बनाउने भन्ने विद्यार्थीमा भर पर्छ । एउटा अविभावकले आफ्नो सन्तानका लागि जया मल्टिपल क्याम्पस किन रोज्ने ? जया मल्टिपल क्याम्पस शैक्षिक क्षेत्रको एउटा सफल धरोहरका रुपमा स्थापित भैसकेको छ । ३८ वर्षदेखि शैक्षिक जगतमै समर्पित जनशक्तिले सञ्चालन गरेको क्याम्पस हो यो । यहाँ अध्ययनका लागि उपयुक्त वातावरण छ । एकातिर गोकर्ण वन छ भने अर्काे तर्फ बागमति बगिरहेको छ । शान्त वातावरणसहित कम्प्युटर ल्याब, पुस्तकालय, होटल म्यानेजमेन्टको किचेन, ठुलो खेल मैदानसहितको शैक्षिक संस्था सञ्चालनकै लागि निर्माण गरिएको पुर्वाधार छ । हाम्रो क्याम्पसको परिक्षाको नतिजा पनि राम्रो छ । अनुसाशित वातावरणमा शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्छाै । अतिरिक्त क्रियाकलापका लागि पनि हामी कटिवद्ध छौं । एउटा विद्यार्थीको सर्वागिण विकासका लागि समर्पित छौं । त्यसकारण जया मल्टिपल क्याम्पस प्लस टु वा सो भन्दा उच्च शिक्षा अध्ययनका लागि एउटा उपयुक्त शैक्षिक गन्तव्य बन्न सक्छ भन्ने हाम्रो मान्यता हो । नेपालको शैक्षिक प्रणाली माटो सुहाउने भएन र अन्तराष्ट्रिय स्तरको भएन भन्ने दुई खाले विचार छन, शैक्षिक प्रणाली कस्तो छ ? मेरो व्यक्तिगत विचार भन्ने हो भने अहिलेको परिवेशमा कम्तिमा पनि एउटा शिक्षित व्यक्तिले स्वतन्त्र रुपमा जिवन यापन गर्न सक्ने शिप वा दक्षता प्राप्त गर्नु पर्छ । शिक्षाको नीति निर्माताहरुले पनि यो कुरालाई बिशेष ध्यान दिनु पर्छ । छिमेकी मुलुकका शिक्षा नीतिहरुको पनि अध्ययन गर्नु पर्छ । मलाई पनि अहिले हामीले लिईरहेको र दिईरहेको शिक्षा अपेक्षाकृत रुपमा व्यवाहारिक छैन् भन्ने लाग्छ । यसलाई समय सापेक्ष परिमार्जन गरिनु पर्छ । आफुले पाएको शिक्षाले आफ्नो जीवनलाई स्वतन्त्र ढंगले अघि बढाउन सक्ने शिप र दक्षता हासिल हुनुपछए तर अहिले त्यस्तो भैरहेको छैन् । अन्त्यमा, उच्च शिक्षाको अध्ययनको तयारीमा रहेका सबै विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको यो प्रहरमा स्वागत छ । करिअरको सुरुवात भएको छ, अब कलेज छान्दा वा बिषयको छनौट गर्दा धेरै सोच विचार पुर्याउनुस् । शिक्षक, अविभावक, शुभचिन्तक र सुभेच्छुकसँग आवश्यक सल्लाह गर्नुस् । जया मल्टिपल क्याम्पस पनि तपाईहरुका लागि एउटा उपयुक्त शैक्षिक गन्तव्य बन्न सक्छ ।
डडेल्धुरामा २६ वटा सडक निर्माण हुँदै
डडेल्धुरा, १६ असार । डडेल्धुरा जिल्लामा यो आर्थिक वर्षमा २६ वटा ग्रामीण र आर्थिक केन्द्र जोड्ने सडक निर्माण भइरहेका छन् । जिल्लामा निर्माण भइरहेका सडकमध्ये स्थानीय यातायात क्रमागत योजनाअन्तर्गतका १२ सडक र आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने १४ वटा सडक केन्द्रीय बजेट वा सडक विभागको योजनाअन्तर्गतका सडक यो आर्थिक वर्षमा निर्माण भइरहेका जिल्ला विकास समिति डडेल्धुराले जनाएको छ । करोडौँको लगानीमा निर्माणाधीन अवस्थामा रहेका सडकले जिल्लाको सम्पूर्ण गाविस सदरमुकामसम्म सुविधा पुग्ने जिल्ला विकास समिति डडेल्धुराले जनाएको छ । केही गाउँबाहेक अधिकांश गाविसका र नगरपालिकाका गाउँमा समेत सडकले छुने कार्यालयका प्राविधिक दीपक ओझाले बताए । स्थानीय स्तरमानै सडक पुगेपछि ग्रामीण क्षेत्रका सर्वसाधारण जिल्ला सदरमुकामसँग जोडिएको र विभिन्न कुरामा पहुँच बढेको भन्दै हर्षित बनेका छन् । ग्रामीण भेगको उत्पादन दाल, तरकारी, साग र अन्य दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न पनि सहज हुने जिल्ला सदरमुकामभन्दा टाढा रहेको रुपाल गाविसका स्थानीयवासी करन ठकुराठीले बताए । आफूहरु पनि सजिलैसँग गाडीको यात्रा गरेर सहज तरिकाले जिल्ला पुग्ने बेलापुर वान्नीका समाजसेवी धनबहादुर साउदले बताए। जिल्लामा निर्माण गरिएका कतिपय सडक वातावरण प्रभाव मूल्याङ्कननै नगरी निर्माण भइरहेको समेत स्थानीय बताउँछन् । राजनीतिक दलको दबाबका कारण डडेल्धुरा जिल्लाका अधिकांश ग्रामीण सडक वातावरण प्रभाव मूल्याङ्कन नगरिकनै निर्माण भइरहेका छन् भने केही सडक वनजङ्गल भएर नै निर्माण गरिँदा वनविनास समेत भइरहेका छन् । यति मात्रै नभई जिल्लाका ग्रामीण क्षेत्रमा योजनाबिना ग्रामीण सडक निर्माण हुने गरेका छन् । योजनाबिना सडक निर्माण गर्दा सडक दिगो नहुने र दुर्घटना बढ्ने खतरा हुने प्राविधिकको भनाइ रहेको छ भने बिना योजनाका सडकले वन जङ्गल पनि सखाप पारिरहेको स्थानीयले बताएका छन् । एउटै सडकलाई पूर्णरुपमा निर्माण नगरिकनै अरु सडक निर्माण गरेका कारण पनि ग्रामीण क्षेत्रका अधिकांश सडक प्रयोगविहीन अवस्थामा रहेका छन् । डडेल्धुराको समैजी गाविसको सबैभन्दा पुरानो बैडा, मुद्राड, कोलासमैजी हरियाली सडक अन्य नयाँ सडकका कारण बजेट नै आउन छोडेको स्थानीय गजबहादुर भण्डारीको भनाइ रहेको छ । रासस