बाढी प्रभावित जिल्लाका एनसेल ग्राहकद्वारा १ करोड ६६ लाख भन्दा बढि निःशुल्क एसएमएस आदान प्रदान
काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको संचार सुनिश्चित गर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवा अन्तर्गत ग्राहकले १ करोड ६६ लाख भन्दा बढि एसएमएस आदानप्रदान गरेका छन् । कम्पनीले विपतको बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहयोग गर्नका लागि आइतबारबाट तीन दिनसम्म प्रति दिन प्रति ग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएको थियो । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनअनुसार एनसेलले बाढीपहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवा प्रदान गरेको हो । यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो । साथै एनसेल सापटी सेवा अन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरि विद्यमान सेवा शुल्कमै रु ६० सापटी प्रदान गरिएको थियो । यसैगरी कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी आफ्ना प्रियजनसँग सम्पर्क गर्न सघाउनका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको थियो । “बाढीपहिरो प्रभावित क्षेत्रलाई लक्षित गरी प्रत्येक दिन प्रदान गरिएको निःशुल्क एसएमएस सेवा, थप सापटीको सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालिन सम्पर्क नम्बरले यो विपदको क्षणमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र राहत तथा उद्धार कार्यमा सहज बनाएको प्रतिक्रिया पाएका छाै,” एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने । प्रभावित क्षेत्रमा पानीको सतह घट्दै गर्दा कम्पनीले थप टावरहरु संचालनमा ल्याएको जानकारी पनि उनले दिए । “केहि स्थानमा विद्युत आपूर्ती नरहेको र डिजेल जेनेरेटर संचालन गर्दा जोखिम हुने देखिएको थियो । अहिले एनसेलका ९७ प्रतिशत बिटिएस टावर संचालनमा रहेका छन् र ग्राहकलाई सेवा प्रदान गरिरहेका छन्,” आचार्यले भने । प्राकृतिक विपद्का बेला आफ्ना ग्राहकलाई सम्पर्कमा रहन विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै बाढीको जोखिम रहेका क्षेत्रमा आफ्ना ग्राहकलाई बाढी सम्बन्धि पूर्वसूचना अर्थात एसएमएस अलर्ट पनि प्रदान गर्दै आएको छ । यस अन्तर्गत कम्पनीले विगत एक सातामा (साउन २४ देखि साउन ३० सम्म) ६० लाख भन्दा बढि पूर्वसूचना पठाएको थियो । नदीमा पानीको सहत अनुसार जल तथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले बाढिपहिरोको जोखिमयुक्त क्षेत्रका ग्राहकहरुलाई एसएमएस सम्प्रेषण गरेको हो । बाढी तथा पहिरोबाट हुने क्षति न्युनिकरण गर्न विभागले एनसेललाई नदीमा पानीको बहाब र जलसहतको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिने गर्दछ । समझदारीपत्र अनुसार, एनसेलले वर्षा र नदीमा जल सहतको आधारमा बाढीपहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमला लगायत नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउँदछ । एनसेलले गतवर्ष जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । सोही अनुरुप एनसेलले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनीका लागि एसएमएस प्रदान गर्दै आएको छ ।
बोटलर्स नेपालको नाफा ५३ करोड, बोटलर्स तराईले कमायो ३९ करोड
काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपालले ५३ करोड नाफा कमाएको छ । काठमाडौं उपत्यकासहित पहाडी भेगका लागि कोकाकोला उत्पादन गर्दै आएको बोटलर्स नेपालले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधीमा ४० करोड नाफा कमाएको थियो । बोटलर्स नेपालको प्रति सेयर आम्दानी २१० रुपैंयाँबाट बढेर २७३ रुपैंयाँ पुगेको छ । त्यस्तै, तराई क्षेत्रमा कोकाकोला उत्पादन गर्दै आएको बोटलर्स नेपाल(तराई)ले ३९ करोेड नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधीमा जम्मा २७ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । बोटलर्स नेपाल(तराई)को प्रति सेयर आम्दानी ३२७ रुपैंयाँ रहेको छ ।
राष्ट्रिय बाणिज्य बैंकको नाफा ३ अर्ब ८ करोड, बैंकले बढायो ३० प्रतिशतले नाफा
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा ३० दशमल ८८ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आवमा ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ खुँद नाफा कामाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७२ करोड ७३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यो बैंकले २ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैैंकले गत आवसम्ममा १ खर्ब ५३ अर्ब ५७ करोड रुपैयाँको निक्षेप संकलन गरेर १ अर्ब ६ अर्ब ४३ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसको सीसीडी रेसियो ६४ दशमलव ७७ प्रतिशत रहेको छ । यो बैैंकको निष्किृया कर्जा २.३५ प्रतिशत रहेको छ ।
बिजुली महशुलमा २ प्रतिशत छुट पाइने
काठमाडौं । मिटर रिडिङ गरेको एक साताभित्र बिजुली महशुल बुझाउने ग्राहकले कुल बिल रकममा २ प्रतिशत छुट पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी छुटको व्यवस्था गरेको हो । विद्युत प्राधिकरणको ७५७ औ सञ्चालक समिति बैठकले महशुल सहज रुपमा उठाउनका लागि छुटको व्यवस्था गरेको जानकारी दिएको छ । यो छुट सरकारले तोकेको औद्योगिक क्षेत्रभित्रका ग्राहक, शवदाह गृह, सरकारी अस्पताल र स्वास्थ्य चौकीमा भने यो सुविधा उपलब्ध नभएको प्राधिकरणले जनाएको छ । ८ औ दिनदेखि २२ औ दिनसम्म बिल अनुसारको महशुल लाग्ने प्राधिकरणले जनाएको छ । २३ औं दिनदेखि जरिवाना लाग्ने भएको छ । समयमा वक्यौता नबुझाउने ग्राहकको विद्युत लाइन काटिने भएको छ । अझै अर्बो रुपैयाँ महशुल बक्यौता बाँकी भएपछि प्राधिकरणले कडाइ गरेको हो । गत वर्ष भदौमा लामो समयदेखि बक्यौता नतिर्नेको विद्युत लाइन धमाधम काटिएपछि प्राधिरकरणले करोडौ रुपैयाँ वक्यौता असुली गरेको थियो । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले वक्यौता महशुल उठाउन जोड दिने बताएका छन् । महशुल नतिर्ने ग्राहकको बिजुली लाइन काटिने स्पष्टपारेका छन् । सरकारले बुधबार सार्वजनिक गरेको ऊर्जा क्षेत्रको विकास सम्बन्धित श्वेतपत्रमा विद्युत महशुल नतिर्नेको लाइन काटिने उल्लेख गरिएको छ ।
स्वरोजगार लघुवित्त विकास बैंकको २९ सय कित्ता सेयर लिलामीमा
काठमाडौं । स्वरोजगार विकास बैंकको २९ सय ८० कित्ता सेयर लिलामीबाट विक्री गरिने भएको छ । यो लघुवित्तले गत असार १ देखि साउन ४ गतेसम्म खुला गरेको हकप्रद सेयरमा बिक्री नभएको सेयर लिलामीबाट बेच्ने भएको छ । यो लघुवित्तले संस्थापकतर्फको १५ सय ८४ कित्ता र सर्वसाधारण तर्फको १३ सय ९६ कित्ता सेयर लिलामीबाट विक्री गर्ने भएको छ । एक सय रुपैयाँ अंकित यो संस्थाको सेयर आवदेन यही भदौ ८ देखि १६ गतेसम्ममा दिइसक्नु पर्ने छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।
काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर भदौ १८ देखि
काठमाडौं । काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर भदौ १८ गतेदेखि आउने भएको छ । बैंकले २ कित्ता बराबर १ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मूल्य अंकित ३ लाख ५० हजार ८ सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । साउन १९ गते अघिसम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर भर्न सक्नेछन् । बैंकले असोज २१ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्लोबल आइएमई क्यापिटल र काबेली विकास बैंकका कार्यालय, ग्लोबल आइएमई बैंकका केहि शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
राष्ट्रिय बिमा कम्पनीको नाफा २३ करोड ७० लाख
काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा बढेको छ ।गत आवमा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्ष कम्पनीले नाफा ८ करोड रुपैयाँ बढाएको छ । कम्पनीले गत असारसम्म ८४ करोड १२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ८६ करोड ८७ लाख रुपैयाँ आजर्न गरेको थियो । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार गत असारसम्म १६ हजार ७६९ बिमालेख जारी गरेको छ । समीक्षा अवधिमा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ दावी भूत्तानी गरेको जानकारी दिएको छ । कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख रुपैयाँ छ । गत आवको नाफाबाट प्राप्त बोनस सेयर नेपाल धितोपत्र दर्ताको क्रममा रहेकाले यसपछि चुक्तापुँजी २६ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।
सिन्धु विकास बैंकको २० लाख ९७ हजार कित्ता हकप्रद निष्कासन, भदौ १८ देखि आवेदन खुला
काठमाडौं । सिन्धु विकास बैंकले २० लाख ९७ हजार ५४० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित हकप्रदको यही भदौ १८ गतेदेखि आवेदन खुला गरेको छ । असोज २२ गतेसम्म आवदेन दिन पाइन्छ । यो विकास बैंकले २६ करोड २१ लाख रुपैयाँको चुक्ता पुँजीमा २० करोड ९७ लाख रुपैयाँ थप गर्ने गरी दश सेयर बराबर ८ सेयर (१०ः८)को अनुपातमा हकप्रद जारी गरेको छ । सो मात्राको हकप्रद निष्कासन गर्ने प्रयोजनको लागि भदौ ९ गते कम्पनीको बुक क्लोज हुने छ । कम्पनीको सेयर निष्कासन गर्ने निर्णयलाई बैंकको आगामी ७औँ साधारण सभाले पारित गर्नु पर्ने छ । उक्त सेयरको लागि एनआईबीएल क्यापिटल मार्केट्स लाजिम्पाट, सिन्धु विकास बैंकको सबै कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर, विरगन्ज, नरायणगढ, बुटवल, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन पाइने छ । यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड हो ।