विकासन्युज

तराईका ८० प्रतिशत धानबाली डुबानमा, पूर्वमा मात्रै २९ करोडको क्षति

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले गर्दा तराईमधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयले आइतबार जनाएको छ । कृषि विकासमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बाढीका कारण तराई/मधेसमा धान, तरकारी, फलफूलबाली र माछातर्फ ठूलो क्षति भएको निष्कर्ष निकालेको छ । बैठकमा मन्त्री यादवले अन्नभण्डार मानिने तराई(मधेसमा पछिल्लो समय भएको धान रोपाइँ पनि डुबानमा परेको बताए । खानाका लागि घरमा जोहो गरी राखिएको चामल, दाल र तरकारी पनि बाढीले बगाउँदा तराई(मधेसका सर्वसाधारण खाद्य असुरक्षामा परेका छन् । ‘बाढीका कारण तराई(मधेसको धान रोपाइँ सम्पन्न नहुँदै २० जिल्लाको ८० प्रतिशत क्षेत्रफल डुबानमा परेको छ । रोपाइँ भएको बाँकी २० प्रतिशत क्षेत्रफल पनि थप डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ’, उनले भने ।बाढी आउनुअघि तराई/मधेसको झापामा ८२, मोरङमा ६५, सुनसरीमा ७८, सप्तरीमा ७५, सिराहा, धनुषा र सर्लाहीमा ५०/५०, महोत्तरीमा ४५, बारा र पर्सामा ९९/९९, रौतहट र चितवनमा ९०/९०, कपिलवस्तु र बाँकेमा ८५/८५, बर्दियामा ९१ र दाङमा ७५ प्रतिशतहाराहारी रोपाइँ भएको थियो । प्रारम्भिक तथ्यांकअनुसार पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । पूर्वका उक्त जिल्लामा मात्र १४ करोडको तरकारी नष्ट भएको छ भने घरमा सञ्चित गरी राखिएको १२ करोड मूल्यबराबरको खाद्यान्न नष्ट भएको छ । धानबाली डुबानका कारण यो वर्ष खाद्य सुरक्षामा गम्भीर असर पुर्‍याउन सक्ने चिन्ता व्यक्त गर्दै मन्त्री यादवले बाढीका कारण किसानले पनि दीर्घकालीन रूपमा घाटा व्यहोर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा। सुरोज पोखरेलका अनुसार बाढीका कारण धानबाली, तरकारीबाली र माछासम्बन्धी फैलिन सक्ने विभिन्न प्रकारका रोगको प्रकोपलाई नियन्त्रण गर्न प्राविधिक टोली परिचालन गरिएको छ । कहाँ कति क्षति ? मन्त्रालयका अनुसार पर्सामा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । २० हजार हेक्टरको तरकारी नष्ट भएको छ । बारामा ५५ हजार हेक्टरको धानबाली डुबानमा पर्नुका साथै १० हजार हेक्टरको तरकारी नष्ट भएको छ । त्यस्तै, धनुषामा २१ हजार हेक्टरको धानबाली डुबेको छ । सोही जिल्लामा एक हजार चार सय हेक्टरको तरकारी, एक सय ५० हेक्टरको मकैबाली, एक हजार सात सय हेक्टरको रहर दाल र दुई सय हेक्टरको मासको दाल नष्ट भएको छ । सर्लाहीमा दुई हजार सात सय हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच सय हेक्टरको तरकारी, सात सय हेक्टरको मकै, तीन सय हेक्टरको बेसार, एक सय एक हेक्टरको तरुल नष्ट भएको छ । रौतहटमा २८ हजार पाँच सय हेक्टरको धानबाली डुबेको छ । यहाँ एक सय ६० हेक्टरको तरकारी नष्ट भएको छ । महोत्तरीमा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच हजार हेक्टरको तरकारीबाली नष्ट भएको छ । रूपन्देही र नवलपरासीमा एक हजार पाँच सय हेक्टरको धानबाली डुबानमा परेको छ । चितवनमा पनि तीन हेक्टरमा लगाइएको केरा डुबानमा परेको छ । रसुवामा तीन सय ५० हेक्टरको धानबाली डुबानमा परेको छ । रामेछाप, ललितपुर, म्याग्दी, बझाङ, बैतडीलगायत क्षेत्रमा पनि धानबाली डुबानमा पर्नुका साथै मकै र तरकारीबाली नष्ट भएका छन् । १३ अर्बको माछा नष्ट पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा तीन करोड मूल्यबराबरको माछा नष्ट भएको छ । मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार पर्सामा एक करोड मूल्यबराबरको १० हेक्टरको माछा, बारामा ५० करोडको पाँच सय हेक्टर, धनुषामा ८० करोडको ८ सय हेक्टर, सर्लाहीमा ८० करोडको ८ सय हेक्टर, चितवनमा ६ करोडको ६० हेक्टर, महोत्तरीमा ११ अर्बको एक हजार एक सय हेक्टर र रौतहटको १५ करोडको १५० हेक्टरमा उत्पादन भएको माछा बगेर नष्ट भएको छ। पशुसेवा विभागका महानिर्देशक डा। विमल निर्मलका अनुसार तराई/मधेसमा बाढीका कारण दुई करोड मूल्यबराबरको पशुपन्छीतर्फ क्षति भएको छ । अन्नपूर्ण पोस्टबाट ।

बेरोजगार भएपछि पाइलटले खोले पेट्रोलपम्प, पाइलट पढ्न गरेको आधा अर्ब खेर

नेपालगन्ज । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । नेपालगन्ज-१३ का अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपयाँ खर्च गरे । अस्ट्रेलियामा पाइलट पढ्दै गर्दाका अभय । फोटो अन्नपूर्ण पोस्टबाट सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्ययन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन भने पाएनन् । प्रारम्भिक शिक्षा नेपालगन्जमा पढेका अभयले सेन्ट जोसेफ कलेज नैनितालबाट कक्षा १० र टेगोर इन्टरनेसनल स्कुल न्यू दिल्लीबाट १२ कक्षा पास गरे । न्यू दिल्लीमै केही समय काम गरेर पाइलट अध्ययनका लागि अस्ट्रेलिया गए । उनले पाइलट कोर्स सकेर नेपाल आउँदा निजीक्षेत्रका यती र बुद्ध मात्रै सञ्चालनमा थिए । अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कंदा नेपाली ध्वजावाहक नेपाल एयरलायन्स बन्द प्राय थियो । नेपाल एयरलायन्सका जहाज बिग्रेर थन्किएका थिए । बुद्ध र यतीमा जागिर खाने प्रयास गरे पनि अभयले सकेनन् । ‘जागिरको खोजीमा लागें, तर पाइनँ’, अभय भन्छन्, ‘नेपाल एयरलायन्स बन्द थियो । बुद्ध र यतीमा जागिर पाइएन ।’ मागभन्दा धेरै पाइलट उत्पादन भएकाले जागिर नपाएको टण्डनको भनाइ छ । अहिलेजस्तो धेरै कम्पनी सञ्चालन भएको भए जागिरको समस्या नहुने उनको दाबी छ । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि अभयलाई फ्रस्ट्रेसन भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । ‘मागभन्दा आपूर्ति धेरै भयो’, उनले भने, ‘अहिलेजस्तो धेरै एयरलायन्स कम्पनी भएको भए जागिरको समस्या हुँदैनथ्यो होला ।’ पढाइको सिलसिलामा उनले २५२.४ घन्टा जहाज उडाउन अभ्यास गरेका थिए । तर, नेपाल आएपछि उनले जहाज उडाउने अवसर पाएनन् । पाइलटको लाइसेन्स अवधि ६ महिना मात्रै हुने गरेको छ । जागिर खोज्दाखोज्दै उनको ६ महिना अवधि सकिहाल्यो । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि उनलाई ‘फ्रस्ट्रेसन’ समेत भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । व्यवसायी घरानाको व्यक्ति भएकाले उनलाई व्यवसाय सम्हाल्न गाह्रो भएन । ६ वर्षदेखि उनले नेपालगन्जको बीपी चोकनजिक भेरी प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पप्प सञ्चालन गरेका छन् । अहिले उनी विमान उडाउनेभन्दा पेट्रोलियम पदार्थको हिसाबकिताबमा पोख्त भएका छन् । सन २००९ देखि पेट्रोलियम व्यवसायमा रहेका अभय भन्छन्, ‘अहिले सन्तुष्ट छु, तैपनि पढेको गर्न नपाउँदा खिन्न हुन्छ, यसैभित्र सन्तुष्टि खोज्नुपर्छ ।’ नेपालजस्तो विकासोन्मुख मुलुकमा ‘ब्रेन ड्रेन’को समस्या बढी नै हुने गरेको उनको भनाइ छ । ‘पाइलट पढ्ने मात्र होइन, धेरै इन्जिनियर पनि यहाँ बेरोजगार छन्’, अभय भन्छन् । सीप भएका व्यक्तिलाई राज्यले जागिर दिन नसक्नु मुलुकका लागि दुर्भाग्य भएको उनी बताउँछन् । ‘हाम्रो जस्तो देशमा यस्तो समस्या धेरै छ, एकातिर दक्ष जनशक्ति छैनन्, भएकाले पनि काम पाएका छैनन्’, अभय भन्छन् । अभयका बुबा अजयकुमार नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव हुन् । ‘हाम्रो परिवार व्यावसायिक हो । अभयले पाइलट पढ्छु भन्यो, उसको इच्छाअनुसार पाइलट पनि पढायौं तर जागिर पाउन सकेन । त्यसपछि व्यवसायमा लगायौं अजयले भने । प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पम्प सञ्चालन गरेका छन् । अन्नपूर्ण पोस्टबाट ।

५० भन्दा बढी पुल जोखिममा, कहाँ कहाँ छ अवरोध ?

काठमाडौं । नियमित मर्मत नहुँदा जोखिममा रहेका रणनीतिक महत्वका ५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण झनै जोखिममा परेका छन् । महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा छन् । कोशी पुल उद्घाटनको फाइल फोटो सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार पूर्वको रातु खोलाको पुल र इटहरीको लबी खोलाको पुल भाँचिएर यातायात अवरुद्ध भएको छ । नुवाकोट बट्टारको पुल, बुटवल नारायणगढको नारायणी पुल, बुटवलको तिनाउँ खोलाको पुल उच्च जोखिममा छन् । यातायात नै अवरुद्ध भएकादेखि बाढीपहिरोले थप जोखिममा पारेकासहित यस्ता पुललाई प्रतिस्थापन गरी नयाँ नै बनाउनुपर्ने थापाले जानकारी दिए । विकल्प खोज्नुपर्ने महाशाखाका अनुसार अहिलेसम्म नयाँ बनाउनुपर्ने गरी जोखिममा परेका पुलमा बुटवल नारायगढको नारायणी पुल, बुटवलको तिनाउँ पुल, हेटौंडा नारायगढ सडकको लोथर पुल, पूर्वमा रातु खोला पुल छन् । पुल भाँचिएका र तत्काल विकल्प खोज्नुपर्ने यस्ता पुलका कारण यातायात अवरुद्ध छन् । कहाँ कहाँ छ अवरोध ? – रातु खोलाभन्दा चार किमि पश्चिममा पर्ने जंघा खोलाको पुलमा बाढीले ल्याएको रूख तथा अन्य अवरोध -पथलैयाबाट १४ किमिको धन्सार खोला पुलमा अवरोध -पथलैयाबाट पाँच किमिको दूरीमा रहेको दुधौरा खोलामा पनि अवरोध -झापाको कन्काई पुल, हेटौंडाको राप्ती खोला पुलमा समस्या देखिँदा राजमार्ग अवरुद्ध -दाउन्नेबाट बुटवल खण्डको ४४ किमिमा कल्भर्ट बाढीले थुनिएको छ -दाङको तुल्सीपुरबाट लहमीतर्फको बाटोमा पनि कल्भर्टमा क्षति -पूर्व९पश्चिम राजमार्गको अगैया खोला पुल पनि अवरुद्ध -रौतहटमा पनि एक कल्भर्ट बाढीले बगायो -गौर जाने बाटोमा पानीको निकास दिन स्थानीयले सडक काटेका कारण यातायात अवरुद्ध अन्नपूर्ण पोस्टबाट ।

लहानदेखि झापासम्म विद्युत् अवरुद्ध, भारी वर्षाले जनजीवन अस्तव्यस्त

काठमाडौं ।  केही दिनदेखिको अविरल वर्षाका कारण मध्य तथा पूर्वी तराईमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख विष्णुप्रसाद श्रेष्ठले तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहाको लहानदेखि पूर्व झापासम्म विद्युत् प्रसारण अवरुद्ध भएको जानकारी दिए। उनले अविरल वर्षाका कारण प्रसारण लाइन, सबस्टेसन तथा वितरण प्रणालीलगायतका संरचनामा ठूलो क्षति भएकाले विद्युत् वितरणमा समस्या आएको हुँदा पूर्वाञ्चलका सम्पूर्ण जिल्लामा विद्युत् आपूर्ति हुन नसकेको जानकारी दिए। पानीको सतह कम नभएसम्म डुबेका सबस्टेसन तथा वितरण प्रणालीको परीक्षण सम्भव हुन नसक्ने बताउँदै उनले सम्पूर्ण परीक्षणपछि मात्र विद्युत् वितरण पुनः सुचारु हुन सक्ने स्पष्ट पारे। उनका अनुसार दमक–गोधाक खण्डको १३२ केभी लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं। १७ ढलेको, काबेली कोरिडोर अन्तर्गतको ट्रान्समिसन लाइन ढलेको, हेटौँडा सिमेन्ट कारखानानजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले सो फिडर बन्द गरिएको, दुहबी सबस्टेसन, दमक सबस्टेसन र अनारमनी सबस्टेसन जलमग्न भएकाले ती स्टेसनहरू बन्द भएका छन् । त्यसैगरी चन्द्रपुर–पथलैया, ढल्केबर–चन्द्रपुर, बालाजु–त्रिशूली शुक्रबारदेखि नै सञ्चालनमा आउन नसकेको बताउँदै उहाँले नयाँ संरचनामा रक्सौल–परवानीपुर खण्डको भलुहीमाटावरनमा बाढीले क्षति पुगेको जानकारी उनले दिए। गोरखापत्र दैनिकबाट ।

राष्ट्रिय विपद संकटकाल घोषणा गरिने ः मन्त्री विश्वकर्मा

भक्तपुर, २९ साउन । वाणिज्य मन्त्री मीन विश्वकर्माले लगातारको वर्षाका कारण आएको बाढी पहिरोको व्यवस्थापनका लागि सरकारले राष्ट्रिय विपद संकटकाल घोषणा गर्ने बताउनुभएको छ । रफत् सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकारले सोचेजसरी बाढीपहिरोलगायतको विपद् व्यवस्थापन गर्न नसकेकाले आज बस्ने मन्त्रिपरिषद् बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताउनुभएको हो । यतिबेला विपद् व्यवस्थापन गर्न सरकारलाई ठूलै चुनौती आइपरेको बताउँदै उहाँले कोशी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कूटनीतिक पहल सफल भएको बताउनुभयो । ब्यारेजका सबै ढोका खुल्दा भारतको विहार डुबानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले विपद्का बेला सोचेर मात्र काम गर्नुपर्नेमा सरकार सजग रहेको उहाँको भनाइ थियो । अहिलेको विपद्ले तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने भए पनि सरकार चुनौतीको सामना गर्दै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । मन्त्री विश्वकर्माले भन्नुभयो, “माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संवैधानिक संकटको अवस्था आउँछ, त्यसैले सरकारले हचुवाको भरमा संसद् र प्रदेशको निर्वाचन मिति घोषणा गर्दैन, निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने छ ।” दुवै निर्वाचन एकैपटक गर्न सरकारले निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयोगले कुनै निर्णय नगर्दा अन्यौलता बढेकामा चिन्ता व्यक्त गर्नुभयो । संविधान संशोधनमा दुई तिहाइ बहुमत पु¥याउन नेपाली काँग्रेसले विपक्षी दलहरुसँग छलफल तीव्र्र पारेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार ल्याउने र व्यापार घाटाका बारे छलफल हुने बताउँदै उहाँले चीनका उपप्रधानमन्त्रीको टोलीले गर्ने नेपाल भ्रमण नेपाल र नेपालीको हिता अनुकूल हुने उहाँले दाबी गर्नुभयो । रासस

काँग्रेस सांसदको एक महिनाको तलब बाढीपीडितलाई

काठमाडौँ, २९ साउन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो पार्टीका २०७ सांसदको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले देशभित्र र देशबाहिर रहेका पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई बाढीपीडितको राहतका लागि पार्टीले स्थापना गर्ने राहत कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सांसदहरुले सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने र अन्य व्यक्तिले पार्टीले स्थापना गरेको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो । बैठकले राहत तथा उद्धारमा जुट्न सरकारलाई आग्रह गर्नुका साथै पार्टी कार्यकर्तालाई पनि बाढी तथा पहिरो पीडितको उद्धारमा खटिन निर्देशन दिएको छ । रासस

सत्ताइस घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खसेर २७ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज साँझ ५ बजेबाट सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिन क्षेत्र, कालिखोला, चोर खोला, भालुखोला, सेतीदोभान र भोर्लेलगायत क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । शनिबार अपराह्न २ बजेबाट जारी वर्षासँगै ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । यस्तै पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डमा झरेको पहिरो पन्छाएपछि एकातर्फी सडक सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार दुईतर्फी सञ्चालन गर्न भने साँझसम्म सकिएको छैन । मध्याह्न १२ बजेदेखि एकतर्फी रुपमा यातायात सञ्चालन भए पनि अघिल्लो दिनदेखि रोकिएका सवारीसाधन चार वटासम्म लाइन बनेर बसेकाले आवातजावत गराउन निकै कठिन भएको छ । उहाँका अनुसार पहिरोका कारण बाटो नरोकिएको भए पनि सवारी जामका कारण सो सडकमा समस्या उत्पन्न भएको हो ।

सडक विस्तारमा भत्किने घरको क्षतिपूर्ति बढ्दै, प्रति स्क्वायर फिटको ३ हजार पाइने

काठमाडौं । सडक विस्तारका क्रममा भत्काइने घर तथा भौतिक संरचनाहरुको क्षतिपुर्ति रकम बढ्ने भएकोछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यका भित्र सडक विस्तारका क्रममा भत्काइने घर तथा अन्य भौतिक संरचनाहरु वापत नागरिकलाई दिइदै आएको क्षतिपुर्ति रकम बढाउने प्रक्रिया अघि सारेको हो । प्राधिकरणले आइतबार क्षतिपुर्तिको नयाँ दर सम्बन्धी  प्रस्ताव शहरी विकास मन्त्रालययमा दर्ता गराएको हो ।‘हामीले नयाँ दर रेट निर्धारण सम्बन्धी पत्र मन्त्रालयमा दर्ता गराएका छौं, साउन भित्रै नयाँ दर रेट तय हुन्छ’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले भने । उनले प्रति स्क्वायर फिटको ३ हजार रुपैंयाँ दिने व्यवस्था प्रस्ताव गरेको बताए । हाल प्रति स्क्वायर फिटको २६ सय रुपैंयाँ क्षतिपुर्ति दिने व्यवस्था रहेको छ । ‘अहिले प्रतिवर्ग फुट २६ सय रुपैंयाँ दिने व्यवस्था छ, कन्ट्याक्टर लगाउँदा र रास कट्टी गर्दा १८ सय जति पनि हातमा पर्दैन, त्यसले भत्किएको घर बनाउनै नपुग्ने अवस्था देखेपछि नयाँ दर तोक्न प्रक्रिया सुरु गरेका हौंं’, तिवारीले भने । केहि समय अघि मात्रै काठमाडौं उपत्यकाका तीनै जिल्लाका जन निर्वाचित प्रतिनिधीहरुले सडक विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गरेको थिए । तर क्षतिपुर्ति रकम बढाउनुपर्ने उनीहरुको सर्त थियो । ‘जनप्रतिनीधिले सडक विस्तारमा सघाउँछु भनेका छन र क्षतिपुर्ति दर बढाउनुपर्ने माग छ ।’, तिवारीले भने । हालसम्म उपत्यकाका तीन जिल्लामा ३५० किलोमिटर सडक विस्तार सम्पन्न भएको छ । सोमध्ये २६३ किलोमिटर काठमाडौंमा, ५७ किलोमिटर ललितपुरमा र ३० किलोमिटर भक्तपुरमा सम्पन्न भएको हो । काठमाडौंमा १०० किलोमिटर, ललितपुरमा २० किलोमिटर र भक्तपुरमा १० किलोमिटर सडकमा विस्तारका लागि चिनो लगाएर राखिएको पनि उनले बताए । प्राधिकरणले काठमाडौंमा ४०० किलोमिटर, ललितपुरमा १३७ किलोमिटर र भक्तपुरमा १३० किलोमिटर गरि कुल ६३० किलोमिटर सडक विस्तारको योजनामा अनुसार काम गरिरहेको छ । हालसम्म सडक विस्तारकै क्रममा क्षतिपुर्तिका लागि मात्रै २ अर्ब ९४ करोड खर्च भएको तिवारीले जानकारी दिए । सो रकममध्ये ७५ प्रतिशत रकम घरको क्षतिपुर्तिमा लागेको पनि उनले बताए ।