विकासन्युज

दक्ष जनशक्ति अभावमा प्रभावितको जग्गा छुट्याउन समस्या

काठमाडौं, १४ असार । दक्ष जनशक्ति र क्रियाशीलताको अभावमा माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रभावितले जिल्ला मालपोत कार्यालय अछामबाट प्रभावकारी सेवा पाउन सकेका छैनन् । आयोजनाबाट प्रभावित भैरवस्थान गाविसको जग्गा हाल साविक गर्ने, कित्ता छुट्याउन र साँध सिमाना कायम गर्न ढिलाइ भएको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले मुआब्जाको विषयमा छलफल गरिरहेको भए पनि जग्गाको यथार्थ जानकारी पाउन नसक्दा समस्या भएको हो । जिल्ला मालपोत कार्यालय र नापी कार्यालयले प्रभावित जनताको यथार्थ लगत सङ्कलन, त्यसको वस्तुनिष्ठ मूल्याङ्कन गर्ने काम हालसम्म सम्पन्न गर्न सकेका छैनन् । ती दुबै कार्यालयमा कर्मचारीसँगै प्राविधिक उपकरणको अभाव छ । हाल मालपोत कार्यालयमा छ जना खरिदार र एक जना निमित्त कार्यालय प्रमुख छन् भने उनीहरुमध्ये केही तालिम र काजमा छन् । त्यस्तै नापी कार्यालयमा छ जनाको दरबन्दी रहेकामा दुई जना अमिन र एक जना सर्वेक्षक मात्रै कार्यरत छन् । जनशक्ति अभावले आयोजनाको कामकाज प्रभावित बनेको छ । भैरवस्थान गाविस आयोजनाको प्रमुख प्रभावित क्षेत्र भएकाले समयमै उपयुक्त तथ्याङ्कको आवश्यकता पर्ने आयोजनाले जनाउँदै आएको छ । जिल्ला मालपोत कार्यालय अछामका प्रमुख छविराज उपाध्याय प्रभावित क्षेत्रको काम गर्न ढिलाइ भएको स्वीकार गरेका छन् । “जनशक्ति अभाव छ, हामीले हालसाविक गर्न नापी कार्यालयलाई लेखेर पठाएका छौँ । फाइल प्राप्त भएपछि प्रभावित क्षेत्रको काम सम्पन्न गर्छौं,” उनले भने । मालपोत कार्यालयले एक सय ४६ जनाको जग्गा हालसाविक गर्न नापी कार्यालय पठाएको बताए पनि नापी कार्यालयले हालसम्म सय जनाको मात्रै फाइल प्राप्त भएको जनाएको छ । नापी कार्यालय अछामका प्रमुख लवप्रसाद कुइँकेल सबै कागजात मिलाएर काम गर्दा एक जना जग्गा धनीको काम गर्न एक दिन लाग्ने बताउछन् । द्वन्द्वकालमा सबै कागजात जलेर नष्ट भएका कारण काम गर्न कठिनाइ भएको उनको भनाइ छ । “प्रभावित क्षेत्रका केही व्यक्ति सम्पर्कमा छैनन्,” कुँइकेलले भने। विसं २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी)ले गरेको आक्रमणका क्रममा अछामका सबै सरकारी कार्यालय जलेका कारण सरकारी कागजात पाउन मुस्किल छ । कागजात नभएका स्थानीयवासीको जग्गा छुट्याउन मालपोत र नापी कार्यालयलाई हम्मेहम्मे परेको छ । सरकारले २०६७ सालमा विशेष नापी गरे पनि हालसम्म समस्या उस्तै रहेको छ । यस्तै ‘सार्वजनिक जग्गा मेरो हो’ भन्दै आउनेको सङ्ख्या अत्यधिक रहेको छ । प्रमाण नभएका जग्गालाई कागजात दिन नसकिने बताउँदै मालपोत प्रमुख उपाध्याय सबै विधि र प्रक्रिया मिलाउँदा समय लागेको स्वीकार गर्छन् । लगानी बोर्डको कार्यालयले पटक पटक समस्या समाधान गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई आग्रह गरे पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन । यस्तै मालपोत र नापी कार्यालयमा हाल कार्यरत कर्मचारी अनुभवी नहुँदा जटिलता थपिएको छ । मालपोत कार्यालयले गत वैशाख १५ गतेभित्रै पठाउनुपर्ने कागजात गत जेठ ३१ गते मात्रै पठाउँदा काम गर्न जटिलता पैदा भएको नापी कार्यालयको भनाइ छ । नापी कार्यालयले प्राप्त भएका फाइलमध्ये २० जग्गा धनीको जग्गा भने यकिन गरिसकेको छ । अन्यको सम्पन्न गर्न अझै दुई महिना बढी समय लाग्ने बताइएको छ । नापी विभागबाट स्पष्ट कार्यादेशसहितको परिपत्र हुन नसक्दा पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ । नापी प्रमुख कुइँकेल मालपोतबाट समयमै कागजात आए काम सम्पन्न गर्ने बताउछन् । मुआब्जा लिने स्थानीयवासीले काममा चासो देखाउनुपर्ने उनको भनाइ छ । मालपोत कार्यालय निमित्तको भरमा चल्दा समस्या बल्झिएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । नापी कार्यालयका सर्वेक्षक हेमन्तसिंह कार्की मालपोतबाट प्राप्त भएको कागजातलाई अध्ययन गरेर नक्सा निकाल्ने र क्षेत्रफल यकिन गर्ने काम भइरहेको बताउछन् । तर माथिल्लो कर्णाली सरोकार समितिका अध्यक्ष बमबहादुर विसीले मालपोत र नापी कार्यालयका कारण आयोजनाको काममा ढिलाइ भएको बताए । “जनशक्ति र प्रविधिको अभावमा काम सम्पन्न गर्न नसक्दा मुआब्जा पाउनेहरुको यकिन तथ्याङ्क पत्ता लाग्न सकेको छैन,” विसीले भने । आयोजनाका लागि ९९६ रोपनी जग्गा आवश्यक पर्दछ । आयोजनाको प्रवद्र्धक जिएआर प्रतिरोपनी रु सात लाख ५० हजार मुआब्जा दिन तयार छ तर स्थानीयवासी प्रतिरोपनी रु २० लाख ५० हजार माग गर्दै आएका छन् । स्थानीय प्रभावित र जिएमआरबीच यही असार २५ गतेभित्र मुआब्जाको विषयमा टुङ्गो लगाउने विषयमा प्रारम्भिक सहमति भएको बताएको छ । रासस

पेट्रोलियम अन्वेषणको रिपोर्ट माग्दै चाइना जियोलोजीकल सर्भेलाई चिठ्ठि लेख्दै सरकार

काठमाडौं, १४ असार । सरकारले नेपालमा रहेका तीन वटा पेट्रोलियम खानीहरुको अध्ययन सकेर फर्किएको चिनियाँ टोलीलाई रिपोर्ट पठाउन पत्र लेख्ने भएको छ । चाइना जियोलोजीकल सर्भेका विज्ञहरुको टोलीले गत अप्रिल ३० तारिखमा एक महिना लगाएर नेपालका तीन वटा इन्धन खानीहरुको अध्ययन गरेका थिए । चाइना जियोलोजीकल सर्भेका ६ जना विज्ञ सम्मिलित टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । एक महिना भित्रै ल्याब रिपोर्ट पठाउने भन्दै चीन गएको टोलीले रिपोर्ट नपठाएपछि खानी तथा भुगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाले चिठ्ठ लेख्ने तयारी गरेको हो । ‘एक महिना भित्र ल्याब रिपोर्ट लिएर पुनः नेपाल आउँछौं भनेर चिनियाँ टोली गएको थियो अझै आएको छैन, चीनमा लामो सरकारी विदा यहि समयमा परेर होला, भोली तिरै चिठ्ठी लेख्छौं’, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख  सुधिर रजौरेले विकासन्युजसँग भने । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले पनि चिनियाँ टोलीले पेट्रोलियम खानी अन्वेषणको रिपोर्ट हालसम्म नठाई नसकेको बताए । ‘एक महिना भित्र रिपोर्ट ल्याउने सहमति थियो, अहिलेसम्म आएको छैन, एक् दुई दिनमा आउँला, नत्र हामी किन रोकिएको रहेछ पहल गर्छाै’, मन्त्री पाण्डेले विकासन्युजसँग भने । चिनियाँ टोली ती तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेका थिए । उनीहरुले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका छन् । रजौरेका अनुसार चीनियाँ टोलीले नेपालसँग भएका पुराना अध्ययनका रिपोर्ट, चट्टान, ग्यास र तेलको नमुना लगेको छ । तीन वटा खानीको अध्ययन पछि चीनियाँ टोलीको प्रारम्भिक प्रतिक्रिया के थियो भन्ने प्रश्नको जवाफमा रजौरेले भने–‘चीनियाँहरु अन्तर्मुखी हुन्छन्, अनुमानका भरमा बोल्दैनन, एक महिनापछि रिपोर्ट पठाउँछौं भनेर गएका छन, हामी कुरिरहेका छौं ।’ दैलेखमा ग्यास र तेलको प्रमाण फेला परिसकेको बताउँदै उत्खननको सम्भावना रहेको बताए । ‘नेपालको भौगर्भिक बनोट तथा इतिहास पाकिस्तानको पोतबार बेसिन र भारतको आसामसँग मिल्दो जुल्दो छ, जहाँ अहिले पेट्रोलियम पदार्थको उत्खनन भैरहेको छ, हामीसँग पनि हुने सम्भावना छ जसलाई दैलेखको ग्यास र तेलले एक हदसम्म पुष्टि गरिसकेको छ’, रजौरेले भने । कसरी हुन्छ उत्खनन ? प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको हो । अब उत्खनन गर्दा पनि सोही सम्झौताका आधारमा दुई मुलुकबिच संयुक्त कम्पनी वा प्रोजेक्टको स्थापना हुनेछ । सो कम्पनी वा प्रोजेक्टले उत्खननको मोडल तथा व्यवसायीक आधार तयार पार्नेछ । त्यसमा उत्खननपछि प्राप्त पेट्रोलियम पदार्थको केहि प्रतिशत चीनियाँ कम्पनीले पाउने र केहि नेपाल सरकारले पाउने उल्लेख गरिनेछ । कसको हिस्सा कति हुने भन्नेबारे भने दुई मुलुकका विज्ञ सम्मिलित टोलीले निर्धारण गर्नेछ ।

एनसेलले ल्यायो नाईट डेटा प्याक, १० पैसामा प्रति एमबि ईन्टरनेट

काठमाडौं, १४ असार । एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्ने भएका छन् । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा कर बाहेक १० पैसा प्रति एमबि सम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डेटा प्याक’ ल्याएको छ ।   यही बुधबार (असार १५, २०७३) बाट सुचारु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक नाईट डेटा प्याक खरिद गरी रातको १० बजे देखि बिहान ६ बजे सम्म अझ सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् । ४० एमवि डेटा रहेको दैनिक नाईट डेटा प्याक ग्राहकले रु ८ मा खरिद गर्न सक्छन् । यो प्याकको समयावधि २४ घण्टा रहेको छ । साथै २५० एमबि डेटा भोल्युम भएको सातदिन सम्म मान्य हुने साप्ताहिक नाईट डेटा प्याकको मूल्य रु ४० रेहको छ भने ग्राहकले १००० एमबि डेटा भोल्युम रहेको मासिक नाईट डेटा प्याक मात्र रु १०० मा खरिद गर्न सक्छन् । अर्थात् मासिक नाइट डेटा प्याक खरिद गर्दा ग्राहकले अब मात्र १० पैसा प्रति एमबिमा ईन्टरनेट चलाउन सक्छन् । यी नाईट डेटा प्याकका मुल्यहरु कर बाहेकका हुन् । ग्राहकले यी नाईट प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी स्पेस राखेर अंग्रजीमा ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने नाईट डेटा प्याक लिन चाहने ग्राहकले अंग्रजीमा ४० लेखी स्पेस दिएर अंग्रजीमा एन टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् । “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकका लागि नाइट डेटा प्याक ल्याउन पाउँदा हामी हर्षित छौं । यसले रातको समयमा डेटा उपयोग गर्ने ग्राहकलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । प्याकको समयावधि रहँदै डेटा भोल्युम उपभोग भएमा ग्राहकले बाँकी अवधिको राति १० बजे देखि बिहान ६ बजे सम्म ५० पैसा प्रति एमबिका दरले डेटा सेवा प्रगोग गर्न सक्नेछन् । यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।

पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङमा

मुस्ताङ, १४ असार । पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिकसहित २२ जनाको टोली सोमबार मुस्ताङ आइपुगेको हो । टोलीले मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको विस्तृत अध्ययन गरेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पानीमाथि अनवरत रुपमा बल्ने आगो ग्यास हुनसक्ने टोलीमा सहभागी खानी तथा भूगर्भ विभागका प्रमुख राजन पौडेलले जानकारी दिए । “यहाँको अवस्था हेर्दा उत्खनन्का लागि त्यति असजिलो छैन्, सरकारले विशेष पहल गर्दैछ”, उनले भने। मुक्तिनाथको मुख्य मन्दिरभित्र भूमिगत कागखोलामा निरन्तर आगो बलिरहेको देखिन्छ भने त्यसबाट केही मात्रामा पेट्रोलियम पदार्थको गन्ध पनि आउने गरेको स्थानीयवासीको भनाइ छ । टोलीले मुक्तिनाथपछि छुसाङ गाविसको तेताङमा पर्ने नुनखानीको समेत अवलोकन गर्नेछ । नुनको पहाडै रहेपनि त्यसको उत्खनन हुन नसक्दा वर्षौँदेखि त्यतिकै खेरगइरहेको छ । नुनखानी सञ्चालनका विषयमा स्थानीयवासीसँग समेत छलफल हुने बताइएको छ । पौडेलका अनुसार, टोलीले लोमान्थाङ क्षेत्रमा युरेनियम र जोमसोमस्थित ठिनी गाउँमा रहेको कोइलाखानीको समेत अनुसन्धान गर्नेछ । लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइमा युरेनियमको भण्डार रहेको बताइएको छ । मन्त्री पाण्डेले यी सबै विषयमा स्थलगत अध्ययन गरेर उत्खननका लागि प्रक्रिया अघि बढाइने जानकारी दिए । “हामी अध्ययनको क्रममा छौँ, अबको तीन वर्षभित्र ग्यास, नुन र अन्य खानीको उत्खनन् गरेर प्रयोगमा ल्याउँछौँ” उनले भने । रासस

सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा अब धनकुटाको भेडेटारमा

काठमाडौं, १४ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सोमबारदेखि धनकुटाको भेडेटारमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले यसअघि घोरेटार (भोजपुर), चौमाला (कैलाली), त्रिभुवनवस्ती (कंचनपुर), केराबारी (मोरंङ), लामीडांडा (खोटाङ्ग), कटरिया (रौतहट), महादेवस्थान – ४ (हलेशी ( खोटाङ्ग) र बाक्सिला (खोटाङ्ग) बाट शाखारहित बैकिङ्ग सेवा पनि प्रदान गदै आएको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । यस बैंकले आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म कुल निक्षेप २६ अर्ब १ करोड रुपैयाँ र कर्जा रकम २२ अर्ब ८३ करोड रुपैयाँ परिचालन गरेको छ । साथै, सञ्चालन मुनाफा ३४ करोड ५० लाख रुपैयाँ र खुद मुनाफा २३ करोड २४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।

अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, १४ असार । अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । त्यसैले बैंकको सेयर कारोबार यही असार २१ गतेदेखि साउन ८ गतेसम्मको लागि बन्द हुने बैंकले जनाएको छ । उक्त निर्णय बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयर विक्री वितरण हुने बैंकले जनाएको छ । बैंकको आगामी साधारणसभा यही आउँदो साउन ८ गते हुने भएको छ । हाल बैंकको चुँक्ता पूँजी करिब ११ करोड ८० लाख रुपैयाँ रहेको छ भने बजारमा ६६५ रुपैयाँको हाराहारीमा सेयर किनबेच भइरहेको छ ।

पञ्चकन्या समूहद्धारा वागमती सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं, १४ असार । पञ्चकन्या समूहले कोपुण्डोल नजिक १६३औं सप्ताह वागमती सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूहले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५० जना सहितको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरेको बताएको छ । उक्त कार्यक्रममा समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ लगायत समूहमा आवद्ध कर्मचारीहरु सक्रिय सहभागी भएका थिए । साथै उक्त कार्यक्रममा वागमती सफाईको लागि आवश्यक पर्ने सरसफाईका सामग्रीहरु वागमती सभ्यता बचाउन अभियानका सदस्यलाई हस्तान्तरण समेत गरिएको समूहले जनाएको छ ।

नेपाल श्रीलंका उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश महर्जन निर्वाचित

काठमाडौं, १४ असार । सोमबार नेपाल–श्रीलंका उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाको नेपालका लागि श्रीलंकाका राजदुत डब्लु. एम. सेनेभिरत्नले उद्घाटन गरेका हुन् । कार्यक्रममा संघका अध्यक्ष रमेश महर्जनले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ सुदृढ पार्दै लैजानु पर्ने बताए । साथै उनले दुई देशबीच लगानी, पर्यटन आदि संभावित क्षेत्रमा समेत आपसी समझदारीमा कार्य अगाडी बढाउनु पर्ने जनाएका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजश काजी श्रेष्ठले व्यापार मेला, प्रतिनिधि मण्डलको आदान प्रदान आदि आर्थिक तथा व्यापारिक क्रियाकलापहरु मार्फत काम अगाडी बढाउनु पर्ने बताए । श्रीलंकाका राजदुत सेनेभिरत्नले दुई देशबीचको आर्थिक, सामाजिक सुमधुर सम्बन्ध विस्तारमा दुतावासले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार सम्पन्न भएको उक्त सभाले रमेश महर्जनको अध्यक्षतामा १९ सदस्यीय केन्द्रिय कार्यसमिति र्निविरोध निर्वाचित गरेको छ । जसमा मानार्थ सदस्यमा डा. राजेश काजी श्रेष्ठ, निवर्तमान अध्यक्षमा भक्त बहादुर मल्ल रहेका छन् । त्यसै गरी उपाध्यक्षमा क्रमशः प्रविण बहादुर पाण्डे, बिजय श्रेष्ठ, हेम राज ढकाल, महासचिवमा नरेश दास, कोषध्यक्षमा डा. हरिश जोशी, र सचिवद्वयमा प्रकाश गिरी, राम राजा आचार्य, त्यसै गरी कार्यकारीणी सदस्यहरुमा शिव कुमार अग्रवाल, अनुज मणी तिमलसिना, प्रकाश पाण्डे, स्वयम्भू रत्न तुलाधर, संजय कुमार अग्रवाल, श्याम भक्त कायस्थ, टेक बहादुर शाक्य, बिद्या सागर ताम्राकार, सूर्य बहादुर थापा रहेको वाणिज्य संघले जनाएको छ ।