
काठमाडौं । सरकारको खर्च बढेर बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले धमाधम बजारबाट पैसा उठाइरहेको छ ।
सरकारी खर्च बढेर बैंकिङ प्रणालीमा तरलता बढेपछि अन्तर बैंक ब्याजदर घटेर ३ प्रतिशत तल पुगेपछि केन्द्रीय बैंकले बिहीबार २ अर्ब ८० करोड रुपैयाँ बजारबाट उठाएको हो ।
बैंकिङ प्रणालीमा ४९ अर्ब रुपैयाँ अधिक तरलता रहेपछि दुई साताको निक्षेप संकलन वित्तीय औजारमार्फत बजारबाट पैसा उठाएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।
केन्द्रीय बैंकले बिहीबार १० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएकोमा ३ बैंक तथा वित्तीय संस्थाबाट ३ प्रतिशत ब्याजमा २ अर्ब ८० करोड रुपैयाँ मात्र उठाएको छ । असार लागेपछि अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल रहेको छ ।
असारयता बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि धमाधम बजारबाट उठाउदै आएको छ । केन्द्रीय बैंकले असार ५ गतेयता निक्षेप संकलन उपकरणमार्फत १४ पटक गरी ५४ अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ ।
केन्द्रीय बैंकले बजारमा तरलता घटेमा ५ प्रतिशत ब्याजदरमा बैंकमा पठाउने र बढेमा ३ प्रतिशत ब्याजमा उठाउने गरेको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले रिपो उपकरणमार्फत बजारमा पैसा पठाउने गर्छ ।