नेपालको गर्भमा रहेका पेट्रोलियम झिक्ने बाटो खुल्यो, चीनको अन्वेषण र ग्लोबल टेण्डर एकै पटक
काठमाडौं । नेपालको गर्भमा रहेका पेट्रोलियम पदार्थ झिक्ने बाटो खुल्ला भएको छ । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको हो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन यहि साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएको थियो । “पेट्रोलियम नियमावलीको पाँचौं संसोधन नेपाल पत्रमा प्रकाशित भएपछि उत्खननको बाटो खुलेको छ, यहि बीचमा चीनसँग अन्वेषणका लागि सम्झौता पनि भएको छ, हामी उत्साहित भएका छौं”, खानी विभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले विकासन्युजसँग भने । मुलुकका १० वटा पेट्रोलियम खानीहरु अन्वेषण तथा उत्खननका लागि तयार पारिएको पनि उनले जानकारी दिए । तीमध्ये केही खानीमा चीनले थप अन्वेषण गर्नेछ भने केहिमा ग्लोबल टेण्डर आव्हान गरिनेछ । सन २०१६ को अप्रिल ३० मा नेपाल आएको ६ सदस्यीय चाइना जिओलोजिकल सर्भेको टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो । सो टोलीले ती खानीको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । उनीहरुले यी तीन क्षेत्रमा रहेका स्रोत चट्टान र पेट्रोलियम अन्वेषण आयोजनासँग भएका तथ्यांकको गहिरो अध्ययन गरेका थिए । हाल चीनले नेपालका पेट्रोलियम खानीको अन्वेषण गर्न भन्दै सम्झौतामा हस्ताक्षर समेत गरेको छ । चीनका उप–प्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा साउन ३१ गते दुई देशबिच पेट्रोलियम अन्वेषण गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । “पुर्व सम्भाव्यता अध्ययनका क्रममा नेपालमा पेट्रोलियम पदार्थ रहेको छ भन्ने देखेपछि उनीहरुले थप अन्वेषणका लागि सम्झौता गरेका हुन, यसले नेपालमा पेट्रोलियम पदार्थको उत्खननका लागि सहयोग गर्छ” प्रमुख रजौरेले भने । के पाउँछ नेपालले ? पेट्रोलियम खानीहरुको उत्खनन गर्दा नेपालले कुल आम्दानीको १२.५ प्रतिशत रोयल्टी पाउनेछ । त्यसबाहेक अधिकतम आम्दानीको हिस्सा दिने कम्पनीलाई उत्खननको जिम्मा दिइनेछ । ‘नियमावलीमा १२.५ प्रतिशत रोयल्टीको व्यवस्था छ, सबै भन्दा धेरै प्रतिफल दिने आवेदक कम्पनीलाई ठेक्का दिन्छौं’, रजौरेले भने । उनका अनुसार पेट्रोलियम खानीहरुको उत्खननमा नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन । यी हुन पेट्रोल ब्लक नेपालका बिभिन्न १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, वीरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ । गत बर्ष चीनको स्वामित्वमा रहेको चाईना जिओलोजिकल सर्भको प्राबिधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो ।
बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा शोभनदेव पन्त नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पन्तलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । पन्तले भदौ ४ गते (आइतबार) देखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म बैंक अफ काठमाण्डूको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।
टेलिकमले ल्यायो चाडपर्वमा विशेष अफर, युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज
काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा जीएसएम प्रिपेड र पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अफर उपलब्ध गराउने भएको छ । टेलिकमका अनुसार युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुनेछ । प्याक १५० अन्तर्गत १५० रुपैयाँमा ६०० एमबी र प्याक २५० अन्तर्गत २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ । युट्युब डाटा प्याकेज लिनका लागि वाइटि १ जिबि वा वाइटी ५०० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि प्याक १५० वा प्याक २५० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने टेलिकमले जानकारी दिएको छ । यी सबै अफर आगामी भदौ ५ देखि भदौ १९ सम्म खरिद गर्न सकिने छ । त्यसैगरी यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने टेलिकमले जानकारी दिएको छ।
नेपाल बैंकलाई साढे १५ करोड नोक्सान पुर्याउने ११ जना पक्राउ
काठमाडौं । गैरकानून रुपमा सुन कर्जा लिने र दिने काम गरी करोडौं रुपैयाँ नोक्सान पुर्याउने ११ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । नेपाल बैंक धरान शाखाबाट गैरकानुनी तवरले सुन कर्जा लिने दिने कार्यगरी बैकलाई १५ करोड ५१ लाख ४३ हजार नोक्सान पुर्याउने ११ जनालाई शुक्रबार २ गते ब्यूरोको टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय, धरान मार्फत उच्च अदालत विराटनगरबाट ७ दिनको म्याद थपभई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।
भदौ १३ देखि नाडा अटो सो हुदै, अटोलोन सीमा बढेपछि व्यवसायीमा उत्साह
काठमाडौं । सवारी साधनको खरिदबिक्री सम्बन्धी मेला नाडा अटो शो आउदो सातादेखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल अटोमोवाइल डिलर्स एसोसियसन (नाडा) ले आयोजना गर्ने मेला भदौ १३ गतेदेखि १८ गतेसम्म ६ दिनसम्म सञ्चालन हुनेछ । विभिन्न ब्राण्डका सवारी साधनको एकै छानामुनी बिक्रीबितरण गर्न मेला आयोजना गर्न लागिएको नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । सर्भोद्वारा प्रायोजित मेलामा चर्चित ब्राण्डका सवारी साधन तथा स्पेयर पार्र्टस, लुब्रिकेन्ट्स, टायर , ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिज रहनेछ । एशोसिएशनले ब्राण्ड एम्बेसडरका रुपमा चर्चत कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नियुक्त गरेको छ । मेलामा ९० वटा संस्थाहको सहभागितामा करिब १३० वटा ठुला तथा साना स्टलहरु रहनेछन् सो अवसरमा जानकारी दिइयो । मेलामा १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्शियल सवारीसाधन आर्कषण रहने छन् । नाडाका अध्यक्ष अन्जन श्रेष्ठले विगतका भन्दा यसपाली अझ बढी भव्य र व्यवस्थित हुने दाबी गरेका छन । उनले भने, “विगतका वर्ष हामीले मेला आयोजनामा केहि त्रुटी महसु गरेका थियौं यो पटक. त्यसलाई हामी सकभर सुधार्ने छौं । मेलामा लगभग पचास हजार आगन्तुकले अवलोकन गर्ने आयोजकको अनुमान छ । नाडाले अटो शोबाट उठेको रकम मध्ये पाँच लाख रुपैयाँ बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको छ ।
युवाहरु विदेश पलायन हुन थालेपछि चिया उत्पादनमा समस्या
पाँचथर । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि पाँचथरका चिया कृषक भने समस्यामा परेका छन् । राज्यले सहयोग नगर्दा आफूहरुले वर्षौंदेखि समस्या झेल्नु परेको उनीहरुको गुनासो छ । चियाको उत्पादन र गुणस्तरलाई कायम गर्न सके यसको ब्यापार फष्टाउने देखिएको नाम्फुयक चिया सहकारीका सचिव सुवास तुम्वापोले बताए । उनले भने, “श्रमिकको समस्याका कारण चियाखेती भनेजस्तो ढंगले विस्तार र सुधार हुन सकेको छैन ।” लालीखर्कस्थित चिया तथा कफी विकास बोर्डका चिया विस्तार आयोजना प्रमुख प्रेमकुमार थिङका अनुसार चियामा राज्यले विभिन्न आकर्षणसहितका अनुदान, तालीम गोष्ठी गरेपनि स्वयं किसानको आकर्षण घट्नु, वैदेशिक रोजगारीका क्रममा युवा विदेश पलायन हुनुजस्ता कारण पनि चिया क्षेत्रमा ह्रास आइरहेको छ । चिया उत्पादक सहकारी सङ्घ पाँचथरका अध्यक्ष नन्दकुमार आङ्थोपुले चिया प्रशोधनका लागि फ्याक्ट्रीमा दक्ष प्राविधिक नहुनु र चियाको मूल्य निर्धारणमा कृषकको पहुँच नपुग्नाले कृषकले उचित मूल्य पाउँन नसकेको बताए चिया नीति २०५८ नै परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले आङ्थोपुले साना किसानले कम्तीमा पनि ३५० रोपनी क्षेत्रफलमा खेती गर्नुपर्नेजस्ता नीतिले साना चिया कृषक मारमा परेका बताए । उता चियाको मूल्य स्थिर नहुँदा र खेती प्रवद्र्धनका लागि राज्यले अनुदान नदिँदा खेती नै परिवर्तन गर्नुपर्ने अवस्था आएको उनको गुनासो छ । फिदिम–५ की फूलकुमारी तुम्वापोले कृषि मजदुरलाई लिङ्गका आधारमा ज्यालामा समेत पुरुषलाई ३०० र महिलालाई १५० मात्र दिएर विभेद गरेको गुनासो गरे । यसैबीच कृषि मजदुर, मूल्य नपाएका किसान, व्यापारीदेखि उद्यमीसम्मको अधिकार र कर्तव्यबारे जानकारी दिलाउन मेची र कोशीको सात पहाडी र हिमाली जिल्लामा अहिले अधिकार तथा जिम्मेवार व्यापारका लागि पैरवी शुरु भएको छ । उन्नति समावेशी वृद्धि कार्यक्रमअन्तर्गतको अभियानमा अन्तर्राष्ट्रिय श्रमिक संगठन आइएलओले सात जिल्लाका ३० वटा स्थानीय सङ्घ, संगठनसँगको सहकार्यमा पैरवी शुरु गरेको हो । पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर र संखुवासभामा शुरु भएको पैरवीका क्रममा किसानका हक अधिकार, श्रमिकको स्वास्थ्य, सुरक्षालगायतका विषय र व्यापारीका समस्या र जिम्मेवार व्यापारका विषयमा छलफल हुने गरेको कार्यक्रमका स्रोत व्यक्ति तोयानाथ भट्टराईले बताए । डेनमार्क सरकारको ३० लाख डलर र आइएलओको छ लाख डलर व्यहोर्ने गरी शुरु भएको पैरवीले कृषिका सरोकारवालाका लागि काम र व्यवसायिक वातावरण बनाउने अपेक्षा गरिएको छ ।रासस
कुबेर मर्चेन्टको नाम परिवर्तन, सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेडबाट कारोबार गर्ने
काठमाडौं । कुबेर मर्चेन्ट फाईनान्स लिमिटेडको नाम परिवर्तन भएको छ । फाइनान्सले अाफ्नाे कम्पनीकाे नाम परिवर्तन गरि सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेडबाट सेयर लगायत सम्पूर्ण कारोबार गर्ने भएको छ । नाम परिवर्तन सम्बन्धि कम्पनीको प्रस्तावलाई भदौ ४ गते सम्पन्न फाइनान्सको ११औं वार्षिक साधारण सभाले पारित गरेको हो । साथै, उक्त सभामा आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन र प्रबन्ध पत्र तथा नियमावलीको संशोधन जस्ता प्रस्तावहरु पारित भएको कम्पनीका सचिव एवं प्रमुख कार्यकारी अधिकृत(सिईओ) गोपाल घिमिरेले जानकारी दिए । उक्त अवसरमा सभाका निर्णयहरु नियामक निकायहरुको स्वीकृति पछि लागू हुने घिमिरेले बताए । कम्पनीको ११औं वार्षिक साधारण सभामा संचालक समितिको निर्वाचन पनि रहेकोमा नयाँ लगानीकर्ता समेतको प्रतिनिधित्व गर्दै चन्द्र टण्डन र सन्दिप शर्मा नयाँ संचालक सदस्यमा निर्वाचित भएको जानकारी पनि घिमिरेले दिए । संचालक पदमा निर्वाचित भए पश्चात् शेयर सदस्यहरुको जिज्ञासा मेटाउने क्रममा संस्थालाई ३ देखि ४ वर्ष भित्रमा नाफाको अवस्थामा ल्याइने कम्पनीले जनाएको छ । साथै साधारण सभा सम्पन्न पश्चात बसेको संचालक समितिको २५० औं बैठकले चन्द्र टण्डनलाई अध्यक्षमा चयन गरेको छ । संस्थामा पारदर्शिता तथा संस्थागत सुशासन जस्ता विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी चाँडै नै समस्याग्रस्त अवस्थाबाट मुक्त गराउने पनि टण्डनले जानकारी गराए ।
सेयर दलाल र मर्चेन्ट बैंकर सुपरिवेक्षण दिग्दर्शन आयो, यस्ता छन् आधा दर्जन विशेषता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको सुपरिवेक्षण दिग्दर्शन, २०७४ लागु गरेको छ । बोर्डले भदौं ४ गतेदेखि लागु हुने गर दिग्दर्शन लागु गरेको हो । यसले सेयर बजारको सुपरिवेक्षणलाई थप प्रभावकारी, व्यवस्थित र अन्तराष्ट्रिय मूल्य मान्यता अनुरुप बनाउन सघाउने बोर्डका निर्देशक डा. नबराज अधिकारीले बताए । दिग्दर्शनले गैरस्थल र स्थलगत सुपरिवेक्षणको प्रकृया, सुपरिवेक्षण कर्ताको जिम्मेवारी, काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वका साथै सुपरिवेक्षकको आचारसंहिता समेत समेटेको छ । दिग्दर्शनले धितोपत्र व्यवसायीकोहरुको ऐन, नियम पालनाको अवस्थामा सुधार आई संस्थागत सुशासन सुदृढ हुने र समष्टिगतमा धितोपत्र व्यवसायीहरुको सेवाप्रवाहमा प्रभावकारिता आउने विश्वास पनि बोर्डले लिएको डा. अधिकारीले बताए । यस अघि नै बोर्डले आश्वा प्रणाली लागु गर्नेदेखि धितोपत्र व्यवसायी(मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४बाट मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तारको काम गरिसकेको थियो । यस्ता छन दिग्दर्शनका बिशेषताहरु १) धितोपत्र व्यवसायीको सुपरिवेक्षण स्थलगत र गैरस्थलगत रुपमा नियमित गर्ने व्यवस्था गरिएको । २) धितोपत्र व्यवसायीको सुपरिवेक्षणका कार्यगत उदेश्यहरु तोकिएको । ३) जोखिममा आधारित सुपरिवेक्षणमा जोड दिइएको, ४) धितोपत्र व्यवसायीको नियमितरुपमा सुपरिवेक्षण गरिने व्यवस्था गरिएको । ५) धितोपत्र व्यवसायीको हिसाव किताव तथा लेखा, नियमनकारी निकायले तोकेका वित्तिय विवरणहरु तथा प्रतिवेदनको अवस्था, धितोपत्र व्यवसायीहरुले धितोपत्र सम्बन्धी प्रचलित कानूनको पालनको अवस्था, धितोपत्र व्यवसायीको काम कारवाहीको अवस्था, ग्राहक पहिचान विवरण, जोखिम व्यवस्थापन, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी विवरणको रिर्पोिटङ्गको अवस्था, कारोबार प्रणाली, भौतिक पूर्वाधार एवं जनशक्तिको अवस्था, आन्तरिक नियन्त्रण प्रणाली जस्ता विषयहरुको सुपरिवेक्षणमा जोड दिइएको । ६) सुपरिवेक्षकका काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वका साथै सुपरिवेक्षकको आचारसंहिता सम्बन्धी व्यवस्था समेत गरिएको ।