विकासन्युज

कसमस डेभलपमेन्ट बैंकको पाँच लाख कित्ता हकप्रद सेयर साउन ११ देखि

काठमाडौं, २७ असार । कसमस डभलपमेन्ट बैंकले साउन ११ गतेदेखि ५ लाख तीन हजार एक सय २५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कसमसले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्यका हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयरको निष्काशन भदौ ३ गते बन्द हुनेछ । बैंकले हाल कायम रहेको पाँच करोड तीन लाख १२ हजार पाँच सयको चुक्ता पुँजीलाई दुई गुणा बढाउन हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले चैत मसान्तसम्ममा एक करोड ७० लाख नाफा कमाएको थियो ।

राजनीतिक अस्थिरता कम भएसंगै नयाँ उद्योग खुल्ने क्रम बढ्यो

काठमाडौं,  २६ असार।  देशमा राजनीतिक स्थिरता कायम भएसंगै लगानीको वातावरण पनि बढ्दै गएको छ। गत बर्ष भारतले लगएको नाकाबन्दीले सुस्ताएको लगानीको वातावरण अहिले पहिलेकै स्थितिमा फर्किएको हो। विगत साढे पाँच महिनामा उद्योग विभागमा दर्ता भएका उद्योगको संख्याले यस्तो देखाएको हो। सरकारी तथ्यांक अनुसार गत बर्षको पाँच महिनाको तुलनामा यो बर्ष धेरै उद्योग दर्ता भएका छन् । बैशाख पछि हालसम्म २ सय १५ ओटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ । जुन गत बर्षको सो अवधिको भन्दा १३ ले बढी हो । यी उद्योगहरुको जम्म पूँजी ५२ अर्व ४३ करोड २० लाख रहेको छ । विभागको तथ्यांक अनुसार यो अवधिमा सवै भन्दा बढी दर्ता हुने उद्योगमा सेवा सम्वन्धि उद्योग रहेका छन् । साँढे पाँच महिनामा सेवा सम्वन्धि ७५ ओटा उद्योग दर्ता भएका थिए । त्यस्तै पर्यटनमुलक ७० उद्योग दर्ता भएको तथ्यांकमा उल्लेख छ । उत्पादनमुलक ४२ ओटा उद्योग दर्ता भएका देखिन्छन् । जसमा चिनियाँ लगानी धेरै मात्रामा रहेको छ। चिनियाँहरुले धेरैजसो चाइनिज भाषा सिक्ने इन्स्टिच्युट र रेष्टुरेन्टमा लगानी गरेको पाइएको छ।   दर्ता उद्योगमध्ये १ सय ५३ साना उद्योग छन् । त्यस्तै मझौला ३५ र ठूला उद्योगको संख्या ३० छ । ती उद्योगहरुबाट ८ हजार सातसय जनाले रोजगारी पाउनेछन्।  

सर्वसम्मत रुपमा सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन

व्यवस्थापिमका–संसद, संसदीय विशेष सुनुवाइ समितिको आइतबार बसेको बैठकमा सर्वसम्मत रुपमा कामु प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । तस्बिर: रासस

साउन १ गतेदेखि डिम्याट खाता अनिवार्य, डिम्याट खाता नखोल्नेको सेयर कारोबार बन्द

काठमाडौं, २६ असार । डिम्याट (विद्युतीय) खाता नहुनेले अब सेयर किन्न नपाउने भएका छन् । कम्पनीहरुले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य चाहिने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि जस्तोसुकै सेयर कारोबारका लागि पनि अनिवार्य डिम्याट खाता चाहिने व्यवस्था गरेको बोर्डका प्रबक्ता निरज गिरीले बताए । बोर्डले डिम्याट खाता नभएकाहरुको आवेदन फारम अस्वीकृत गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन पनि दिइसकेको छ । मर्चेट बैंकररले सेयर निष्काशन तथा बिक्री प्रवन्धकको काम गर्छन् । साउन महिनामै ३ लघुवित्त सवा ८ लाख कित्ता साधारण नभने यर नस्किँदै छ । धितोपत्र बोर्डबाट स्वीकृत पाएको दुई महिनाभित्र सेयर निष्काशन गरिसक्नुपर्ने हुन्छ । निक्षेप सदस्य (डीपी) कहाँ गएर डिम्याट खाता खोल्नुपर्ने हुन्छ । सेयर ब्रोकर, बैंक तथा वित्तीय संस्था र धितोपत्र बोर्डले तोकेका अन्य संस्थाले डीपीको सेवा दिन सक्छन् । लगानीकर्ताले खाता खोल्नका लागि फारामसहित नागरिकता लगायत अन्य आवश्यक कागजातहरु डीपीमा पेश गर्नुपर्छ । त्यसपछि डीपीले लगानीकर्ताको खाता खोली उस्को हस्ताक्षरको अभिलेख राख्छ जुन सीडीएससीमा रेकर्ड हुन्छ ।

अर्घाखाँची सिमेन्टद्धारा खाँचीकोटमा वृक्षारोपण, २ हेक्टर क्षेत्रफलमा १ हजार विरुवा रोपियो

काठमाडौं, २६ असार । अर्घाखाँची सिमेन्टले अर्घाखाँची जिल्लाको खाँचीकोट गाविसमा वृक्षारोपण गरेको छ । कम्पनीले वातवरणीय संरक्षणलाई उच्च प्राथमिकता दिई २ हेक्टर भन्दा बढी जग्गामा १ हजार विरुवा रोपेको जनाएको छ । उक्त वृक्षारोपण कार्यक्रममा बोल्दै कम्पनीका महाप्रबन्धक महेन्द्र रावलले स्थानीयस्तरमा वातावरण संरक्षणको अभियानलाई सहयोग गर्न वृक्षारोपण गरिएको बताउए । उनले भने–‘अर्घाखाँची सिमेन्ट उद्योग वातावरणीय संतुलन कायम गर्नका लागि हर संभव प्रयासमा लागिरहने छ ।’ गुणस्तरीय उत्पादनमा जोड दिदै आएको अर्घाखाँची ओपीसि सिमेन्टले छोटो अवधिमा नै नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको उनले बताए ।

पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा चन्द्र ढकाल निर्वाचित

काठमाडौं, २६ असार । कर्म थलोवाट जन्म थलोलाई विकास गर्ने उद्देश्यका साथ लुम्विनी, गण्डकी र धौलागिरी अंचलका गरी १६ जिल्लाको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चको शनिबार सम्पन्न साधारण सभाले व्यवसायी चन्द्रप्रसाद ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको लुम्बिनी उपाध्यक्षमा बम बहादुर कार्की, गण्डकी उपाध्यक्षमा हरिकुमार श्रेष्ठ, धौलागिरी उपाध्यक्षमा ज्ञानेन्द्रविक्रम महत निर्वाचित भएका छन् । त्यस्तै महासचिबमा मदनकुमार महत, सचिबमा यादव भट्टराई, कोषध्यक्षमा योगराज कँडेल शर्मा, सह–कोषाध्यक्षमा नारायणप्रसाद तिम्सिना निर्वाचित भएका छन् भने सदस्यहरुमा संजय अधिकारी, सुशील खड्का, नवराज पन्त, डा. बमबहादुर थापा जिताली, श्रीराम पौडेल, डा. बिमला शाक्य, अर्जुन कुमार अर्याल, चिन्तामणी न्यौपाने, विष्णु बहादुर सिंह, रुद्रनाथ बस्याल, दिग्बिजय मिश्र र विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । पर्वत, मुस्ताङ, मनाङ र नवलपरासीवाट कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन र नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. रामकृष्ण तिम्सेनाले बताए । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको अतिथ्यतामा सम्पन्न भएको शपथ ग्रहण तथा समापन कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष रामकाजी कोेनेले निर्वाचित समितिको सफलताको कामना व्यक्त गरे ।

सार्वजनिक सेवाको गुणस्तर मापन गर्न सर्वेक्षण

काठमाडौं, २६ असार । सरकारी कार्यालयले सम्पादन गर्ने सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयता मापनका लागि नौ जिल्लामा सर्वेक्षण सुरु भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक सेवा प्रदायक संस्थाका कामको गुणस्तरीयता मापनका लागि सिराहा, रौतहट, भक्तपुर, दोलखा, बागलुङ, रुपन्देही, बाँके, दाङ र दार्चुलामा अध्ययन सुरु गरेको हो । गत दुई महिनादेखि सुरु भएको सर्वेक्षण पुस मसान्तमा सम्पन्न हुनेछ । टिआइ नेपालले सन् २०१५ मा पहिलो पटक यी जिल्लामा सर्वेक्षण गरेको कार्यकारी निर्देशक आशिष थापाले राससलाई जानकारी दिनुभयो । “पहिलो पटकको सर्वेक्षणमा सरकारी सेवा प्रवाह समस्याग्रस्त पाइयो, गत वर्षको नौ जिल्लाको अध्ययनमा कार्यालयमा नागरिक बडापत्र राखे पनि त्यसअनुरुप काम नभएको सेवाग्राहीको गुनासो थियो”– उनले भने । गत वर्षभन्दा यस पटक सेवा प्रवाहमा कति सुधार आयो रु भन्ने तुलनाका लागि सर्वेक्षण गरिएको टिआइ नेपालले जनाएको छ । काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा प्रकाश भट्टराईले सर्वेक्षणको संयोजन गर्नेछन् । रासस

सेयर बजारको कारोबार अवधि दुई घण्टा बढाउने तयारी, क्लियरिङ बैंक थप्नुपर्ने धितोपत्र बोर्डको सर्त

काठमाडौं, २६ असार । सेयर बजारको कारोबार अवधी दुई घण्टा बढाउने तयारी सुरु भएको छ । केहि दिन पहिले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कारोबार अवधी बढाउनु पर्ने वा नपर्नेबारे सुझाव मागेको थियो । सुझाव दिने अधिकांशले समय बढाउनु पर्ने र दुई घण्टा समय बढाउँदा उपयुक्त हुने सुझाव दिएका हुन् । ‘आएका अधिकांश सुझावहरुले समय बढाउनु पर्ने माग गरेका छन, दुई घण्टा बढाउँदा उपयुक्त हुने सुझाव धेरै छन्’, नेप्सेका प्रवक्ता शम्भु पन्तले विकासन्युजसँग भने । १० वर्षअघि कायम गरिएको १२ देखि ३ बजेको कारोबार अधवी कम भएको बताउँदै प्रवक्ता पन्तले समय बढाउन ढिलो भैसकेको बताए उता, नेपाल धितो पत्र बोर्डले नयाँ क्यिरिङ बैंक नथपि समय बढाउन नहुने सर्त अघि सारेको छ । बोर्डका प्रवक्ता निरज गिरिले कारोबार अवधी बढाउनु पर्ने आवश्यकता रहेको तर त्यो भन्दा पहिले क्लियरिङ बैंकको संख्या थप्नु पर्ने बताए । ‘कारोबार अवधी बढाउँनै पर्नेछ तर त्यो भन्दा पहिले नै क्यिरिङ बैंकको संख्या थप्नुपर्छ’, प्रवक्ता गिरिले भने । दैनिक हुने गरेको दुई अर्ब हाराहारीको कारोबार एउटै मात्र क्यिरिङ बैंकले गर्न नसक्ने बताउँदै उनले सिडिएस एण्ड क्लियरिङ हाउसलाई तत्कालै क्लियरिङ बैंकको संख्या थप्न पुनः निर्देशन दिईसकिएको पनि जानकारी दिए । यस अघि बोर्डले बैशाख १ गते भित्रै क्लियरिङ बैंकको संख्या थप्न निर्देशन दिएको थियो । तर सिडिएसले अझैसम्म पनि बोर्डको निर्देशनको पालना गर्दै क्लियरिङ बैंकको संख्या थपेको छैन् । सेयर बजार बिश्लेषक रविन्द्र भट्टराईले पनि कारोबार अवधी बढाउन ढिलो भैसकेको बताए । थोरै समयको कारोबारले बजार कमजोर रहेको सन्देश जाने भएकाले कारोबार अवधी बढाएर बजार बलियो भएको सन्देश दिनुपर्ने उनको भनाई छ । उनले समय बढाउँदै प्रबिधीमा समेत व्यापक सुधार गर्नुपर्नेमा पनि जोड दिए । कारोबार अवधी बढाउँदा बजारमा लगानी कर्ताको पहुँच सरल हुने बताउँदै उनले प्रबिधीमा सुधार नगरिए थपिएको समयले कुनै उपलब्धि नदिने दावी पनि गरे । नेप्सेले बजारको आकार ठुलो भएको, दैनिक ठुलो कारोबार भैरहेको र बजारलाई अन्तराष्ट्रिय स्तरको बनाउन तथा लगानी कर्ताको सहज पहुँच अभिवृद्धिका लागि भन्दै कारोबार अवधी बढाउने प्रयास गरिरहेको छ ।