फष्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस दिने
काठमाडौं । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शुन्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात उक्त लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
मंगलबार नेपाल चीनबिच छुट्टाछुट्टै तीनवटा सम्झौतामा हस्ताक्षर हुने
काठमाडौं । नेपाल र चीनबीच आज तीनवटा सम्झौतामा हस्ताक्षर हुने भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम, ग्यास र खानी अन्वेषणका लागि सर्वेक्षण अनि नेपालमा चिनियाँ लगानी भित्र्याउने सम्बन्धी छुट्टाछुट्टै तीनवटा सम्झौतामा हस्ताक्षर हुने भएको हो । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा यी सम्झौता हुन लागेका हुन् । यस्तै चीनको राज्य परिषदका उपप्रधानमन्त्री याङले हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्ने कार्यक्रम छ । नौतले दरबार चीनको सहयोगमा जिर्णोद्धार हुन लागेको हो । नेपाल सरकारको निमन्त्रणामा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका याङले मंगलबार नै राजनीतिक भेटघाट पनि सुरु गर्नेछन् । उनले मंगलबार उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भने बुधबार भेट गर्ने कार्यक्रम रहेको छ ।
सुजुकीको विशेष सेवा केन्द्र जोरपाटीमा
काठमाडौं । राजधानीकोे जोरपाटीमा ट्याक्सी धनीलाई लक्षित गर्दै सुजुकी सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुजुकी ट्याक्सीका धनीलाई पूर्ण सुविधा सहित सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले जनाएको । अत्याधुनिक प्रविधि सुसज्जित समस्या सहजै पत्ता लगाउने तथा मर्मत सेवा उपलब्ध गराउन आवश्यक सुविध सेवा केन्द्रमा उपलब्ध रहको छ । ट्याक्सी धनीहरुका लागि कम्पनीले आवश्यक सामग्रीमा १५ प्रतिशत सम्मको छुटपनि उपलब्ध गराएको जानकारी दिइएको छ ।
प्रहरी र पुननिर्माण प्राधिकरणले ५ हजारलाई जागिर दिने, मंगलबारदेखि भर्ना खुल्यो
काठमाडौं । सरकारी निकायले एकैदिन झण्डै ५ हजार जनालाई रोजगारी दिन भर्ना खुला गरेका छन् । दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रहरी जवानदेखि प्रहरी निरीक्षक सम्मका लागि ३ हजार ७०९ र राष्ट्रिय पुननिर्माण प्राधिकरणले इन्जिनियर, सवओभरसियर गरी १ हजार १०१ प्राविधिक गरी ४ हजार ८१० जनालाई रोजगारी दिने भर्ना खुला गरेका हुन् । सशस्त्र प्रहरीले विभिन्न तहका लागि २ हजार ५ सय र जनपद प्रहरीले १ हजार २०९ जना मागेका हुन । सशस्त्रले खुला, समावेशी, अमर र अशक्त प्रहरीका परिवारलाई समेत गरी कुल २ हजार ३ सय जवान मागेको छ । यस्तै सशस्त्र प्रहरी परिचर अर्थात भान्छेमा १०५, कपाल काट्ने २५, सूचिकार १५, चर्मकर्मी २० र कुचिकार ३५ जना मागेको छ । सशस्त्रमा दरखास्त बुझाउने अन्तिम मिति भदौ २८ गते कार्यालय समयसम्म तोकिएको छ । नेपाल प्रहरीले प्रहरी ९१ जना प्रहरी निरीक्षक, ३१४ जना सहायक प्रहरी निरीक्षक र ७६७ जना जवानका लागि नयाँ भर्ना खुला गरेको छ । यस्तै प्राविधिकतर्फ ९७ जना मागेको छ । दरखास्त फारम भदौ ५ देखि असोज २ गतेसम्म लिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लामा भवन र अन्य संरचनाको पुननिर्माणको काम गर्न प्राधिकरणले करारमा इन्जिनियर मागेको हो । राजपत्र अंकित तृतिय श्रेणीका लागि सिभिल इन्जिनियर वा विल्डिङ एन्ड आर्कटेक्टमा स्नातक तह उत्तिर्ण गरेका ३७२, सव–इन्जिनियर प्रविणता प्रमाणतह उतिर्ण गरेका ३९१ र सिभिल इन्जिनियरिङ विषयमा प्राविधिक वा एसएलसी सरह उतिर्ण गरेका ३३६ जना प्राविधिक मागेको छ । तलव सुविधा सरकारको प्रचलित बमोजिम रहने र कार्यसम्पादनका आधारमा ५० प्रतिशत र भौगलिक क्षेत्रका आधारमा २५ प्रतिशतसम्म थप गर्न सकिने प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित भएको १५ दिन भित्र निवेदन पेश गर्न प्राधिकरणले भनेको छ ।
लाभग्राही सुचिमा नपरेका भूकम्प पीडीतका घरहरु जाँच्न पुनः इन्जिनियर खटाइँदै
काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले लाभग्राही सुचिमा नपरेका भुकम्पपीडीतका घरहरु इन्जिनियर खटाई पुनः जाँच गर्ने भएको छ । प्रभावित क्षेत्रमा साउन २६ गतेदेखि भदौ ३१ गतेसम्म इन्जिनियरहरु खटाउने भएको हो । प्राधिकरणबाट खटिएका इन्जिनियरहरुबाट भत्केको घरको छुट तथा पुनःजाँच सर्वेक्षण गराई अनुदान दिइने हुँदा सहभागी हुन पीडीतहरुलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणले आहवान गरेको छ । गुनासो तथा दर्ता नगरेका घरधुरीले समेत नजिकैको वडा, गाउँपालीका वा नगरपालीकमा यथाशिघ्र गुनासो तथा दर्ता गराउन प्राधिकरणले ध्यानाकर्षण गराएको छ । थप जानकारीका लागि प्राधिकरणको टोल फ्रि नम्बर १६६००१७२००० वा ९८०१५७२१११ मा वा जिल्ला स्थित राष्ट्रिय पुननिर्माण प्राधिकरणमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।
पुननिर्माण प्राधिकरणले माग्यो ११ सय इन्जिनियर, १५ दिनभित्र निवेदन दिनुपर्ने
काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा भौतिक संरचना निर्माणका लागि १ हजार १०१ प्राविधिक मागेको छ । भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लामा भवन र अन्य संरचनाको पुननिर्माणको काम गर्न प्राधिकरणले करारमा इन्जिनियर मागेको हो । राजपत्र अंकित तृतिय श्रेणीका लागि सिभिल इन्जिनियर वा विल्डिङ एन्ड आर्कटेक्टमा स्नातक तह उत्तिर्ण गरेका ३७२, सव–इन्जिनियर प्रविणता प्रमाणतह उतिर्ण गरेका ३९१ र सिभिल इन्जिनियरिङ विषयमा प्राविधिक वा एसएलसी सरह उतिर्ण गरेका ३३६ जना प्राविधिक मागेको छ । तलव सुविधा सरकारको प्रचलित बमोजिम रहने र कार्यसम्पादनका आधारमा ५० प्रतिशत र भौगलिक क्षेत्रका आधारमा २५ प्रतिशतसम्म थप गर्न सकिने प्राधिकरणले जनाएको छ । सूचना प्रकाशित भएको १५ दिन भित्र निवेदन पेश गर्न प्राधिकरणले भनेको छ । प्राधिकरणका अनुसार भूकम्प प्रभावित दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, नुवाकोट, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, रसुवा, रामेछाप, धादिङ, भुक्तपुर, ओखलढुङा, काठमाडौ, ललितपुर, भक्तपुरमा खटाउने तयारी गरेको छ । यस्तै छनौट हुने प्राविधिकले मकवानुपर, लम्जुङ, अर्घाखाँची, नवलपरासी, बाग्लुङ, म्याग्दी, भोजपुर, धनकुटा, कास्की, पर्वत, स्याङजा, खोटाङ, तनहुँ, चितवन, सोलुखुम्बु, गुल्मी र पाल्पा रहेका छन् । प्राविधिकको अभाव भएपछि घर लगायत अन्य सार्वजनिक भवनको पुननिर्माण हुन नसकेपछि प्राधिकरणले ठुलो संख्यामा इन्जिनियर नियुक्त गर्न लागेको हो । लिखित र अन्तरवार्ता दुबै हुने छ ।
प्रधानमन्त्रीको मिसन इण्डिया एजेण्डाः तीन वटा हवाई रुट उच्च प्राथमिकतामा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ पहिलो साता हुने भारत भ्रमणमा पर्यटन क्षेत्रकै लागि महत्वपूर्ण मानिएको तीन हवाई रुट यस पटक पनि प्राथमिकताका साथ अगाडि सारिएको छ । नेपालले पटकपटक उठाउँदै आएको हवाई रुटमा भारतले सहमति नदिएपनि यसपटक पनि सोही रुटमा भारतीय सहमति खोज्ने प्रयास भएको छ । प्रधानन्त्रीको भारत भ्रमणमा यसपटक पनि जनकपुर, नेपालगन्ज र महेन्द्रनगरबाट एयर इन्ट्री अनुमतिका लागि नेपालले प्रयास गर्ने छ । यो तीनवटै रुटमा यसअघिको दुइवटै प्रधानमन्त्रीको भारत भ्रमणमा प्राथमिकताका साथ उठान गरिएको भएपनि भारत सकारात्मक हुने तर कुनै सहमति वा सम्झौता भने हुन नसकेको पर्यटन मन्त्रालयको भनाइ छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार नेपालको हवाई रुटका महत्वपूर्ण ती तीनवटै रुट पटकपटकको एजेन्डा बनिरहेको छ । नेपालले अगाडि सारेको यो पुरानो एजेन्डालाई कार्यान्वयन गराउनु नै अहिलेको आवश्यकता भएकाले पनि यसैलाई अगाडि सारेको उनको बुझाई छ । नेपालले यो हवाई रुटसँगै विराटनगरको इष्ट्रि प्वाइन्टबाटै जहाज आउन पाउनुपर्ने प्रस्ताव लैजाने भएको छ । हाल यो रुटबाट बाहिरिने मात्रै गरेको छ भने आउन भने पाएको छैन । नेपालका यी तीनवटै हवाई रुटको अनुमतिबारे नेपाल र भारतबीच पटकपटक भएका वार्ता निस्कर्षबिहीन भएका छन् । भारतले गोरखपुरको हवाई सैनिक हेडक्वार्टरको सुरक्षा संवेदनशीलता जनाउँदै त्यसआसपासबाट नेपालतर्फ जहाज आउने रुटको अनुमति दिएको छैन । भारतले नेपालले निर्माण गरिरहेको भैरहवा विमानस्थलको लागि सहज हुने गरी मागको हवाई रुटको पनि अनुमति दिएको छैन । भारतसँग सुरक्षा प्रत्याभूति भएपछि सम्झौता गर्ने भनेर प्राविधिक टोलीसमेत बनेर काम अगाडि बढीसकेको भएपनि छिटो गर्न प्रधानमन्त्रीको एजेन्डामा राखिएको पर्यटन मन्त्रालयकै हवाई उड्डयन सुरक्षा महाशाखाले जानकारी दिएको छ । यो महाशाखाका अनुसार त्यही रुटको विषयमा प्राविधिक तहमा आवश्यक छलफल गरेर निर्णय गर्नुपर्ने भएकोले पनि प्रधानमन्त्री देवाउको भ्रमणमा भारतीय पक्षले तत्काल अगाडि बढाउन निर्देशन दिए मात्रै पनि पुग्छ । नेपाल भित्रन अन्तर्राष्ट्रिय उडानका वायुसेवाले हाल सीमरामाथिको आकाश हुँदै आउनुपर्ने एउटै मात्र रुटलाई भारतले थप गरिदिए नेपालको पर्यटनको विकल्प खुल्ने पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ । काठमाडौबाट विराटनगर तथा महेन्द्रनगर हुँदै भारतको आकाश भएर उडान गर्ने वायुसेवाले नयाँ र छोटो रुट पटकपटक नेपालले माग गरिरेको छ । नेपालले मागेको यस्तो रुटमा हिमालय रुट २ को अनुमति रहेको छ । यो रुटमा भारतीय पक्षले अनुमति दिइसकेको भनएपनि चिनियाँ पक्षबाट भने बाँकी नै रहेको छ । यो रुटले नेपालबाट युरोप र हङकङ जाने रुटसमेत छोटो हुने हुन्छ । यो अनुमतिले नेपालबाट अन्तर्राट्रिय उडान गर्ने वायुसेवाले प्रत्यक्ष लाभ लिन पाउने तथा अन्तर्राष्ट्रिय उडानका अन्य विदेशी वायुसेवाले हिमालयन रुट प्रयोग गर्न सक्ने हुन्छन् । हिमालयन रुटको अनुमतिले टोकियोबाट लण्डन जाने जहाजले पनि छोटो हवाई रुटका कारण नेपालको आकाश प्रयोग गरेर गर्न सक्ने भएकोले हवाई क्षेत्रको राजस्व बढ्ने भनाइ नेपाल नागरिक उड्डयन प्राधिकरणको छ । उड्डयन नियम अनुसार कुनै पनि देशमाथिको आकाशमा जहाज उडान हुँदा फ्लाई ओभर शुल्क तिर्नुपर्ने हुन्छ । यस्तो शुल्क देश अनुसार फरक फरक हुन्छ । नेपालले यो रुट खुला गर्दा जसरी सडकमा सवारी साधान गुडाउन अनुमति तथा कर दिर्नुपर्छ त्यसैगरी नेपाली आकाश हुँदै उडान हुने रुटमा पनि अनुमति वा रोयल्टी तिर्नुपर्छ । नेपालले यो हवाई रुटसँगै भैरहवा विमानस्थल सञ्चालनको सहजीकरणको विषयलाई पनि प्राथमिकता दिएको छ । नेपाल भारतबीच हवाइ सेवा सम्झौता (एएसए) नभए नेपालमा बन्दै गरेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा जहाजहरू उडान अवतरणको गर्न समस्या हुने पनि उल्लेख छ ।
२५ लाख मूल्यको राहत सामग्री संकलन, रौतहटका बाढी पिडितलाई दिने तयारी
काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीहरुले बाढी पीडितका लागि २५ लाख रुपैंयाँ मूल्य बराबरको राहत सामग्री संकलन गरेका छन् । उनीहरुले ३ दिन लगाएर बागबजार, पुतलीसडक, सुनधारा, न्युरोड, महावौद्ध, भृकुटीमण्डप लगायतका क्षेत्रबाट लत्ता कपडा र खाद्यान्न लगायतका राहत सामग्री संकलन गरेका हुन् । ‘करिब २५ लाख मूल्य बराबरको लत्ता कपडा र खाद्यान्न संकलन भएको छ, केहि दिन भित्रै रौतहटका बाढी पीडितलाई वितरण गर्न जाने योजना बनाएका छौं’, अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका राहत संकलन अभियन्ता अशोक थापाले भने । थापाका अनुसार रौतहटको कुन क्षेत्रका बाढी पीडितलाई राहत सामग्री वितरण गर्ने भन्नेबारे स्थानीय प्रशासनसँग समन्वय भैरहेको छ । खाद्यान्न र लत्ता कपडा बाहेक उनीहरुले ५१ हजार नगद पनि संकलन गर्न सफल भएका छन् । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीमा आवद्ध विद्यार्थीहरुले स्वतन्त्र समुह बनाएर राहत संकलन गरेका हुन् । ‘हामी फरक फरक संगठनमा आवद्ध छौं, नागरिक माथी प्राकृतिक संकट आइपर्दा सबै मिलेर काम गर्नुपर्छ भन्ने सन्देश दिन पनि स्वतन्त्र रुपमा राहत संकलनमा जुटेका हौं’, रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु कोषाध्यक्ष संगम देवकोटाले भने । नेपाल विद्यार्थी संघ आर. आर इकाईका उपाध्यक्ष पुस्कर बास्तोलाले तराई मधेश डुबानमा पर्दा टुलुटुलु हेरेर बस्न नसकेको बताउँदै भने–‘एउटालाई साह्रो गाह्रो पर्दा अर्काेले सघाउनु पर्छ भन्ने मान्यताका आधारमा राहत संकलनमा जुटेका हौं ।’ अभियानमा राष्ट्रिय बक्सिङ संघका महासचिव महेश श्रेष्ठ, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नरेश रेग्मी, अखिल कार्यकर्ता सुभाष ढुंगाना लगायतको समुह जुटिरहेको छ । उनीहरुले मंगलबार दिनभर थप राहत संकलन गरेर मधेश झर्ने योजना बनाएका छन् ।