विकासन्युज

भूकम्पले चर्किएका घर टाल्न ५० हजार

काठमाडौं, १४ असार । सरकारले भूकम्पमा परि आंशिकरुपमा घर भत्किएकाहरुलाई मर्मत सम्भारका लागि ५० हजार रुपैंयाँ उपलब्ध गराउने भएको छ । भूकम्प पीडितको निजि आवास पुननिर्माण कार्यबिधी अनुसार स्थानिय विकास मन्त्रालय मार्फत आंशिकरुपमा घर भत्किएका पीडितहरुलाई ५० हजार रकम उपलब्ध गराउने जानकारी राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले दिए । भूकम्पबाट पूर्ण रुपमा क्षति भएका वा भत्काएर पुनः बनाउनु पर्ने भए दुई लाख रुपैयाँ दिने र आंशिक क्षति भएका घर मर्मतसम्भार गर्न ५० हजार रुपैयाँ दिने व्यवस्थाले धेरै गुनासो सम्बोधन हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको दाबी छ । ८२ हजार ८ सय गुनासो यसैबिच आफु लाभग्राही सूचिमा नपरेको भन्दै ८२ हजार ८ सय ४१ जना भूकम्प पीडितले गुनासो फारम भरेका छन् । उनीहरुले आफ्नो घर भूकम्पका कारण पुर्ण क्षति भएको दावीसहित गाबिस तथा नगरपालिकाका वडा कार्यालयहरुमा गुनासो फारम भरेका हुन् । सोमबारसम्ममा एक लाख ८३ हजार ९ सय ५५ घरधुरीसँग अनुदान सम्झौता गरिसकेको छ । हालसम्म ५ हजार ८ सय ४१ घरधुरीले पहिलो किस्ता वापतको ५० हजार पाईसकेका छन् । यसैबिच प्राधिकरणले क्षेत्रिय कार्यालयहरुलाई सम्बन्धीत क्षेत्रमा एनजिओहरुले निर्माण गर्ने आयोजनाहरुलाई स्विकृति दिने अधिकार सुम्पिएको छ । गैर सरकारी संस्थाहरुबाट प्राप्त परियोजना प्रस्तावको मूल्याङ्कन, स्वीकृति, अनुगमन तथा मूल्याङ्कन क्षेत्रिय कार्यालयहरुले नै गर्न सक्नेछन् ।

अपर पिलुवा खोला दोश्रो जलविद्युत आयोजनामा एनबीबीले लगानी गर्ने

काठमाडौं, १४ जेठ । अपर पिलुवा खोला दोश्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंक (एनबीबी) को अगुवाई तथा नेपाल बैंकको सहकार्यमा लगानी गर्ने सहमति भएको छ । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा हाइड्रोपावरका अध्यक्ष दिपक खड्काले लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । ४ दशमलब ७२ मेघावाट क्षमता भएको उक्त आयोजना २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष दिपक खड्काले दिएका छन् । करिब ८५ करोड रुपैयाँ लागत रहेको उक्त आयोजना बैंक तथा प्रवर्धकको ७० बराबर ३० को अनुपातमा ऋण तथा स्वपूँजी संरचनामा निर्माण गर्न लागिएको कम्पनीले जनाएको हो । उक्त पिलुवा खोलाबाट वार्षिक २ करोड ६४ लाख युनिट विद्युत उत्पादन गरी ३३ के.भी. प्रसारण लाईनबाट नेपाल विद्युत प्राधिकरण बानेश्वर सव–स्टेशन मार्फत राष्ट्रिय प्रशारण लाईनमा उक्त आयोजनाको विद्युत आपूर्ति गरिने कम्पनीले जनाएको छ ।

फोर्स मोटरका शोरूम अब बिर्तामोड, विराटनगर र राजविराजमा

काठमाडौं, १४ असार । फोर्स मोटरर्स लि इन्डीया को नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा लि.ले आफ्नो डिलर बिर्तामोड, विराटनगर र राजविराजमा विस्तार गरेको छ । स्थानीय बिक्रेता शिदार्थ अटो ट्रेडिङमार्फत झापाको बिर्तामोडमा केआर अटो मोबाइल्स मार्फत मोरङ्को विराटनगरमा र मास ग्लोबलमार्फत सगरमाथाको राजविराजमा डिलरको विस्तार गरिएको हो । साथै, फार्स मोटरका ब्राण्डहरु क्रमश, ट्रेक्स क्रुसियर जिप, ट्रेक्स कार्गो किंग, ट्रम्प ४०, बलवान ट्राकटर लगायतका गाडीहरुको लन्चिङ कार्यक्रमको आयोजना गरिएको थियो । सोहि अबसरमा फोर्स माटरर्सका उत्पादहरु ट्राभलर मिनी बस, ट्रेक्स गुर्खा जिप, फोर्स एम्बुलेन्स लगाएतका गाडीहरुको बारेमा पनि जानकारी गराईएको कम्पनीले जनाएको छ । कार्यक्रममा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक राजन लम्साल, फोर्स मोटर्स लि इन्डियामा इन्टरनेशनल सेल्स डिभिजनका सह प्रबन्धक सुनिल सान्क स्थानीय संचालक, स्थानीय ब्यापारी, बैंकर्स, यातायात समितिका पदाधिकारी लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कम्पनीका अनुसार बिगत केहि वर्ष फोर्सले नेपामा आफ्नो आधिकारिक आयातकर्ता र बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा लि मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ । यस भन्दा अगाडी आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरीधारा र पोखराको बुद्धचोकमा आफ्नो शोरूम संचालनमा ल्याइसकेको कम्पनीले जनाएको छ ।

राजधानीमा पुर्वाञ्चल युनिभर्सीटी एजुकेशन फेयर हुने

काठमाडौं, १४ असार । राजधानीमा पूर्वाञ्चल विश्वविद्यालय एजुकेशन फेयर २०१६ हुने भएकको छ । पुर्वाञ्चल विश्वविद्यालयले आयोजना गर्ने फेयर त्रिपुरेश्वरस्थित वल्र्ट ट्रेड सेन्टरमा असार १७ देखि २० गतेसम्म सञ्चालन हुनेछ । फेयरमा विश्वविद्यालयमा सञ्चालित इन्जिनियरिङ, जेनरल साइन्स, हेल्थ साइन्स, मेनेजमेन्ट, फेसन डिजाइन, वायोमेडिकल इन्जिनियरिङ, एग्रिकल्चर भेटनरी, कम्प्यूटर, मास कम्यूनिकसेन, ल र लिभरल आर्टस लगायतका विषय अध्यापन गराइरहेका ६० भन्दा बढी कलेजहरुको सहभागिता रहनेछ । फेयरमा फेसन सो र फुड स्टल पनि समावेश गरिने आयोजकले जनाएका छन । फेयरमा शैक्षिक परामर्श, प्रेजेन्टेसन र सेमिनारहरुमा पनि विद्यार्थीहरु सहभागीता जनाउने अवसर पाउनेछन् ।अवलोकनमा आउने विद्यार्थीलाई विभिन्न शिर्षकमा छात्रवृद्धि, एजुकेसन लोनसहितको सुबिधा प्रदान गरिने आयोजकले जनाएका छन् ।

पोखरामा असारे रोपाइँ महोत्सव बुधबार

पोखरा, १४ असार । पोखरा पर्यटन परिषद्को आयोजनामा यही असार १५ गते यहाँ १३ औँ असारे रोपाइँ महोत्सव हुँदैछ । महोत्सव मूल आयोजक समितिका संयोजक डम्बरबहादुर केसीले महोत्सवमा विभिन्न नौ प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, असारे खाजाको कक्ष लगायत रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महोत्सवमा स्वदेशी पर्यटकका साथै विदेशी पर्यटक सहभागी हुने छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, महासचिव रामु गौतम, परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई, पर्यटन व्यवसायी वासु त्रिपाठी लगायतले परम्परागत कृषिको महत्वको बोध गराउनाका साथै कृषिप्रतिको बढ्दो अनाकर्षण घटाउँदै खेती गर्नुपर्छ भन्ने भावना जागृत गराउन महोत्सव उपयोगी बन्ने विश्वास व्यक्त गरे । बाह्र वर्षयता लागातार रुपमा सञ्चालन गरिँदै आएको यो महोत्सव यस पटक पोखरा उपमहानरपालिका–१७ महतगौँडामा हुने छ । रासस

कलङ्की–कोटेश्वर चक्रपथ विस्तारको समय डेढ वर्ष थप

काठमाडौँ, १४ असार । कलङ्की–कोटेश्वर १० किमी चक्रपथ विस्तारको अवधि एक वर्ष छ महिना २५ दिन थप गरिएको छ । विसं २०७३ पुसमा सम्पन्न हुनुपर्ने भए पनि भूकम्प, भारतको अघोषित नाकाबन्दी, बिजुली, टेलिफोनका तार एवम् खानेपानीको पाइप र कलङ्कीमा काठमाडौँ महानगरपालिकाले निर्माण गरेको आकाशेपुलको संरचना हटाउन नसक्दा निर्माण समय थप गर्नुपरेको चक्रपथ सुधार आयोजनाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न गर्ने अवधि २०७५ साउनसम्मलाई थप गरिएको आयोजना प्रमुख राजेश दासले राससलाई जानकारी दिए । ‘प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा चिनियाँ पक्षले कलङ्कीकै विषय उठाएर दोस्रो चरणमा काम सुरु गर्ने १७ किमी खण्डको प्रस्तावका बारेमा छलफल गर्न नमानेपछि अवधि थप गर्नुपरेको हो’ उनले भने । चक्रपथ विस्तार हुने भन्ने थाहा हुँदाहुँदै पनि महानगरपालिकाको सार्वजनिक–निजी साझेदारीमा इनोभेटिभ कन्सेप्ट प्रालिले विसं २०७० मा कलङ्कीमा आकाशेपुल निर्माण गरेपछि समस्या आएको आयोजनाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की चक्रपथ विस्तार हुने सूचना आउनुभन्दा अघि नै सार्वजनिक–निजी साझेदारीअन्तर्गत इनोभेटिभसँग सम्झौता भइसकेकाले रोक्न नसकिएको बताए । ‘आकाशेपुल जेठ मसान्तसम्म भत्काउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पत्र आएको छ, मन्त्रालय र इनोभेटिभ दुवैलाई राखेर छलफल गरी समस्या समाधानको पहल गरिरहेका छौँ’ उनले भने । आकाशेपुल भत्काएर कलङ्कीमै काम सुरु गरेपछि डेढ वर्ष समय लाग्ने भएकाले अवधि थप गर्नुपरेको प्रमुख दासले बताए । कलङ्कीमा चार लेनको ‘अण्डर पास’ निर्माण गरिने भएकाले बढी समय लाग्छ । आयोजनाले नेपालमै पहिलोपटक अण्डर पास निर्माण गर्न लागेको हो । चीन सरकारको करिब रु पाँच अर्ब (३१२ मिलियन युआन) अनुदान सहयोगमा २७ किमी चक्रपथमध्ये १० किमी खण्डलाई आठ लेन बनाउने काम भइरहेको छ । चक्रपथ विस्तारसँगै यस खण्डमा पर्ने चार स्थानका आठवटा पुललाई पनि आठ लेनको बनाइनेछ । रासस

ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा सुरु

काठमाडौँ, १४ असार । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता (पिटिए)को कार्यान्वयनको अवस्था र सुधार गर्नुपर्ने प्रावधानलगायतका विषयमा छलफल गर्ने उद्देश्यका साथ ऊर्जा सचिवस्तरीय बैठक भारतको नयाँदिल्लीमा सुरु भएको छ । पिटिए कार्यान्वयनमा देखिएको अवरोध हटाउने, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सुदृढीकरणका विषय बैठकको प्रमुख कार्यसूची रहेको ऊर्जा मन्त्रालयले जनाएको छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थका अनुसार दुई देशबीच भएको सहमति र कार्यान्वयनको अवस्थाका बारेमा समेत सचिव तथा सहसचिवस्तरीय बैठक सुरु भएको हो । बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुमनप्रसाद शर्मा, सहसचिव दिनेश घिमिरे, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका प्रमुख तथा उपकार्यकारी निर्देशकलगायतको उच्चस्तरीय टोली सहभागी रहेको छ । भारतका तर्फबाट ऊर्जा तथा जलस्रोत मन्त्रालयका सचिवलगायतका अधिकारीको सहभागिता रहेको छ । नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइनको विषय पनि प्रमुख प्राथमिकतामा रहेको छ । त्यसमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा छलफल सुरु भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । यस्तै हाल ८० मेगावाट विद्युत् आयात भइरहेको ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप १२० मेगावाट विद्युत् आयात गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ । त्यस्तै कुशाहा कटैया, रक्सौल परवानीपुर डबल सर्किट प्रसारण लाइनबाट थप ५०÷५० मेगावाट विद्युत् आयात गर्ने विषयमा समेत सचिवस्तरीय बैठकमा छलफल हुनेछ । नेपाल–भारत एकीकृत प्रसारण लाइन गुरुयोजना, दुई देशका प्राविधिक समितिले तयार पारेको प्रतिवेदनका विषयमा समेत सचिवस्तरीय बैठकमा छलफल हुनेछ । नेपाल र भारतबीच २०७१ कात्तिक ४ गते पिटिए भएको थियो भने गत फागुन २ बाट ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात गरिँदै आएको हो । रासस

बैदेशिक रोजगार बचतपत्रको विक्री एजेन्ट खोजिदै, १५ असारभित्रमा निवेदन दिनुपर्ने

काठमाडौं, १४ असार । बैदेशिक रोजगार बचतपत्र विक्री गर्ने एजेन्टको खोजी सुरु भएको छ । नेपाल सरकारको तर्फवाट नेपाल राष्ट्र बैंकलपे निस्कासन गर्ने यस्तो बचतपत्रको विक्री (प्राथमिक कारोवार) गर्न चाहने रेमिटान्स कारोवारमा संलग्न बैंक तथा वित्तीय संस्था, रेमिटान्स कम्पनी  मनी ट्रान्सफर कम्पनीहरुले एजेन्टको लाइसेन्स लिएर काम गर्न सक्ने भएका हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७३/७४ को लागि विक्री एजेन्टको नयाँ र साविकको इजाजत नविकरण गर्न भनेको छ । इजाजत लिन वा नविकरण गर्नको लागि १५ असार भित्र नै निवेदन दिनुपर्नेछ । नयाँ इजाजत लिन वा नविकरण गर्नको लागि राष्ट्र बैंकवाट विप्रेषण (रेमिटान्स) कारोवार गर्न प्रदान गरिएको इजाजतपत्रको प्रतिलिपी, सम्बन्धित मुलुकका आधिकारिक निकायहरुले रेमिटान्स कारोवार गर्न प्रदान गरेको इजाजतपत्र वा सम्बन्धित निकायहरुसँग सो सम्बन्धमा भएको सम्झौताको प्रतिलिपी र नयाँ इजाजतको लागि एक हजार तथा नविकरणको लागि ५ सय रुपैयाँ बुझाएको भौचर सहित निबेदन दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।