तीस हजार भूकम्प पीडितले पाए घर बनाउन ५० हजार
काठमाडौं, २७ असार । ३० हजार भूकम्प पीडितले घर बनाउन सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका अनुसार असार २६ गतेसम्ममा ३० हजार २ सय ६५ परिवारले निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेका हुन् । उनीहरुको बैंक खातामा जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले सो रकम राखिदिएको हो । त्यसै गरि हालसम्म २ लाख ३३ हजार ९ सय ८४ घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले साउन मसान्तभित्रै सबै भूकम्प पीडितलाई पहिलो किस्ताको रकम उपलब्ध गराईसक्ने योजनासहित काम गरिरहेको जनाएको छ ।
सार्कमा दोहोर कर मुक्ति दिलाउन काठमाडौंमा सेमिनार, पाकिस्तान सहभागि भएन
काठमाडौं २७ असार । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सम्बन्धी तीन दिने सेमिनारको काठमाडौंमा शुरु भएको छ । सार्कका सात देश र सार्क सचिवालयका प्रतिनिधिहरु सम्मिलित उक्त सेमिनारमा पाकिस्तान सहभागि भएको छैन । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले असार २७ गते सोमवार गरेको उक्त सेमिनार बुधवारसम्म संचालन हुनेछ । सेमिनारको उद्घाटन गर्दै महानिर्देशक शर्माले अहिलेको विश्वव्यापीकरणको युगमा सीमा विहिन वित्तीय कारोवारहरुले ल्याएका अवसर र चुनौतिहरुको सम्बोधन साझा प्रयासबाट हुने बताए । सार्क देशका राम्रा अभ्यासहरुको साथै समस्याहरुको आदान प्रदानले कर छलि तथा वित्तीय अपराध नियन्त्रण गर्न मद्दत गर्ने बताए । यस्ता सेमिनारले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउदै लैजाने बताउनुहुदै कर तथा वित्तीय छल कुनै देशको एकल प्रयासबाट सम्भव नहुने भएकाले सामूहिक प्रयासहरु अगाडि बढाउन जरुरी रहेको बताए । यस दिशामा कर सम्बन्धी सन्धि सम्झौताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुहुंदै लगानीमैत्री वातावरण निर्माणमा यसले थप सहयोग पु¥याउने बताए । कार्यक्रममा सार्क सचिवालयकी निर्देशक एल. सावित्रीले यस्ता सेमिनारले सदस्य राष्ट्रको कर प्रशासनमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, उत्कृष्ट अभ्यासको आदान प्रदानले एक अर्काबीचको सन्धि सम्झौताको कार्यान्वयनमा थप सहजता ल्याउने बताइन् । उनले यस्ता सम्झौताहरुले देशहरुबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध समेतलाई थप मजबुत बनाउने बताउनुहुँदै यस क्षेत्रमा क्षेत्रीय लगानी सम्बन्धी सम्झौताको टड्कारो आवश्यकता महसुश गरिएकोले सोको तयारी भैरहेको समेत बताइन् ।
बजाज भि–१५ मोटरसाइकल लमजुङ्मा, मोटर साइकलका शोखिनहरुका लागि नयाँ मोडल
बेसीशहर २७ असार । बजाजको आधिकारी बिक्रेता ग्लोबल अटो लिङ्कस बेसीशहरले बजाज मोटर साइकलका शोखिनहरुका लागि नयाँ मोडल बजारमा ल्याएको छ । अटो लिङ्कसले सोमबार बजाज भि–१५ सार्वजनिक गरेको हो । यो बिल्कुलै नयाँ रेञ्ज भएको दावी अटो लिङ्कसले गरेको छ । यो मोटरसाइकल निकै आकर्षक छ । डिटिएस–आई टेक्नोलोजीमा बनेको यो मोटरसाइकलको क्षमता १५० सिसी छ । कच्ची तथा खाल्टा परेका सडकमा समेत सजिलै चलाउन सकिने गरि डिजाइन गरिएको यो मोटरसाइकल युवा पुस्ताले निकै रुचाउने विश्वास गरेको ग्लोबल अटो लिङ्कसका प्रोपाइटर विनोद श्रेष्ठले बताए । उनले भने, “यो बाइक अन्य बाइकको तुलनामा फरक छ, कच्ची सडक, पिच सडकमा भएका खाल्टाखुल्टी, अव्यवस्थित ट्राफिक जाम जस्ता चुनौतिको सामना गर्न सक्ने गरि डिजाइन भएको छ ।” भरपर्दो र शक्तिशाली सवारी साधनका रुपमा यो मोटर साइकल लमजुङ ल्याएको पनि उनले जानकारी दिए । यो बाइकको मूल्य दुई लाख चार हजार नौं सय रुपैयाँ तोकिएको छ । बजाज भि–१५मा मोटर साइकलमा सडकमा आइपर्ने चुनौतिका सामना गर्न चाहिने एक्स्ट्रा ग्रीपका लागि फराकिलो टायर, सिटलाई सिंगल र डबल बनाउन मिल्ने फरक सुविधा, चलाउँदा उत्कृष्ट व्यालेन्स, बलियो मेटलको प्रयोग र आकर्षक मोडल रहेको समेत श्रेष्ठले जानकारी दिए । बाइकको अगाडिको टायरमा डिस्क ब्रेक र पछाडि ड्रमब्रेक प्रयोग गरिएको छ । दुबै टायर ट्युवलेस छन् । बाइकमा १३ लिटर इन्धन अट्छ । यसमा १.७ लिटर रिजर्भमा बस्छ । यो बाइक दुई वटा रंगमा बजारमा उपलब्ध छ । अटो लिङ्कसले दिएको जानकारी अनुसार पर्ल ह्वाइट र इबोनी ब्लयाकमा यी बाइक उपलब्ध छन् ।
रासन कार्ड वितरणको प्रक्रिया अघि बढ्यो, सहसचिव नागिलाको संयोजकत्वमा अध्ययन समिति
काठमाडौं, २७ असार । आपूर्ति मन्त्रालयले जनतालाई रासन कार्ड वितरण गर्न प्रक्रिया सुरु गरेको छ । रासन कार्ड वितरणको लागि मन्त्रालयका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति नै गठन गरिएको छ । सरकारको उपभोक्ता संरक्षण समितिले गत १ असारमा उपभोक्तालाई रासन कार्ड वितरण गर्ने निर्णय गरेको थियो । आपूर्तिमन्त्री गणेशमान पुनले सो निर्णय कार्यान्वयन गर्ने गर्ने निर्णय गर्दै यस्तो समिति गठन गरिएको हो । उपभोक्तालाई दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति गर्नको लागि रासन कार्ड लागू गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । यसको लागि ३ महिना भित्रमा अध्ययन गरी प्रतिवेदन पेश गर्न सो समिति गठन गरिएको हो । समितिमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव, आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक निरज पौडेल, कन्जुमर आइ नेपालका अध्यक्ष बिमला खनाल सदस्य रहेको समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता आनन्दराम खनालले जानकारी दिए । सो समितिको सदस्यसचिव भने मन्त्रालयको बजार विश्लेषण महाशाखाका उपसचिव प्रेमप्रसाद आचार्यलाई तोकिएको छ । समितिलाई तीन बुदे कार्यादेश दिइएको छ । जसमा रासन कार्ड लागू गर्ने सम्बन्धमा छिमेकी देशमा भएका ब्यवस्थाको अध्ययन÷विश्लेषण गर्ने, रासन कार्डको आवश्यकता र औचित्य सम्बन्धमा अध्ययन गर्ने र रासन कार्डको सफल कार्यान्वयनको लागि सरकारले अपनाउनु पर्ने कदमका सम्बन्धमा सुझाव दिने भनिएको छ ।
२६ असारको कभर तयार भएर पनि किन ढिला हुदैछ मौद्रिक नीति आउन ?
काठमाडौं, २७ असार । सरकारले आगामी आर्थिक बर्षको लागि १५ जेठमै बजेट ल्याएको भएपनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अझै ल्याएको छैन । बजेट जसरी संसदबाट पारित गर्नु नपर्ने, रकम निकासा र ठेक्का प्रक्रियामा जानु नपर्ने र मौद्रिक नीति ल्याउने वित्तिकै कार्यान्वयन हुने भएकोले छिटो ल्याउनु नपर्ने दाबी राष्ट्र बैंकका अधिकारीले गर्दै आएका छन् । तर २६ असारमा मौद्रिक नीति ल्याउनको लागि नीतिको पुस्तक प्रकाशनको कभर पेजमा गतेसमेत तय भएर पनि सो दिन मौद्रिक नीति नआउनुले राष्ट्र बैंकभित्र के हुदैछ भन्ने प्रश्न भने उब्जाएको छ । ‘गत विहीबार नै गभर्नरले २६ असार भनेर नीतिको पुस्तकको कभर फाइनल गर्नु भएको थियो, बोर्डमा के भयो र ढिला भएको हो थाहा हुन सकेको छैन,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने । आगामी आर्थिक बर्षको लागि ल्याउन लागिएको मौद्रिक नीतिमा गभर्नरले ल्याउन चाहेको विषयप्रति बोर्डका अन्य संचालक सहमत हुन नसकेको वा अरु बोर्ड सदस्यले ल्याएको विषयप्रति गभर्नर सहमत नभएकोले ढिला भएको हुन सक्ने अनुमान ती कार्यकारी निर्देशकले गरे । गत विहीवारको संचालक समितिले आइतवार अर्थात २६ असारमा मौद्रिक नीति ल्याउने सहमति गरेको थियो । त्यसको लागि आइतवार विहान बोर्ड बैठक पनि तय भएको थियो । तर पछिल्लो समयमा आइतवार मौद्रिक नीति नल्याउने र अर्काे मिति पछि तय गरिने भनिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति मंगलवार वा बुधवार ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । मौद्रिक नीतिमा खास गरेर तीन विषयमा छलफल लम्बिएको हुन सक्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पूजी कम्तिमा पनि ४ गुणाले बृद्धि गर्ने योजना आएको छ । यसको लागि आगामी २०७४ असार मसान्तसम्मको म्याद दिइएको छ । तर लघुवित्तको पूजी बृद्धिको योजना आएको छैन । लघुवित्तको पूजी बढाउने सन्दर्भमा राष्ट्र बैंक भित्र पनि दुई मत थियो । एउटा पक्षले यसको लागि मौद्रिक नीति पर्खनु नपर्ने र निर्देशन मार्फतै भएपनि बढाउने निर्देशन दिन सकिने विचार राखेको थियो भने अर्काे पक्षले मौद्रिक नीति मार्फत नै नयाँ योजना सार्बजनिक गर्नुपर्ने बिचार राखेको थियो । मौद्रिक नीति मार्फतै ल्याउने निर्णय भइसकेकोले अब यसको विवाद छैन । लघुवित्तको पूजी बृद्धि योजनामा नयाँ विवाद आएको स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंक बोर्ड पदाधिकारीमध्ये केहीले लघुवित्तको पूजी क्रमिक रुपमा बढाउने योजना ल्याउनुपर्ने विचार राखेका छन् भने केही बोर्ड सदस्यले एकै पटकमा बृद्धि गर्ने समयसीमा दिनुपर्ने बताएका छन् । अन्य बैंक वित्तीय संस्थाको झै कम्तिमा ४ गुणाले नै बढाउने वा औचित्यको आधार प्रष्ट पार्दै कमबेशी गर्ने भन्ने विवाद पनि भइरहेको बताइएको छ । अर्काे विवादको विषय भनेको मुद्रास्फीति दर नयाँ तोक्ने कि बजेटले भनेकै ७ दशमलब ५ प्रतिशत तोकेर जाने भन्ने विवाद पनि बोर्डमा छ । आगामी आर्थिक वर्षको लागि सरकारले १० खर्ब ४८ अर्बको बजेट ल्याएको छ । यति ठूलो आकारको बजेट ल्याउदा मुद्रास्फीतिदर साढे ७ प्रतिशत सीमामा राख्न कठिन हुने भन्दै केही बोर्ड सदस्य नयाँ दर तोकेर जानु उपयुक्त हुने अडानमा छन् । तर यसो गर्दा सरकारसँग सोझै ‘टसल’ हुने भएकोले नीतिको मध्यावधि समीक्षामा सच्याउने गरी अहिलेलाई ७ दशमलब ५ प्रतिशत नै तोकेर जानुपर्ने केही बोर्ड सदस्यको विचार छ । सरकारले आगामी आर्थिक वर्षको लागि साढे ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेको छ । सो दरको समग्र आर्थिक बृद्धि हासिल गर्न वास्तविक बृद्धिदर करिब ११ प्रतिशत हुनुपर्ने अर्थशास्त्रीहरुको भनाइ छ । ११ प्रतिशतको वास्तविक बृद्धिदर र साढे ७ प्रतिशतको मुद्रास्फीतिदर जोड्दा साढे १८ प्रतिशत भयो । यसमा २ प्रतिशतजति अन्य कारण जोडिन्छ । यसो हुदा आगामी आर्थिक बर्षको लागि विस्तृत मुद्रा प्रदाय २१ प्रतिशत जतिले बढाउने लक्ष्य मौद्रिक नीतिले लिनुपर्ने हुन्छ । २१ प्रतिशतले मुद्रा प्रदाय बढाउदा मुल्यबृद्धिदर साढे ७ प्रतिशतभन्दा माथि पुग्ने मौद्रिक अर्थशास्त्री बताउछन् । यो कारणले गर्दा कसिलो मौद्रिक नीति ल्याएर मूल्य बृद्धिको लक्ष्य भेट्टाउने कि खुकुलो मौद्रिक नीति ल्याएर आर्थिक बृद्धिदरलाई सहयोग गर्ने भन्ने चेपुवामा राष्ट्र बैंक छ । यो विषयमा छलफल लम्बिएको कारण पनि पूर्वनिर्धारित समयमा मौद्रिक नीति आउन नसकेको केही अधिकारीले जानकारी दिए । यस्तै मूल्यबृद्धिको वास्तविक चित्र आउने गरी कुनै नयाँ उपाय निकाल्ने भनेर पनि राष्ट्र बैंक गहन छलफलमा छ । यस्तो छलफलको कारण पनि समय बढी लागेको हुन सक्ने बताइएको छ । अहिले बजारमा अधिक तरलता छ । तरलता ब्यवस्थापनको लागि रिपो र रिभर्स रिपो जारी गर्दा राष्ट्र बैंकले निकै ठूलो धनराशी खर्च गरेको छ । यसको दीर्घकालिन उपाय निकाल्नको लागि अहिले कायम गरिएको अनिवार्य तरलता अनुपात (सिआरआर) बढाउने भन्ने प्रस्ताव पनि बोर्डमा आएको छ । तर सिआरआर बढाउदा पुन तरलता संकुचन भयो भने त्यसको विकल्प के हुने भन्ने प्रश्न आएकोले के कति दरमा बढाउने र दीर्घकालिन समस्या समाधानको उपाय के निकाल्ने भनेर पनि राष्ट्र बैंकले अन्तिम समयमा मात्रै छलफल थालेको छ । यस्तो कारणले पनि ढिलाइ भएको बताइएको छ । तरलता ब्यवस्थापनको दीर्घकालिन उपाय अपनाउन बैंकर्स एसोसिएसनले सुझाव दिदै आएको छ । यसको लागि एसोसिएसनले रिपो र रिभर्स रिपोको ब्यवस्था सधैको लागि खुल्ला हुनुपर्ने सुझाव दिएको छ । राष्ट्र बैंकले यस्तो विषयमा पनि गहन छलफल गरिरहेकोले केही ढिलाइ भएको बताइएको छ ।
पुनर्निर्माण कोष व्यवस्थापन कार्यविधि जारी
काठमाडौँ, २७ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले पुनर्निर्माण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ जारी गरेको छ । गत वर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचनाको दिगो र योजनाबद्ध निर्माणका लागि भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐनअनुसार कार्यविधि जारी गरिएको हो । पुनर्निर्माण कोषको सरल, पारदर्शी र जवाफदेही व्यवस्थापन गर्नु कार्यविधिको उद्देश्य रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । ‘कोषमा वैदेशिक सहायताअन्तर्गत प्राप्त हुने ऋण तथा अनुदान रकम महालेखा नियन्त्रक कार्यालयले तोकेअनुसार विदेशी मुद्रा वा नेपाली मुद्रामा रहने गरी ‘क’ समूहको खातामा जम्मा गरिनेछ,’ उनले भने । अन्य स्रोतबाट प्राप्त हुने रकम महालेखा नियन्त्रक कार्यालयले नेपाली मुद्रामा रहनेगरी तोकिएको ‘ख’ समूहको बैंक खातामा रहने कार्यविधिमा उल्लेख छ । विशेष प्रयोजनका कार्यक्रम सञ्चालन गर्न प्राप्त हुने सहयोग रकम जम्मा गर्न सरकारी कारोबार गर्ने इजाजत प्राप्त वाणिज्य बैंकको चल्ती खाता खोल्नुपर्नेछ । यस्ता खाताबाट सोझै खर्च गर्न नपाइने प्राधिकरणले जनाएको छ । कार्यविधिअनुसार यस्ता खातामा जम्मा भएको रकम तोकिएको प्रयोजनमा खर्च गर्नुपर्ने थपलियाले बताए । रासस
पोर्चुगलले पहिलोपटक युरोकप उपाधि जित्यो
काठमाडौँ, २७ असार । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरोकप) को उपाधि जितेको छ । पेरिसस्थित फ्रान्सको राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न फाइनल खेलमा पोर्चुगलका एडेरले १०९ मिनेटमा गोल गरे । अन्ततः त्यही एक मात्र गोल नै निर्णायक बन्यो । यसअघि आफ्ना कप्तान क्रिष्टियानो रोनाल्डोलाई चोटका कारण खेलको २५ औँ मिनेटमा गुमाएपछि पोर्चुगल केही दबाबमा आएको थियो । तर अतिरिक्त खेलाडीको रुपमा मैदानमा आएका एडेरले त्यो अभाव खड्किन दिएनन्, र गोल गर्दै आफ्नो टोलीलाई जिताए । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेल अवधिभर दुवै टोलीमा खेलाडीले केही गोलका प्रयास गरे पनि सफल भने भएनन् । त्यसमा पनि घरेलु टोली फ्रान्सले बनाएका केही सुन्दर मौकालाई पोर्चुगाली गोलकिपर रुइ पेट्रिसियोले सफल हुन दिएनन् । प्रतियोगितामा पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिती तेस्रो स्थानमा रहेको उत्कृष्ट टोलीका रुपमा नकआउट चरणमा पुगेको थियो । त्यसपछि सुधार गरेको उसले पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जितेको छ । यसअघि सन् २००४ मा घरमै भएको प्रतियोगितामा पोर्चुगलले ग्रिसलाई नतिजा सुम्पिएको थियो । त्यस्तै पोर्चुगल विश्वकपमा सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन । रासस
दर्जन बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार खुल्दै, तत्काल किन्नेलाई राम्रो फाइदा
काठमाडौं, २७ असार । ११ महिना सेयर कारोबार बन्द भएको माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार यसै साता खुल्दैछ । गत भदौमा दुई बैंकबीच मर्ज हुने सम्झौता भएपछि सेयर कारोबार बन्द भएको थियो । दुई बैंकबीच मर्ज तोडिएको तीन महिनापछि नेपाल राष्ट्र बैंकले डिमर्ज प्रस्ताव स्वीकृत गरिसकेको छ । माछापुच्छ्रे बैंकको सेयर कारोबार बन्द हुँदा प्रतिकित्ता ५४० रुपैयाँमा कारोबार भएको थियो । यस बैंकको सेयर कारोबार ५९० रुपैयाँको हाराहारीमा खुल्दै छ भने कारोबार खुलेको केही दिन मै यस बैंकको सेयर मूल्य प्रतिकित्ता करिव ८०० रुपैयाँ पुग्ने अनुमान गरिएको छ । बैंकले २ बराबर १ कित्ता हकप्रद सेयर दिने निर्णय साधारणसभाबाट अनुमोदन गराईसकेको छ भने आगामी दुई आर्थिक वर्षमा ११÷११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने पुँजी वृद्धि योजना सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षमा करिव ८५ करोड रुपैयाँ खुद मुनाफा गर्ने सम्बद्धले बतायो । त्यस्तै, कारोबार बन्द हुँदा प्रतिकित्ता ३७५ रुपैयाँमा किनबेच भएको जनता बैंकको सेयर कारोबार खुलेको केही दिनभित्रै प्रतिकित्ता ५०० देखि ६०० रुपैयाँ पुग्ने सम्भावना छ । गत वर्ष कमाएको १५ करोड रुपैयाँ नाफा सेयरधनीलाई वितरण गर्न नपाएको यस बैंकले चालु आर्थिक वर्षमा करिव ३० करोड खुद मुनाफा गर्दैछ । आगामी साधारणसभाबाट बैंकले १८ देखि २० प्रतिशत बोनस सेयर दिने सम्भावना छ भने ५० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गत साधारणसभाबाट गरिसकेको छ । मर्जर सफल भएपछि धेरै बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार साउनमा खुला हुँदैछ । सम्भवत कैलाश विकास बैंकको सेयर यसैसाता कारोबार हुँदैछ । कैलाश विकास बैंकका प्रमुख सञ्चालन अधिकृत विमल तिमल्सिनाका अनुसार सेयर कारोबार खुला गर्न सबै प्रक्रिया पुरा भईसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृत पत्र आउन बाँकी छ । यसै सातादेखि सेयर कारोबार खुला हुन सक्ने उनले बताए । मर्जपछि कैलाश विकास बैंक पुँजी, कारोबार, नाफा, नेटवर्क सबै हिसावले विकास बैंकहरु मध्ये सबैभन्दा राम्रो भएको यस बैंकको प्रमुख कार्यकारी अधिृकत कृष्णप्रसाद लामिछानेले बताए । यस बैंकको सेयर प्रतिकित्ता ३३० मा करोबार भई बन्द भएको थियो । मर्जपछि कारोबार खुलेको केही दिनभित्रै यस बैंकको सेयर मूल्य ५० प्रतिशतसम्म वृद्धि हुन सक्ने अनुमान गरिएको छ । मर्जरका कारण कारोबार रोकिएको सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर कारोबार पनि छिट्टै खुल्दैछ । यस बैंकमा एकता विकास बैंक र नेपाल आवास फाइनान्स मर्ज एकिकृत कारोबार शुरु भई सकेको छ । प्रतिकित्ता २८३ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर पनि कारोबार खुला भएपछि उच्च दरले बढ्ने निश्चित छ । चालु आर्थिक वर्षमा बैंकको नाफा राम्रो भएको र आगामी दुई आर्थिक वर्षमा करिव ४५ प्रतिशत पुँजीवृद्धि बोनस सेयरबाट गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिृकतृ अजय मिश्रले बताए । मर्जसफल भई एकिकृत कारोबार शुरु हुनै लागेको बैंक अफ काठमाडौंको सेयर कारोबार पनि छिट्टै खुल्ने छ । यस बैंकमा लुम्बिनी बैंक मर्ज भएको हो ।प्रतिकित्ता ५८५ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ८०० भन्दा माथि जान सक्छ । दुई बैंक मर्ज हुँदा पनि चुक्ता पुँजी ५ अर्ब भन्दा कम रहेको छ । मर्ज हुनुपूर्व दुबै बैंकका वित्तीय अवस्था राम्रो भएकोले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा राम्रो मुनाफा गर्ने र सेयरधनीलाई उच्च दरको बोनस सेयर दिने सम्भावना छ । अपुग पुँजीको लागि बैंकले हकप्रद सेयर जारी गर्ने पुँजी योजना पेश गरेको छ । यी सबै बैंकको सेयर कारोबार खुलेको पहिलो, दोस्रो र तेस्रो दिन किन्नले लाभ लिन सक्छन् । पहिलो तिन दिन सेयर पाउन मुस्किल पर्ने सेयर ब्रोकरहरु बताउँछन् ।